मधेश आन्दोलन पश्चात विभिन्न राजनीतिक दलहरूबाट छुट्टिएर भिन्न राजनीतिक संस्कार बोकेर तर मधेशका लागि मरि मेटने प्रतिज्ञा गर्दै मधेशी राजनीतिक दलहरूमा विभिन्न विचारको टकराहटका कारण पार्टी टुटदै फुटदै आम नागरिक सरह हुन लागेको कुरा प्रष्ट भै सकेको छ । मधेशी राजनीतिक दलहरूको नेतृत्व पंक्तिमा (क) उच्च महत्वाकाँक्षा (ख) विभिन्न राजनीतिक विचारको चमत्कारी मिलन (ग) मधेश आन्दोलनप्रतिको समर्पण भावको अभाव (घ) स्वार्थलिप्सा प्राथमिक उद्देश्य (ङ) लोकतन्त्रको नाममा अलोकतान्त्रिक कार्यशैली (च) एकल निर्णयको प्रवृति तथा (छ) मास बेस्ड पार्टी बनाउनु नै पार्टी विखण्डनका मुख्य आधार हुन ।
मधेशका राजनीतिक दलहरूमा टुटने फुटने क्रम जारी नै रहने भएकोले कतिपय फुटि सके भने कतिपय फुटने तयारीमा छन । सत्ता हेरफेरको क्रमसंगै पार्टी विभाजनको शुभारम्भ कुनै नौलो कुरा होइन । मधेश आन्दोलनका लागि पार्टी विभाजन हुनु राम्रो कुरा हो तर त्यसो भएको देखिदैन । जति फुटे त्यसमा सत्तालिप्सा तथा नेता बन्ने रहर नै देखा परयो । पार्टी फुटदा अरू पार्टीलाई दोष दिनु नेतृत्व पक्षको असक्षमता र निकम्मापन बाहेक अरू केही मान्न सकिदैन । सह अस्तित्वको आधारमा मतभिन्नतालाई मतैक्यमा रूपान्तरण गर्नु कुशल नेतृत्वको पहिचान हो । विभिन्न मतावलम्बीलाई तार्किक बहस, छलफलको माध्यमले मधेशमुक्तिको कार्यदिशाको कसौटीमा एकाकार गरी रणनीति बनाएर जाने कुरामा मतैक्य हुनु निश्चित छ । तर मधेशको राजनीतिक पार्टी भनेर स्वार्थसिद्घिका लागि मात्र सत्तालाई प्रयोग गर्दा पार्टीमा असन्तोष बढनु र पार्टी विभाजनमा जानु स्वाभाविक हो ।
मधेशलाई अधिकार सम्पन्न बनाउने सवालको सैद्घान्तिक आधार, रणनीति र कार्यदिशाको स्पष्ट रेखाचित्र नै पार्टीलाई सबल बनाउने आधार हो । मधेशको भावना विपरित सत्तासुखलाई पार्टीको सिद्घान्त बनायो भने त्यहाँ स्वार्थको होडबाजीको खेल शुरू हुन्छ, अन्ततोगत्वा पार्टी गुटबन्दीको शिकार भएर विभाजनको पीडा भोग्नु पर्दछ । अरू माथि दोषारोपण गरेर आफुलाई चोखो देखाउनु नेपालीको अति मूल्यवान परम्परा हो । जबकि अरू भन्दा आफुले के गर्यौं भन्ने भावनाको विकास हुनु पर्दथ्यो । आत्म आलोचनाले हामीलाई मार्गदर्शन गर्छ, तर यहाँ त आत्म आलोचनालाई राजनीतिक चालाकीका लागि प्रयोग गरेको पाइन्छ । अरूलाई सन्तुष्ट गर्न र आफनो स्वेच्छाचारितालाई निर्बाध अगाडी बढाउन आत्म आलोचनालाई प्रयोग गर्छन । यो खेल तत्कालका लागि सफल देखिएपनि परिणामतः पतनको बाटो हो । राजनीति सामाजिक परिवर्तनका लागि गरिने विषय हो । जनअधिकार स्थापित गर्ने अभियान हो ।
मधेश आन्दोलन पश्चात नवोदित नेताहरूका साथ नेपालका ख्याति प्राप्त, दिग्गज, अनुभवी नेताहरू मधेशको मुक्तिको सवालमा मधेशी जनअधिकार स्थापित गर्न विभिन्न राजनीतिक दलको नाममा नेतृत्व गर्न पुगे । विगतका दिनमा मृतप्राय भै थन्किएका मधेशी नेताहरूलाई पनि मधेशी आन्दोलनले रक्तसंचार गराएर सत्ताको शीर्ष स्थानमा पुर्याए । मधेश आन्दोलन विपरित राज्यको बोली बोल्ने मधेशी नेतालाई पनि क्षमादान दिएर राज्यको शीर्षासन प्रदान गर्यो । शहीदहरू, घाइते, अपाङ, झूठा मुद्दा खेपी रहेका आन्दोलनकारी कै बलमा राजकीय सुविधा भोगी रहेका, भोली अस्तित्वविहीन हुन नपरोस भनेर आर्थिक सम्पन्नतातिर उन्मुख मधेशी नेताहरूको मधेशका ती वीर सपूतहरूलाई राहत दिलाउनु पर्ने दायित्वभित्र परेन । आफनै हालमा छोडिएका घाईते, अपाङ, मुद्दा आरोपी जो बेहाल अवस्थामा बाँचि रहेका छन, जसलाई तत्काल राहत दिनु पर्दथ्यो, मधेशी दलहरू तीन बर्षदेखि सत्तामा टाँसिएको भए पनि राहत सुविधा दिलाउन नसक्नुमा को दोषी छन ? राज्य वा मधेशका दलहरू ?
मधेशमा क्रान्तिकारी चर्का नारा लगाए पनि मन्त्रिमण्डलको बैठकमा चुँइक्क नबोल्ने मधेशी नेताहरूको आर्थिक लाभ लिने कमजोरी त होइन ? राज्य समक्ष आत्मसमर्पण गरेका यी मधेशी नेताहरू मधेशको कुरा राख्नुभन्दा व्यक्तिगत फायदा लिन तल्लीन रहेकै कारण मधेशको राहत ओझेलमा पर्न गएको हो । सरकारमा मधेशी नेताहरूको बाक्लो उपस्थिति रहे पनि राहत दिलाउन यति कमजोर छन भने समग्र मधेश स्वायत्त प्रदेश स्थापना असम्भव नै लाग्छ । नारामा मात्र बोलिने भाषा मधेशी जनतालाई झुक्याउने बाहेक अरू केही हुन सक्दैन ।
पार्टी विभाजन गरी जाने मधेशी नेताहरू मधेशका सवाललाई जोडदार रूपमा उठाउँछन । मधेशलाई राहत दिलाउने बाचा गर्दछन । तर फेरि सत्तामा पुगेपछि मधेशका कुरा ओझेलमा पार्ने मधेशी नेताहरूको नियति बनेको छ । मधेशले आफनो अधिकार लिन के आन्दोलन नै गर्नु पर्दछ ? के मधेशी नेताहरू यसरी मधेशी समस्यालाई नारामा मात्र सिमित राख्छन ? के मधेशी पार्टीहरू निस्तेज भई सकेका छन ? दर्जनौं पार्टीमा विभक्त हुने प्रक्रिया मधेशको लागि नभएर व्यक्तिगत स्वार्थका लागि अपनाइएको कुरा स्पष्ट छ ।
(२०६७ पौष २३ गते मधेशवाणीमा प्रकाशित)
