के रविको क्रेज बढेकै हो त ?

मुसा मार्नु परेन भनेर संसदभित्र छिर्ने कोशिशमा पुनश्च चुनाव लड्दा रवि लामिछानेलाई पुराना शक्तिहरुले अनेक व्यवधान खडा गरेर हराउने प्रयासमा लागेका छन् । राहदानी मुद्दा त परेकै छ । पुनश्च एक महिने कार्यकालमा गृहमन्त्रालयमा बेरितपूर्वक ठेक्का लगाएबापत भ्रष्टाचारको मुद्दा पनि सर्वोच्चमा परेको छ । राज्यलाई सिध्याएका ठूला मुसाहरु मार्ने संकल्प लिएका रवि लामिछाने तथा उनका टीम अदम्य साहसका साथ तनहुँ १, चितवन २ तथा बारा २ मा विजय प्रापत गर्न प्रयत्नशील छ ।

परिवर्तन चाहने नेपाली जनता जो पुनश्च मत दिन अवसर पाएका छन, बडो उमँगका साथ तीववटै क्षेत्रमा घन्टीको प्रचारमा लागेका छन् । रवि लामिछानेको विरुद्ध दर्जनौं शक्तिहरु उनलाई रोक्ने प्रयासमा लाग्दा जनता त्यही अनुपातमा उनका समर्थक बन्दै गएका छन् । चितवनमा रवि लामिछानेको मतदाता समर्थकको ग्राफ उच्च विन्दुमा पुग्दा प्रतिस्पर्धीहरु चुनावभन्दा पूर्व हार स्वीकार गरेको अवस्था छ । नेपाली काँग्रेस, माओवादी र एमालेका समर्थक आम जनताले पनि घँटी छापमा भोट दिने स्पष्ट स्वरमा भनि रहेका छन् ।

रवि लामिछानेलाई संसदभित्र प्रवेश निषेध गर्ने शक्तिहरुले जति हतकण्डा अपनाए पनि त्यो सारा षडयन्त्र जनतासामू स्पष्ट भई सकेकोले देशै भरिका समर्थकहरु रविलाइृ सहयोग गर्न चितवन पुगी सकेका छन् । तनहुँमा पनि काँग्रेसबाट अलग्गिएका र रविको पार्टीमा सामेल भई उम्मेदवारी दिएका स्वर्णिम वाग्ले काँग्रेसको उम्मेदवारभन्दा भारी भएका छन् । नेपाली काँग्रेसमा क्रान्तिकारी कहलिएका गगन थापा, विश्व प्रकाश शर्मा अहिले चुनावी माहौलमा नेपाली काँग्रेसको आकर्षण घटी रहेको अवस्थामा पार्टीप्रति वफादार रहेर मत दिन आग्रह गरि रहेका छन् । परिवर्तनको चाहना बोक्ने मतदाताहरु जुनसुकै पार्टीको भएपनि परिणामको चिन्ता नगरि अहिले घण्टीलाई भोट दिने निश्चय गरेका छन् ।

रवि लामिछानेलाई दुःख दिने सम्पूर्ण शक्तिलाई देशैभरिका जनताहरु गाली गर्दै रविको जीतका लागि प्रार्थना गरि रहेका छन् । कुना कुनाबाट रविको पक्षमा आफन्तहरुको मत बटुल्न मानिसहरु चितवन पुगी सकेका छन् । विदेशका समर्थकहरु पनि सामाजिक सञ्जालबाट रविको पक्षमा मत दिन सन्देश पठाई रहेका छन् । यसरी नेपाली जनताले यसपाली रवि लामिछानेलाई जङ्गबहादुर जस्तै अजेय शक्तिको रुपमा स्थापित गर्न लागेका हुन् । संसद भित्र प्रवेश पाएका युवा जनप्रतिनिधी पनि बडो उत्सुकताका साथ रवि लामिछानेको आगमनको प्रतीक्षा गरि रहेका छन् ।

राजनीतिक शक्ति, न्यायालय समेत रविलाई रोक्न, छेक्न तत्पर रहेको अवस्थाले जनतामा अनौठो कौतुहलता जन्माएको छ । रविलाई किन राज्यले पनि रोक्ने कोशिश गरि रहेको छ । अदालतमा भ्रष्टाचारका चाङ्ग लागेका फाईलहरुप्रति न्यायाधीशहरु उदासीन रहेको र रविको मुद्दा पुग्ने वित्तिकै फैसला दिन हतारिएको अवस्थाले षडयन्त्रको ठूलो नेटवर्क रविको विरुद्ध लागेको स्पष्ट हुन्छ । रवि आउने वित्तिकै भ्रष्टाचारका फाइलहरु खुल्ने डरले राज्यका सबै अङ्ग क्रियाशील भएका छन् । फलतः राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा रविका समर्थक बढेर रविलाई नेपालको हिरो बनाई दिएको छ ।

