दोश्रो संविधान सभाको मंसीर ४ गते सम्पन्न चुनावको नतीजाले नेपाली काँग्रेसलाई पहिलो पार्टीको रुपमा उभ्याएकोले सरकार बनाउन पहिलो दायित्वको आधारमा सभापति सुशील कोईराला आफनै पार्टीमा मतदान प्रक्रियाबाट शेरबहादुरलाई पराजित गर्दै एमालेसंग सात बून्दे सहमती गरि ३ महिना पश्चात् माघ २७ गते संविधान सभामा ४०५ मत ल्याएर प्रधानमन्त्री बन्न सफल भयो । एमाओवादी, मधेशी दल लगायत अरु साना दलहरुको १६६ मत विपक्षमा पर्यो । पहिलो संविधान सभामा प्रधानमन्त्रीको लागि चुनावमा १७औं पटकसम्म प्रतिस्पर्धा गर्ने रामचन्द्र पौडेल दोश्रो संविधान सभामा पनि अग्राधिकार पाउन सकेन । एकवर्षमा संविधान निर्माण गरि घोषणा गरे पश्चात् राष्ट्रपति उपराष्ट्रपतिको चुनाव गराउने सहमती गरेर पगपग र पलपलको जटिलतालाई चिर्दै सुशील कोईराला प्रधानमन्त्रीको पदमा उक्लिन सफल भएपनि संविधान सभामा थुप्रिएको देशको यावत् समस्यालाई बेलैमा सम्बोधन गर्ने सहजता भने छैन । पगपगमा उम्रिएका अवरोधलाई हटाउनुको साटो अल्झाउने मानसिकताको बाहुल्यताले निश्चय पनि संविधान निर्माणको प्रक्रिया सहज हुन सक्दैन । प्रधानमन्त्री सुशील कोईरालाको सरकारको अगाडि कठीन चुनौतीहरु उभिएका छन् ।
पहिलो संविधान सभा जेजति कारणले निष्कर्षविहीन भएर अन्त भयो, त्यसले बोकेको जनादेश सोझै दोश्रो संविधान सभालाई हस्तान्तरण गरि दिएको छ । नेपाली काँग्रेसले प्रचार गरेको वाक्याँशलाई–“एमाओवादीले संविधान बनाउन दिएन” जनताले विश्वास गरि शीर्ष स्थानमा ल्याएर दिएको जिम्मेवारीबाट नेपाली काँग्रेसले पूर्ववत् अनेक बहानाबाजी गरेर पन्छिन सक्दैन । अन्तरीम संविधानमा उल्लेख “संघीय लोकतान्त्रिक गणतन्त्र”को संविधान एक वर्षभित्र दिने वाचाका साथ चुनावमा गई उच्चतम नतीजा ल्याउन सफल नेपाली काँग्रेस सबैलाई विश्वासमा लिएर घोषित समयमा संविधान निर्माण गर्न कति सफल हुन्छ, समयले नै बताउला ।
राजनीतिको स्तरहीनताले राजनीतिज्ञको हैसियतलाई दर्शाउँछ । आफनो अस्तित्वका लागि अनैतिक सीमासम्म तिकडमी खेल खेल्ने खेलाडीहरु कति विघ्न राजनीतिलाई दुषित बनाउँछ कि आफैले पनि यसलाई स्वच्छ बनाउन सक्दैन । आफनो श्रेष्ठता साबित गर्ने होडबाजीमा जनादेश विपरित गएर दायित्वबाट पन्छिएको अवस्था पहिलो संविधान सभामा सबैले हेरेकै हो । दोश्रो संविधान सभामा जनताले पंच परमेश्वरको रुपमा उभ्याएपछि नेपाली काँग्रेस विगतभन्दा फरक देखिने हुन् वा पहिलेको जस्तै भूमिकामा प्रस्तुत हुने सबैको जिज्ञासाको बिषय बनेको छ । जन अधिकारलाई सम्बोधन गरि देशमा दीर्घकालीन अमन चैन ल्याउने वा उठेका समस्यालाई