विधेयक विरुद्धको आन्दोलनको तयारी

‘समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनु पर्दछ’ भन्ने आफना माँग मधेशी जन अधिकार फोरमले सरकार समक्ष अगाडी सारेको थियो । त्यतिबेला यो विधेयक संसदमा थियो । २०६३ माघ १ गते मधेशको भावना विपरीत परम्परागत रुपले सरकारले २०५ निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि विधेयक पास गर्‍यो । मधेशी जन भावना विपरीत पास भएको विधेयकको विरुद्ध आन्दोलन थाल्ने भनेर मधेशी जन अधिकार फोरमले रातारात निर्णय लियो । आन्दोलनको पहिलो दिन अर्थात २०६३ माघ २ गते मण्डलामा संविधान दहन गर्ने कार्यक्रम राखियो । रातारात फोरमले अन्य दलका मधेशी नेताहरुसंग सम्पर्क गरी संविधान दहन कार्यक्रममा भाग लिन आमंत्रित गर्‍यो ।
२०६३ माघ २ गते दिनको १२ बजे मण्डलाको मैदानमा मधेशी जन अधिकार फोरमका पूर्व निर्धारित कार्यक्रम अनुसार फोरमका केन्द्रीय नेताहरु जो काठमाण्डौमा उपस्थित थिए क्रमशःउपेन्द्र यादब, किशोर विश्वास, राम कुमार शर्मा, उपेन्द्र कुमार झा, वि० पी० यादब तथा आमंत्रित मधेशी नेता निलम वर्मा, रामेश्वर राय यादब, अमरेश नारायण झा लगायत टी० यू० का १४ जना छात्रहरु उपस्थित भयो ।
सरकारको एकतर्फी निर्णयको विरुद्ध किशोर विश्वास र राम कुमार शर्मा मण्डलाको चबुतरामाथि चढेर भाषण गर्न थाल्नु भयो । प्रहरीको कडा घेरामा २०,२५ जना मधेशीको कार्यक्रम के प्रभाव पार्न सक्छ भन्ने सोचेर प्रहरीहरु सामान्य ढंगले कुरा गर्दै आफना कर्त्तव्य निर्वाह गरी रहेका थिए भने एक जना इन्सपेक्टर चनाखो भएर गम्भीरतापूर्वक हाम्रा गतिविधीलाई नियाली रहेको थियो । एकछिन पछि हाम्रै अगाडी पेट्रोलमा भिजेको संविधानको पुस्तिका आगोले जल्न थाल्यो । यो कसरी भयो, इन्सपेक्टरलाई पनि थाहा भएन । इन्सपेक्टरले आगो लागेको संविधानको पुस्तिकालाई बूटले हानी हानी आगो निभायो । बूटको मारले पुस्तिका छिया छिया भयो । मण्डला घटना मधेशी आन्दोलनको पहिलो शंखनाद थियो । त्यसपछि हामी सबैजनालाई प्रहरीले नियंत्रणमा लिई तिनकुने थानामा पुर्‍यायो । हामीलाई भेटन मधेशी नेताहरुको भीडलाई थेग्न नसकी साँझमा हनुमानढोका सार्‍यो । त्यहाँ पनि नेताहरु, पत्रकारहरु, समाजसेवीहरु, मानव अधिकारवादीहरुको ताँती लागि रह्यो । २०६३ माघ ४ गते भेंट गर्न आउनेसंग दिक्क मानेर र टी० यू०का छात्रहरुको परीक्षाका कारण रिहा गरी हामीलाई बग्गीखाना सार्‍यो । फोरमका नेताहरुको गिरफ्तारीले सारा मधेशमा विद्रोहको आगो सल्किएको थियो ।
बग्गीखाना पुर्‍याउँदा सबैको मोबाइल खोसियो । ३वटा मोबाइल लुकाएको कारण भित्र त्यही मोबाइलबाट मधेशका सम्पूर्ण जिल्लाहरुमा निर्देशन जारी भै रहेको थियो । बग्गीखानामा पनि विदेशी संघ संस्थाका प्रतिनिधी, कूटनीति नियोगका प्रतिनिधी लगायत भेट्नेहरुको संख्या बढदै गयो । हाम्रो गिरफ्तारी सरकारको लागि सिरदर्द भै रहेको थियो । मधेशमा हरेक जिल्लामा जुलुसहरु निस्कि रहेका थिए । भर्खर राज्यसत्तामा प्रवेश गरेको माओवादी आफ्नो प्रभूत्व नै कायम भयो भन्ने उन्मादबाट प्रेरित २०६३ माघ ५ गते दिनको ३ बजे लहानमा व्यापक जुलुस प्रदर्शन भैरहेको बखत माओवादी नेता राम कार्की चढेको गाडी छेकियो । सामान्य झडप हुँदा गाडीमा रहेको मधेशी मूलका माओवादी सेना ठाकुर थर भएकाले गोली चलाउँदा रमेश महतोको मृत्यु भयो । ३.