राजनीतिक दलहरुमा लघुताभासको छाया

बिना लगानीको व्यापार गर्न राजनीति उद्योगहरु धमाधम दर्ता हुन लागेको छ । नेपाल जस्तो गरिब मुलुकमा धन कमाउने राजनीतिभन्दा अर्को उद्योग हुन सक्दैन । मनी ट्रीको रुपमा रहेको यो कल्पवृक्षबाट पैसा झार्न साना ठूला सबै यसको छायामा सुस्ताएका छन् । परिस्थितिले कुनै उपद्रव गरेन भने पाँच सालका लागि सरकारले यही मंसीर ४ गते व्यापार महोत्सवको उद्घाटन गर्नेै निर्णय गरेको छ । यो महोत्सवलाई भव्यताकासाथ सफल पार्न निर्वाचन आयोगले १० अर्ब खर्च गर्ने बताएको छ । यस महोत्सवमा भाग लिने उम्मेदवारहरु पनि आफ्नो गच्छ अनुसार ३ देखि ७ करोडसम्मको खर्चको जोहोमा लागेका छन् । यो खर्च गेम्बलिङ्ग हाउसमा छिर्नका लागि मात्र हुन् । जोसंग पैसा छ उ सजिलै छिर्न सक्छन् । यसमा छिरेकाहरु अरबपति भएर निस्केको देख्दा हैसियत नहुनेले पनि अनेक विधी खर्च जुटाउन तम्सेका छन् ।

देश विकास गर्न हिंडेका दर्जनौं टाउकेहरु ३ दशकभन्दा बढि गेम्बलिङ्ग हाउसमा बिताएर देशलाई अधोगतिमा पु¥याएकोबाट अब उनी जनतामाझ घृणाका पात्र बनेका छन् । तर पैसावाल भएका कारण् जसरी पनि गेम्बलिङ्ग हाउसमा आफै जाने जिद्दका कारण अरु रोक्किएका छन् । आकर्षण समाप्त भएको यी प्रभूहरु विरुद्ध मानिसहरु हराउने दावमा रहेको चाल पाएर यिनीहरु अब गठबन्धनबाट मात्र चुनाव लड्ने रणनीति लिएका छन् ।

सत्तामा रहेका अहिले ५ दलीय गठबन्धन (नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र संयुक्त जनमोर्चा) पारस्परिक सहमतिको आधारमा चुनाव लड्ने रणनीति बनाएका छन् भने एमालेलाई सर्वशक्तिमानको गौरव हासिल रहेकोले एक्लै चुनावमा जाने हिम्मत छ । बाँकी साना दलहरु आफ्नो अस्तित्व जोगाउन एमालेको बुई चढेर बैतरणी पार गर्ने एमालेसंग जाने भएका छन् ।

जनतामा आफ्नो आकर्षण समाप्त भएको आभास सबैलाई भएको छ । खासगरि नेपाली काँग्रेस धेरै डराएका छन् । एमालेलाई छाडेर सबैले एकतिर गठबन्धन बनाएको देखेर एमाले पनि भित्रभित्रै डराएका छन् । नेपाली काँग्रेस र एमालेलाई पहिलो बन्ने चिन्ता सताएको छ । माओवादीको तेश्रो स्थान सुरक्षित रहेका कारण उ ढुक्क छ । नेकपा एकीकृत समाजवादीलाई आफ्नो अस्तित्वको चिन्ता छ । जसपालाई लोसपाले जित्न सक्दैन भनेर जसपा निश्चिन्त त छ तर प्रतिनिधी सभाबारे चिन्तित हुने अवस्था छ । लोसपा ४ जनाभन्दा बाहिर निस्किन पाई रहेको छैन । सरकारमा गएपछि केही आशलाग्दो नतिजा आउने सम्भावना देखिन्छ ।

सबै आफ्नो हैसियत अनुसार दावमा लागेका छन् । यस्तो दावमा देश र जनता हुदैन । यहाँ आफ्नो स्वार्थलाई कसरी संरक्षित राखी अगाडि बढाउने प्रपञ्च हुन्छ । जुवाघरसम्म कसरी पुग्ने र कसरी क्षण मै अर्बपति बन्ने यी उम्मेदवारहरुको एकमात्र लक्ष्य रहेको हुन्छ । विद्यमान प्रणालीले सबैलाई यही सिकाएको हुन्छ । साना दलहरुले त देशको चिन्ता ठूला दलहरुको हो, हाम्रो जिम्मेवारीमा होइन भन्ने मान्यता राख्दछ । उसको काम ठूला दललाई सहयोग गर्ने मात्र हो ।

