हिमाल, पहाड र तराई तीन भूगोलको सामाजिक संरचना विविधतायुक्त छ र्। भौगोलिक जटिलताका कारण सामाजिक विकासको गति एकनाशको छैन । विकासको पहुँचभन्दा बाहिर रहेका समुदाय प्रजातन्त्र पुनस्र्थापना पश्चात् पनि अधिकाँश रुपमा समेटिन सकिएको छैन । धर्म, संस्कृति, रुढिवादी विचार तथा किंबदन्ती परम्परामा आधारित हाम्रा पौराणिक समाज विश्वको बदलिदो परिवेशमा मन्दगतिबाट बदलिने प्रयास त ग¥यो तर पहुँचभन्दा बाहिर रहेका समुदायको अपेक्षा बमोजिम परिवर्तन आउन सकेन ।
समाजमा उच्च, मध्यम र निम्नवर्गका, अनेक जातजाती, धर्म सम्प्रदाय तथा अनेक रीतिरिवाजबाट बनेको नेपाली समाजमा कतिपय क्षेत्रमा नेपालका कानूनले पनि उसको रीति परम्परालाई हस्तक्षेप गर्न सक्दैन । रुढिवादी विचारबाट ग्रसित अशिक्षित समुदायको रहन सहनलाई परिवर्तन गर्न खोज्दा अनेक बाधा, अडचन आउने भएकोले अपेक्षित उपलब्धि प्राप्त गर्न सकिंदैन । अर्थात् एउटै समयमा एउटा शिक्षित समाज द्रूतगतिले परिवर्तन गरि रहेको हुन्छ भने अशिक्षित समुदाय जहाँको त्यहीं विपन्नतालाई भाग्य सम्झी दुर्दशा भोगि रहेका हुन्छन् । अर्थात् यस्तो समाजमा विकासको गति अति न्यून हुन्छ ।
शिक्षाले मात्र समाजको रुढिवादी परम्परालाई बदल्न सक्ने क्षमता राख्दछ । तर यसले पनि परिवर्तनका लागि पीढि पर्खनु पर्छ । शिक्षाले रुढिवादी समाजलाई अन्धकारबाट उज्यालोतिर डो¥याउँदा परिवर्तनका अपेक्षित उपलब्धि देखिन थाल्दछ । समाजलाई परिवर्तनको नाउँमा हठात् बदल्न खोज्नु साम्प्रदायिक द्वन्द्व निम्त्याउनु हो । ्
प्रजातन्त्र पुनरस्थापनाको तीन दशक बिती सक्यो, हाम्रो समाज अहिले पनि उँचनीच, छुवाछूतबाट मुक्त हुन सकेको छैन । धामी, बोक्सी परम्परामा बाँची रहेको छ । भूत, देवादेवी लाग्ने, झाँक्रीबाट निवारण हुने जन विश्वासले अहिले पनि समाजमा गहिरो जरा गाडेको छ । बोक्सीलाई गुँहुँ ख्वाएर मार्ने शर्मनाक घटनाहरु अहिले पनि समाजमा व्यापक रुपमा घटि रहने चलन टुट्न सकेको छैन । पढे लेखेकाहरु पनि बोक्सी, झाँक्रीको मनोविज्ञानबाट मुक्त हुन सकि रहेको छैन । त्यसकारण पनि नेपाली समाजलाई विविध रुढिवादी समाज भनिएको हो ।
कसैको आस्था र विश्वासलाई कानूनले बदल्न सक्दैन । समाजमा रीतिरिवाजको विविध परम्परा छ । तार्किक रुपमा रीतिरिवाज अनावश्यक लागे पनि शिक्षित र अशिक्षित दुबै समाजले त्यसलाई हटाउन सकेको छैन । ऐन कानूनले जतिसुकै दबाव दिएपनि मान्यता प्राप्त रीतिरिवाज निर्वाध चलि रहन्छ । त्यहाँ परिवर्तनले जरा गाड्न सकि रहेको छैन ।
अनावश्यक, फिजुखर्ची रीतिरिवाजबाट जोगाएर आर्थिक उन्नतीतिर लैजाने सरकारको नीति रहेपनि धर्म, संस्कृतिको पहिचानको रुपमा रहेको रीतिथिति परिवर्तन गर्न मिल्दैन । आफ्नो धर्म, संस्कृति जोगाउने मौलिक हक रहेकोले यहाँ परिवर्तनले छिद्रान्वेषण गर्न सक्दैन । तर पनि यसलाई बदल्ने कुप्रयासहरु भई नै राखेको छ ।
