सामाजिक आमूल परिवर्तनको मूल बाटो राजनीति नै होे । समसामयिक परिवर्तनलाई आत्मसात गर्दै देश र जनताको बेहतर स्थिति ल्याउन राजनीतिको भूमिका अहम् हो । शासकवर्गको स्वार्थान्धता जब जन अपेक्षित परिवर्तनका लागि बाधक सिद्ध हुन्छ, जनताको पक्षमा ठूला ठूला बलिदानी संघर्ष ल्याएर राजनीतिले जन कल्याणकारी राज्यको स्थापना गरेको इतिहास सर्व विदित छ ।
आफ्नो असल कर्मको फलस्वरुप भगवानले दिएको वरदान अनुसार हामी शासक भएका छौं भन्ने पौराणिक मान्यता प्रायोगिक क्षेत्रमा मिथ्या साबित भएको छ । शासक हुने नैसर्गिक अधिकार वाचन गर्नेहरु अतीतका पानामा गई सके । प्रकृतिले मानवमा भेद गरेको छैन । समान अधिकारसहित स्वतन्त्र बाँच्न पाउने मानवको नैसर्गिक हकलाई मारेर अतीतका धेरै शासकहरु शदियौं शासन गरेर गएको सत्य हो । क्रमिक रुपमा मानिसमा बौद्धिक विकास हुँदै हक, अधिकारको पहिचान हुन थाल्यो र सो प्राप्त गर्न अनेक संघर्षहरु देखा प¥यो ।
जनताले आफ्नो सरकार बनाउन पाउने अधिकार लोकतन्त्रमा सुरक्षित छ । अधिकारविहीनताको अवस्थामा गुम्सिएर बस्नु पर्ने स्थितिमा लोकतन्त्रको कुराले जनतालाई आकर्षित गर्नु स्वाभाविक हो । स्वतन्त्र रुपले बाँच्न पाउने अधिकार पाउन जनताले संघर्षहरु गरेर लोकतान्त्रिक प्रणाली प्राप्त पनि गरे । लोकतन्त्रको मर्म अनुसार यो प्रणाली चल्यो त ? तीन दशकभन्दा बढि अवधीमा पनि लोकतन्त्र लीकमा आउन सकेन ।
लोकतान्त्रिक व्यवस्थालाई चलाउन पैसाको आवश्यकता पर्छ र यसका लागि धन आर्जन गर्न पल्किएका राजनीतिक अगुवाहरु त्यही जालमा परेर बसे । गरिब मुलुकका दरिद्र मानसिकता बोकेका नागरिकहरु जन प्रतिनिधीको रुपमा धन कमाउनमा नै सीमित हुन पुगे । जनतालाई लोकतन्त्रको अनुभूति गराउने कार्यभारबाट बञ्चित भए । धनार्जन गरि यसैको भरमा राजनीति गर्ने दुष्प्रवृतिको विकास हुँदै गयो र यसले समग्र प्रणालीलाई आफ्नो कब्जामा लियो ।
व्यक्तिमा आर्थिक सम्पन्नता आएपछि गुणस्तर जेसुकै भएपनि राजनीतिको शीर्ष स्थान सुरक्षित रहने मान्यताले विस्तारै वैधानिकता पाउँदै गयो । यसरी केही व्यक्तिहरु पार्टीलाई मात्र कब्जा गरेन, समग्र प्रणालीलाई स्वार्थ अनुसार परिभाषा गरि दियो । पैसाको बलमा गैर राजनैतिक व्यक्तिहरु पार्टीको शीर्ष स्थानमा आसीन छन् । देश र जनताका समृद्धिका विचार बोकेका नेता, कार्यकर्ताहरु फालिए । उनले न अवसर पाए न धन कमाए । पार्टीभित्र उनको जीवन नर्क जस्तै बनेको छ । पैसावालहरुको इज्जत हुने ठाउँमा विचार मात्र बोकेका निरीह प्राणीको रुपमा रहेका नेता, कार्यकर्ताहरु आत्मग्लानीमा बाँची रहेका छन् । अवस्था परिवर्तनको प्रतीक्षामा मौन बसेका ती कार्यकर्ताहरु विकल्प पनि देखि रहेका छैनन् । पूर्ववर्ती शासकहरुका राज्यमाथि अवशेष प्रभावको समाप्ति, आर्थिक सामाजिक रुपान्तरणका कार्यभार पूरा गर्न लिएको सपथसंगै आपूmपनि सिद्धिने अवस्थाको दुर्दशा कार्यकर्ताहरु भोगि रहेका छन् ।