आफ्नो राजनीतिक आकर्षण विस्तारै समाप्त भई रहेको अवस्थामा किनेरै भएपनि वोट लिएर गेम्बलिङ्ग हाउसमा जाने उत्कट अभिलाषालाई शीर्ष नेताहरु त्याग्न सकेको छैन । श्रीलंकाको राष्ट्रपति जस्तो लखेटेर सत्ताच्यूत नगरेसम्म यिनले सत्तालाई त्याग्न सक्दैन । लागेको बानी मृत्यु पर्यन्त रहन्छ । सत्ताले जसरी राख्न चाहन्छ त्यसै गरि रह्ने बानी भई सकेकोले फरक काम गर्ने उसको जिम्मेवारी नै बुझ्दैन । त्यसकारण देश जस्तो सुकै अवस्थामा गएपनि सत्ताद्वारा निर्देशित यी प्यादाहरु आफ्नो लीकमा चलि रहन्छ । शीर्ष दलहलको राजमुकुट यिनले लगाएपनि सत्ता चलाउने तस्कर माफिया हो । सबै पार्टीमा रहेका तस्कर माफियाहरु जितेर संसद भवनमा पुग्दा उनी सबै एकीकृत भएर सरकार बन्दछ र मनोमानी ढंगबाट सबैलाई डो¥याएर मनोनुकूल कार्यमा लिप्त रहन्छन् ।
यी नेतृत्व वर्गको कार्यशैलीबाट वाक्क दिक्क भई केही युवाहरु खास खास टाउकेलाई हराउने आँट लिएका छन् । कति सफल होलान, भन्न मुश्किल छ । चट्टानलाई सानो ढुँगाले हान्ने प्रयास मात्र हो । सबैथोक आफ्नो पकडमा राख्ने यी सर्वशक्तिमान चुनाव हारेपनि यहाँ प्रधानमन्त्री बन्न कसैले रोक्दैन । वैचारिक मतभिन्नता देखाएपनि मिलेर खान यिनी सबै एक हुन्छन् । जन सतहबाट यिनीहरु विरुद्ध तीखो आवाज उठ्न थालेको छ । यही आवाज जनविद्रोहमा परिणत भयो भने परिवर्तनको आँधी आउन सक्छ ।

सचेत मतदाता नभएर पनि यिनीहरु पैसा बाँडेर मत किनेर चुनाव जित्छन् । काठमाण्डौं, धरान र धनगढी जस्तो मतदाताले निश्चय पनि वैकल्पिक बाटो देखाउने थियो । तर सबै ठाउँमा त्यस्तो छैन । निरक्षर र विपन्न जनतालाई बडो सजिलो ढंगले यिनी आफ्नो पक्षमा लिने गरेका छन् । जनतामा आफ्नो आकर्षण मेटिएपनि पैसावालहरु निर्धक्क भएर चुनाव लड्छन र जितेर जान्छन् । महँगो चुनावी प्रणालीलाई हेरेर अन्य कसैले चुनाव लड्ने हिम्मत गर्दैन । आपूmबाहेक चुनावी यात्रामा सबै साइड लाग्ने विश्वास कै आधारमा जति विरोध भएपनि यिनी मैदानमा आउँछन् र जितेर देखाउँछन् । यसरी आफ्नो विकल्प अरु नहुने देखाएर जनताको मनोवल तोड्छन् ।

धनकुबेरको रुपमा विकसित भई दैवत्व स्थानमा आपूmलाई स्थापित गरेका यी शासकहरु अतुलनीय रहेकोले यिनको विकल्प खोज्न धेरै कठीन छ । जन विद्रोह भएपनि जनताले के चाहन्छन् त्यस्को अगुवाई गर्ने यिनै शक्ति हुन् किनकि संसारबाट मान्यता प्राप्त लोकतान्त्रिक शक्ति यिनै हुन् । यिनको चँगुलबाट राज्यसत्ता हत्याउने अरु कुनै शक्ति छैन । कम्युनिष्ट र काँग्रेस लामो समयसम्म एक अर्काको दुश्मन बनि रहँदा राजाले पनि निकै समय राज्य चलाए । दुबै मिलेपछि राजतन्त्रको अन्त भयो । यी तीनै शक्तिको मिलनमा विकल्प खोज्नु धेरै कठीन काम हो । तर शाश्वत् त कोही छैन । कसको अन्त कुन विधी हुने कसैलाई ज्ञात छैन ।

दलहरुप्रति जनतामा रहेको वितृष्णा, दलभित्र रहेका कलह आदि कारणले सबैको साइज घट्ने सम्भावनामा सबैलाई लघुताभास भएको छ । समथिंग इज वेटर द्यान नथिंगको रणनीतिमा दलहरु गठबन्धन बनाएर हिंडेका छन् । परिवर्तनको कुनै ठोस आधार देखिएको छैन जसले यो शासकवर्गको दुर्गलाई भत्काउन सकोस् ।
(२०७९ श्रावण २७ गते मधेशवाणीमा प्रकाशित)

 

Leave a Comment

error: Content is protected !!