भनिन्छ “अति गर्नु अतिचार नगर्नु” । बेथितीको स्थापना गरेर देशलाई सबैले लुटे । देशप्रतिको दायित्व र जिम्मवारीबोध नभएर स्वार्थमा चुर्लुम्म डुबेकाहरुले पापको भागिदार बन्ने कहिल्यै चिताएका थिएनन् । तीन दशकदेखि राज्यको दोहन गर्न लिप्त तीनै शीर्ष दल आपूm मात्र लुटेनन्, देशैभरि लुटेराहरुको सञ्जाल तयार पारे । केन्द्रदेखि वडा तहसम्म भ्रष्टाचारको संस्थागत संगठन नै खडा गरे । पापले पनि चरम विन्दुमा लगेर मानिसलाई धर्मको बाटो देखाउँछ । कारवाहीको फन्दामा परुञ्जेल यी पापिष्ठहरुले धर्मको बाटो देख्न सकेनन् । देश हाँक्ने शीर्ष सम्मान प्राप्त गरेका मानिसहरुले लुट्ने सिवाय उनको जिम्मेवारी के हो बुझ्न सकेन । देशलाई कङ्गाल बनाएर छाडे ।
जुन अनुपातमा भ्रष्टाचार बढ्यो सोही अनुपातमा बेथितीको विकास भयो । यही बेथितीको विकसित रुप अराजकता हो । देशमा सरकार भएपनि, साँसद भएपनि, अदालत भएपनि सबै अराजकताको शिकार भएका छन् । न कानून ठीक ठाउँमा छ, न सरकार, न सरकारका संयन्त्र । सबै नियन्त्रण बाहिर छन् । जसलाई जे मन लाग्यो, गर्ने छूट छ । ओहोदामा बसेकाको मनोमानी छ । लिखित कानूनभन्दा मौखिक कानूनको बोलवाला छ । सबै लूटपाटमा व्यस्त छन् । यी सम्पूर्ण बेथितीको मार जनताले वेहोरी रहेका छन् । जनताका लागि सबै भक्षक भए, रक्षक कोही देखिएन ।
हिलोबाट कमलको पूmल फुलाउने शक्तिले बेथितीकै माझबाट सुधारका सुदर्शन चक्र चलाएका छन् । आर्थिक अत्याचारको पीडाबाट छटपटाई रहेका जनताको आर्तनाद सुन्ने त्यही बेथितीबाट उदाएका शक्ति आज भ्रष्टाचारको ठूलो अपरेशन गरेको छ । भूटानी प्रमाणीकरण गरि विदेश पठाउने विषयमा नेपालीहरुलाई भूटानी प्रमाणित गरि अकूत सम्पत्ति कमाउने गृह सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री वालकृष्ण खाँडलगायत अहिले १२ जना समातिएका छन् । एमालेका सचिव तथा पूर्व गृहमन्त्री टोपबहादुर रायमाझी फरार छन् तर छोरा सन्दीप रायमाझी समातिएका छन् । वालकृष्ण खाँडकी श्रीमति मञ्जु खाँड, शेरबहादुर देउवाकी श्रीमति आरजू देउवालगायत पूर्व गृहमन्त्री राम बहादुर थापा बादल तथा उनका छोरा प्रतीक थापा पनि मुछिएका कारण यिनीहरु पनि पर्न सक्ने सम्भावना देखिन्छ । लहरो तान्दा पहिरो जाने उखान चरितार्थ हुन लागेकोले पीडा भोगि रहेको जनतामा सन्तोषको आश जागेको छ ।
२१ जना जिउँदै मानिसलाई ईंटा भठ्ठामा हालेर मारि दिने रौतहटका काँग्रेसका शीर्ष नेता तथा साँसद आफताव आलमको यस्तो जघन्य अपराधलाई १२ वर्षसम्म कारवाही हुन नदिने र अपराधीलाई संरक्षण दिएर राख्ने नेपाली काँग्रेस, आफ्नो छोरा कृष्ण प्रसाद अधिकारीको हत्यारालाई कारवाहीको दायरामा ल्याउन अनशनमा बसेका पिता नन्द प्रसाद अधिकारी तथा आमा गंगामाया अधिकारी मध्ये पिताको अनशनमा नै ज्यान गयो र आमा अहिले पनि अनशनमा बसेकी छन् । १० वर्षभन्दा बढि भयो अपराधीलाई संरक्षण दिएको माओवादी तथा भ्रष्ट तथा डनहरुलाई संरक्षण दिएर राख्ने एमाले तीनै शक्ति एकै ड्याङका मूला हुन् । जस्तो सुकै अपराधीलाई संरक्षण दिने तीनै पार्टीको साझा नीति रहेकोले सबै अपराधी ढुक्क भएर संगठित अपराध गर्न तल्लीन थिए । नाम मुछिए पनि अनुसन्धानमा परेपनि चिन्ता नलिने कतिपय अपराधीहरु अहिले पनि छाती फुलाएर टिभी अन्तर्वातामा जनताका लागि मीठो सन्देश दिई रहेका हुन्छन् । उनलाई किञ्चित पनि चिन्ता र भय छैन । उनको सुरक्षा गर्ने सम्पूर्ण जिम्मेवारी पार्टीको हो ।
भूटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझीको नाम मुछिएपछि उनलाई बचाउन केपी शर्मा ओली, प्रधानमन्त्री प्रचण्ड कहाँ कारवाही नचलाउन पुगेकै हुन् । हामी कसैको दबावमा पर्दैनौं भन्ने कुरा सार्वजनिक हुँदा गोप्य अनुरोधको पोल प्रचण्डले खोल दिएपछि ओली रिसाएर सफाईमा के के कुरा भने सबैलाई थाहै छ । काले काले मिलेर खाउँ भाले उखानलाई तीनवटै दलले राज्यको नीति नै बनाई दिएको थियो ।
भनिन्छ नि पाप धूरीबाट कराउँछ, अहिले त्यही भएको छ । निर्भय भएर राज गर्ने यी शासकहरुले कति पाप कमाए कि अहिले विस्फोट हुँदा ठूला माछा मात्र पर्ने अवस्था आएको छ । सबैले सबैको कुरा मान्ने परिस्थिति कहाँ हुन्छ र ? प्रधानमन्त्री भएपछि प्रचण्डले जनतालाई डेलीभरी दिनु पर्ने अवसर छ । भूटानी शरणार्थी प्रकरणमा दोषीलाई संरक्षण नदिई कारवाही अगाडि बढाउँदा जनतामा प्रचण्डको खुबै प्रशंसा हुन थालेको छ । माओवादी पार्टी छाडेर एमाले बन्ने ठूला नेतालाई प्रचण्डले किन संरक्षण दिने ? कारवाही प्रक्रिया अगाडि बढाएर जति मात्रामा भएपनि पाप कम हुने अवसरको राम्रो उपयोग गरेको छ प्रचण्डले ।
नेपाली काँग्रेससंग रहेको रीसराग साध्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफताव आलमलाई जेलको हावा खुवाएको थियो । त्यस्तै ओलीसंग तथा आफ्नै सहकर्मी छाडेर गएको रीसराग पोख्न यो कारवाही गरिएको हो । प्रचण्डले गरेको यो कारवाहीको सर्वत्र प्रशंसा भएको छ । शासक तथा कर्मचारी वर्गमा थोरै मात्रामा भएपनि निर्भयता हट्ने पक्का छ । बेथितीको अवस्थाबाट विस्तारै देश मुक्ति पाउँछ ।
तीनवटै पार्टीले ल्याएको बेथितीमा पारस्परिक सहयोगबाट शासकीय महत्वाकाँक्षा समान रुपले बढेको छ । पाटीको आकारमा तलमाथि परेपनि विगतको इतिहास त ठूलै छ । बेथिती यिनीहरुको आश्रय लिने छहारी हो । यो भएमा मात्र स्वार्थ पूर्ति हुने प्रायोगिक रुपमा यिनले सत्यापन गरेको छ । यसबाट फैलिने विकृतिलाई एक अर्काको टाउकोमा दोषारोपण गरेर उम्किन सक्ने हतियार त छँदैछ । यहि विधी यिनले राजनीतिमा आफ्नो वर्चस्व कायम राखेको छ ।
भ्रष्टाचारको विरुद्धमा सँसदमा निर्धक्क बोल्ने एक जना स्वतन्त्र साँसद अमरेश कुमार सिंहले ५ मिनेट बोल्न दिने बारम्बार रिक्वेष्ट गर्दा पनि सभामुखले न सुने पछि अद्र्ध नग्न भई विरोध गरेको घटना पनि सकारात्मक चर्चाको विषय बनेको थियो । जनताको बोली बोलिने ठाउँमा राजनीतिक एकाधिकार कायम गर्ने ठूला दलको हैकमीको ठूलो झापड हानेको थियो अमरेश कुमार सिंहले ।
बेथिती कै गर्भबाट सुधारका प्रयास हुनु राम्रो कुरा हो । परिवर्तन चाहने सँसदमा छिरेका युवा जनप्रतिनिधीहरु जनतालाई डेलीभरि दिने एकमात्र एजेण्डा लिएर आएका छन् । सरकारले जुन मनसायले भ्रष्टाचार विरुद्धको जुन कारवाही गरेको छ, प्रशंसनीय छ । सुधारको निरन्तरता होस् । देश लिकमा आओस् । विकृति, विसंगति हटोस् । सुशासन कायम होस् । सबै सतपथमा आओस् । शुभकामना ।
(२०८० बैशाख २९ गते मधेशवाणीमा प्रकाशित)
