आसन्न चुनाव ः कसको के अपेक्षा

मंसिर २१ गते मधेशमा हुने चुनाव (प्रतिनिधिसभा र प्रदेशसभा) अब ६ दिन मात्र बाँकी छ । बलपूर्वक अनाधिकृत रूपमा चुनाव गराउने शक्तिहरू तथा आन्दोलन त्यागेर हठात् चुनावमा भाग लिने मधेशका दलहरू आफ्नै अपेक्षा अनुसार चुनावमा होमिएका छन् । शक्तिकेन्द्रहरू कोही चुनाव गराएर आफ्नो अभिष्ट पूरा गराउन सक्रिय रहेका छन् भने कसैका लागि चुनावी भएपनि मूकदर्शकझैं तमासे बनेका छन् । चुनावको माध्यमबाट कोही नेपालमा आफ्नो प्रभाव स्थापित गर्न चाहन्छ भने कसैको प्रभाव विस्थापनमा जाने सम्भावना पनि छ ।

वाम गठबन्धन र नेपाली कांग्रेसको अपेक्षा एकथरिको छ भने राजपा, ससफो गठबन्धनको अपेक्षा अर्कोथरिको छ । आफ्नो लोकप्रियता गुमाएका मधेशका दलपतिहरूलाई सत्तापक्षले जिताएर लैजाने अवस्था पनि देखिएको छ । शीर्ष तीन ठूला मधेशका पार्टी अध्यक्षलाई जिताउन सहयोग गरे पनि मधेशका दलहरूलाई अपेक्षित सीट दिलाउन तयार छैनन् । राष्ट्रिय राजनीतिक वृत्तमा मधेशी प्रतिनिधि उत्रियोस् तर मजबुत भएर होइन, यही चाहना सबैको छ । प्रतिफल पनि यही चाहना अनुसार ल्याउने वाम गठबन्नको दाबी छ । अहिले वाम गठबन्धनको प्रतिस्पर्धामा कांग्रेस कमजोर रहेकोले राजपा र ससफोको कित्तामा देखिएको हो । मधेशलाई हेर्ने वर्गीय दृष्टिकोणभन्दा फरक विचार नेपाली कांग्रेसको पनि छैन । अप्रत्याशित रूपमा मिल्न नसक्ने माओवादी केन्द्र र एमालेको गठबन्धन बनाई दिने शक्तिको बरदान पाएर सहकर्मी नेपाली कांग्रेसलाई छोडिदिएकोले कमजोर देखिएका छन् ।

स्थानीय चुनावमा पहाडबाट वाम पार्टीहरूले खेदेर दिएको घाऊलाई मधेशले आश्रय दिएर मलहम लगाएर घाऊ निको पारी दिएको छ । मधेशकै कारण स्थानीय स्तरमा नेपाली कांग्रेसले शीर्ष स्थान कायम राख्न सक्यो । एमालेको दम्भलाई तोडेर मधेशले आफ्नो अपमानको बदला एमालेसँग लिएको छ । वामको क्षीणता बर्दास्त गर्न नसक्ने शक्ति केन्द्रले यसको गठबन्धन बनाएर चुनावमा उतारेका छन् । वाम गठबन्धनलाई जिताएर सत्ता कब्जा गर्ने शक्तिकेन्द्र नेपालमा आफ्नो वर्चस्व लाद्ने अभिष्ट बोकेको छ । आफ्नो सहकर्मी नेपाली कांग्रेसलाई पनि किनारामा छाडी सर्वसत्तावादी अभिष्ट लिएर हिंडेको वाम गठबन्धन राजनीतिक असन्तुलन बढिरहेको आँकलन गर्न सकेको छैन । यो चुनावमा आफ्नो बहुमत हुने अहंकारमा वाम गठबन्धन अगाडि बढेको कुरालाई लोकतान्त्रिक शक्तिले राम्ररी हेरिरहेको छ । वाम गठबन्धनले बहुमत पाउने उन्मादमा शक्ति केन्द्रको इशारा प्रतिफलको चिन्ता नगरी अगाडि बढेका छन् ।

