परिवर्तन चाहने युवाहरुको जोशिला प्रयास, यथास्थितिवादी राजनीतिक दलहरुको आफ्नो अजेय शक्तिमाथि रहेको भरोसा तथा जनतामा यसपाली आएको परिवर्तनको उत्साह आदिहरुले मतदानको नतिजा आफ्नो पक्षमा आउने आकलन गरेका छन् । मतदान अब २ दिन बाँकी छ ।
देशका सबै राजनीतिक दलहरुका (राष्ट्रिय वा क्षेत्रीय) भ्रष्ट आचरणका कारण देशमा आएको बेथितिले हरेक क्षेत्रलाई पंगु बनाएको ३ दशक भयो । नेपालमा विधीको शासन अब कल्पनामा मात्र सीमित छ । सरकारमा दलीय वर्चस्व र कर्मचारीहरुमा रहेको दलीय प्रभावले हरेक क्षेत्र मा मनपरि व्याप्त छ । खुलेआम लुट्ने साम्राज्य व्याप्त छ । लुटिने जनताको अवस्था अत्यन्त दयनीय छ । कतिपय बेरोजगार युवाहरुको विदेश पलायन भई रहेको छ भने विदेश जान नपाउने युवाहरु अवसर नपाएर अपराधको दुनियाँमा जान बाध्य भएका छन् । बेथितीका कारण समाजमा यसरी दिनानुदिन विकसित भई रहेको हिंसा, घरेलु हिंसा, चोरी, डकैती, ठग्ने वृति, खुलेआम लुट्ने प्रवृति, मूल्यवृद्धि आदि असमाजिक तत्वहरुबाट आक्रान्त नेपाली जनता आज सुधार होला, भोली सुधार होला त्यो प्रतीक्षामा ३२ वर्ष बितायो । एकतिर अवसरविहीनता अर्कोतर्फ हरेक वस्तुमा भई रहेको मूल्यवृद्धि जनताको आत्महत्याका कारण बनि रहेको छ । आवश्यकता पूरा गर्न समाजमा ठग्ने प्रवृति बढेको छ । मृत्युतर्फ अग्रसर भई रहेको सामाजिक जीवनलाई बाँच्ने विकल्प समाप्त भई रहेको अवस्थामा दलीय प्रभावको माला झुण्ड्याएर कुनै अर्थ छैन भन्ने आम धारणा बनेको छ ।
यसका विपरित साना ठूला राजनीतिक दलहरुको भ्रष्टाचार गर्ने एकमात्र एजेण्डा रहेकोले उनको तथा उनका आसेपासे हजारौं कार्यकर्ताहरु राज्य सुविधामा लिप्त रहेका कारण धरातलीय समस्या यिनको दृष्टिबाट ओझल परेको छ । जनताको दयनीय जीवन यिनलाई परिलक्षित भई रहेको छैन । राजनीतिमा यिनको एकाधिकार र त्यसबाट प्राप्त शानो शौकत तथा आफ्नो चाकरी गर्नेहरुको ठूलो जमात रहेको अवस्थामा शासकीय मनोवृति, अहंकार, दुष्प्रवृतिको जन्म हुनु स्वाभाविक हो । यो प्रवृति सानो ठूलो सबै राजनीतिक दलहरुमा रहेकोले देशमा अराजक अवस्था विकसित भएको हो । काले काले मिलेर खाउँ भाले भन्ने उखानलाई चरितार्थ गर्न सबै प्रयासरत छन् । जनताको समस्या उठाउने कसले ? देशको अर्थनीति र यसको विकासबारे सकारात्मक पहल गर्ने कसले ?
जनतामा मिसिएर रहेका दलीय कार्यकर्ता आम जनतालाई नियन्त्रणमा राखेको हुन्छ । उनकै झुक्याउने प्रभावबाट पार्टीहरु मत लिएर अस्तित्वमा बाँचेका छन् । दलीय कार्यकर्ता आफ्नो स्वार्थ पूर्ति गर्न अध्यक्षको गुलामीमा तल्लीन रहन्छन् । उनलाई देशको अवस्था, जनताको समस्या तथा राजनीति ज्ञानसंग कुनै मतलब हुँदैन । पैसा, प्रलोभन, डर, त्रास, धमकीबाट जनताको मत संग्रह गरि पार्टीलाई जिताउने अनुशासित सिपाहीको भरमा राजनीतिक दलहरु चलि रहेका हुन्छन् । मत बटोर्न कार्यकर्ता असफल रह्यो भने राज्यशक्ति प्रयोग गरि मतदानको नतिजा आफ्नो पक्षमा पार्ने ताकत त छँदैछ । देशमा परिवर्तनको यस्तो लहर चल्दा पनि शीर्ष नेताहरु आफ्नो जीतमा ढुक्क बसेका छन् । लामो समयसम्म देश यथास्थितिमा रहेकोप्रति किञ्चित पनि पछुतो नरहेको निर्लज्ज र नालायकीको यस्तो उदाहरण कहाँ भेटिएला ?
