मंसीर ४ गतेको आम चुनाव सकिएर मतगणना चलि रहेको छ । चुनाव नतिजाले यथास्थितिको अवस्थालाई परिवर्तन गर्न त सकेन, तर धेरै पुराना छविलाई बदल्न सफल भएको देखिन्छ । निर्विकल्प शासकहरुले रचेको शासनको चक्रव्यूहलाई परिवर्तन चाहने मतदाताले पनि तोड्न सकेन । तर कमजोर पार्ने प्रयास त निश्चय नै भएको हो । नयाँ नयाँ पार्टीको उदयले नेपाली काँग्रेस र एमाले कसैले पनि बहुमत नपाउने संकेत चुनावी परिणामले देखाई रहेको छ ।
तीन दशकसम्म पंचायती व्यवस्थाको एकतन्त्री शासनमा छटपटिएको नेपाली जनताले जसरी विद्रोहको माध्यमले जसरी लोकतान्त्रिक नवीन वातावरण खोजेका थिए, त्यस्तै ३ दशकको लोकतान्त्रिक अभ्यासमा शासकवर्गले जनताको आवश्यक आवश्यकतालाई पूरा गर्न नसकेर जनतामा रहेको दलहरुको वितृष्णा चुनावको माध्यमबाट बदलावको स्थितिबाट प्रष्ट भएको देखिन्छ । लोकतन्त्रलाई जनताको शासन पद्धति भने पनि नेपालको सन्दर्भमा यसले एउटा सभ्रान्तवर्गलाई (शासकवर्ग) पोस्ने काम ग¥यो । जनताको मूलभूत समस्यालाई यसले सम्बोधन गर्न सकेन । लोकतन्त्र निर्विकल्प शासनको रुपमा चित्रित गरिएपनि यसमा भाग लिने दलहरु सबै अलोकप्रिय बनेकाले कसैकोप्रति जनआस्था रहेन ।
दिनानुदिन देशको आर्थिक संकट बढ्दै जाने अवस्थाले जनजीवन अति कष्टपूर्ण बन्दा पनि शासकवर्गमा जवाफदेहिताको किञ्चित चिन्ता नदेखिएपछि जनतामा दलहरुप्रति वितृष्णा जाग्नु स्वाभाविक हो । देशमा आर्थिक संकट गहिरिएर जाँदा जनजीवन दयनीय बन्दै जान्छ । ३ दशकको अभ्यासमा यसप्रति सम्वेदनशील नबन्नु दलहरुको निकम्मापन त्यसै स्पष्ट हुन्छ । ३ दशकभन्दा बढि समयसम्म शासकहरुको निकम्मापनको बोझ उठाएर जनता कुन गन्तव्यमा जाने ? जनतामा यस कुराको एहसास भएर नै यो बोझलाई फाल्ने चेतना जागेको हो । तर पद्धतिमा बनाईएका चक्रव्यूहका कारण फाल्न चाहेपनि नफालिने अवस्था रहेकोले शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव नेपाल जस्ता व्यूह रचनाकारहरुको बोझ उठाउन जनता बाध्य बनेका छन् ।
यहाँ राज्यसत्ताको अनौठो चमत्कार देख्न पाइन्छ । परिवर्तनकारी जो शक्ति आएपनि त्यसको रसायनिक परिवर्तन गरि दिने राज्यसत्ताको क्षमता अजीब छ । जन उत्तरदायीबाट सत्ताप्रति उत्तरदायी हुने मनोविज्ञान स्थापित गरि यथास्थितिमा लगेर जाकि दिने राज्य व्यवस्थाको बदनियति कसैलाई दृष्टिगोचर हुँदैन ।
पंचायती व्यवस्थालाई ध्वस्त पारि लोकतान्त्रिक व्यवस्थाको नाममा नेपाली काँग्रेस पहिलो र एमाले दोश्रो शासक बन्यो । माओवादीको शक्तिको रुपमा उदय भएपछि उनलाई पनि तेश्रो शासकको रुपमा स्थापित ग¥यो । यसरी तीनै शक्ति शासकको रुपमा दर्ज भए । जन उत्तरदायीबाट राज्य उत्तरदायी बने । जनताको सबै एजेण्डा छाडेर सत्ताको राजनीतिमा सीमित भए । सरकार बनाउने, ढाल्ने खेलमा रमाउने यी तीनै दल सत्तालिप्साभन्दा बाहिर निस्कन सकेन ।
मधेशबाट उदाएका राजनीतिक दलहरुको पनि यही हविगत भयो । यिनी शासकको श्रेणीमा जान सकेन, तर शासकको गुलामी गर्न नै रमाए । शासकले पनि बडो चतुरतापूर्ण ढंगले यिनको मनोविज्ञान बदलेर आफ्नो समर्थक बनायो । कहिले नेपाली काँग्रेस त कहिले एमालेसंग मिलेर सत्ताको स्वाद चाख्ने जसपा र लोसपा विस्तारै मधेशको एजेण्डाबाट टाढिदै गएपछि जनतामा रहेका आस्था पनि मेटिदै गयो । मधेशबाट जितेर जाने तथा शासकको गुलामी गरि धन कमाउने प्रवृतिबाट मधेशको जनमत पूर्ण असन्तुष्ट बनेको थियो ।