३० बजे रमेश महतोको हत्या भएको खबरले हामी सबै अत्यन्तै मर्माहत र गम्भीर भयौं । गृह मन्त्रालयले हामीलाई अविलम्ब रिहा गर्न आदेश दियो । हामी उपस्थित सबैजनाले गृहमन्त्रीलाई उपस्थित गराएर लहान घटनाबारे सोध्ने निर्णय लियौं । हामी हाम्रो निर्णयको अडानमा र सुरक्षाकर्मीहरु हामीलाई बाहिर निकाल्ने अडानमा तैनाथ थिए । सुरक्षाकर्मीहरु थपिंदै गई रहेको थियो । एस० एस० पी० आएर ‘गृहमन्त्रालयको आदेश बमोजिम तपाईंहरु रिहा हुनु भयो, कृपया तपाईंहरु गई दिनुस’ भनेर आग्रह गर्‍यो । ‘गृहमन्त्रीलाई बोलाउनुस हामी खाली गरिदन्छौं’ भन्दा भन्दै राती ८ बज्यो । सुरक्षाकर्मी खाली गराउने क्रममा सामान्य झडप हुँदा अमरेश नारायण झा बहोश हुनु भयो र हामी सबै उहाँलाई लिएर वीर अस्पताल गयौं ।
२०६३ पौष ११ गते नेपालगंजमा मुसलमानहरुमाथि वर्वरतापूर्ण दमनको घटनाले सारा मधेश सामूहिक विद्रोहका लागि छटपटाई रहेको थियो । लहान घटनाले आगोमा घीउ थप्ने काम गर्‍यो र एकैपल्ट मधेशले विदोह गर्‍यो । दास र गुलाम मधेशलाई दमन गरेरै तह लगाउन सकिन्छ भन्ने मानसिकताबाट प्रेरित भई राज्यले दमन गर्न शुरु गर्‍यो । आन्दोलन झन् झन् अगाडी बढदै गयो । मधेशका वीर सपूतहरुको बलिदानीपूर्ण र साहसिक कदम शहादत प्राप्त नगरुञ्जेल अगाडी बढदै रह्यो । विभेदको विरुद्ध मधेशका युवाशक्ति सरकारी दमनका बावजूद पनि तातो गोली छातीमा थापी संघर्षको आह्वान गर्दै दमनको प्रतिकार गरे । लहानमा रमेश महतोको हत्या पश्चात् मधेशको हरेक जिल्ला बदला लिन उग्र बन्दै गई रहेको थियो । शान्तिपूर्ण आन्दोलनको विरुद्ध सरकारले दमनकै बाटो अपनाएकोले शहादत दिनेहरुको संख्या बढदै गयो । सिरहा जिल्लामा शहीदको संख्या ५ पुग्यो । सुन्सरी, सप्तरी, सिरहा, सर्लाहीमा त ५,५ का दरले युवाहरु शहीद भए ।
विभेदका कारण हरेक क्षेत्रमा शून्य उपलब्धिले मानवाधिकारबाट बंचित मधेशीहरुको जीवन नै असफल साबित भै सकेको सम्झेर ‘कि अधिकार लिने कि ज्यान दिने’ भन्ने साहसिक निर्णय गर्‍यो मधेशीहरुले । समग्र मधेशको एउटै निर्णयले मधेश आन्दोलनले इतिहास रच्न सफल भयो । मधेश आन्दोलनले पुर्व, मध्य र पश्चिमका सबै मधेशी एक हुन भनेर साबित गरि दिएको छ । टुक्रिन लागेको मधेश समाजको भ्रातृत्व सूत्रलाई अझ बलियो तुल्यायो मधेश आन्दोलनले । मधेशभित्र रहेका हरेक जातजातिको भावना एकाकार भयो मधेश आन्दोलनमा । पुर्व पश्चिम सबै मधेशी एउटै भावनाले होमिएका थिए आन्दोलनमा । सबैले एउटै स्वरमा माँग गरेका थिए ‘समग्र मधेश एक प्रदेश’ ।
(२०६६ पौष १७ गते मधेशवाणीमा प्रकाशित)

Leave a Comment

error: Content is protected !!