देशको बेथितिबाट उत्पन्न समस्याहरुबाट जुझ्दै, यी राजनीतिक दलहरुबाट निराश बनेका जनता आफ्नै धरातलबाट परिवर्तन खोज्न बाध्य बनेका छन् । दलका शीर्ष नेताहरुको विरुद्ध उम्मेदवारी दिएका सुयोग्य युवाहरुको जोश र जाँगरबाट आम जनतामा उत्साह बढेको देख्न सकिन्छ । जनता सुयोग्य, नयाँ छवि, स्वतन्त्र युवाहरुलाई मत दिने आम धारणा विकसित भएको महसूस गर्न सकिन्छ । परिणामको चिन्ता नगरि नयाँ व्यक्तित्वलाई जिताएर लाने जनताको मनलाई राजनीतिक दलहरुले आफ्नो तर्फ मोड्न सकि रहेको छैन ।
राजनीतिक दलहरुको खस्किएको जन धरातललाई अहिले लोभ्याउन ओली विकासका अनेकन योजनाहरु चुुनावपछि शुरु गर्ने घोषणा गरेका छन् । दुईतिहाई पाएको अवसरलाई देशहितमा प्रयोग गर्न असफल ओलीको अहिले विश्वास गर्न कठीन छ । त्यस्तै हरेक कुरामा असफल शेरबहादुर देउवा शरीरले कमजोर भए पनि राजनीति छोड्न चाहि रहेको छैन । मिथ्या जनयुद्ध गरेर आएका पुष्पकमल दाहाल पनि सैद्धान्तिक विचलनका शिकार भएकोले देशलाई लीड गर्ने क्षमता राखेको छैन । तीनबटा मजबूत शीर्ष दलको सरकार प्रदर्शन क्षमता शून्यमा रहेकोले जनतामा नैराश्यता जन्मिनु स्वाभाविक हो ।
लोकतन्त्र अभ्यासमा लामो समय बिताएका नेपाली काँग्रेसले लोकतान्त्रिक आचरण त बनाउन सकेका छैनन् । गुट उपगुटमा विभक्त सरकारमा आउँदा नेपाली काँग्रेस देशलाई विकासको दिशा दिन सकेन । भ्रष्ट आचरण र विकास निर्माणको रत्तिभर सोच नराख्ने नेपाली काँग्रेसलाई पनि देशको दयनीय अवस्थाप्रति आत्मालोचना छैन । कुनै पछुतो छैन । जसरी पनि राज्यसत्तामा टाँसी रहने तथा राज्य सुविधा लिई रहनेबाहेक अन्य कुनै सोच छैन ।
जसपा र लोसपा पनि लामी चाकडीमा लागेका छन् । आफ्नो मौलिक विचारबाट स्खलित यी दुबै पार्टी अहिले नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनमा बाँधिएर चुनावमा अस्तित्व जोगाउन कसरत गरि रहेका छन् । केन्द्र जस्तै मधेश प्रदेश पनि भ्रष्टाचारमा लिप्त रहेका कारण मधेश पनि विरत्तिएको छ । मधेशका राजनीति जातीमा प्रवेश गरेकाले जाती कै भरमा राजनीति गर्नेहरुका लागि समग्र मधेश प्रदेश कुनै अर्थ राख्दैन ।
मधेश आन्दोलनको १५ वर्ष यी दुई पार्टीका लागि परिक्षणकाल थियो जसमा यिनी दुबै असफल देखिएका छन् । शीर्ष तीन दल समक्ष आत्म समर्पण गरेका जसपा र लोसपा यसपालीको चुनावमा ठूलो क्षति बेहोर्ने अवस्था देखिन्छ । जनता पार्टीहरुबाट विरक्तिएको, ह्विप मान्ने अवस्था नरहेकोले क्रस बोटिङ हुने प्रवल सम्भावना देखिन्छ । जसपा लोसपाका अध्यक्षहरु प्नि आफ्नो प्रतिष्ठा बचाउन सक्लान जस्तो लाग्दैन ।
आफ्नो जीतका लागि राज्यशक्तिको प्रयोग भएन र निष्पक्ष रुपमा जनमत संग्रह भयो भने यसपाली नयाँ छवि उल्लेख्य मात्रामा संसदमा छिर्छन् । यी विलक्षण प्रतिभाहरुको उपस्थितिले राजनीतिको स्वरुप नै बदलिन्छ । राजनीतिक पार्टीहरुको हाली मुहाली त रहन्छ नै, तर बर्चस्व भने कसैको रहँदैन । काठमाण्डौंको मेयर वालेन्द्र शाह जस्तै संसदमा आउने नयाँ छविहरुले सबैलाई डो¥याउने निश्चित छ । सुधारको कार्यमा कसले विरोध गर्छ । यसै माध्यमबाट सबै राजनीतिक दललाई डो¥याउन स्वतन्त्रहरुको उपस्थिति आवश्यक छ ।
(२०७९ मंसीर २ गते मधेशवाणीमा प्रकाशित)
