राष्ट्रियता नभएका दलीय शासकहरु

बैशाख १० गते गरिने उप चुनावको परिणाम आई सकेको छ । माओवादी, नेपाली काँग्रेस लगायत ८ पार्टीको सत्तारुढ गठबन्धनले बारा २ बाहेक तनहुँ १ र चितवन २ मा पराजय भोग्नु परेको छ । बारामा उपेन्द्र यादबलाई जिताउन सत्तारुढ गठबन्धन सफल भएको छ । नेपाली काँग्रेसको दुबै ठाउँको उम्मेदवारको शर्मनाक हारले नेपाली काँग्रेस सत्तारुढ गठबन्धनबाट ठूलो क्षति बेहोर्नु प¥यो भन्ने कुरा सबैले महसूस गरेका छन् । सरकारको नेतृत्व पनि छैन र यो सरकारबाट कुनै फायदा पनि छैन भन्ने विचारले नेतृत्ववर्ग चिन्तित देखिएका छन् । तनहुँ र चितवनमा भविष्यको नेतृत्वकर्ता होनहार युवा नेताहरु विश्वप्रकाश शर्मा र गगन थापा खटिएका थिए । तर परिवर्तन चाहने दुबै ठाउँका जनताहरुमा यिनको कुनै प्रभाव परेन । उल्टै पुराना काँग्रेसीहरु पार्टी परित्याग गरि रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न थाले । दुबै महामन्त्री युवा नेताको कुनै प्रभाव नरहेको सिद्ध भई सकेपछि नैतिकताको आधारमा दुबै नेताको वर्तंमान पदबाट राजिनामाको माग पार्टीभित्र उठ्न थालेको छ ।

नेपाली काँग्रेस, माओवादी र एमालेले अहिलेसम्म जनतालाई उल्लेखनीय कुरा दिन नसकेको, विकासलाई गतिशील बनाउन नसकेको, देशको अर्थतन्त्र तहसनहस गरेको, देशलाई परावलम्बी बनाएको, उद्योगधन्धा चौपट बनाएको, भ्रष्टाचारको संस्थागत विकास गराएको आदि कारणले आम जनतामा नैराश्यता व्याप्त छ । देश र जनताको बारेमा चौपट्टै चिन्तन गर्न छाडेका यी तिनै दल भ्रष्टाचार विकासमा जति क्रियाशील देखिए, देश विकासमा कुनै चासो राखेन । ठुल्ठूला पापीहरुलाई पनि वृद्धावस्था प्राप्त गरेपछि चरित्र परिवर्तन गरि साधु बनेको धेरै उदाहरण देख्न, पढ्न पाइन्छ । तर नेपालका तीनै दलका नेताहरुमा देशलाई माया गर्ने चरित्र परिवर्तन हुन सकेन ।
“चोर चोर मौसेरा भाई” भन्ने उखान बारा २ को उपचुनावमा देखियो । मधेश प्रदेश सरकार तथा संघीय सरकारको सम्पूर्ण शक्ति उपेन्द्र यादबलाई जिताउन एकजूट भएको अजबको तमाशा देख्न पाइयो । अरु “वाद” पढ्दा “मधेशवाद” पढ्न नभ्याएका उपेन्द्र यादब मधेशको अधिकार दिलाउने नेताको पंक्तिमा पर्दैन, भ्रष्ट शासकवर्गलाई सघाउने अन्तिम पंक्तिका मोहरा हुन् । शासकवर्गका प्रिय पात्रका रुपमा रहेका तथा आफ्नो कार्यशैलीबाट मधेशमा आकर्षण गुमाएका उपेन्द्र यादब ८ दलीय समर्थनमा बल्ल जित्न पाएका हुन् । सिके राउतसंग तुलना गर्दा बारामा सिके राउत एक्लैले त्यत्रो ठूलो मत ल्याउनु मधेशको जनतामा उनको आकर्षण बढेको प्रष्ट छ । उपेन्द्र जितेपनि आकर्षणको केन्द्र सिके राउत नै बन्यो ।

उपेन्द्र यादबले मधेश प्रदेशको सरकार बनाउन सफल भएपनि जन आकाँक्षा पूरा गर्न असफल नै देखियो । सरकारको प्रस्तुति सन्तोषजनक देखिएन । मधेशको मुद्दाभन्दा शासकहरुसंग मिलेर धनलाभ गर्ने विचार सर्वोपरि देखिएको छ ।

तनहुँ र चितवनको जनताले जलाएको मशालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई देशैभर चिन्हाएको छ । देश सुधार्ने विकल्पको रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीको आकर्षणले यी तिनै पार्टीको टर्रो स्वादलाई नेपाली जनताले बदल्न खोजेको छ । नयाँ सोच, नयाँ कार्यशैलीबाट देशको मुहार फेर्न जनताको अन्तःस्थलमा रहेको उत्कट चाहना प्रस्फुटित हुन आतुर छ । होस्टेमा हैसे मिलाउन देशैभरका जनता तयार छन् । पार्टीभन्दा ठूलो देश हो भन्ने कुरा अब पार्टीका कार्यकर्ताले पनि बुझ्न थालेका छन् ।