देश र जनताको चिंताबाहेक अरु कुनै कुरासंग सम्बन्ध न राख्ने जन प्रतिनिधीले मात्र लोकतन्त्र प्रणालीको शुद्ध कार्यान्वयन गराउन सक्दछ । असल जन प्रतिनिधीको भूमिका खेल्न सक्दछ । आर्थिक सामाजिक रुपान्तरणका अहम् कार्यभार पूरा गर्न सक्दछ । यी सब कुरा असल राजनीतिज्ञले मात्र गर्न सक्दछ । तर अहिले राजनीति दिशाविहीन भएको छ । प्रजातन्त्र अन्तर्गत नागरिकहरुले आपसमा सहयोगात्मक राजनीतिक संस्कृति सृजना गर्न र र त्यसलाई कायम राख्न नसकेसम्म, साँच्चि नै भन्ने हो भने यस्ता आदर्श र व्यवहारलाई सहयोग पु¥याउने आम संस्कृति विकास नगरेसम्म प्रजातन्त्र दिगो रुपमा कायम भई रहन सक्दैन (रबर्ट ए. डाहल) ।
पारस्परिक सहयोगात्मक राजनीतिक संस्कृतिको जग बसाल्ने परोपकार राजनीतिको अंश भएकोले यो वैचारिक दृढता राजनीतिक अगुवाहरुमा नदेखिएका कारण केही खास व्यक्ति जसले प्रणालीको सर्वाधिकार आपूmमा सुरक्षित राख्ने व्यवस्था ग¥यो, लोकतन्त्रको दुरुपयोग गरेका छन् । लोकतन्त्रको चरम दुरुपयोगका कारण देशमा उत्पन्न बिषम परिस्थितिप्रति कसैमा प्रायश्चितको संकेत पनि छैन । देशको दयनीय अवस्थाप्रति माया पनि छैन ।
यदि प्रजातान्त्रिक सरकार आफ्नै राष्ट्रिय सीमाभित्र बसोवास गर्ने व्यक्ति उपर वाधा पु¥याउने, राज्यको नियम कानून पालना गर्न बाध्य पार्ने, तर शासन प्रक्रियामा सहभागी हुने अधिकारबाट बञ्चित गराउने कार्य कथमपि लोकतान्त्रिक विधी हुन सक्दैन । यदि प्रजातान्त्रिक सरकारहरुले सत्ताको दुरुपयोग गर्ने स्वेच्छाचारी शासकहरुलाई शासनमा पुग्नबाट रोके मात्र भने पनि उनीहरुले अप्रजातान्त्रिक सरकारहरुभन्दा लोकहितको संरक्षण गर्ने आवश्यकता बढि नै पूरा गरेको ठहर्छ (रबर्ट ए.डाहल) ।
लोकतन्त्रका जन प्रतिनिधी कस्ता आई रहेका छन् । देश र जनताप्रति उत्तरदायी छन् कि छैनन् यसको समीक्षा तथा एकै व्यक्ति निरन्तर जितेर आउने प्रक्रियाको अन्त गर्ने तथा सरकारमा आम जनताको सहभागिता बढाउने भावना राख्ने नै असली लोकतन्त्रको सोच हो । तर यहाँ त लोकतन्त्रको विपरित परिभाषा गरेर विकृत लोकतन्त्रको स्वरुप देखाएर जनताबाट विद्रोह गराउने यो कस्तो खाले भावना हो । के यस्ता सोच राख्ने लोकतन्त्रवादी हुन सक्दछ ?
लोकतान्त्रिक सरकारले लोकतान्त्रिक प्रक्रियाद्वारा नै अरुप्रति अन्यायपूर्ण व्यवहार गर्दछ भने यसको परिणाम अन्यायपूर्ण नै ठहरिन्छ । बहुमतको शक्तिले बहुमतलाई जायज सिद्ध गर्दैैन (रबर्ट ए. डाहल) । तर नेपालमा त लोकतन्त्रको उल्टो परिभाषा चलि रहेको छ । यिनका शासन व्यवस्थाबाट बिषम परिस्थिती निर्माण भई रहेको, यसको उल्टो परिणाम आउने आदि कुराहरुबाट बेखवर राजनीतिक अगुवाहरु देश र जनताको नैतिक कार्यभार पूरा गरिएको ठहरेन । पुनश्च यिनको आगमन राष्ट्रहितमा मान्न सकिएला वा यिनको चरित्रमा केही सुधार देख्न सकिएला ?
(२०७९ बैशाख १६ गते मधेशवाणीमा प्रकाशित)