देशमा धरातलीय समस्याको माग, वर्गी शासनको निरन्तरता दिने शासकीय मनोवृत्तिको कट्टरपन तथा आफ्नो अभिष्ट पूरा गर्न शक्तिकेन्द्रले शासकवर्गलाई नै समर्थन गर्ने परम्पराले पारस्परिक अन्त्यहीन द्वन्द्वलाई जन्म दिएको छ । शक्ति केन्द्रको स्वार्थ द्वन्द्वत् पक्षसँग पूरा नहुने भएकोले यिनको सम्बन्ध सोझै शासकवर्गसँग हुन्छ । यी पारस्परिक द्वन्द्वमा फँसाएर शक्तिकेन्द्र (कम्युनिष्ट र लोकतान्त्रिक) आफ्नै ढंगले नेपाली राजनीतिक पार्टीहरूलाई संचालन गर्छ । शक्तिकेन्द्रले राजनीतिक दलहरूलाई संचालन गर्ने प्रक्रिया नै उसको स्वार्थ पूर्तिको साधन हो । शक्ति केन्द्रको भक्ति पनि धन अनुसारको हुन्छ र यसमा स्थायित्व हुँदैन । स्थायित्व नभएका कारण नै अरू शक्ति केन्द्रले यिनलाई प्रयोग गर्न मौका पाउँछन् र शासकवर्ग धनवर्षामा रमाइरहेका हुन्छन् ।

देशको समस्याको समाधान न शक्तिकेन्दले चाहेको हुन्छ न यिनका प्यादाहरूले । द्वन्द्व रहिरहने अवस्थामा नै शक्तिकेन्द्रको महत्व बढ्छ भने राजनीतिक दलहरू लाभका अवसर पाउँछन् । आन्दोलनरत् पक्षको समस्याको समाधान यिनको राजनीतिको अन्त्य हुने भएकोले जन्मिएको समस्यालाई समाधान गर्ने कसैको नियत हुँदैन । सधैं परावलम्बी अवस्थामा रहेको देश आर्थिक रूपले मात्र होइन, राजनीतिक रूपले पनि पराश्रित छ । लामो समयदेखि पराश्रित अभ्यास गरी आफ्नो राज्यसत्ताको वर्गीय चरित्र कायम राख्ने संस्कार बनाएकोले यसमा किंचित परिवर्तन यिनले बर्दास्त गर्दैनन् । राजादेखि लोकतन्त्रसम्म देश दिनानुदिन परावलम्बी हुँदै गएको ग्राफमा किंचित सुधार नदेखिनु यिनको यथास्थितिवादी सोच नभएर अरू के हो ? समृद्धि र विकास यिनको जनतालाई झुक्याउने नारा मात्र हो । असलमा यिनी आफ्नो अस्तित्व यथास्थितिमा नै देख्छन् ।
तस्कर र व्यापारीले मात्र चुनावी प्रतिस्पर्धा गर्न सक्ने दंगलमा जीतको सपना सजाएर उत्रेका कमजोर प्रतिस्पर्धी पनि हात जोडेर मतदाता रिझाउन व्यस्त छन् । विश्वासघातको पीडा भोगिरहेका मतदाता आफ्नो लाभको अपेक्षा मात्र राखेका छन् । लाभका अगाडि आफ्नो जातिलाई मात्र स्वीकार गर्ने मनस्थितिमा अरू उम्मेदवारको अवस्था कस्तो होला ? विगतमा केही खर्च गर्न नसक्ने, कुनै छवि नभएकाहरूले जीत हासिल गरेको देख्दा कतिपयले सोही आशमा कतिपयले उम्मेदवारसँग बार्गेनिङ्ग गरी लाभ लिने उद्देश्यले उम्मेदवारी दर्ता गराएका छन् । जनतासँग पटक–पटक विश्वासघात भएकोले उम्मेदवारप्रति खासै चासो देखिदैन । मत दिनै परे जातिको उम्मेदवार नभए जसलाई मन लाग्यो मन दिने अवस्था देख्छु । तत्काल जाति भएपनि लाभको आशमा अधिकांश मतदाता रहेका छन् ।

मधेशी र पहाडीबीच सत्तापक्षले बढाएको दूरीले नेपाली कांग्रेस तथा वाम गठबन्धनका मधेशी उम्मेदवारलाई पहाडी मतदातालाई भारी समसया भएको छ । मधेशमा पहाडी उम्मेदवार मधेशीको पनि मत लिनेमा शंका छैन तर, नेपाली कांग्रेस र वाम गठबन्धनका मधेशी उम्मेदवार पहाडी मत नपाइरहेको अवस्था छ । चुनावको नतिजाले नै यो सब कुराको सत्यापन गर्नेछ । सप्तरी क्षेत्र नं. १ मा वाम गठबन्धनबाट प्रदेश सभाका उम्मेदवार सत्यनारायण मण्डल पहाडी मत नपाउने आशंका प्रवल छ ।