दशकौंदेखि जरा गाडेर स्थापित भ्रष्टाचारलाई तहगत उजागर गर्ने रवि लामिछानेको भयले सिङ्गै शासकवर्ग भयभीत भएर रवि लामिछानेलाई सिध्याउन अति नै शर्मनाक प्रयासहरु गर्दै आए । व्यवधानका पहाड खडा गरेर रवि लामिछानेलाई रोक्ने प्रयास गरे । तर देशको लागि केही गर्ने पावन उद्देश्य तथा अदम्य साहस लिएका युवा योद्धा किञ्चित पनि डराएन र कदम अगाडि बढाउँदै गए । रवि लामिछानेको जीतले ती आततायीहरु अब प्रशंसकको रुपमा उभिनेमा कुनै शंका छैन ।

अन्यायीहरु प्रशंसकको भीडमा देखिएपनि उनी चरित्र बदलेको हुँदैन । उनी मौकाको दावमा प्रतीक्षारत हुन्छन् । मौका पाउँदै उसले आफ्नो काम फत्ते गर्न पछि पर्दैन । रवि लामिछानेले देशैभरि आफ्नो पार्टीको आकर्षण जगाएपनि साँसदको संख्या हेर्दा पार्टी सानै आकारमा रहेको कुरा यथार्थ हो । सिङ्गै लोकतन्त्रलाई कैद गरि देशैभरि भ्रष्टाचारको नेटवर्क बनाउन सफल शासकवर्गसंग भिड्नु रवि लामिछानेको लागि सजिलो छैन । तर केही गर्ने आँट छ । भ्रष्टाचारले यहाँको माटो, हावा, पानीसमेतलाई दुषित बनाई दिएको अवस्थामा यसको शुद्धिकरण कति जटिल छ अनुमान गर्न सकिन्छ ।

शुद्धिकरणको दिशामा पाइला सारेका काठमाण्डौंका मेयर बालेन शाहलाई संघीय सरकारले पाइला पाइलामा असहयोग गरेको सारा नेपाली जनताले देखेका छन् । संघीय सरकारलाई जिम्मेवारीबोध गराउन उनले सिंहदरवार, बालुवाटार र शीतल निवासको फोहोर उठाउन छाडेपछि मेयर बालेन शाहलाई वार्तामा बोलाउनुको सट्टा आफ्नो हैसियतको अहंकारमाथि चोट भएको बुझि बालेन शाहलाई अदालतमा घिसारेका छन् ।

निकृष्ट विचारको पराकाष्ठामा रहेका शासकवर्गसंग देशले असल विचारको अपेक्षा गर्नु नितान्त मूर्खता हो । यही कारण हो कि देशले अग्रगति पाई रहेको छैन । सम्पत्ति शुद्धिकरण विधेयक पास हुन नसक्दा यही बैशाखमा देश ग्रे लिष्टमा पर्ने सम्भावनाबाट पनि सरकार चिन्तित नरहेको कुराले सरकार देशप्रति कत्तिको जिम्मेवार छ त्यसै स्पष्ट हुन्छ । भ्रष्टाचार निवारण, सुशासन, लोकतन्त्रलाई जनतासंग जोड्ने प्रयास आदिबारेको सोच सरकारको छैन बरु कालो धन कसरी सेतो बनाउने त्यस सम्बन्धको विधेयक ल्याएर पास गराउने अनैतिक सोच प्राथमिकतामा परेको छ ।

यी तीनै दल शीर्ष स्थान कब्जा गरेपनि यिनबाट देशको कल्याण नहुने कुरामा जनता विश्वस्त छन् । त्यसकारण पनि राष्ट्रिय स्वतन्त्र पार्टीको आकर्षण बढेको छ । कुनै बेला माओवादी तथा मधेशी जन अधिकार फोरमको पनि आकर्षण कम थिएन । तर के भयो ? त्यसलाई तह लगाएर यी तीन पार्टी सत्ता कब्जा गरि बसेको स्पष्ट छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि माइक्रो मेनेजमेन्टमा पार्न सक्ने सम्भावना छ भन्ने जनतामा एक किसिमको भय छ । तर त्यही भयका कारण फोहोरको भवसागरमा उत्रिन डरायो भने.भवसागरलाई कसरी शद्धिकरण गर्न सकिन्छ । आफ्नो चालको गतिलाई कसरी लैजाने यही रणकौशल रवि लामिछानेले बनाउन जरुरी छ ।

(२०८० बैशाख १५ गते मधेशवाणीमा प्रकाशित)

Leave a Comment

error: Content is protected !!