शिक्षाले तर्कशक्ति जगाउँछ, वैज्ञानिक प्रयोगबाट सत्यापन गर्न सिकाउँछ । भूmठका आधारहरुको पहिचान गराउँछ । उँचनीच पक्षलाई एकनाशको जानकारी गराउँदछ । समान किसिमको ज्ञान र जानकारीले कुनै कुराको विस्थापन सहज हुन्छ । त्यहाँ समाजलाई क्षति पु¥याउने द्वेष भावना हुदैन । समाजमा भ्रातृत्व कायम रहन्छ । सबैको सहयोग र सहभागिताले समाजमा एकनाशको परिवर्तन आउँछ ।
जसरी बच्चालाई हठात् जवान बनउन सकिंदैन, समाजलाई पनि एकैचोटी परिवर्तित गर्न सकिंदैन । तर अज्ञान, असक्षम, द्रूतगतिको परिवर्तन चाहने तत्वहरुले समाजमा परिवर्तनलाई बलपूर्वक लाद्न खोज्दा सामाजिक सद्भाव बिथोलिएको छ । भ्रातृत्वको भावना समाप्त भएको छ । पारस्परिक सहयोगको भावना हटेको छ । सहिष्णुता समाप्त भएको छ । उपल्लो र तल्लोवर्गमा द्वन्द्वको स्थिति विद्यमान छ । समाज जातजातमा विभाजन भएको छ । जहाँ जुन जातलाई उचालेर वोट लिने ईच्छा भयो, उचाल्यो । पारस्परिक द्वन्द्व गराएर स्वार्थ पूरा गर्ने राजनीतिकर्मीहरुले समाजको संरचनालाई अहिले तहसनहस बनाएको छ । उँचनीच, छुवाछूत, उपल्लो, तल्लो जातको भावना भडकाएर, धार्मिक द्वन्द्व सृजना गरेर समाजलाई बिकृत अवस्थामा पु¥याई दिएको छ ।
निहुँ खोजेर जुनबेला पनि भिडन्तको स्थितिमा आउने समाजका मानिसहरु समाजको विकास र हित कसरी गर्न सक्ला ? समाज विकासका सिद्धान्त कसरी प्रतिपादित हुन सक्ला ? सरकारले लिएको सामाजिक विकासको नीतिलाई कसरी कार्यान्वयन गर्न सक्ला । सामाजिक सद्भाव बिगार्ने कानूनले पनि अराष्ट्रिय तत्व घोषित गरि सकेको अवस्थामा त्यस्ता व्यक्तिहरु जन प्रतिनिधी तथा सरकारका जिम्मेवार मन्त्री बनेर देश चलाई रहेका छन् । यस्ता असामाजिक तत्वलाई कानूनले पनि नजरअन्दाज गरेपछि समाजमा अराजक स्थिति निर्माण हुनु स्वाभाविक हो । समाजलाई जातजातमा विभक्त गरेर जातजातको पार्टी बनाएर राजनीति गर्ने राजनीतिकर्मी सरकार चलाउन योग्य कसरी बन्न सक्दछ ।
राष्ट्रिय अखण्डता अक्षुण राख्न देशप्रेमको भावना जगाउने, सामाजिक सद्भाव कायम राख्ने, पारस्परिक धार्मिक सहिष्णुता, जातजातिमा सद्भाव आदि गुणले युक्त जन प्रतिनिधी हुनु पर्ने, तर यसको ठीक विपरीत आचरण भएका जन प्रतिनिधीहरु जसलाई समाजमा के नारा दिएर हुन्छ, मत लिएर जित्नेबाहेक यस्का दूरगामी परिणाम के हुने भन्ने कुनै चिंता न रहने व्यक्तिले देश चलाउने जिम्मेवारी लिएको छ । यसको देशले के परिणाम भोग्नु पर्ने हो, भोगि रहेको छ ।
राष्ट्रिय एजेण्डा, राष्ट्रिय चिन्तन आदिसंग कुनै सरोकार नराखी सरकार चलाउन जानेहरुकै असक्षमताका कारण देश परनिर्भरताको खाडलमा जाकिएको छ । आर्थिक अनियमितता चरमचुलीमा छ । देशको कस्तो बिडम्बना ! देशको यस्तो दयनीय अवस्थामा पनि सक्षम, दुरदर्शी, इमान्दार, परोपकारी र देशसंग प्रेम गर्ने योग्य व्यक्ति राजनीतिक सतहमा आई रहेको छैन । देशलाई समृद्धशाली बनाउन डींग हाँक्ने सवा लाख नाती देशले जन्मायो तर एउटा असल राजनीतिज्ञ जन्माउन सकेन । हुनत, बिषम परिस्थितिबाटै कल्याण द्वार खोलिएको विश्वका कतिपय घटनाहरु छन् । नेपालमा विद्यमान परिस्थितिलाई हेर्दा टाढासम्म सुधारका आशलाग्दो लक्षणहरु देखा परि रहेको छैन । तथापि आश गरौं ।
(२०७९ बैशाख २३ गते मधेशवाणीमा प्रकाशित)