पन्छाएर आफनो अस्तित्वलाई मात्र कायम राख्ने रणनीति लिएर देशलाई द्वन्द्वको भूमरीमा फँसाउने नेपाली काँग्रेसको आगामी गतिविधीले देखाउँछ । अविश्वासको वातावरणमा सहमतीको आधारमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने बित्तिकै सामुन्ने देखिन आएका गतिरोधहरुलाई साम्य पारि सहज वातावरण बनाउन सक्ला भन्ने कुरामा विश्लेषकवर्ग सशंकित नै देखिएका छन् ।
नेपाली राजनीतिमा व्यक्तिवादी बिशेषता हावी रहेकोले यसबाट कोई बञ्चित छैन । नेपाली काँग्रेसको सरकार बन्ने बित्तिकै सरकारबाट बाहिरिएका खिलराज रेग्मीले आत्मप्रशंसाको ठूलो स्टाच्यू खडा गरि महान विभूतिको लाईनमा आफूलाई राखी गए । खिलराज रेग्मीले आफूलाई सफल शासकको रुपमा चित्रित गर्दा यिनको महानताको मापदण्ड के ? एमाओवादीले विश्वास गरेर प्रधानमन्त्री बनाउँदा त्यसको विराट रुपलाई छोटयाएर वामपुड्के अवस्थामा एक कुनामा थन्काएको कारणले देशी विदेशी शक्तिहरुले प्रशंसा गरेको मापदण्ड हो वा परिवर्तनकारी शक्तिहरुलाई चुनावमा नेस्तनाबूद गरेको मापदण्ड हो । आफनो पैताला मुनिको धरती तानेर लग्दा पनि चमत्कारी रुपमा अडिएको शक्ति प्राप्त भएको कारणले खिलराज रेग्मी महान बनेका हुन् वा नेपाली काँग्रेस, एमालेलाई सत्ताको शीर्षस्थानमा पुर्याएर महान बनेका हुन् । यसबारे विश्लेषण गर्न मुश्किलै पर्छ । प्रधानमन्त्री पद ग्रहण गर्दा सर्वोच्च अदालतबाट निजलाई राजीनामा दिलाउन भएको संघर्षलाई वेवास्ता गरि प्रधान न्यायाधीशको पदबाट राजीनामा नगरि अटेर गरेर बस्नेले आज प्रधानमन्त्रीको कार्यकाल सक्ने बित्तिकै प्रधान न्यायाधीशको पदबाट राजीनामा गर्नुको रहस्य नखोली जाँदा सबै तेजले साथ छोडे जस्तै निर्वल भएर अस्ताउने सूर्यका भाँति खिलराज रेग्मी अस्ताउँदा कसैमा कुनै प्रतिक्रिया देखिएन ।
स्वच्छ छविका भनाउँदा खिलराज रेग्मीको सरकार रिमोटबाट चल्ने रोबोट मात्र थियो भन्ने कुरा अब सबैले बुझे । जनताले आफनो अधिकारका लागि हजारौंको संख्यामा बलिदान गरेर ल्याएको संघर्षको आवाजलाई गौण गर्न अनेक षडयन्त्र गरि राज्यले पहिलो संविधान सभालाई अर्थहीन बनायो । दोश्रो संविधान सभाको चुनाव गराउन स्वच्छ छविको व्यक्तिलाई प्रधानमन्त्री बनाउँदा खिलराज राज रेग्मीले चुनावको माध्यमले राजनीतिलाई यू टर्नमा फर्काई दिएको कारणले राज्यपक्ष खुशी हुनु स्वाभाविकै हो । तर परिवर्तनकारी शक्तिलाई निस्तेज पार्न गरिएको यो धृष्टताको कटु आलोचना हुनै पर्छ । आफनो अभिभावकत्वको यस्तो दुषित उपयोगले नेपालको बर्बर शासनकालको सम्झना दिलाउँछ जसको सभ्य मानवले प्रशंसा गर्नै सक्दैन । विगतकालमा