परिवर्तनका चाहना बोकेका युवाहरु

दयनीय अवस्थामा गएको अर्थतन्त्रलाई प्रगतिको बाटोमा ल्याउने, राजनीतिमा रहेको अराजकता हटाएर जनताप्रति उत्तरदायी बनाउने, सामाजिक अराजकताले बलात्कार, हत्याहिंसा, महँगी बढाएकोलाई रोक्ने, राजनीतिमा व्यक्तिको बर्चस्वलाई अन्त गर्ने, संस्थागत भ्रष्टाचारलाई निर्मुल गर्ने, देशलाई उत्पादनशील बनाउने आदि स्थापित हुनु पर्ने परिवर्तनका मुख्य बून्दा कार्यान्वयन गराई देशलाई अधोगतिबाट बाहिर निकाल्ने प्रगतिशील युवाहरुको चाहना हो ।

देशलाई गतिशील बनाउने सोचको विपरित राजनीतिक नेतृत्व सम्हालेका केही व्यक्तिहरुले निजी स्वार्थ पूरा गर्ने उद्देश्यले बनाएको प्रशासनिक संरचनाले देशहितको काम कम व्यक्तिहितको काम बढि गरेकाले देशको अवस्था बिग्रिदै गयो । देशको आर्थिक दुरावस्था माथिल्लो स्तरमा सीमित रहँदासम्म जनताको जानकारीमा आउन सकेन । महँगाईको मार, करको बोझ झेल्दै जनताले देशको जर्जर अवस्था थाहा पाए । आफ्नो कार्यकाल पूरा नगर्दै सरकार बदलिने प्रक्रिया देशमा सुधारका लागि नभई प्रतिपक्षलाई कमाउने अवसर दिने प्रक्रिया हो भनेर आम जनताले थाहा पाए । स्वार्थमा लिप्त भएर देशलाई श्रीलंकाको अवस्थामा पु¥याउने राजनीतिक नेतृत्वकर्ताहरुको विरुद्ध आवाज उठाउने युवाहरु अगाडि आए ।

स्थानीय चुनावमा स्वतन्त्र रुपमा चुनाव लड्न आउने युवाहरु देशलाई यथास्थितिबाट निकाल्ने आकाँक्षा लिएर अगाडि आएका हुन् । देशको कतिपय ठाउँमा स्वतन्त्रसंग मतदाताले स्वरमा स्वर मिलएका पनि हुन् । काठमाण्डौंमा शीर्ष दलहरुलाई चुनौती दिंदै मतदाताले स्वतन्त्र व्यक्तिलाई मेयर पदमा जिताएर दलहरुप्रतिको आफ्नो वितृष्णा प्रकट गरेका हुन् । लामो समयदेखि नेतृत्वकर्ताको पथभ्रष्टताबाट आक्रोशित कतिपय ठाउँका उम्मेदवार र मतदाताको स्वार्थ मिलेर सफलता प्राप्त पनि भएको छ । तर यो उपलब्धि उदाहरणको लागि मात्र भयो । यसले देशमा आमूल परिवर्तन ल्याउन सक्दैन ।

तीन दशकदेखि राज्यसत्तामा अधिपत्य जमाएका नेपाली काँग्रेस, नेकपा एमाले राज्य संयन्त्रलाई आफ्नो कब्जामा राखेर सेवा लिई रहेका छन् । जनयुद्ध उठाएर हिस्सेदारी माँग्न आएका माओवादी पनि परिवर्तनको चाहना छाडेर यही शक्तिसंग मित्रता जोडेर बसे । माओवादी तेश्रो शक्तिको रुपमा स्थापित भयो । राज्यसत्तामा मिसिन आएका माओवादी काटछाँटमा नपरेको भए ठूलै शक्तिको रुपमा उदाएका थिए । संविधान सभाको पहिलो चुनावमा प्रत्यक्ष तर्फ २३९ सीट ल्याएर नेपाली काँग्रेस र एमालेको सनातनी अहंकारलाई तोडेको थियो । राज्यसत्तामा आमूल परिवर्तन गर्ने आँट लिएर आएका माओवादी विस्तारै राज्यसत्ताको कोपको भाजन हुन पुगे । माओवादी पार्टी विभाजन गरेर, नेताहरुमा पारस्परिक वैमनष्यता उत्पन्न गराएर, काटछाँट गरि सानो आकारको तेश्रो शक्तिको रुपमा राख्न उचित हुने ठहर अनुसार माओवादी राज्यसत्ताको नियति भोग्न बाध्य भयो ।

