परिवर्तनको संवाहक तथा राष्ट्रनिर्माणको कार्यभार युवाशक्ति कै काँधमा हुन्छ । नेपालमा परिवर्तनको ढोका खोलेर संघीय लोकतान्त्रिक गणतन्त्रको शासन प्रणालीलाई स्थापना गर्न सबै राजनीतिक दलहरुलाई राष्ट्रनिर्माणको कार्यभार पूरा गर्ने अभिभारा दिएर युवाशक्ति विदेश पलायन हुनु देशको दुर्भाग्य हो । लामो समयदेखि द्वन्द्वबाट गुज्रेको नेपाल तथा लम्बिदै गएको संक्रमणकालीन अवस्थाले बेरोजगार युवाहरुलाई विदेशिन बाध्य तुल्यायो । सामाजिक रुपान्तरण र देश निर्माणमा युवाहरुको अहम भूमिका रहि आएको इतिहास साक्षी छ । तर संक्रमणकालीन अवस्थाले ल्याएको नैराश्यताले युवाहरुलाई यो अवसरबाट बञ्चित गरेको छ ।
नेपाल लामो समयसम्म द्वन्द्वको चपेटामा रहेको कारण अस्त व्यस्त बनेको जनजीवनलाई पुनर्स्थापनाका लागि प्राप्त वैदेशिक सहयोग पर्याप्त नरहेको, आर्थिक दुर्वस्थाको प्रत्यक्ष सामना गरि रहेको नेपाली जनताको दयनीय अवस्थालाई हेरेर युवाहरु चुप लागेर बस्न नसक्ने बाध्यात्मक परिस्थितिले पनि युवाहरुलाई विदेशिन करै लगायो । हुनत द्वन्द्वपूर्व ०५०/०५१ सालदेखि श्रम स्वीकृति लिएर युवाहरुको विदेश जाने क्रम शुरु भयो । त्यतिबेला महँगो खर्च व्योहोर्नु पर्ने भएर विदेशिने युवाहरुको संख्या अति न्यून थियो । नेपालमा द्वन्द्वको शुरुवात् भएपछि द्वन्द्वको प्रभावबाट बच्न, विदेशमा खोलिएको राहत शिविरको आकर्षण तथा नेपालमा कमाउने अवसरको अभावका कारण युवाहरुको विदेशिने गति तीव्ररुपमा बढ्यो । तथ्याँकको रुपमा हेर्ने हो भने ०६१/०६२ मा ७ लाख ५८ हजार ७ सय ७५ जना युवाहरु वदेशिएका थिए भने यो संख्या ०६८/०६९ मा २४ लाख ६२ हजार ७ सय ९९ मा पुग्यो । ०६९/०७० मा २९ लाख १९ हजार २ सय तथा ०७१ साल भदौसम्म विदेशिने युवाहरुको संख्या ३५ लाख पुगेको छ ।
श्रम स्वीकृति लिएर वैधानिक रुपमा जाने युवाहरुको संख्या ३५ लाख देखिन्छ तर श्रम स्वीकृति नलिएर भारतीय बाटोबाट जाने युवाहरुको संख्या पनि वैध संख्याभन्दा बढि छ । यसरी बैध अवैध गरेर संसारका १ सय ९ मुलुकमा रोजगारीका लागि विदेशिएको नेपाली युवाहरुको संख्या ६० लाखको हाराहारीमा पुगेको छ । विदेशिएको यो संख्याको ६ प्रतिशत महिला पनि छन् ।
आफनो देशमा रोजगारी सृजना हुन नसकेको कारण विदेशिने युवाहरुले पठाएको रेमिट्यान्सको वृद्धिले नेपालको कूल गार्हस्थ्य उत्पादनमा (जीडीपी) २५ प्रतिशत योगदान गरेर देशको एउटा मजबूत खम्भाको रुपमा उभ्याई दिएको छ । चालू आर्थिक वर्षमा रेमिटयान्स बजेट बरावरकै हाराहारीमा आउने अनुमान गरिएको छ । रेमिट्यान्स वृद्धिका कारण नेपाल राष्ट्र बैंकको विदेश सञ्चितिमा निकै ठूलो सहयोग पुगेको छ । अहिले विदेशी विनिमय सञ्चिति ६ अर्ब अमेरिकी डलरभन्दा बढि छ र यसले वर्षभरिको वस्तु तथा सेवाको आयात धान्ने क्षमता राख्दछ । यो रेमिटयान्सले नेपाली अर्थतन्त्रमा लगानीको अवसर पनि सृजना गरि दिएको छ ।
