संकीर्ण चिन्तनका शिकार संविधान सभा

रामायण कालका राम समाजमा मर्यादा, सामाजिक न्याय, सुख वैभव, समानता स्थापित गर्न सहज सुलभ राजपाट लगायत आफनी अर्द्धांगिनी सिता समेतलाई त्याग गरेर एउटा उदाहरण पेश गरेको थियो र पृथ्वीमा सधैंका लागि, सबैका लागि आराध्य देव ‘भगवान श्री राम’ भएर जन जनको मनमा स्थापित छ । उसको सुकीर्तिले उसलाई ‘मर्यादा पुरुषोत्तम राम’ बनायो । राजवंशमा जन्मेर मानव अधिकारको रक्षा गर्न सवै सुख वैभव त्यागेर वनको कंटकाकीर्ण विपत्तीलाई आफनो जीवनको सार बनायो । अर्को उदाहरण महाभारत कालमा दुर्योधनको हो, जसले राजमुकुट हासिल गर्न अक्षोहिणी नर संहार गरेर वंश नाश गरेको थियो । पाश्चाताप गर्न जीवित धृतराष्ट्रको आर्त्तनाद सबैलाई थाहा छ । महाभारतमा रोएको इतिहासको आँसू अहिले सम्म कसैले पुछ्न सकेको छैन ।
परिवर्तनका लागि बलिदानी लडाई लडेका नेपाली जनताले जन आन्दोलन मार्फत देशमा संविधान सभा स्थापित गरेर ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल’ को भ्रूण राख्न सफल भयो । आशा र विश्वासका साथ नेपाली जनताले नयाँ नेपालको यस भ्रूणको हेर विचार गर्न व्यापक संख्यामा अभिभावकत्व निर्वाह गर्न जन प्रतिनिधी पठाए । भ्रूणावस्थामा रहेको नयाँ नेपालको अवधारणा ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ लाई राजनीतिक दलको स्वार्थको लडाईमा चरम लापरवाहीका कारण संविधान निर्माण प्रक्रिया ओझेलमा परेको छ र यसको उत्तर पारस्परिक दोषारोपण मात्र हो । उपरोक्त दुईटा उदाहरण हाम्रो सामु छ । रामको जस्तो आचरण गरेर कहिल्यै नमर्ने गरी बाँच्ने कि ? अथवा दुर्योधन बनेर महाभारत मच्चाएर भस्मासुर बन्ने ?
आफनो देशको परिस्थितिको गम्भीरतापूर्वक मूल्यांकन गर्न नसक्नु, सतही विचारको आधारमा संक्रमण्यी संवेदनशीलतालाई बुझन नसक्नु, जन सरोकारको बिषयलाई गौण गरेर हठको राजनीतिलाई प्रश्रय दिनु, देशमा संकट निम्याउनु बाहेक अरु के हुन सक्दछ ?
देशको राजनीतिक अखाडामा तीन दलको प्रधानता छ । ब्रह्मा, बिष्णु, महेशले संसार चलाए जस्तै ! वैदिककालमा ब्रह्मा, विष्णुसंग महेशको युद्ध सयकडौं वर्ष सम्म चलेको इतिहास छ । महेश असुरका देवता थिए । असुर परास्त भए । महेश स्थापित भएर त्रिदेव कहलाए । नेपालको संदर्भमा यो पौराणिक घटनाको पुनरावृति भएको जस्तो लाग्दछ । नेपाली जनताका विधाता यी तीन राजनीतिक दलको भीडन्तमा नेपाली जनता मारिएर त्रिदेवको सुलह हुने हो कि ?
मधेश संदर्भमा विचार गर्दा राष्ट्रिय राजनीतिमा त्रिदेवको उदय पश्चात मधेशवादी दल सर्वहाराको रुपमा देखिएको छ । निरीह, प्रभावहीन तथा मूक दर्शक जस्तै । मधेशको मुद्दालाई आधार बनाएर हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने होइन, दानपात्र लिएर याचकको मुद्रामा उभिन बढी रुचाउँछन मधेशवादी दलहरु । यो मधेशको दुर्भाग्य नै हो । सदियौं देखि विभेदमा परेको मधेश पहिलो पल्ट आन्दोलन मार्फत आफनो अधिकार स्थापित गराउन मधेशी जन अधिकार फोरम, नेपाललाई विश्वास गरेर जनादेश दिएर संविधान सभामा पठाएको थियो । नेताहरुमा एकाएक उब्जिएको सत्तालिप्सा, राजनीतिक अदुर्दर्शिता, पार्टीमा यथास्थितिवादी तथा अवसरवादीको व्यापक प्रवेश र वर्चस्व, आन्दोलनकारी शक्तिलाई किनारा लगाउने प्रयास आदि कारणले मुक्तिकामी जनताले जन्म दिएको पार्टीलाई अनधिकृत रुपले नेताहरुले विभाजन गरेर मधेशी जनतासंग विश्वासघात गरेको यथार्थलाई स्वीकार गर्नै पर्दछ । यस घटनाबाट मधेशमा नैराश्यता आएको छ । सत्तामा गएका मधेशवादी दलहरु पनि मधेश मुद्दालाई प्राथमिकतामा राखेर सम्बोधन गराएको भए पार्टी विभाजनको घाउ भर्न सक्थ्यो । मधेशी जनतामा उत्साह जाग्न सक्थ्यो ।
मधेशमा फैलिएको नैराश्यता, राजनीतिक शून्यता, असन्तोष, मधेश आन्दोलनबाट प्राप्त उपलब्धि गुम्न सक्ने खतराबाट आक्रोशित मधेशी जनताबाट मधेशी नेताहरु के आश गर्न सक्छन । मधेशी जनतालाई राहत दिलाउन नसक्ने नेताहरु समग्र मधेश एक प्रदेश, आत्म निर्णयको अधिकार जस्ता अहम सवाललाई कसरी दिलाउन सक्लान ? मधेश आन्दोलनले सम्पूर्ण मधेशलाई एकताको सूत्रमा बाँधेको थियो । मधेशी नेताहरुको स्वार्थले मधेशलाई टुक्रा टुक्रा बनाएको छ । निश्चय पनि मधेश यसबाट दुःखी छ । सत्ताका लागि जे पनि गर्ने मधेशी नेताहरु के मधेश आन्दोलनको मर्मसंग आफुलाई एकाकार गर्न सक्छ ? विगतका गल्तीबाट शिक्षा लिदै आफूलाई सच्याएर नेताहरु मधेशलाई अधिकार दिलाउन इमानदार भएर मधेश आन्दोलनमा आउन सक्छन ? २ वर्षमा गैर मधेशी राजनीतिक दलहरुको मधेशप्रतिको क्रियाकलापबाट स्पष्ट भै सकेको छ कि मधेशलाई अधिकार दिन कोही चाहदैन । दिए भने विष्णुले नारदलाई विश्वमोहिनी जित्न दिएको विकृत अनुहार ।
त्यसकारण मधेश आन्दोलन अवश्यम्भावी छ । २४० वर्ष देखि भेदभावको पीडा भोग्दै आई रहेको मधेश पहिलो पल्ट जागेको हो । आन्दोलन बिना अधिकार नपाइने कुराबाट मधेश वाकिफ छ ।
(२०६७ बैशाख २४ गते मधेशवाणीमा प्रकाशित)

Leave a Comment

error: Content is protected !!