वञ्चितीकरणमा परेर पटक–पटक आन्दोलन गरेर अधिकारको आवाजलाई मुखरित गर्ने वर्गलाई सम्बोधन गर्ने, विकासको मूल फुटाएर देशमा रोजगारीको अवसर सिर्जन ागर्ने, शिक्षा, स्वास्थ्य, कृषि तथा आर्थिक विकासलाई तीव्रतर वृद्धि गर्दै देशलाई समृद्धिको बाटोमा लैजाने सर्वसत्तावादी नेपाली शासकको प्रतिबद्धता चुनावी घोषणापत्रमार्फत् दशकौंदेखि आइरहेको छ । केही आकर्षक बुँदाहरू थपघट गरी पार्टीगत घोषणापत्रहरूको अहिले प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न चुनावमा नवीकरण गरी नयाँ संस्करण बाहिर आएको छ । यी प्रतिबद्धतापत्र सरकारको कार्यनीति बन्दैन । चुनाव सकिएलगत्तै घोषणापत्रको प्रतिबद्धताबाट स्वतन्त्र हुने राजनीतिक दलहरू जनताको प्रश्नको उत्तर दिन चाहँदैन । अथवा उत्तर दिनै परे प्रतिपक्षको टाउकोमा दोष थुपारेर चोखो हुने शासकहरूको परम्परा अभेद्य छ, अखण्ड छ । अधिकारको नाममा, परिवर्तनको नाममा केही नयाँ कुराहरू ल्याइए बाहेक देशले केही पाउन सकेको छैन ।
प्रतिबद्धताप्रति किंचित इमान्दार नरहने नेपालको शासकीय मनोवृत्तिले देशलाई पराश्रित बनाइदिएको छ । देशको कार्यभार ग्रहण गर्ने दोस्रो पुस्ताका युवाहरू ५० लाखको संख्यामा पलायन हुन शर्मनाम घटनालाई सहज ढंगले लिने राजनीतिक दलहरू देशप्रति कति विश्सवनीय छ, स्पष्ट हुन्छ ।
राजतन्त्र अधिनायकका पंचायती व्यवस्थाले सबै कुरा खायो भनेर जनतालाई उचाल्ने प्रजातान्त्रिक शक्ति र त्यसैका सहयोगी एमालेको हातमा सत्ता आएपछि पनि देशले फड्को मार्न नसकेको र देश पूर्णरूपेण पराश्रित भई दुरावस्थामामा पुग्दा पनि लोकतान्त्रिक शक्तिहरू आत्म आलोचना गर्न स्वीकार गर्दैन् । देशलाई राजतन्त्रमुक्त बनाएर पनि विकासको बाटोमा लैजान कसले रोकेको छ, भन्दैन । प्रतिपक्षतिर संकेत गरेर आफू दोषमुक्त हुनु जनतालाई ठग्ने प्रवृत्ति हो । असलमा जसरी वर्गीय स्वार्थ पूरा गर्न शासन पद्धति राजतन्त्रले विकसित गरेको थियो, लोकतान्त्रिक शक्ति भनाउँदाहरूले पनि सोही बाटो अवलम्बन गरेको हो । राजतन्त्रको सट्टा लोकतन्त्र राखेर वर्गीय स्वार्थ पूरा गर्ने शासकीय मनोवृत्ति जस्ताको त्यस्तै कायम छ ।
जनाधिकारको आवाजलाई परास्त गरी वर्चस्ववादी राज्यसत्तालाई आफ्नो अनुकूल नयाँ संस्करणमा प्रस्तुत गरेर रहे पनि अहिलेको चुनावमा दुई ध्रुवमा विभक्त भएका छन् । एमाले र माओवादी केन्द्रको गठबन्धनले नेपाली कांग्रेसलाई एक्लो पारेको छ । कहीं कुरा मिल्ने कहीं नमिल्ने हिसावको सम्झौताको आधारमा नेपाली कांग्रेसले राजपा र ससफोसँग गठबन्धन बनाएको छ । वाम गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गरिरहेको नेपाली कांग्रेस कमजोर देखिएको छ । पहाडमा वाम गठबन्धनको वर्चस्वले नेपाली कांग्रेस लखेटिने अवस्था छ । मधेशमा मधेशका दलहरूसँगको गठबन्धनबाट केही सीट प्राप्त हुने सम्भावना छ । यसरी देशको राजनीतिमा वाम गठबन्धनले अग्रस्थान प्राप्त गर्ने सम्भावना देखिन्छ ।
वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुई ध्रुवमा सबै शक्तिहरू सामेल भएकोले अनेक समस्याहरूको निदान हुने विश्लेषण गरिए पनि राजनीतिक असन्तुलन बढ्ने आशंका छ । स्वार्थवश बनाइएका गठबन्धन समग्रमा केही उपलब्धि ल्याउने होइन, दलीय वर्चस्वबाट शासन गर्ने प्रवृत्ति बढेर जाने खतरा छ । नेपाली कांग्रेस, एमाले र माओवादी विचारले फरक देखिए पनि एउटै सिक्काका दुई पाटा हुन् । स्वार्थवश मिल्ने, फरक देखिने द्वैध चरित्रमा मधेशले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रलाई प्रष्ट देखेको छ । मधेशको सवालमा एक हुने तीनै शीर्ष दलको वर्गीय चरित्रलाई मधेशले प्रष्ट बुझेको छ । नेपाली कांग्रेसलाई पछारेर बहुमत ल्याएर केन्द्रीय राजनीति कब्जा गर्ने उद्देश्य राखेका वाम गठबन्धन नेपाली कांग्रेसको विपरीत धार अख्तियार गरेका छन् । नेपाली कांग्रेससँग नजिक रहेका एमाले माओवादी केन्द्रसँग गठबन्धन बनाएपछि लोकतान्त्रिक शक्ति कमजोर भएको कुरालाई लोकतान्त्रिक शक्तिकेन्द्रले पचाउन सक्दैन । विपरीत दिशामा फर्किएर रहेको एमाले, माओवादी केन्द्रको गठबन्धन र एकीकरणको निर्णय शक्तिकेन्द्रको निर्देशनबिना भएको मान्न कठिन छ । वाम गठबन्धनको माध्यमबाट आफ्नो स्वार्थ पूरा गर्ने शक्तिकेन्द्रले कम्युनिष्टको शक्तिलाई सशक्त बनाउने र लोकतान्त्रिक शक्तिलाई कमजोर बनाउने चीनको मनोकांक्षा स्पष्ट हुन्छ । मधेशलाई पनि आफ्नो कब्जामा लिएर एकलौटी शासन गर्ने मनोकांक्षा अन्तर्गतको रणनीति बमोजिम वाम गठबन्धनको चुनावी प्रतिस्पर्धा भइरहेको छ ।
घोषणापत्रमा जतिसुकै आकर्षक नाराहरू उद्धत गरे पनि वर्चस्ववादी राजनीतिक हैसियत प्राप्त गर्ने उद्देश्यले होमिएका शीर्ष दलहरू शीर्षस्थान ग्रहण गर्ने आकांक्षा राख्छन् । वाम गठबन्धनको नाममा चीनको प्रभाव पनि सशक्त रूपमा नेपाली राजनीतिमा प्रवेश गरेको छ । वाम गठबन्धनको दाँजोमा लोकतान्त्रिक गठबन्धन अनेक विवादमा रहेका कारण अपेक्षित सफलता प्राप्त गर्न सक्दैन ।
मधेशलाई विश्वासघात, अविश्वास, ग्लानि र कुण्ठामा फँसाएर आवाजलाई दबाएर आफ्नो शासक लाद्न सफल शासकवर्ग यस चुनावमा पनि मधेश अपेक्षित सफलता प्राप्त नगरून् भन्ने रणनीतिमा चुनाव गरराइरहेका छन् । मधेशमा जातिवादको राजनीतिलाई बढावा दिएर सबैको अस्तित्व खतरामा राखिदिएको छ । जातिवादको राजनीतिमा लिप्त मधेश आफ्नो अस्तित्व समाप्त पार्न उद्धत देखिएको छ । यसकारण पनि मधेश यथेष्ट उपलब्धि लिन वञ्चित हुनेछ । भारतको बिहारबाट विरासतमा लिएको जातिवादी राजनीति र त्यसमा रमाएको मधेशप्रति शासकवर्ग पूर्ण सहानुभूति राखेको छ ।