नेपालको आर्थिक दुर्बलताका कारण विदेशिनु परेको विशाल युवा जमातले देशमा पठाउने रेमिटयान्सले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ । विदेशिएर भएपनि आर्थिक रुपमा सहयोग गरेर देशमा राजनीतिक स्थिरता ल्याउन युवाशक्ति नै अगाडि देखियो । जन अधिकारका लागि संघर्ष गरेर परिवर्तनको ढोका खोल्ने, विदेश गएर रेमिट्यान्सको माध्यमबाट देशको आर्थिक भार थेग्ने दायित्व पूरा गरि रहेको बेला राजनीतिक दलहरुले युवाशक्तिको योगदानबाट शिक्षा लिएर अविलम्ब देशलाई सहज निकास दिनु पर्दछ ।
सामाजिक परिवर्तनको हरेक परिस्थितिमा, निर्माणको अवस्थामा आउने ठुल्ठूला अवरोध हटाउन गरिएको संघर्षमा अग्र भूमिकामा रहने युवाहरुको संस्थागत तथा संगठित महत्वबारे राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा धेरै ढिलो बहस उठ्न शुरु भएको हो । सन् १९६९ देखि आयेजना हुने विश्व सम्मेलनहरुमा युवा सवालबारे बहस छलफल शुरु भएको देखिन्छ । संयुक्त राष्ट्र संघले सन् १९८५ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाएपछि विश्वस्तरमा युवा सवालको महत्वले प्राथमिकता पायो । त्यसपछि विश्व स्तरमा युवाहरुको भेला कार्यक्रम आयोजना हुन थाल्यो । संयुक्त राष्ट्र संघले सन् १९९५ मा “वर्ल्ड प्रोग्राम अफ एक्शन फोर युथ टु द इयर २००० एण्ड वियोण्ड” मा युवाहरुको १० समस्यालाई समावेश गरि कार्यनीति पास गरेको थियो । यहींबाट राष्ट्रिय स्तरमा युवानीतिबारे छलफल चलाउन तथा कार्यान्वयन गर्न सरकारहरुलाई दबाव बढ्यो ।
अन्तर्राष्ट्रिय स्तरमा युवा सवालबारे बहसले निरन्तरता पाउने थाले पछि सन् १९९८को अगस्तमा युवा सवालबारे जिम्मेवार मन्त्रीहरुको ४ दिवसीय विश्व सम्मेलन पोर्चुगलको लिस्वन शहरमा सम्पन्न भयो । युवा सवाल र त्यसको महत्वबारे जिम्मेवार मन्त्रीस्तरीय यो सम्मेलनले राष्ट्रियस्तरमा युवानीति ल्याउन सबैलाई प्रेरित गरेको हो ।
नेपालको सन्दर्भमा २००७ साल पश्चात युवाहरुको ठूलो जमात पंचायती व्यवस्थालाई टिकाउन प्रयोग भएको देखिन्छ । २०१९ सालमा वर्गीय संगठनको रुपमा संगठित भई भूमिकाविहीन युवाहरु तत्कालीन सत्तापक्षकै लागि काम गरे । त्यसपछिका दिनमा जन अधिकारका लागि लडे पनि उपलब्धिहरु हासिल गर्न नसकेका राजनीतिक दलहरुको भ्रातृ संगठनमा बाँधिए । सबै राजनीतिक दलहरुको बँधुवा लडाकुको रुपमा प्रयोग भएको युवा जमात भने परिवर्तनका लागि लडे पनि पाएका उपलब्धिहरुलाई बचाउन सकेन । परिवर्तनभन्दा पनि नेताहरुको निजी स्वार्थमा प्रयोग भएको युवाशक्तिको अतिशय शोषण भएको नेपालको घटनाले देखाएको छ ।
युद्ध संचालन गरेर आएका एमाओवादीका युवाहरुले पार्टी प्रतिनिधीहरुलाई सत्तामा पुर्याए । आफनो व्यवस्थापन नभएर सबै युवाहरु पलायनको स्थितिमा पुगे । त्यही दुर्दशा मधेश आन्दोलनका युवाहरुको भयो । संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यभार सबैको हातमा दिएपनि त्यो संस्थागत हुने अवस्था भने नदेखिएपछि मधेशका युवाहरु पनि पलायन हुन थाले । जन अधिकारका लागि शहादत दिएका युवाहरुको रगत पानी जस्तै बगेको परिस्थितिले देखाई रहेको छ ।
