बेथितीले मूलधारको राजनीतिमा यति धेरै फोहोर थुपारि दिएको छ कि यसलाई सफा गर्न कोही चाह्ँदैन । कसले सफा गर्ने, कसरी सफा गर्ने र कहाँबाट सफा गर्ने भन्नेबारे कुनै निष्कर्ष ननिकाले पछि यथास्थितिमा रमाउनुबाहेक अर्को कुनै विकल्प देखिदैन । बेथितीका हरेक अंग नेपाली काँग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुले बनाएर सर्वाङ्ग शरीर नै निर्माण गरि दिएको छ । टाउको काट्न गयो भने नेपाली काँग्रेसलाई दुख्छ । खुट्टा काट्न गयो भने एमालेलाई दुख्छ । हात काट्न गयो भने माओवादीलाई दुख्छ । बेथिती काल मै राजनीतिक दलका सयकडौं मानिस धनकुबेर बनेका छन् । अल्प समयमा सहज तरिकाले करोडपति बन्ने राजनीतिबाहेक अरु कुनै विकल्प नभएकोले सबै जसो यथास्थितिमा रमाएका छन् । सार्वजनिक रुपमा भ्रष्टाचारको कडा विरोध गरेपनि असलमा बेथितीलाई कसैले हटाउन चाहँदैन ।
काठमाण्डौंका स्वतन्त्र मेयर बालेन शाहले काठमाण्डौंको फोहोरलाई सफा गरि बेथितीले काठमाण्डौंको सौन्दर्यलाई बिगारेको कुरा देखेर स्थानीय स्वायत्त सरकारको हैसियतले उनले सरकारी जग्गा मिचेर अवैध संरचना बनाई पैसा कमाई रहेका राजनीतिक दलका नेता कार्यकर्ताको विरुद्ध डोजर प्रयोग गरि अवैध संरचनाहरु भत्काउन थाले पछि तीनवटै राजनीतिक दलहरुलाई दुख्यो । बरु ती सबै संरचना सरोकारवालालाई दर्ता गराई दिंदा बालेनको जय जयकार हुन्थ्यो । तर त्यसो भएन । बागमती सभ्यता, काठमाण्डौंको संस्कृति मेट्ने गरि बनाईएको संरचनाले काठमाण्डौंको स्वरुप नै बिग्रेको हुँदा यसलाई पूर्वावस्थामा ल्याउने मेयर बालेन शाहको दृढ इच्छाशक्तिले काठमाण्डौंको आम जनता समर्थक बनेका छन् ।
बेथितीको माध्यमबाट यी राजनीतिक दलहरु हरेक ठाउँमा आफ्ना मानिस नियुक्त गरेर त्यसको माध्यमबाट लाभ लिई रहेका छन् । अवैध संरचना भत्काउने क्रममा मानिस अदालतबाट परमादेश लिएर काम रोकि दिने क्रम बढेसंगै मेयरले नेताहरुको कुकृत्यलाई प्रष्टसंग हे¥यो । बेथिती त्यसै बढेको होइन, यसलाई ठूला बडाले संरक्षण दिएर लाभ लिई रहेका छन् । काठमाण्डौंको सौंन्दर्यलाई फर्काउन, उपत्यकाको नेवा संस्कृतिलाई संरक्षित गर्न मेयरले उठाएको कदमको आम जनताले समर्थन गरेपनि राजनीतिक दलहरुका नेता कार्यकर्ताले बालेन शाहलाई हतोत्साह नै ग¥यो ।
बावुराम भट्टराईको प्रधानमन्त्रीत्व कालमा साँगुरो सडक विस्तार गर्ने वेलामा यस्तै भयानक विरोध भएको थियो । तर सरकारले कठोर निर्णय लिएपछि काठमाण्डौं शहरको सुन्दरता कति हदसम्म बढ्यो । क्रमिक रुपले मानिसहरु ठाउँ अतिक्रमण गदैं आफ्नो स्वामित्वको रुपमा भोग चलन गर्दै रहँदा कुनै हालतमा छोड्न चाहँदैन । सरकारले कठोर निर्णय लिएर शहरको सुन्दरतालाई संरक्षित ग¥यो । सरोकारवाला जतिसुकै विरोध गरेपनि आम जनता सरकारको कार्यलाई समर्थन गरेकाले यो कार्य सफल भएको थियो ।
तर यहाँ मेयरले पनि शहरको सुन्दरता, संस्कृति संरक्षण गर्ने क्रममा राजनीतिक दलहरुको असहयोगले मेयर चिढिएको कुरालाई संघीय सरकारले वेवास्ता गरेको छ । आफ्नो उद्देश्यमा बाधक बनेका यी नेताहरुप्रति कठोर अभिव्यक्ति दिंदै वालेन शाहले फेसबुकमा शनिवार आजदेखि सिंहदरवारको फोहोर उठ्दैन । यी नेताहरुलाई सिसडोलमा डम्प नगरि देश सफा हुँदैन भन्ने कुरा लेखेका छन् । बुधवार मन्त्रि परिषदको बैठकले काठमाण्डौंको मेयर बालेन शाहलाई फोहोर उठाउने जिम्मेवारी मेयरको रहेकोले उनलाई जिम्मेवारीबोध गराउन सुचित गरेको छ । उनले राजनीतिक दलहरुबाट आफ्नो कार्यमा अवरोध भैरहेको कुरा कसैले अनुभूत गरेन । मेयरको असन्त्ुष्टतातिर कसैको ध्यान गएन वा अनदेखा गरेको हो ।