राजपा, ससफो चुनावी गठबन्धन गरी चुनावमा उत्रेको राम्रो पक्ष हो तर, जातिवादी राजनीतिले टुक्रा–टुक्रा पारेको मधेशी एकताका कारण अपेक्षित सफलता प्राप्त गर्न नसक्ने स्थिति छ । जातिवादी विषले मधेशलाई सवाङ्ग निलेको अवस्थामा मधेशका राजनीतिक दलहरूले वाम गठबन्धनसँग पनि कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । जनाधार भएका मधेशका नेताहरूको पलायनले मधेशमा पराजित मानसिकताको अन्योलग्रस्त निर्णय पनि विद्यमान रहेकोले मधेशी दलकै नेताहरूलाई मत दिनुपर्ने बाध्यता पनि छैन । यी सबै पक्षलाई विचार गर्दा मधेशी दलहरूको गठबन्धनभन्दा वाम गठबन्धनतिर वा कांग्रेसतिर जीत अग्रसर हुने स्थिति देखिन्छ । विगतमा मधेशी नेताहरूको विवादास्पद व्यवहारले पनि मतदाता फरक निर्णयमा पुगेका छन् । मधेशको अधिकार प्राप्त गर्ने एजेन्डा छाडेर चुनावमा मात्र सीमित हुने तथा आगामी दिनमा अधिकार आन्दोलनसँग नाता तोडेर आफ्नो स्वार्थका लागि मात्र राजनीति गर्ने नेताहरूले मधेशमा जाति प्रभावमा चुनाव लड्न आएका छन् । आफ्नो जिल्लामा जनाधार गुमाएका उपेन्द्र यादव, राजेन्द्र महतो अर्को जिल्लामा जाति खोजेर सप्तरी–२ र धनुषा–३ मा देखिएका छन् ।
मधेशले संघीयताको आवाज उठाए पनि संघीय प्रणालीभित्रै मधेशलाई टुक्रा–टुक्रा पारी दिएको छ । मधेशी एकतालाई जीर्ण बनाएर टुक्रा प्रदेशलाई आफ्नो वर्चस्वको राजनीतिभित्र कैद गरेको छ । आफ्नो अधिकार लिन मधेशले तयार पारेको राजनीतिक धरातललाई छिन्नभिन्न पारिएको छ । शदियौंदेखि आत्म समर्पणको अवस्थामा रहेको मधेशलाई पुनश्चः यथास्थितिमा पु¥याइएको छ । मधेशी नेताप्रतिको विश्वास हटाएर आफ्नो क्षमतालाई विश्वास गर्न बाध्य गरिएको छ ।
मधेशको उपरोक्त तस्वीर हेर्दा विगतमा देखिएको मधेश मुक्तिा लागि उठेको एकताबद्धता आवाज, आन्दोलनप्रति समर्पित जनभावना, शहादत दिने जोश र वर्गीय राज्यसत्ता विरूद्ध प्रदर्शित घृणा कहाँ गए त ? मधेश समक्ष तेर्सिएको यो प्रश्न अनुतरित रूपमा रहेका छन् । यसको उत्तर कसैसँग छैन । विचार त्यागेर स्वार्थलाभका लागि पार्टी चलाएर बस्ने मधेशी अगुवाहरू असलमा आन्दोलनको बागडोर छोडिसकेका छन् । यथास्थितिमा रमाउने यी दलहरू वर्गीय सत्ताकै वरिपरि रहन चाहन्छन् । यिनले वर्गीय राज्यसत्ता समक्ष गरेको आत्म समर्पणबाट मधेशले कति क्षति व्यहोरेको छ, यिनीसँग त्यसको लेखाजोखा छैन ।
मधेश पुनश्चः आत्मसमर्पणको स्थितिमा पुगेका तस्वीरहरू देखिए पनि विगतमा राज्यसत्ता विरूद्ध भएका प्रदर्शनहरू तथा शहादत दिने मधेशी वीर सपुतहरूको जोश आदि सुशुप्तावस्थामा पुगेको छ । यसको अन्त्य भएको छैन । मधेशले प्रदर्शन गरेको घृणा र विगतमा राज्यसत्ताको अपमानजनक व्यवहारबाट तिख्खर बनेको मधेशी भावना जुन बेला पनि विस्फोट हुन सक्ने स्थिति विद्यमान रहेको छ । एजेन्डाविहीन शासकवर्गले मधेशलाई जसरी धकेलेर राजनीतिक संज्ञा शून्य बनाएको छ । असन्तुष्टताले ठूलो विस्फोटको रूप धारण गर्नेमा शंका छैन । समाजमा चारैतिर असन्तुष्टताले विषम् परिस्थितिको सिर्जना गरिदिएको छ । पहाडमा दैनिक रूपमा बम विस्फोटनका घटनाहरू भइरहेका छन् । बारूदको ढेरमा बसेर शासन चलाउने शासकहरू निर्वाध स्वार्थको गाडी चलाउन सरल पनि छैन । भविष्यले के गर्भ बोकेको छ यिनलाई पनि थाहा छैन ।
२०७४ मंसिर ८ गते मधेशवाणीमा प्रकाशित