युवाहरुको बाध्यात्मक अवस्थाको पलायन पनि राष्ट्रहितमा सिद्ध भएकोले युवाहरु धन्यवादका पात्र बनेका छन् । राजनीतिक दलहरु समस्याको समाधानभन्दा पनि राजनीतिक गतिरोध बढाएर समस्याहरु थपि रहेको बेला यही भाद्र ७ गते शनिवारका दिन राजधानीका ३५ हजार युवाहरु बिना कुनै प्रचारको टुँडिखेलमा विशालकाय राष्ट्रिय ध्वजको आकारमा जम्मा भई विश्वलाई नै अचम्भित पारेका छन् । कुनै प्रचारवाजी नगरि एक्कासी यति ठूलो संख्यामा जम्मा भएर सबैको बाह्याडम्बरी आयोजनालाई लज्जित बनाएको छ ।
उद्देश्य सानो देखिएपनि युवाहरुको वृहद उपस्थिति तथा विशालकाय राष्ट्रिय ध्वजको आकार बनाएर गरिएको प्रदर्शन देशलाई मात्र होइन, संसारलाई नै अचम्भित पारेको छ । सबैलाई यस कार्यक्रमबारे चर्चा गराउन बाध्य बनाएको युवाको यो प्रयास प्रशंसनीय छ । राजनीतिक दलहरुले सामान्य एउटा प्रदर्शन गर्न पनि प्रचार प्रसारको माध्यम अपनाउनु पर्दछ । तर राजधानीका यी ३५ हजारका युवा जमातले त कसैलाई जानकारी नै नदिकन जम्मा भएर घण्टौं झण्डाको आकारमा लाम लागेर अनुशासनको उदाहरणीय नमूना पेश गरेका थिए । चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डालाई फहराउने अवस्थाको प्रदर्शन वास्तवमा अति रमाईलो अवस्था थियो । यी रोमाञ्चित गर्ने दृश्य कतिले हेरे, धेरैले हेर्न पनि पाएन । सञ्चार माध्यमले देखाएको प्रदर्शनीको विशालकाय झण्डालाई घर घरमै हेरेर सबै रोमाञ्चित भएका थिए ।
नेपालका झण्डा संसारैले हेरेका छन् । यो सामान्य कुरालाई नौलो प्रस्तुतीको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय गौरवको ठूलो चर्चा गराउनु आफैमा आश्चर्यजनक कुरा हो । आफनो पहिचानबारे विश्व समक्ष प्रस्तुत गरिएको यो शैली प्रशंसनीय छ । युवा जमातका किशोर किशोरीहरु धन्यवादका पात्र त हुन नै, आयोजक विशेष धन्यवादका पात्र हुन ।
आफनो अतुलनीय भूमिका प्रदर्शित गरेर सबैलाई चकित पार्ने युवाशक्ति भर्खरै नेपाली समाजलाई रुपान्तरण गर्न गरिएको सफल आन्दोलन पश्चात् नयाँ नेपाल बनाउने समयमा विदेश पलायन हुनु यो देशको दुर्भाग्य भनी रहँदा खरबौंको रेमिट्यान्स दिएर देशलाई ठूलो गुणनै लगाएको छ । सकारात्मक नकारात्मक जताबाट पनि देशलाई योगदानै गरेको युवा जमातबाट राजनीतिक अगुवाहरुले शिक्षा नै लिनु पर्दछ । दिएको अभिभारा पूरा नगरि संक्रमणकालीन अवस्थालाई अनावश्यक रुपमा लम्ब्याई राख्ने, देशलाई पुनश्च द्वन्द्वको चपेटामा फँसाउने आदि क्रियाकलाप अविलम्व बन्द गरि युवा जस्तै प्रशंसनीय भूमिका निर्वाह गर्ने कार्यमा ईमान्दारीसाथ लाग्नु पर्दछ । युवाहरुको सानै काम भएपनि सराहनीय क्रियाकलापले यी राजनीतिकर्मीलाई सचेत गराउँदै आएको छ ।
२०७१ भाद्र १३ गते मधेशवाणीमा प्रकाशित