जति हदसम्म दलहरुले राजनीतिलाई फँसाएको थियो, खिलराज रेग्मीकालमा राजनीति समस्या अझ गहिरिएर गएको छ । यसले सहजताभन्दा जटिलतालाई निम्त्याएको छ । यिनको ११ महिने कार्यकालमा राष्ट्रिय स्वाभिमान कुल्चिएको छ, अपमानित भएको छ । हाम्रो स्वत्व हरण भएको छ । के यसैलाई यिनको महानताको मापदण्ड मान्ने ? निर्विरोध चुनाव गराउनु नै आफनो सफलता बुझ्ने खिलराज रेग्मीले नकारात्मक प्रतिफल के ल्याए भन्ने कुरा केही बुझन सकेन । वातावरणको निःशब्दता भयंकर आँधीको आभास दिलाउँछ भन्ने कुरा शायद जागिर खाने उन्मादमा रेग्मीले सोचेन होला ।
“मेरो कार्यकालले कहीं देशमा नवीन रुपको द्वन्द्वको बीजारोपण त गरि रहेको छैन” भन्ने दिशातिर सोच्नु आजको शासकवर्गको काम होइन र यसबारे आत्म आलोचित हुनु पर्ने आवश्यकता पनि छैन । शासकको काम शासन गर्ने हो । अधिकार माँग्नेको काम आन्दोलन गर्ने हो । यदि देश आन्दोलित नै भयो भने यसमा खिलराज रेग्मीकै कारणले त पक्कै पनि होइन । राजनीतिक दलहरु जस्तो उ तिकडमबाज पनि होइन । उ त सर्वमान्य रुपले स्वच्छ छविको मान्छे । मधेश आन्दोलन पनि भन्न नरुचाउने “तराई घटनाको छानवीन आयोग” को निष्पक्ष जाँच गर्ने न्यायमूर्त्ति !
एमालेसंग सहमती गरि नेपाली काँग्रेस सरकार बनाउन सफल भएको छ । एमाओवादीले मधेशका दलहरुलाई आफनो गठबन्धनमा लिएर प्रतिपक्षमा बसेको छ । अनेक विघ्न बाधाका बावजूद नेपाली काँग्रेस अनेक चुनौती भएपनि पाँच वर्षपछि सरकारको नेतृत्व गर्न पाएको खुशीमा लामो साँस फेरेको छ । पार्टीहरु उत्थान र पतन दुई ध्रुवमा बाँडिए अनुसार मधेशका दलहरु एमाओवादी खेमातिर ध्रुवीकृत भएका छन् । दशकौंको भागदौडबाट थकित प्रचण्डलाई यसपालीको चुनावले कम जिम्मेवारी दिएर थकाई मार्न प्रतिपक्षमा बस्न पठाएको छ । गठबन्धन बनाउन नचाहेको प्रचण्डलाई परिस्थितिले प्रतिपक्षमा पठाईएका मधेशी दलहरुसंग सहवास र सहकार्य गर्न फेरि एकपल्ट अवसर जुराई दिएको छ । विगतकालमा मधेशी दलहरुसंग गठबन्धन बनाएर दिक्क मानेका प्रचण्डका सहयोगी उही एकमुष्ट मधेशी दलहरु बन्न पुगेका छन् । परिवर्तनकारी शक्तिको रुपमा चिनिएका एमाओवादी र मधेशका दलहरु प्रतिपक्षमा बसे पनि सत्तापक्षको उचाई नाप्न भने सक्दैन ।
