शदियौंदेखि विभेदको पीडा भोग्दै आउँदा उत्पीडन सह्ने प्रवृति पनि पिढी दर पिढी न्यून हुँदै यसको बगावत गर्ने प्रवृति विकसित भएर आयो । नेपालकै इतिहासमा मधेशले भोगेको उत्पीडनको यति लामो इतिहास कसैको छैन । २४४ वर्षको उत्पीडनले अन्तत मधेशी जनतालाई संघर्षतिर डोर्यायो । मधेशी जनतामा राज्यप्रतिको कटुता बढ्दै गएर ०६३ सालमा भीषण आन्दोलनको रुपमा प्रस्फुटित भएको हो । राज्यले गरेको विभेदप्रति मधेश पूर्ण जागरुक भएर आन्दोलनको जन्म दियो । एकात्मक राज्यको दमनात्मक व्यवहारको परवाह नगरि मधेश छातीमा गोली थाप्दै आन्दोलनलाई परिणाममुखी बनायो । भाषागत आधारमा, क्षेत्रगत आधारमा तथा धार्मिक आधारमा राजनीति गर्ने ठेकेदारहरुको व्यापारलाई ध्वस्त पार्दै मधेश आन्दोलनले विभाजनको सबै रेखालाई मेट्दै ‘समग्र मधेश एक प्रदेश’ को अखण्ड एकतालाई स्थापित गर्यो । पूर्वेली पश्चिमेलीको क्षेत्रिय भेदभाव, मिथिला अवध भोजपुराका भाषागत भेदभाव लगायतका सबै विभेदलाई अन्त गरि समग्र मधेशलाई जोडेर मुक्ति आन्दोलनको सृजना गर्यो । आपसी फूटले मधेशलाई यति लामो समयसम्म अधिकारबाट बञ्चित रहनु पर्यो भन्ने कुरा सिकायो । सम्पूर्ण मधेश राज्यबाट प्रताडित छ । सबैको समान विभेद रहेका कारण हामी सबै मिलेर राज्यको विभेदलाई अन्त गर्नु पर्दछ भन्ने शिक्षा दियो । आन्दोलनले मधेशको एकता कायम गरेर भ्रातृत्वको सन्देश हामीलाई दियो । सबैलाई एकाकार गरि आन्दोलनलाई उत्कर्षमा पुर्याएर “संघीय लोकतान्त्रिक गणतन्त्र” को माँगलाई पूरा गराएर त्यसपछि सम्पूर्ण अभिभारा मधेशमा रहेको तीनवटा दलहरु मधेशी जन अधिकार फोरम, नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी तथा सद्भावना पार्टीलाई सुम्पि दियो ।
घोर व्यक्तिवादी चरित्र तथा असक्षम नेतृत्वका कारण मधेशका दलहरु राज्यको षडयन्त्रका मतियार हुन पुगे । राज्यले अत्यधिक धनलाभ गर्ने अनुकूल बातावरण सृजना गरि दिएपछि मधेशी नेताहरुको व्यक्तिवादी चरित्रले यसको मनोवाँछित फायदा उठायो । पार्टी विभाजन गरेर भएपनि मधेशी नेताहरु आफनो व्यक्तिवादी चरित्रको निकृष्ट प्रदर्शन गर्न छाडेन । समग्र मधेशको व्यापकता छाडेर जातीय पार्टीको रुपमा नेताहरु रुपान्तरण भएपछि भ्रष्ट आचरणको शर्मनाक प्रदर्शनबाट मधेश दिनदिनै आहत हुँदै मधेशी राजनीतिक पार्टीप्रतिको विश्वास गुमायो ।
विजयोन्मादमा दिग्भ्रमित हुन पुगेका मधेशका असक्षम नेताहरुको रोगग्रस्त सोचले “मधेशले हामीलाई डोर्याउने होइन, हामीले मधेशलाई डोर्याउने हो” मधेश आन्दोलनको राजनीतिक धरातललाई नै हल्लाई दियो । मधेश आन्दोलनले निर्माण गरेको मधेशको समग्र एकतालाई नेताहरुको रोगग्रस्त विचार, फोहरी व्यवहार र जातीगत संकीर्ण राजनीतिक व्यापारले तहस नहस पारि दियो । मधेशले नेताहरुमा देखिएका वैचारिक रोगको कुनै उपचार नदेखेर वैकल्पिक बाटो खोज्न थाल्यो । मधेशका सबै राजनीतिक पार्टीहरुमा अवसरवादी जमातबाहेक आम मधेशी मतदाताहरु अलग भए । आफनै महत्वाकाँक्षामा रमाउने नेताहरुलाई मधेशको धरातलीय यथार्थको ज्ञान भएन । पैसाको उन्मादमा जे पनि गर्न सकिने विचारबाट प्रेरित तथाकथित नेताहरु यसपाली धेरैले पराजय भोगे भने कतिपयलाई जित्न दाँतबाट पसिना चुहाउनु पर्यो । चुनाव परिणामले बल्ल सबैलाई हैसियतको ज्ञान दिलायो ।