पहाडी र मधेशीको दूरी बढाउने एमाले अन्ततः कुन अवस्थामा पुगेको छ, यही कुरा व्यक्त गर्न चाहेको छु । भारी अपमान सहेर पनि मधेश पहाडी उम्मेदवार वा पहाडी पहाडीलाई मतदान गर्ने जुन उदारता देखाइरहेका छन् सोही तुलनामा पहाडी मतदाता मधेशमा पनि मधेशी उम्मेदवारलाई स्वीकार गर्न तयार छैनन् । कट्टरताको यो अवस्था मधेशीलाई सहिष्णु रहन देला ? स्थानीय चुनावमा कञ्चनरूप नगरपालिकाका मेयर तथा उपमेयरका पहाडी उम्मेदवारलाई नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका पहाडी मतदाताले एकमुष्ट मतदान गरी जिताए । मेयर एमालेको थियो भने उपमेयर कांग्रेसको । सप्तकोशीमा पनि त्यहीं भयो । मधेशी समाजमा पहाडी मतदाताको यस्तो चर्को कट्टरताले भविष्यमा सामाजिक कलह वा साम्प्रदायिकता नफैलाउला भन्न सकिन्न । चर्को अन्तर्विरोध लिएर बस्ने पहाडी समुदाय र मधेशी समुदायबीच सामन्जस्ता कसरी हुने ?

चुनावी प्रतिस्पर्धामा सबैले आफ्नो हैसियत अनुसार अपेक्षा सजाएका छन् । कोही अज्ञानतावश उत्रेका छन् भने कोही सूत्रधार भई वर्चस्व लिन खोजिरहेका छन् । नेपाली राजनीतिक पार्टीको विडम्बना के हो भने दीपकले आफ्नो मुन्तिरको अँध्यरो भागलाई हेर्न सक्दैन । अरूकै सहारामा आफ्नो अस्तित्व देख्ने शीर्ष तीनै दल (नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र)को गतिविधिका कारण याहँ शक्तिकेन्द्रले फाइदा लिइरहेको कुरालाई जानेर पनि पचाएका छन् ।

वाम गठबन्धन बनाएर चुनाव लडाउने शक्तिले यहाँ वाम गठबन्नको बहुमतको सरकार बनाएर मनोवाञ्छित फाइदा लिने, मधेशी र नेपाली कांग्रेस समेतलाई दबाएर शासन चलाउने आदि क्रियाकलापले देशमा फैलिने राजनीतिक असन्तुलन तथा अराजकताको जिम्मेवार को हुने ? चीनले बनाएको वाम गठबन्धनलाई भारतको इशारामा बनेको विश्लेषण गर्ने राजनीतिक ज्योतिषहरूले भोली वाम सरकार कसको इशारामा के गरिरहेको छ, स्पष्टीकरण दिने कुरा छदैँछ ।

वाम गठबन्धनले राष्ट्रिय राजनीतिमा आफ्नो वर्चस्व प्राप्त गर्नेमा कुनै शंका छैन । मधेशमा पनि जनाधार भएका नेताहरू वाम पार्टीमा प्रवेश गरेकाले पनि वाम गठबन्धन पहिलो हुनेमा शंका छैन । वाम गठबन्धनको यही अपेक्षा हो ।

मधेशी पार्टीहरू राष्ट्रिय राजनीतिको क्षीतिजमा आफ्नो उपस्थिति देखाउने मात्र अपेक्षा राखेर चुनाव लडिरहेका छन् । जनाधार खस्केका कारण आफ्नो जिल्ला छाडेर अर्को जिल्लामा गएर जसरी पनि जीत हासिल गर्ने मधेशी दलका अध्यक्षहरूको भगौडा मानसिकताले उम्मेदवारी दिएको क्षेत्रमा पनि कट्टु आलोचना भइरहेको तथ्य जनसमक्ष देखिन्छ । पार्टीभन्दा पनि आफ्नो जीत भए पुग्ने संकीर्णतामा जातिवादको आश्रयमा चुनाव लडिरहेका छन् ।

देशमा फैलिरहेको राजनीतिक असन्तुलन, असन्तुष्टता तथा पारस्परिक चर्को अन्तर्विरोध समाधानको दिशामा यो चुनाव नरहेको स्पष्ट छ । स्पष्ट बहुमत लिएर शासन चलाउनु र शक्तिकेन्द्रलाई पोस्नेबाहेक यो सरकारबाट केही उपलब्धि नहुने स्पष्ट छ । खासगरी मधेशको मामिलामा एजेन्डाविहीन वाम गठबन्धनले अझ द्वन्द्व फैलाउने काम नै गर्छ ।
२०७४ मंसिर १५ गते मधेशवाणीमा प्रकाशित

 

Leave a Comment

error: Content is protected !!