संघीय प्रणालीप्रति राज्यको सोच

मधेशीलाई स्वाभिमान र पहिचान दिन नसकेको सामन्ती पृष्ठपोषक राज्यसत्ताको विरूद्ध संघीयताको मांग राखेर मधेश उत्साहवर्द्धक तथा बलिदानी लडाई लडेको थियो । मधेशले दर्जनौं वीर सपूतहरूको कुर्वानी दिएर अन्तरीम संविधानमा “संघीय लोकतान्त्रिक गणतन्त्र” लेख्न राज्यलाई बाध्य तुल्यायो । मधेश आन्दोलनको यो ठूलो उपलब्धि थियो । मधेशको सशक्त आन्दोलनको उत्कर्षले राज्यलाई भयभीत बनायो र मधेशको मांगलाई स्वीकार गर्‍यो । संघीयतालाई राज्य पुनर्संरचनाको प्रस्थानविन्दु बनाए पनि यसको कार्यान्वयन पक्षलाई बिगतका दिनमा यति दुर्बल बनाइयो कि आन्दोलनबाट प्राप्त उपलब्धि गुम्न सक्ने खतरा उत्पन्न भएको छ । देशलाई पुनश्च यथास्थितिमा धकेल्न बाध्य तुल्याइँदैछ । राजनीतिक गतिरोधको माध्यमले देशलाई अनिर्णयको अवस्थामा पुरयाएरअसहज परिस्थिति निर्माण गरी यथास्थितिमा लाने बदनियतपूर्ण खेलको बडो चालाकीका साथ मञ्चन हुँदैछ । अगाडी जानुभन्दा पछाडि हटनु नै फायदाजनक रहेकोले राज्य अघि बढन डराएको हो र राजनीतिक गतिरोध उसलाई नवजीवन प्रदान गर्न संजीवनी दिई रहेको छ ।
राज्य व्यवस्थाद्वारा मधेशमा लादिएको शोषण र भेदभावको सबैखाले अवयवको अन्त गरी समानाधिकारको आधारमा राज्य पुनर्संरचना गरी “स्वायत्त मधेश प्रदेश” स्थापना गर्ने भन्ने मधेश आन्दोलनको सपना थियो । मधेश आन्दोलनको सशत्तता र सफलताले मधेशी नेताहरूलाई अप्रत्याशित रूपले शीर्ष स्थानमा पुरयायो । एकीकृत विशाल मधेशको भावनालाई समेटन सक्ने क्षमताको विकास भई नसकेको नेतृत्व पंक्तिमा मधेश आन्दोलनको सफलताले महत्वाकांक्षा चरम रूपले वृद्धि भयो । असक्षम नेतृत्वको चरम महत्वाकाँक्षाले मुट्ठिमा समातिएको वालुवा जस्तै मधेश अलग भयो । मधेश आन्दोलनले अभिव्यक्त गरेको सवाललाई स्थापित गर्न मधेशले एकीकृत रूपमा दिएको जनादेशलाई वेवास्ता गरी नितान्त व्यक्तिगत फायदा लिन मधेशी नेताको व्यस्तताले मधेश निराश भयो । मधेशी नेताहरूमा त्याग र बलिदानको सट्टा व्यक्तिवादी चरित्रको विकास भएकै कारण मधेश निराश भयो । यही अवसरको फायदा उठाएर राज्यले मधेशलाई निस्तेज पार्न फेरि षडयन्त्रका तानाबाना बुन्न शुरू गर्‍यो । मधेशको एकतालाई छिन्नभिन्न गर्न मधेशलाई साम्प्रदायिक, जातीय, धार्मिक, भाषिक राजनीतिको दलदलमा धकेल्ने कुुचेष्टाको सुत्रपात पनि भई सकेको सबैले अनुुभव गरैकै कुुरा हो ।
मधेशी नेताहरूको उच्च महत्वाकाँक्षाका कारण शक्तिकेन्द्रको मोहपासमा फँस्न बाध्य हुनु परेकोले मधेशको बागडोर हातबाट छुटनु स्वाभाविक पनि हो । सरकारमा उल्लेख्य संख्यामा उच्च पदासीन रहेका मधेशी नेताहरू मधेश आन्दोलनको भावनाप्रति गम्भीर नहुनुका कारण मधेशमा अविश्वास, कुण्ठा, आक्रोश बढेको हो । मधेशमा बढि रहेको यस्तो असहज परिस्थिति अहिले राज्यको चलखेलका लागि उर्बरा भूमि साबित हुन लागेको छ । मधेश आन्दोलन पछि नेतृत्वपंक्तिमा देखिएका अवसरवादी, जातिवादी, राजनीतिक व्यापारी, मनोगतवादी जस्ता प्रवृतिले मधेशको एकतालाई विखण्डित गरेको हो ।
