वैधानिक बन्दै भ्रष्टाचार र अनैतिकता

२०७० श्रावण ११ गते

राज्यसत्ता प्राप्त गर्न विभिन्न सरकारले नेपाललाई एशियाली, यूरोपीय, अमेरिका र स्वीटजरल्याण्डको मापदण्डमा लैजाने वाचा गरे । सत्ता प्राप्त गर्ने त्यो बहाना मात्र थियो । विगत ५० वर्षको इतिहासले विकासको सूचकाँक अपेक्षाकृत अघि बढ्न नसकेको हामी पाउँछौं । वैदेशिक सहयोगकै अनुपातमा देशलाई कंगाल बनाउँदै कडादेखि नरम सरकारले देशको आर्थिक वृद्धिदर ३.५% कायम गर्न सफल भएका छन् । देशको निर्यात ४% र आयात २१% ले अन्तर्राष्ट्रिय स्तरमा हाम्रो उन्नति हुन नसक्ने हामी पेशेवर भिखारी प्रमाणित गरि सकेका छौं । आर्थिक वर्ष ०६७/०६८देखि ०७०/०७१ सम्म कृषि विकास मन्त्रालय स्रोत अनुसार कृषिमा ५.२८ खर्ब सहयोग भएकोमा कृषिको आर्थिक वृद्धिदर १.३% प्रतिशत भन्दा माथि उठ्न सकेन । आत्मनिर्भरताका लागि लामो समयदेखि लिंइँदै आइएको वैदेशिक सहयोग हामीलाई यथास्थितिबाट माथि उठाउन सकेन । यथास्थितिभन्दा बाहिर निस्कने हाम्रो सोच पनि भएन । लक्षित क्षेत्रमा बजेट विनियोजन भए पनि अपेक्षित सफलता नदेखिनुको अरु जे कारण भएपनि बजेटको दुरुपयोग पनि एउटा ठूलो कारण हो ।

कृषिक्षेत्रलाई परिणाममुखी बनाउन वैदेशिक लगानीमा विभिन्न परियोजनाहरु मध्ये करीब ३ वर्षदेखि तयारीमा रहेको ज्ञानमा आधारित एकीकृत दिगो कृषि तथा पोषण परियोजना (के.आई.एस.एन) एक अर्ब ९३ करोड रुपैंया यु.एस.एड.को सहयोगमा यही चालू वर्षदेखि  संचालन हुँदैछ । पाँचवर्षसम्म संचालनमा रहने यो परियोजनाले मध्य तथा सुदूर पश्चिमका २० जिल्लाका करीब १० लाख नेपालीको खाद्य सुरक्षा तथा आय आर्जनमा वृद्धि गर्ने र पोषणको लागि खानाका प्रकारहरुमा विस्तार गर्ने आफनो लक्ष्य बनाएको छ । कृषि विकास मन्त्रालय अन्तर्गत ए.एफ.एस.पी.दातृ निकायको यो सरकारी परियोजना हो, जो यस वर्ष यू.एस.एड.को सीधा सहयोगमा संचालन भएको हो ।

राजधानीमा यही मंगलवार कार्यक्रम सार्वजनिक गर्दै अमेरिकी राजदूत पिटर बोड्डेले भने, “खाद्य अनुदानमात्र सहयोग गर्नुको साटो यस्ता कार्यक्रमले कृषि उत्पादनमा वृद्धि र पोषण प्रवर्द्धनलाई नेतृत्वदायी भूमिका खेल्न सक्दछन् ।” परियोजनाले अमेरिकी राष्ट्रपति बाराक ओबामाको भावी पुस्तालाई खाना तथा विश्व स्वास्थ्य पहलमार्फत अमेरिकी सरकारको खाद्य सुरक्षाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने उनले बताए । (स्रोत– अर्थ कारोवार दैनिक, ९ श्रावण ०७०)