देशको अर्थतन्त्रलाई सुधारोन्मुख बनाउन, कृषि उत्पादन बढाउन, उद्योगहरुलाई सुचारु गर्न, बैकिङ्ग समस्या तथा मीटर ब्याजी आदि सारा समस्यालाई सम्बोधन गर्ने जिम्मेवारी लिएका सरकार मेयर बालेन शाहको कार्यलाई अवैध किन ठानेको छ । उनले देखाएको असन्तुष्टतालाई सम्बोधन नगरि बरु बदनामीको पगडी भिर्ने कोशिश निश्चय पनि आलोचनाको विषय हुनेछ । शहरको सौन्दर्यीकरण सबैको जिम्मेवारी हो भन्ने कुराप्रति मौन साधेर बस्नुको अर्थ देशमा रहेको बेथितीलाई स्वीकार गर्नु हो । यथास्थितिमा उपरोक्त कुनै समस्या निष्कर्षमा पुग्न सक्दैन । बेथिती कायम राखेर देशको प्रगतिको कामना गर्नु मुर्खता नै हो ।
नयाँ जोश, जाँगर बोकेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने २१ सीट ल्याएर संसदमा प्रवेश गरि उप प्रधान तथा गृहमन्त्री समेत बन्न सफल भए । त्यस्तै राप्रपाका ज्ञानेन्द्र बहादुर शाही पनि बेथितीसंग लड्ने उत्साह देखाई रहेका छन् । भ्रष्टाचारका अनेक घटनाहरु केलाएर संसद समक्ष कानूनी कारवाहीका लागि राखि रहेका छन् । तर उनले औंल्याएका आपराधिक घटनाहरुलाई सरकारले तथा सदन समेतले कुनै वास्ता गरेको छैन । बेथितीलाई एक एक गरि हटाउने जाँगर बोकेका रवि लामिछाने गृहमन्त्रालय प्रवेश गर्दा कसैलाई सह्य भएन । मुद्दा लगाएर उनलाई संसदबाट मात्र होइन, पार्टीको साधारण सदस्यबाट पनि हटाइयो । पुनश्च चुनाव लड्न गएको रविमाथि राहदानी काण्डमा मुद्दा चलाईएको छ ।
देशको उन्नती प्रगतिप्रति किञ्चित पनि मनोवल नरहेको तर लोकतन्त्रको नाममा लुट्न मुख्तियारी लिएका पुराना पार्टीहरु आपूmबाहेक राज्यसत्तामा अन्य कसैको रजाँई बर्दास्त गर्न सकि रहेका छैनन् । स्वार्थ लाभको विषयमा तीनै पार्टी एक हुने तथा अन्य विषयमा सत्तापक्ष र प्रतिपक्ष दुबै खुबै लड्ने प्रहसन हामी देखि सकेका छौं । बेथितीमा रमाउने पुराना पार्टीहरु अब जनताबाट आलोचित बनेका छन् । यिनबाट अर्थतन्त्रमा किञ्चित सुधार हुनेवाला छैन ।
अहिले प्रधानमन्त्रीले अर्थ सुधारका लागि निजीक्षेत्रलाई आमन्त्रित गरि रहेको छ । पहिला पनि निजीक्षेत्र आमन्त्रित नभएका होइनन् । तर के भयो । निजीक्षेत्रसंगको सहकार्य निश्चय पनि सुधारको बाटो पहिल्याउने छ । तर बेथितीले लक्ष्य पुरा हुन दिदैन । बेथिती हटाउन सरकार चाहँदैन अथवा यो भन्न उचित होला कि सरकार बेथिती हटाउन सक्दैन ।
बेथिती हट्यो भने कानूनको शासन आउँछ । विधी सम्मत कार्यहरु हुन थाल्छ । भ्रष्टाचारका चाङ्ग लागेका फाईलहरु ख्ुल्न थाल्छ । फाईलहरु कारवाहीमा गयो भने तीनै पार्टीका ६० प्रतिशत मानिस जेल जान्छन् । सयकडौंको संख्यामा जेल जाने दृश्य कस्तो होला ? त्यसकारण ती फाईलहरु जोगाउनका लागि भएपनि वेथिती कायम राखी त्यस विरुद्धको आवाजलाई मत्थर गरिएको हो र भ्रष्टाचार निर्वाध चलि रहेको छ ।
(२०७९ बैशाख १ गते मधेशवाणीमा प्रकाशित)