‘मधेश आन्दोलन मेरो हो, म मधेशको मसीहा हूँ’ भन्ने एकथरीका नेता भए । ‘मेरो’ भन्ने मनोगतवादी चिन्तनले विशाल मधेशमा एकजनाको अस्तित्व मात्र देखाउँछ । आफनो मात्र अस्तित्व देख्ने, देखाउने प्रवृति मधेश आन्दोलनका मित्र कदापि हुन सक्दैन । मधेश आन्दोलनलाई गन्तव्यमा कदापि पुरयाउन सक्दैन । यो प्रवृतिले मधेश आन्दोलनलाई विसर्जनमा लै जान्छ । म भन्नेले घोर निरंकूशतालाई जन्म दिन्छ । निरंकूश नेतृत्वले सहअस्तित्वलाई स्वीकार्दैन । अन्ततोगत्वा निरंकूश नेतृत्वलाई अहिलेको परिवेशमा जनताले स्वीकार्दैन । यस्तो नेतृत्व आफै अस्तित्वहीन हुन्छ, मधेश आन्दोलनलाई अगाडी बढाउने सवालै उठदैन ।
‘मसंग विश्व विख्यात विश्वविद्यालयको राजनीति शास्त्रको डिग्री साथै दशकौं देखि राजनीतिक क्षेत्रमा महारत हासिल छ । वस्तुपरक राजनीतिक गम्भीरतालाई सूक्ष्मतम अनुसन्धान, अध्ययन र विश्लेषण गर्न म सिद्घहस्त छु भनेर मधेश आन्दोलनलाई गन्तव्यमा पुरयाउन म बाहेक अरूले सक्दैन’ भनेर मधेशको रामनामी जप्ने अर्को थरी नेता भयो । आफनो स्वार्थसिद्घि नियत बोकेको यो खाले नेताले आफनो मधेशमा क्रान्तिकारी भाषणको शर्बत पिलाएर आफनो आर्थिक फायदालाई प्राथमिकतामा राखेर (पहिला भन्दा उदार किन्तु आफनो फायदाका लागि कट्टर) निर्बाध गतिशील देखिन्छ । मधेशलाई शतांश फायदा दिन नसक्ने यो खाले अवसरवादी राजनीतिक व्यापारी जसको चरित्रमा मधेशमुक्तिको सवाल सामेल छैन, मधेशलाई मुक्ति दिलाउन सक्दैन ।
आफनो बलबूतामा मधेशकालागि केही गर्न नसक्ने, अवसरलाई पनि नछोडने अवसरवादी, भए पनि ठीक, नभए पनि ठीक मानसिकता बोकेको तेश्रो थरीको नेता पनि भए । आफनो क्रान्तिकारी भाषणबाट आफूलाई मधेसका मसीहा कहलाउने, सरकारमा पनि बस्ने तथा मधेशको मुद्दाप्रति चुइँक्क नबोल्ने मधेशका यस्ता यथास्थितिवादी नेता पनि मधेश आन्दोलनलाई अगाडी बढाउन सक्दैन ।
त्याग, तपस्या, बलिदान र उच्च विचारले मानिसलाई महानतातिर डारयाउँछ । मधेशले भीषण आन्दोलन गरयो, तर दुर्भाग्यवश असल नेता जन्माउन सकेन । अहिलेका नेताहरूको एउटै अभिष्ट के हो भने धन छ भने जनता आफै साथ दिन्छन । राजनीति निरन्तर चलि रहन्छ । कमोवेस यो सोच मधेशको सबै राजनीतिक दलहरूमा पाइन्छ । तर मधेश मुक्तिको सवालमा यो चिन्तन घातक हो । यसले मधेशलाई शून्य निष्कर्षमा पुरयाउँछ । देशमा विद्यमान राजनीतिक गतिरोध परिणामतः द्वन्द्वलाई निम्त्याई रहेको छ । मधेश आन्दोलनको सम्भाव्यता पनि स्पष्ट छ । मधेशले विगतको आन्दोलनबाट पाठ सिकेर अझ परिमार्जित भएर आउनु आवश्यक छ । आन्दोलन कसैको पेवा होइन, ऊ स्वतन्त्र छ, आफनो अधिकारको लागि यति ठूलो लगानी गरि सकेको मधेश चुप लागेर बस्न सक्दैन । सबैको हैसियतको पहिचान त्यहीं हुने पक्का छ ।
(२०६७ पौष १६गते मधेशवाणीमा प्रकाशित)

Leave a Comment

error: Content is protected !!