सनातनी सामन्ती चरित्र बोकेका राज्यसत्तालाई संघीय लोकतान्त्रिक गणतन्त्रको आवरण लगाएर संरक्षित गरेका नेपाली काँग्रेस र एमाले देशमा आमूल परिवर्तन गर्न चाहने शक्तिलाई नै रुपान्तरण गरि दिने क्षमता राख्दछ । देशभरि विशाल संगठन भएको माओवादीलाई निस्तेज पारेर तेश्रो शक्तिको रुपमा गुलाम बनाएर राख्नु सहज कुरा होइन । पीडित पक्ष तथा अन्य सहयोगी शक्ति कसैलाई थाहै नदिई मित्रतापूर्ण प्रहारबाट माओवादी शक्तिलाई नियन्त्रणमा लिएको यथार्थलाई माओवादले आफ्नो नियति बुझ्यो । यसरी परिवर्तनको ठूलो प्रयासको क्रमिक रुपले अवसान भयो । लघुताभासमा माओवादीको देश बनाउने त्यो आकाँक्षा हराएर यथास्थितिलाई स्वीकार गरि सकेको छ । शासन प्रणालीका विधी र पद्धति स्थापित गर्न सनातनी शक्तिको मनोकाँक्षा अनुरुप सघाएको प्रचण्ड अहिले महँगो चुनावी प्रणालीको विरोधमा बोल्न थालेको छ । यस्तो चुनावी प्रणालीबाट त तस्कर, माफियाहरु मात्र नीति निर्माणको तहमा जान्छन् भने देशको कल्याण कसरी हुन्छ ।

परिवर्तनको आवाज उठाउने मधेशसंग पनि राज्यको त्यस्तै व्यवहार भयो । मधेशको संघीयताको माँग स्वीकार गरि आफ्नो मूल गेटमा झुण्ड्याएर मधेशको पार्टीहरुलाई पनि तोडफोड गरि आफ्नो सेवामा ल्याई राखे । परिवर्तनका ती क्रान्तिकारी विचारहरु त्यागेर यथास्थितिमा विधी र पद्धति अनुसार नै चल्ने आफ्नो सिद्धान्त बनाएका छन् ।

जनताको सुख सुविधाका लागि राम्रो काम गरेर देखाउने आकाँक्षा लिएर जितेका धरान नपाका मेयर हर्क साम्पाङ्ग दलीय प्रताडनाको शिकार हुन पुगेका छन् । मेयरको विरोधमा नगरपालिकाको मूलगेटमा रहेको बोर्ड तोडफोड गर्न गएकाहरु सामान्य व्यक्ति त होइन होला । त्यस्तै काठमाण्डौंको मेयर बालेन शाहको पनि अवस्था छ । साझा विवेकशील पार्टीको अध्यक्ष रविन्द्र मिश्र पनि अनेक बाधा व्यवधानमा परेर अध्यक्ष पदबाट राजीनामा नै गर्नु प¥यो । मधेशलाई अलग गर्ने क्रान्तिकारी विचार बोक्ने सी के राउत हाल ओशो तपोवनमा दीक्षा लिएर आध्यात्मवादी बनेका छन् । नयाँ जोश, जाँगरका साथ रवि लामिछाने नेपाल स्वतन्त्र पार्टी लिएर मैदानमा उत्रेका छन् ।

कण कणमा परिवर्तन गराउने प्राकृतिक नियम अनुसार यहाँ पनि परिवर्तन अवश्यम्भावी छ । देशको जीर्ण अर्थ व्यवस्था, कण कणमा व्याप्त भ्रष्टाचार, अवसरविहीन तर महँगाईको मार झेली रहेका जनताको क्रन्दन, सामाजिक अराजकता, दण्डहीनताको अवस्था, पंगु न्याय प्रणाली तथा असन्तुलित कूटनीतिक सम्बन्धले परिवर्तनको द्वार खटखटाई रहेको छ । यसै प्रसंगमा एउटा कथा छ – एउटा लकडहारा दाउरा लिन जंगल पसेछ । एउटा रुख काट्दा काट्दै ऊ थाक्छ । बञ्चरोको एउटा प्रहार दिन नसकेर ऊ घर फकर््यो । अर्कोले आएर एक प्रहारमा रुख ढाल्यो । सफलताको यश अरुको हात लाग्यो । परिणामका लागि निरन्तर प्रयत्नशील रहने आँट हुनु पर्दछ ।

सबै समस्यालाई यथावत राखी निर्विकल्प शक्तिको रुपमा राजनीतिमा वर्चस्व कायम राख्ने शक्तिहरुको राजनीतिक धरातल हल्लिएको अनुभूति नहुनु आश्चर्यको कुरा हो । गतिहीनताको जुन अवस्थामा देशलाई राख्ने चेष्टा गरिएको छ, त्यो अवस्थामा देश अब रहन सक्दैन । विषम परिस्थितिले परिवर्तनको ठूलो आँधी तुफान ल्याउने सम्भावना बढ्दै गएको छ । सवाल उठ्दछ – यो परिवर्तनलाई नेतृत्व गर्ने कसले ? अहिले राजनीतिमा वर्चस्व कायम राख्ने रुग्न मानसिकताका सनातनी शक्तिहरुको देशभरि संगठन रहेकोले परिवर्तनको श्रेय पुनश्च यही शक्तिले लिने सम्भावना बढि छ । संविधान सभामा पनि अधिकारवादीहरुलाई पन्छाएर यही शक्ति परिवर्तनको फल खान अगाडि आएका थिए । खाए पनि । त्यसकारण परिवर्तनशील शक्तिहरु संगठित भएर अगाडि आउनु प¥यो । आकाँक्षा मात्र राखेर केही हुँदैन ।
(२०७९ श्रावण २० गते मधेशवाणीमा प्रकाशित)

Leave a Comment

error: Content is protected !!