चितवनको उप चुनावले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण चर्चा पाएको छ । सबैको ध्यान रवितिर आकर्षित भएकोले रवि शक्तिशाली लीडरको रुपमा स्थापित भई रहेको यथार्थलाई नकार्न सकिन्न । अमेरिकन मीडियाले पनि रविबारे चासो राखेको छ । रविलाई जहाँ राज्यले संसदभित्र छिर्न नदिन संकल्प लिएको छ, त्यहीं चितवनका जनताले रविलाई भारी मतले जिताएर पठाउने साहस देखाएका छन् । हामी फलानो पार्टीको भएपनि यसपाली रविलाई घण्टी छापमा भोट दिने खुलेआम भन्दै चितवनका मतदाताले अन्य शक्तिलाई चुनौती दिएका छन् ।

जसले जे पराक्रम देखाएपनि भवितव्य भएरै छाड्ने प्राकृतिक नियम हो । सूर्य पनि १२ घण्टा पछि आफ्नो तेज समेटेर अस्ताउने गर्छ । लोकतन्त्रको नाममा उदाएका घुस्याहा नेताहरु तीन दशकमा पनि अघाएन । देशलाई लुट्दै बसेको तर देशप्रति किञ्चित माया नराखेको असुर प्रवृतिका निरंकूश नेताहरुको क्रियाकलापले आज जनताहरु आक्रोशित भएर बाहिर आउन बाध्य भएका छन् । पार्टीका आफ्नै कार्यकर्ताले घण्टी छापमा भोट दिने मीडियामार्फत भनि रहेका छन् ।

देश आर्थिक रुपले दयनीय अवस्था भोग्दै छ । उच्च विन्दुको महँगी तल नझर्ने कसम खाएको छ । देश पराश्रित छ । आयातबिना नेपाली जन जीवन क्रियाशील हुने चान्स नै छैन । देश र जनता आकुल व्याकुल रहेको बेलामा पनि भ्रष्टाचार रोकिएको छैन । फायनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) अन्तर्राष्ट्रिय संस्था अन्तर्गतको एशिया प्रशान्त समूह (एपीजी) ले सन् २०१४ देखि भ्रष्टाचार निवारण सम्बन्धमा आग्रह गर्दै आएको छ । नेपाल पनि यस संस्थाको सदस्य राष्ट्र भएकोले भ्रष्टाचार सम्बन्धी चासो राख्नु स्वाभाविक हो । देशको राजनीतिक अस्थिरता तथा कोरोनाले ल्याएको विषम परिस्थितिको कारण देखाएर टार्दै आएपछि एपीजीले यही बैशाखको अन्तिम सीमा अवधी तोकेको छ । यही बैशाखमा नेपाल ग्रे लिष्टमा पर्ने सम्भावना छ । तर पनि यी नेताहरुलाई कुनै चासो चिन्ता छैन । अथवा चिन्ता भएपनि आफैले बेथिती निम्त्याएर प्राणालीलाई यसरी दुषित बनायो कि सम्पक्ति शुद्धिकरणको विधेयक संसदमा ल्याएपनि पास हुने अवस्था भने देखिदैन ।

देशले भोगि रहेको यावत् समस्या राजनीतिक दलहरुको प्राथमिकताको विषय होइन, तर रवि जीतेर नआवोस् त्यस्को ठूलो चिन्ता छ । त्यसका लागि वैध प्रयासबाट भएन भने अवैध प्रयास गरेर भएपनि रोक्न भने तत्पर देखिन्छन् । त्यस्तै राजधानीको सौंन्दयीकरण गर्ने, बिलीन भई रहेको बागमती सभ्यतालाई पुनस्र्थापना गर्ने काठमाण्डौं महानगरपालिकाको मेयर बालेन शाहले प्रयास गर्दा रवि लामिछाने जस्तै राजनीतिक दलहरु तथा न्यायालय समेतले असहयोग गरेको आम जनताले स्पष्ट हेरेका छन् ।

असहयोगका कारण आफ्नो कार्यमा अनेक सास्ती भोगि रहेका मेयर बालेन शाहले अन्ततः राजनीतिक दलहरुको फोहरी खेललाई सिंहदरवार, शीतल निवास, बालुवाटारको फोहोर अबदेखि नउठाउने निश्चय गरेर समाप्त पार्ने ब्रह्मास्त्र नै चलाएका छन् । १० दिनको दुर्गन्धयुक्त वातावरणमा साँस लिएपनि सरकारले उनलाई वार्तामा बोलाउनुको सट्टा सर्वोच्चमा मुद्दा गरेर हराउने जुक्ति लिएका छन् । हाय रे नेपालका जिम्मेवार सरकार !

(२०७९ बैशाख ८ गते मधेशवाणीमा प्रकाशित)

 

Leave a Comment

error: Content is protected !!