धनलाभ गर्ने माफियातन्त्रको चक्रव्यूहमा तीन दशक बढि समयदेखि राज्य कैद रहेका कारण देश यथास्थितिभन्दा बाहिर निस्कन सकेन । व्यक्ति, परिवार त पालित पोषित भयो तर जनताको जीवनशैली उकास्ने र देशको उन्नती, प्रगतिको कार्यभार थाती रह्यो । जनप्रतिनिधीको रुपमा जिम्मेवारी लिएर आउने साँसदहरुले देशमा रहेको बेथिती हटाउने तथा देशलाई समृद्धिको बाटोमा डो¥याउनेबारे जिम्मेवारी कहिल्यै बोध भएन । देशको लागि काम गर्न चाहने जनप्रतिनिधीहरु या त पार्टीको नियन्त्रणमा प¥यो या कि माफियाहरुको वर्चस्व रहेको संसदमा भयका कारण चाहेर पनि बोल्न सकेन ।
गत मंसीरको चुनावदेखि सदनमा तहगत भ्रष्टाचारको स्वतन्त्र आवाज उठ्न थालेको हो । माफियातन्त्रको विरुद्ध खुलेआम आवाज उठनु परिवर्तन गतिशील हुने संकेत थियो । माफियातन्त्रमा पनि चोखो बन्न केही गुलामहरुबाट आफ्नै विरुद्ध आवाज उठाई दिएर भ्रष्टाचारका सानातिना कारवाही गरि दुई चार जनालाई जेल पठाई चोखिने राजनीति दावपेंच चल्दै आएको हो तर यसपालीको विरोध भने स्वतन्त्र रुपबाट आएको मान्न सकिन्छ ।
बेथितीका कारण आफ्नै आफ्नै कारणले असन्तुष्ट बनेका राजनीतिक धरातल, बैकिङ्गक्षेत्र, व्यवसाय क्षेत्र, कृषिक्षेत्र, शिक्षा, स्वास्थ्य क्षेत्र आदि हरेक क्षेत्र परिवर्तनको चाहना राख्न थालेका छन् । पैसा दिएर जसरी पनि वोट लिन सकिन्छ भन्ने मान्यता राख्ने माफियाहरुको पैसा खाएर पनि जनता वोट दिन छाडेपछि असन्तुष्ट बनेका छन् । जनतामा क्रयशक्ति नभएर उद्योगी व्यवसायीको व्यवसाय धाराशायी भएकोले असन्तुष्ट छन् । महँगाई तथा करको बोझ खेपेका जनताहरु बैंकबाट ऋण लिएर केही उद्यम गर्न खोज्दा अनुकूल वातावरणको अभावमा सो व्यापार असफल हुने तथा ऋण चुक्ता हुन नसकी बैंकमा खराब कर्जा पहाड जस्तै अग्लो हुन थाल्दा बैंक पनि असन्तुष्ट देखिएका छन् । अहिले ती ऋणीहरुमध्ये केहीले आत्मदाह गरे भने धेरैजसो सडकमा आन्दोलन गरि रहेका छन् । जनताले जम्मा गरेको पैसा ऋण प्रवाह भएकोले उसको पनि सञ्चित रकम जोखिममा परेकोले असन्तुष्ट छन् । राज्यसत्तामा एकाधिकार बनाएर शासन गर्ने माफियाहरु पनि अपेक्षित लाभ नपाएर असन्तुष्ट बनेका छन् । पैसाका लागि भौंतारिने यी माफियाहरु शिक्षा, स्वास्थ्य, कृषि लगायत हरेक क्षेत्रलाई आफ्नो कब्जामा लिएर बसेका छन् । सरकारले विकास बजेट जहाँ फाले पनि यिनकै हातमा पर्ने यो प्रणालीको ठूलो विशेषता हो ।
अर्थात् बेथितीबाट सबै आक्रान्त छन् । आफैले सिर्जेको प्रणालीबाट अपेक्षित लाभ नपाएर माफियाहरु असन्तुष्ट छन् भने मँहगाई, करको बोझ, सेवा लिंदा दिनु पर्ने घूस आदिबाट जनताको छाक टार्ने समस्या आई परेको कारणले जनतामा ठूलो आक्रोश फैलिएको छ । यही कारण हो विगतको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीहरुको जन्म भएको हो । साहसका साथ बेथितीका विरुद्ध सदनमा आवाज घन्काउने राप्रपाका ज्ञानेन्द्र बहादुर शाही, डा. अमरेश कुमार सिंह जस्ता जनप्रतिनिधीहरु सदनमा आएका छन् । यथास्थितिको बाँधलाई भत्काएर देशलाई गतिशील बनाउने सम्भावना बढेको महसूस गर्न सकिन्छ ।