निर्वाचन आयोगले उम्मेदवारहरुको लागि १० लाखको खर्च गर्न सक्ने भन्ने आचार संहितालाई यसपाली दलहरुले धज्जि उडाउँदै दोश्रो संविधान सभाको चुनावमा पैसाको खोलो बगायो । यति महँगो चुनाव नेपालमा सम्भवतः नभएको होला । पैसाको खोलो बगाएर पनि कतिपय मधेशी नेताहरुलाई पराजय भोग्नु पर्यो । जन विश्वासको धरातलै भत्काए पछि मधेशी पार्टीहरुले यति धेरै पैसा खर्च गर्दा पनि पूर्वाधार कायम राख्न सकेन । वर्षायाममा बालुवामा पनि घाँस उम्रेको जस्तो यसपाली १२२ वटा पार्टीहरु चुनाव लडेको थियो । ३० वटा पार्टीहरु संविधान सभामा पस्न सक्यो भने १९२ वटा पार्टीहरु हराए । संविधान सभालाई राजनीतिक पार्टीहरुले व्यापारको अड्डा बनाई दिएको छ । प्रत्यक्ष वा समानुपातिकमा यो संविधान सभामा पैसावालहरुको बाहुल्य रहेको छ । जन अधिकार दिलाउने सच्चा जन प्रतिनिधीहरु प्रत्यक्षमा न जित्न सके न पार्टी अध्यक्षहरुले समानुपातिकमा आउन दिए । मधेशी राजनीतिक दलहरु आफनो सबै समानुपातिक सीटहरु करोडौंको भावमा बेचेर धनाढ्यहरुलाई मात्र संविधान सभामा पठायो । यसरी मधेशी नेताहरु व्यक्तिवादी चरित्रको नाङ्गो रुप मधेशी जनतालाई देखाएर आफनो पराजयको प्रतिशोध लिएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने उद्देश्य लिएर आएको संविधान सभा अहिले व्यापारिक प्रतिष्ठानको रुपमा परिणत भएको छ । करोडौं खर्च गरि आएका संविधान सभा सदस्यहरुको उद्देश्य के हुने, यो बारेमा भनि रहनु पर्दैन । कथं कदाचित् सच्चा जन प्रतिनिधीहरु भाग्यले चयन भएपनि उनको अवस्था “हंसमध्ये बको यथा” सरह नै हुनेछ । अर्थात् उनको बोली कसैले सुन्दैन । जागिर खानेबाहेक उनको भूमिका केही हुँदैन ।
मधेशको जनादेश विपरित अनैतिक क्रियाकलाप प्रदर्शनका कारण जन विश्वास गुमाउन पुगेका मधेशी नेताहरुले पैसाको बलमा जित्ने रणनीति पनि काम लागेन । कुरा गर्दा मधेशी नेताहरु सबैखाले विभेदको अन्त गरि संघीयता, समावेशी, लोकतन्त्र, सामाजिक न्याय स्थापना गर्ने प्रतिबद्धता देखाउँछन् । तर व्यवहारमा भने यी कुराहरुसंग कुनै सम्बन्ध नराख्ने मधेशी नेताहरु आफनै कारणले अति कमजोर अवस्थामा देखा परेका छन् । राज्यसत्ताको अभेद्य दुर्गमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्राप्त गर्ने कुरा त परै जावोस् मधेशका राजनीतिक दलहरु माँग्ने आवाज पनि उठाउन सक्दैन । पहिलो संविधान सभामा कर्त्तव्यच्यूत भई सबैले यसपालीको चुनावमा नकारात्मक परिणाम भोग्नु पर्यो । संघीयता प्राप्त गर्ने दिशामा मधेशका दलहरुको कमजोर भूमिका देखिएकोले पनि मधेशी जनताको अपेक्षा पूरा गर्न सक्दैन । पराजयको प्रहारले पहाड जस्तो रहेको महत्वाकाँक्षा धुल धुरसित हुन पुग्दा निश्चय पनि मधेशी नेताहरु नकारात्मक सोच लिएका होलान् ।