मधेशको जनादेश विपरित सबै मधेशी दलहरु लूटपाटमा संलग्न भएपछि जन विश्वास गुमाउन पुगेका र मधेशमा आफनो प्रभाव घटि सकेको आभास पनि नपाएका दलहरु दोश्रो संविधान सभाको चुनावमा आफनो हैसियत गुमाए पछि तीन पार्टी (तमलोपा, फोरम नेपाल र सद्भावना) एकतिर प्रतिपक्षमा बस्ने भन्दै एकीकरणका नाटक थालेका छन् भने अर्को खेमाका मधेशी दलहरु ( फोरम लोकतान्त्रिक, रामसपा, तमसपा, फोरम गणतान्त्रिक ) विजय गच्छदारको नेतृत्वमा ध्रुवीकृत हुदै सम्भवतः एकीकरण होइन भने मोर्चा बनाउन जुटेका छन् । काँग्रेसको सरकार बन्ने सम्भावना भएपछि विजय गच्छदार निःशर्त काँग्रेसलाई सहयोग गर्ने भनेर पासा फेके । एमालेबाहेक कसैको सहयोगको आवश्यकता नदेखेको नेपाली काँग्रेसले विजय गच्छदारको वास्तै नगरेको अवस्थामा बाध्यतावश विपक्षमा गएर बसेको हो । परिस्थितिले जुराई दिएको संयोग कस्तो बन्न पुग्यो भने सबै मधेशी दलहरु एकठाउँमा बस्न पुगे । मधेशी दलहरुमा सहकार्य गर्ने संस्कार नरहेको अवस्थामा सहवास भने देखियो । पीचर प्लान्टको कलशमा ज्यान गुमाउन खसेका कीराहरु जस्तै एमाओवादीको खेमामा नचाहँदा नचाहँदै मधेशी दलहरु एकत्रित हुन पुगे । सहवासको दिनदिनै अभ्यासले यिनीहरुमा सहकार्य गर्ने संस्कृतिको विकास होला कि भन्ने सम्भावना परिस्थितिले जुराई दिएको छ । सम्भावनालाई सत्य वा मिथ्या साबित गर्ने सारा अधिकार मधेशी दलहरुलाई रहेकोले यसको नतीजा हेर्न त प्रतीक्षा नै गर्नु पर्दछ ।
राजनीतिक व्यापारको माध्यमले व्यक्तिगत रुपमा समृद्धि हासिल गरि सफल रुपमा पार्टी संचालन गर्ने मधेशका नेताहरु समानुपातिक व्यापारमा आशातीत लाभ प्राप्त गरेपछि अहिले केही दिन सत्ता नपाएपनि केही फरक नपर्ने सोचका साथ प्रतिपक्षमा गएर मधेशबाट केही इज्जत पनि कमाई हाल्ने मनसायका साथ विपक्षी खेमामा बसेका हुन सक्छ । समानुपातिक व्यापारमा धनलाभ गर्ने क्रमशः विजय गच्छदार, उपेन्द्र यादब, महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी तथा महेन्द्र राय यादब रहेका छन् । हैसियत गुमाउँदाको किञ्चित दुःख नरहेको मधेशी दलहरु समानुपातिक सीट बेचेर रमाएका छन् । मधेशको जनादेश विपरित गरेको कुकृत्यको सजाय भोगे पनि नेताहरुमा किञ्चित आत्मालोचना नजन्मेकोले यिनी कुन स्तरको र के मानसिकताबाट राजनीति गर्न खोजेको हो, यसमा भने अब मधेशलाई कुनै संशय छैन । यसपालीको चुनावमा मधेशी दलहरु राजनीतिक मूलधारबाट किनारामा फालिएपछि यिनीहरु पनि मधेशलाई अधिकार सम्पन्न गर्ने सैद्धान्तिक विचारलाई फालेर मधेशप्रतिको दायित्वबाट मुक्त भई सत्ताको राजनीतिलाई नै आफनो ध्येय बनाएका छन् ।
विश्वासको आधार गुमाएर सानो आकारमा खुम्चिन पुगेका मधेशी दलहरु एकीकृत रुपमा आएपनि नेपाली काँग्रेस र एमाले गठबन्धनको सरकारलाई चुनौती दिन सक्दैन, अर्थात् संविधान बनाउन प्रयोग गरिने स्वेच्छाचारितालाई पनि मधेशी दलहरु रोक्न सक्दैन । अवसर गुमाएर दुर्भाग्यको अँध्यारोमा बस्न बाध्य भएका मधेशी दलहरु जागिर खानेबाहेक अब अरु कुनै जिम्मेवारी पनि रहेन । मधेशलाई अधिकार दिलाउने अग्रपंक्तिमा उभिन आएका नेतृत्वपंक्तिको विगतकालमा देखिएको नालायकीपनबाट मधेशले सम्बन्ध हटाई सकेको प्रमाण चुनावको माध्यमले दिई सकेको छ ।