बेथितीका विरुद्ध निर्धक्क बोल्ने रवि लामिछाने अहिलेको राजनीतिका उदीयमान नक्षत्र बनेका छन् । यतिधेरै जनताको विश्वास लिएर रवि लामिछाने माफियातन्त्रको अगाडि लम्पसार हुन सक्दैन । जन विश्वास तोडेर म आफ्नो स्वार्थका कुनै काम गर्दिन भनेर आफ्ना अभिव्यक्ति सार्वजनिक गरेका छन् । दुर्गा प्रसाईसंग राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक साँसद ढाका कुमार श्रेष्ठको टेलीफोन वार्ता भए नभएको अडियो सार्वजनिक भएपछि ७२ घण्टाभित्र कारवाही गरेर पार्टीबाट निष्काशन गर्ने रवि लामिछानेले निष्पक्षताको उदाहरण नै प्रस्तुत गरि अरुका लागि प्रेरणा बनेका छन् ।
संस्थागत भ्रष्टाचार र अपराध गर्ने सबैलाई सबैले बचाउने प्रथाको विरुद्ध रवि लामिछाने, डा. अमरेश कुमार सिंह, ज्ञानेन्द्र बहादुर शाही लगायत अनेको युवा साँसदहरु निर्धक्कसंग बोल्न थालेपछि उच्च पदस्थ भ्रष्टाचारीहरु पनि फन्दामा पर्न लागेका छन् । भुटानी प्रमाणीकरण गर्ने सिलसिलामा यसलाई पनि अवसरको रुपमा प्रयोग गरेका माफियाहरु लहरो तान्दा पहिरो जाने सम्भावना बढेर गएको छ ।
भुटानी शरणार्थी प्रकरणमा नक्कली भुटानी शरणार्थी बनाएर ८७५ जना नेपालीसंग १० देखि ५० लाखसम्म रकम असुल गरि अमेरिका छिराउने गृहमन्त्रालयको कर्मचारी जोडिएको ठूलो गिरोह प्रहरीको फन्दामा आएका छन् । शुरुको अनुसन्धानमा साना माछाहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई र टंक गुरुङ पक्राउ परे । थप अनुसन्धानमा तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजीत राई, निजको छोरा निरज राई (फरार), टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी तथा बहालवाला सचिव टेकनारायण पाण्डे समातिएका छन् । टोपवहादुर रायमाझीको गिरफ्तारीका लागि केही प्रक्रिया पूरा गर्न बाँकी छ । गृह सचिव छँदा टेकनारायण पाण्डे यो अपराधको मुख्य योजनाकार थियो । एक अरबको भएको यो खेलमा अझै पनि हाई प्रोफाईलका कतिपय व्यक्तिहरु पर्न सक्ने प्रहरी स्रोतको भनाई छ । परिवर्तनको ठूलो आवाज घन्केपछि अपराधी बचाउने शक्ति अहिले चुप भई बसेको छ, उदाङ्गीन चाहेको छैन ।
रवि लामिछानेलाई संसदबाहिर राख्ने अनेक कोशिशका बावजूद पनि रवि लामिछानेको उपस्थितिबाट संकुचनमा परेका शीर्ष नेताहरु राजनीति दाव खेल्न भने अहिले कम गरेका छन् । परिवर्तन चाहने उप निर्वाचनमा तनहुँ क्षेत्र नं. १ र चितवन क्षेत्र नं. २ का जनताले रास्वपाका उम्मेदवारलाई हराउन खोज्ने ८ दलीय गठबन्धनको एकीकृत शक्तिका विरुद्ध रवि र स्वर्णिम वाग्लेको पक्षमा यति धेरै मतदान गरे कि देशैभरिका जनता प्रभावित भयो । युवा जनप्रतिनिधीको सदनमा बोल्ने आँट, साहस र केही गरेरै छाड्ने ओजस्वी भाषणले यथास्थितिवादी शक्तिहरु अहिले एक कदम पछि सरेका छन् ।
नयाँ राजनीतिक दलहरुको कार्यगत एकताको सम्भावना बढेको छ । रवि लामिछानेलाई आफ्नो प्रभावमा लिएर प्रचण्डलाई मात दिने केपी शर्मा ओलीको आफ्नै दाव छ । रवि लामिछानेले सरकारबाट समर्थन फिर्ता लिएपछि सरकार धाराशायी हुने कुराले चिन्तित प्रचण्ड पनि गृहमन्त्रालय दिएर रविलाई आफ्नो पक्षमा राख्न फकाई रहेको छ । सत्ता समीकरण बदल्ने सम्भावना बढि देखिएको छ । समीकरण बदलियो भने सुधारका कुराहरु अगाडि बढ्नेछ । विकृत राजनीति एउटा नयाँ परिवेशमा आउनेछ ।
(२०८० बैशाख २२ गते मधेशवाणीमा प्रकाशित)