नेपालमा सहयोगको ओइरो छ । आर्थिक क्षेत्रका पत्र पत्रिकाहरुले विकास कार्यक्रमबारे समाचार लेख्न भ्याई नभ्याई छ । त्यत्तिकै अनुपातमा भ्रष्टाचार पनि बढ्दो छ । भ्रष्टाचारका धमिराहरु पूर्णरुपले राज्य संयन्त्रलाई आफनो कब्जामा पारि सकेको छ । अथवा यसरी भन्न सकिन्छ, राज्यको मुख्य रणनीति नै भ्रष्टाचार गर्नु भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले यही साबित गरेको छ । विभिन्न निकायमा आकर्षक विकासका कार्य योजनाहरु अगाडि सारेर नित नूतन प्रविधीबाट भ्रष्टाचारलाई सरलीकरण गरिएको छ । विकास कार्य योजना कल्पवृक्ष हो, यसबाट सबैको सम्पूर्ण मनोकाँक्षा पूर्ण हुन्छ । भ्रष्टाचार अब संस्थागत रुपमा हुन लागेकोले यसको पोल खुल्न कठीन हुन्छ । गोप्य रहेपनि यसको नकारात्मक प्रभाव समाजको विभिन्न क्षेत्रमा परि रहेको हुन्छ । सरकारको लक्षित कार्य योजनाले अपेक्षित उपलब्धि हासिल गर्न सक्दैन । सम्बन्धित क्षेत्रले सरकारलाई बुझाइने प्रतिवेदनमा बून्दागत रुपमा धेरै कारणहरु दर्शाए पनि आर्थिक अनियमितता भने पक्कै पनि लेख्दैन । आर्थिक अनियमितता भएको उल्लेख गर्नु भनेको अपराध स्वीकार गर्नु हो । यसरी निरन्तर रुपमा लक्षित योजनाहरु असफल हुँदै रोकिन्छन । रोकिएको अवस्थामा यी धमिराहरु अरु ठाउँमा सरेर जान्छन, जहाँ ठुल्ठूला योजनाहरु चलि रहेको हुन्छ । बजेटको अभावमा ठूला आयोजनाहरु बर्षौं रोकिएपनि भ्रष्टाचार भने रोकिएको छैन । यसले आफनो प्रगति भने बढाएर लगेको छ । यसमा सरकारका सबै निकायहरु मनग्गै विकास गरेको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले देखाएको छ ।

नेपाल गरिब मुलुक रहेकोले पराश्रित हुनु स्वाभाविक हो । तर लामो समयसम्म अन्तर्राष्ट्रिय सहयोग पाएर पनि हामी कहिल्यै पनि आत्मनिर्भर बन्ने चाहना राखेनौं । आफनो गरिबीलाई माँगि खाने भाँडो बनाएर सतत् सहयोगको याचना गर्ने हाम्रो संस्कार नै बन्यो । सहजै उपलब्ध हुने वैदेशिक सहयोग थाप्ने संस्कारले हामीलाई आफै केही गरि आफनै खुट्टामा उभिने विचारलाई आउनै दिएन । पराश्रित संस्कारले हाम्रो स्वाभिमानलाई मात्र कमजोर बनाएको छैन, हाम्रो मौलिक विचार सिद्धान्तबाट हीन बनाई मानसिक रुपले हामीलाई गुलाम बनाएको छ । यसरी यो गुलाम मानसिकताले हाम्रो सबै प्रगति रोकेर हामीलाई यथास्थितिमा रह्न अभ्यस्त बनाएको छ । नेपाली राज्य शान्तिपूर्ण ढंगले यही अवस्थामा बस्न रुचाएको छ । विदेशीहरुले ठूला ठूला परियोजनाको अवधारणा पत्र बनाओस् र सोही अनुसारको बजेट पनि उपलब्ध गराओस् । नेपालको हरेक क्षेत्र आफनै आफनै ढंगले विदेशी समक्ष बन्धकी रहेकोले नेपालले सो सम्बन्धको प्रगतिको जिम्मेवारी लिनु पर्दैन । शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिंचाई, विद्युत, वैकल्पिक उर्जा, लगायत धेरै बिषयहरु नेपालको चिन्ताको परिधिभित्र पर्दैन । यी सबै विकास निर्माणका कार्यहरु विदेशीको अधिकार क्षेत्रभित्र पर्ने भएकोले यसबारेको जवाफदेहिता नेपालसंग छैन । हरेक क्षेत्रमा हरेक बिषयमा हरेक निकायका कार्यक्रमहरु वैदेशिक सहयोगबाट संचालित रहेकोले आत्मनिर्भरताको त जगै हल्लिएको छ । यसमा टेक्ने ठाउँ नै छैन ।    