मधेश आन्दोलनले दिएको राजनीतिक प्रतिष्ठा पाएर महान बन्न पुगेका यी नेताहरुको सैद्धान्तिक आधार नै छैन । ‘इस्यू वेस्ड’ राजनीति गर्न आएका यिनको राजनीतिक शिक्षा भने फरक फरक रहेकोले कमसे कम मधेशको मुद्दामा त एकजूट हुनु पर्ने हो, एक हुन सकि रहेको छैन । जन विश्वास गुमाएका मधेशी नेताहरु चुनावभन्दा पूर्व एकजूट भएर चुनाव लडेको भए मधेशमा वैकल्पिक राजनीतिक शक्तिहरुको प्रवेश त हुँदैन्थ्यो । व्यक्तिगत महत्वाकाँक्षा राख्ने कट्टर स्वभावका धनी मधेशी नेताहरु एक आपसमा मिल्न सकेन । फलतः मधेशमा नेपाली काँग्रेस र एमालेले वर्चस्व कायम गर्यो र मधेशी दलहरुलाई आफनै भूमिमा अति कमजोर अवस्थामा साक्षीको रुपमा बस्नु पर्यो । चुनावमा मधेशी दलहरु मोर्चा बनाएर लडेको भए यस्तो शर्मनाक अवस्था भोग्नु पर्ने थिएन र मधेशको विश्वास पनि जित्न सक्थ्यो । किन्तु यति सानो कुराको ज्ञान पनि नभएको यी दलहरु निश्चय पनि मधेशको अधिकार दिलाउने पार्टी होइन । यो व्यापार गर्ने पार्टी हो जो सधैं राज्यको दलाली गर्न तत्पर रहन्छ ।
अवसर खोज्दै भौतारि रहेका मधेशका यी पात्रहरु हरेक पार्टीभित्र छिरेर अवसरनै खोजी रहे । यस लामो प्रक्रियामा यिनको चरित्रनै व्यक्तिवादी बन्न पुग्यो । व्यक्तिगत स्वार्थपूर्ति गर्दा पनि मधेशले दिएको अभिभारा पूरा गर्ने तर्फ यिनको कुनै नैतिक दायित्व रहेन । राज्यको इशारामा पद र पैसा प्राप्त गर्न पार्टी विभाजन गरि सबै मन्त्री बने, पैसा कमाए । व्यक्तिगत स्वार्थमा लीन मधेशी नेताहरुलाई मधेशले दिएको जिम्मेवारीको बोधनै भएन । अर्थात् आफनो महत्वाकाँक्षाको अगाडी मधेशलाई अधिकार सम्पन्न गर्ने दायित्वको कुनै महत्व रहेन । जनताले शहादत दिएर स्थापना गरेको संविधान सभाबाट जन अधिकार दिलाउन नेतृत्व पंक्तिमा देखिएका अपाङ्ग तथा कमजोर मानसिकताले मधेशले अपेक्षा गरेको अधिकार दिलाउन सक्दैन भन्ने कुराले मधेश धेरै दुःखी भयो । अधिकार दिलाउन सुपात्र सन्तानहरु सबै शहादत दिए भने मधेशलाई नेतृत्व गर्ने कुपात्र सन्तानहरुबाट दुःख पीडानै भोग्नु पर्ने कुराबाट मधेश निराश नै भयो । उनको निराशा यति विघ्न बढ्यो कि मधेशी दलहरुको पक्षमा चुनावी परिणाम नकारात्मक देखियो ।
नकारात्मक चुनावी परिणामका कारणले होस् वा अरु कुनै कारणले तराई मधेश लोकतान्त्रिक पार्टी, मधेशी जन अधिकार फोरम, नेपाल तथा सद्भावना पार्टीले एकीकरणको अप्रासाँगिक राग अलाप्न शुरु गरेका छन् । तीनै तीन प्रकारका स्वभाव बोकेका अध्यक्षहरु एकअर्काप्रति यति आशंकित र आतंकित छन् कि मिलनको चर्चाबाहेक अरु केही सत्यता भने देखिदैन । यो पंक्तिकारलाई त एकीकरणको कारण मधेशलाई अधिकार दिलाउने प्रेरणाले होइन, नयाँ व्यापारी प्रतिष्ठानको रुपमा स्थापित भई रहेको संविधान सभामा अधिकाधिक लाभ प्राप्त गर्न एकीकरणको आवश्यकता महसूस भएकोले होला, यो असम्भव एकीकरणको हल्ला चलाईएको हो ।
राजनीतिक दलहरुको मिलन होस् कि बिछोड, मधेशको नाममा खडा भएका अकर्मण्य राजनीतिक दलहरुलाई मधेशले अविश्वास गरि सकेपछि यिनको कुनै पनि गतिविधीले मधेशलाई आकर्षित गर्न सक्दैन । गजेन्द्र नारायण सिंहको पार्टी कुनै बेला धेरै लोकप्रिय थियो, अहिले हराएको जस्तै यो पार्टीहरु पनि विलीन नहोला भन्न सकिन्न ।
२०७० माघ २४ गते मधेशवाणीमा प्रकाशित
