मधेशको भूमिमा धर्ना, जुलुस र दमनको प्रतिस्पर्धात्मक अवस्थाले मधेश कुरुक्षेत्र बन्दै गई रहेको थियो । सदियौंदेखि विभेदमा परेको मधेशीहरुको राज्यप्रतिको घृणा, दमनका कारण ज्वालामुखी जस्तै विस्फोट भई रहेको थियो । मधेशका समुदायको कमोवेश घृणाले सबै दमनको प्रतिकार गर्न एकताबद्ध भई सडकमा उत्रिरहेका थिए । मधेशको आन्दोलन दिन दुना रात चौगुना बढी रहेको थियो । मधेशमा व्याप्त असन्तुष्टताकै कारण आपसी वैरभाव त्यागेर प्रतिकार गर्न सबै एकजूट भए । दमनको बावजूद पनि मधेश आन्दोलन उँचाई लिदै गयो । मधेशीहरुको मातृभूमिको लागि शहादत दिने महा अभियान शुरु भयो । मधेश विद्रोहमा मधेशभित्र बसोवास गर्ने सबै समुदाय, संघ, संस्था, सबै राजनीतिक दलका मधेशीहरु आ—आफ्नो ठाँउबाट योगदान गर्दा नै मधेश आन्दोलन उत्कर्षमा पुग्यो । सम्पूर्ण मधेशको एकाकारनै मधेश आन्दोलनको इतिहास हो ।
सशस्त्र समूहहरुले पनि आफ्नै तरिकाले मधेश आन्दोलनलाई सहयोग गरेका छन । मधेशी जन अधिकार फोरमको नेतृत्वमा मधेश आन्दोलन भएपनि सशस्त्र समूहहरुको योगदानलाई नकार्न सकिंदैन । २०६३ माघ १७ गते मोरङ्गको बुद्धनगर प्रहरी चौकीमाथिको आक्रमण, माघ २० गते सप्तरीको पत्थरगाडा प्रहरी चौकीको आक्रमण सशस्त्र समूहको सक्रियतालाई उजागर गर्दछ । फरक कार्यनीति रहेपनि सशस्त्र समूहहरु मधेश मुक्तिको सवालमा समर्पित थिए । २०६३ चैत ७ गते रौतहटमा मधेशी जन अधिकार फोरमको पूर्व निर्धारित आमसभालाई बिथोल्न पूर्व तयारी गरी बसेका माओवादी कार्यकर्त्ताहरुको प्रतिकार गर्न उत्रेका व्यक्ति, समुदायहरुको एकताबद्ध भीडन्तबाट पनि यो स्पष्ट हुन्छ कि मधेश मुक्तिको सवाललाई सबैले साझा सवाल बनाएका थिए ।
मघ १७ गते मधेश आन्दोलन शहादत दिंदै उत्कर्षमा पुग्न लागेको बेला प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले मधेशी जनताको नाममा मिथ्या सम्बोधन गरेपछि मधेश झन आक्रोशित हुन पुग्यो । यस सम्बोधनको विरोधमा जिल्लाहरुमा व्यापक विरोध जुलुसहरु निस्किन थाल्यो । सिरहा सदरमुकाममा दशौं हजारको संख्यामा महिलाहरुको विरोध जुलुस निस्किएको थियो । सप्तरीमा आन्दोलनकारीद्वारा सम्बोधनको विरुद्ध आन्दोलन जारी राख्न आह्वान गरी भारी संख्यामा विरोध प्रदर्शन भयो । सरकारले मधेशीलाई मानवको हैसियतमा न राखि दास र गुलाम सम्झेर मधेशको आवाजलाई अनसूना गर्दै दमन गरेरै आन्दोलनलाई दबाउने नीति विरुद्ध मधेश आन्दोलनको आगोका लप्का आकाश छुन लागेको थियो । सरकारप्रति मधेशीहरुको घृणा पराकाष्ठामा पुगेको थियो । २०६३ माघ १८ गते सिरहाको सदरमुकाममा हजारौंको संख्यामा महिला र पुरुष झाडु लिएर जुलुस प्रदर्शन, १९ गते सिरहामा लाठी जुलुस, सोही दिन लहानमा तरकारी जुलुस, भैंसी जुलुस आदि सरकारप्रति मधेशीका घृणाका ज्वलंत उदाहरण हुन ।
राष्ट्रियता, नेपालीपन, राष्ट्रिय अखण्डताप्रति समर्पित सिंगो मधेशलाई ‘विजित क्षेत्रको दास, गुलाम’ बुझ्दै सदियौंदेखि राज्यले गर्दै आएको भेदभाव, परिवर्तन हुँदै आएको शासन पद्धतिले पनि मधेशमा परिवर्तनको अनुभूति गराउन नसक्नु, राजनीतिक परिवर्तनको क्रममा राजतन्त्र, प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रसम्म आई पुग्दा पनि वस्तुगत रुपमा मानसिक परिवर्तन नहुनु, मधेशी, अधिकारबाट बंचित पारिएर कुण्ठा, अपमान, अन्याय, घृणाका पात्र भएर बाँच्न बाध्य गरिनु यी सब कुराले मधेश आन्दोलनको पृष्ठभूमि तयार पारयो । जुन अनुपातमा राज्यले मधेशलाई घृणा गरयो सोही अनुपातमा मधेशले पनि आन्दोलन मार्फत आफनो घृणा अभिव्यक्त गरयो ।
गीर्वाण युद्धको पालासम्म रोयल्टी तिरेर मधेशको समथर क्षेत्रलाई ब्रिटिश इंडियाबाट लिने रोयल्टी नबुझाउदा फिर्ता हुने, फेरि आफनो मातहतमा आउने यसै क्रमको आधारमा मैले ‘बिजित क्षेत्रको दास, गुलाम’ भन्ने उक्ति उल्लेख गरेको छु । गीर्वाण युद्धकै पालासम्म कुकुर र मधेशीलाई दरवारमा प्रवेश निषेध गरिएको थियो । मधेशीलाई काठमाण्डौं छिर्न वीरगंजको नाकामा राहदानी लिनु पर्दथ्यो । एकात्मक राज्यको मधेशप्रतिको उपेक्षा भाव चरम पराकाष्ठामा पुगेको थियो ।
आफनै देशमा राज्यद्वारा सदियौं देखि विदेशी नागरीक सरहको व्यवहार भोग्दै आई रहेको मधेशीहरु विगतको आन्दोलनमा आफनो सहभागिता देखाए पनि आफनो लागि केही नपाएर आफना अधिकारका लागि ऐतिहासिक विद्रोह गरेका हुन । सत्ता परिवर्तनको जुनसुकै आन्दोलनमा मधेशले शहादत दिंदा पनि धेरै वलिदान दिने मधेशीहरु शहीद हुन वाट वंचित रहे । चाकडी, चापलुसीको भरमा केही मधेशीहरु शीर्ष स्थानमा देखिए पनि समग्र रुपमा मधेश मानवाधिकारबाट वंचित नै रह्यो ।
(२०६६ पौष २४ गते मधेशवाणीमा प्रकाशित)