दुई महाशक्ति देशको बीचमा हामी गरिब, निर्वल सानो देश, नेपालको परिचय पाएका छौं । सगरमाथाको देश भएकोले यहाँ दातृ राष्ट्रहरुको ओइरो छ । वैदेशिक सहयोगकै अनुपातमा भ्रष्टाचारका कीराहरु पनि जन्मिएका छन् । अन्तर्राष्ट्रिय जतिसुकै ताकतवर मुद्राहरु खाएर पचाई दिने कीराहरु छन् यहाँ । हेर्दा सभ्य, सुसंस्कृत, अनुशासित, मितव्ययी, सरल, मृदुभाषी देखिने यी कीराहरु आपसमा फरक रुचि राखेपनि समूहमै वस्न रुचाउँछन् । यसको अधिपत्य राज्यमाथि नै रहेकोले यो जताततै पाइन्छ । विदेशी मुद्रा (डलर, यूरो, स्टरलिङ पाउण्ड) यिनका आहार हुन् । संख्यात्मक रुपमा सत्तानै कब्जा गरेका यी कीराहरु भ्रष्टाचारी देशको रुपमा पहिचान दिलाउन सफल अब आफनो पेशाको वैधानिकता प्राप्त गर्न चिन्तित देखिन्छन् । वैधानिकताको अभावमा “भ्रष्टाचारी” भन्दिएपछि समातिने खतरा अहिले विद्यमान रहेकाले र जेल समेत काटिने अवस्थाले पेशाप्रति चिन्ता हुनु स्वाभाविक हो ।

अन्तर्राष्ट्रिय सहयोगमा चल्ने नेपालका हरेक विकास निर्माणका कार्यहरुले उत्साहजनक प्रतिफल ल्याए नल्याए राज्यको सरोकारको बिषय नै होइन । देशको आर्थिक उन्नतिको कुरा गरेपनि त्यो ठूलो धनराशिको दुरुपयोगको  आशयले मात्र हो । हरेक क्षेत्र असफल रहँदा नेपालको आर्थिक अवस्था आशलाग्दो हुनै सक्दैन । कृषि क्षेत्रमा यति ठूलो धनराशि विनियोजन हुँदा पनि नेपालको कृषि असफल व्यवसायको रुपमा परिणत भएको छ । ७६% नेपाली जनता कृषिमा आधारित रहेको  र सो कृषिको असफलताले नेपाली जनता व्यापार परिवर्तन गरि वैकल्पिक बाटो रोज्न बाध्य छन् । तर पनि नेपाल सरकार कृषिमा खरबौंको बजेट विनियोजन गरि भ्रष्टाचारलाई खुल्ला प्रोत्साहन गरेको छ । कृषिको सुधार गर्न लामो समयदेखि विदेशी तथा स्वदेशी अभियन्ताहरुको अथक प्रयासबाट पनि कृषि सुधारको ग्राफ प्रगतितिर बढ्न सक्दैन । उन्नति प्रगतिका लागि दृढ इच्छाशक्ति नै चाहिन्छ । यहाँ त उन्नति प्रगति भनेको भ्रष्टाचारको द्वार खोल्ने साँचो नै हो, जो कहिल्यै रोकिने छैन ।

Leave a Comment

error: Content is protected !!