मधेश आन्दोलनले सृजना गरेको समग्र मधेशको एकतालाई राज्यको मतियार भई जातीय राजनीतिको आधारमा टुक्रा टुक्रा गर्ने मधेशका यी कथित नेताहरुलाई मधेशले यो चुनावमा राम्रो पाठ पढाएको छ । जातीय उन्मादमा रहेको उपेन्द्र यादबलाई मधेशले सबभन्दा बढी सिकाएको छ । जातीय राजनीति मधेशलाई ग्राह्य नरहेको कुरा चुनावबाट स्पष्ट गरि दिएको छ । मधेशी दलहरुभन्दा मधेश राजनीतिक रुपले धेरै सचेत रहेको चुनावी परिणामले देखाएको छ । यसले मधेशमा जन्मेका जातीय संकीर्णतावाद, अवसरवाद, दलाल र समर्पणवादलाई ठूलो झापड हानेर पठाएको छ । संकीर्ण राजनीतिक विचारबाट प्रभावित भै मधेशका मसीहा बन्न खोज्ने सबैलाई मधेशले तिरष्कार गरि पठाएको कारणले होला, मधेशका दलहरु विक्षिप्त अवस्थामा कुनै निर्णय लिन सकि रहेको छैन । हुनत, नेतृत्व गर्ने लायकको हुन नसकेकाहरुले मधेशको नेतृत्व गर्न पुगे र अधिकारको दिशामा सगठित भएको मधेशी राजनीतिलाई तहस नहस पारि दिशाविहीन बनाए । लाभको सोच मात्र राख्ने यी दलहरु पराजयबाट मानसिक सन्तुलन गुमाउन पुगेकाहरुले एकीकरण गरे पनि नगरे पनि यिनको भविष्यमाथि प्रश्नचिन्ह यसैपनि झुण्डिएको छ । मधेशको आवाज उठाएर सबैको समर्थन हासिल गरि खासगरि “इजी मनी” को लागि राजनीति गर्ने मधेशी नेताहरुको छद्मवेशलाई अब मधेशले बुझि सकेको छ । यस्ता लिडरहरुकै कारण मधेशले २४४ वर्षसम्मको दोहन र शोषणको पीडा भोग्यो । मधेशसंग धोखा गर्नेमा बेदानन्द झाको नामलाई अगाडि सारिएको थियो भने अर्को उपेन्द्र यादब नाम सामेल भएको छ । उनले त मधेशलाई छोडेर राजालाई साथ दिएका थिए । उपेन्द्र यादबले त मधेश आन्दोलन, मधेशी एकतालाई बेचेर सम्पत्ति कमाए । मधेशको एकता र भावनाबाट गद्दारी गरे । उपेन्द्र यादब आफू गद्दार भएर धेरै गद्दारलाई जन्म दियो । मधेशको इतिहासमा उपेन्द्र यादबको कलंकित नाम सधैंका लागि अंकित भएको छ । “इजी मनी” का लागि मधेशको राजनीतिलाई व्यापारमा प्रयोग गरि मनग्गै धनलाभ गरेको उपेन्द्र यादब व्यापारी घरानामा नाम लेखाई सकेको छ । अब मधेशको राजनीति उनको लागि “साइड बिजिनेस” भएको छ । व्यापारबाट लाखौंको आम्दानी प्रति महिना कमाउने उपेन्द्र यादबलाई मधेशले विश्वास गर्न छोडे पछि अब उनले राजनीतिको भारी बिसाउन खोजि रहेको छ । यो काम उनको जीवनको पहिलो प्रशंसनीय काम हुनेछ ।
२०७० फाल्गुन २ गते मधेशवाणीमा प्रकाशित