मधेश आन्दोलनबाट उदाएका उपेन्द्र यादब ३ पटकको जीत, मधेश प्रदेशमा बनाएको सरकार, केन्द्र राजनीतिमा शासकहरुद्वारा दिइने विशेष महत्व तथा पूर्व प्रधानमन्त्री बावुराम भट्टराई जस्ता हस्ती जसपासंग मिल्न आउने तथा जसपा जस्तो ठूलो पार्टीको अध्यक्ष बन्न पाएको यश र कीर्तिले उनलाई अन्धो बनायो । कालन्तरमा समग्र मधेशबाट ओर्लेर जातीय राजनीतिलाई आधार बनाएर अस्तित्व जोगाई राखी केन्द्रका शक्तिसंग कोसंग सम्बन्ध बनाउने र कसलाई संघर्षको चेतावनी दिने तथा कसरी धनलाभ गर्ने आदि कुरामा अतिशीघ्र योग्यता हासिल गरेका उपेन्द्र यादब एजेण्डाविहीन अवस्थामा जनआस्था समाप्त भई रहेको थाहा पाउन सकेन ।
जातीय राजनीतिमा सीमित उपेन्द्र यादबको हार उनको भ्रम तोडेर यथार्थसंग साक्षातकार गराउन ठूलो योगदान गरेको हो । महत्वाकाँक्षाको उडानमा धरतीमा खुट्टा नटेक्ने दिग्भ्रमित उपेन्द्र यादबको यो हारले उनलाई पतनोन्मुख बनाउनेमा कुनै शंका छैन । मधेश विरोधी एमालेसंगको अप्राकृतिक गठबन्धनले उपेन्द्र यादबको हारको ठूलो कारण बन्यो । आफ्नो र पार्टीको शर्मनाक हारले नैतिकतापूर्वक उपेन्द्र यादबले अध्यक्ष पदबाट राजीनामा गर्नु उपयुक्त देखिन्छ । हिटलर जस्तै भाग्यप्रति कुनै आस्था नराख्ने उपेन्द्र यादबसंगै पुराना नेताहरुको हारले उनको दुर्भाग्य शुरु भएको धेरैले आकलन गरेको छ । केन्द्र राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्ने उपेन्द्र यादबको पार्टी राष्ट्रिय पार्टी बन्ने कि नबन्ने शंकै छ ।
त्यस्तै लोसपाको अवस्था छ । उपेन्द्र यादबको उच्च महत्वाकाँक्षाले जसपा ध्वस्त भयो भने लोसपालाई चतुर्मुखी राजनीतिले बर्बाद ग¥यो । यो पंक्ति लेखिंदासम्म महोत्तरीमा झिनो मतले अग्रता हासिल गरेको लोसपा अध्यक्ष महन्थ ठाकुरको जीत शंकाको घेरामा छ । शरत सिंह भण्डारीबाहेक राजेन्द्र महतो, अनिल कुमार झाको जीत पनि सशंकित बनेको छ । लक्ष्मणलाल कर्ण हारी सकेको छ । सर्वेन्द्रनाथ शुक्लाले जीत हासिल गरेका छन् । जयप्रकाश ठाकुर हारि सकेका छन् । यिनको पनि राष्ट्रिय पार्टीमा नाम दर्ज हुनेमा शंका छ ।
मधेश राजनीतिमा अप्रत्याशित रुपमा उदाएका उपेन्द्र यादब जस्तै सि के राउत पनि सप्तरी क्षेत्र नं. २ मा दुईबटा प्रदेश सभा सदस्यसाथ सिके राउत विजय हासिल गरि चर्चामा आएका छन् । जसपा र लोसपाप्रति आस्था गुमेको अवस्थामा मधेश नवीनताप्रति आकर्षित हुन थालेको छ । त्यसैको परिणाम सिके राउत हो । जसपालाई असमाजिक तत्व ठान्ने राष्ट्रवादीहरुले एमालेले गठबन्धन बनाउँदा पहाडका जनमत एमालेबाट विरक्तिएर दोश्रो तहका दर्जनौं नेताहरुलाई हराएका छन् । यो पंक्तिकारले जसपा एमाले गठबन्धनबाट दुबैलाई घाटा हुने कुरा लेखिंदा सोही बमोजिम भएको सत्यापित भयो ।
देश र जनतालाई वेवास्ता गर्ने राजनीतिक दलहरुप्रति वितृष्णा राख्ने मधेश र पहाडका जनता एकसाथ नवीनताको खोजीमा चुनावलाई उपयोग गरे । मधेश र पहाडका धेरै नेताहरुलाई धाराशायी पारेर जनताले दुईवटा पार्टी सिके राउत नेतृत्वका जनमत पार्टी र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक वृतमा देखा परेका छन् । शेरबहादुर देउवा, केपी शर्मा ओली, माधव नेपाल तथा पुष्पकमल दाहाल जस्ता पार्टी अध्यक्षलाई राज्यसत्ताको आड भरोसा रहेको कारण जनमतले हराउन सकेन । मधेश र पहाडका जनमतले राजनीतिक दलहरुलाई क्षत विक्षत त पारेकै हुन् ।
राज्यसत्ताको परम्परागत चरित्रले नवोदित राजनीतिक दलहरुलाई पनि आफ्नो पासोमा बाँध्ने प्रयास त गर्ला नै । धेरै ठूलो शक्तिको रुपमा यी शक्तिहरु नआएपनि निर्णायक शक्ति बन्नेमा शंका छैन । राष्ट्रिय स्वतन्त्र पार्टीसंग भिजन देखिएकोले जनआस्था त्यही पार्टीमा केन्द्रीत रह्नेछ । यथास्थितिबाट देश र जनतालाई निकाल्ने अपेक्षाकासाथ सिके राउतको जनमत पार्टी र रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले वोट दिएको छ । हेरुँ भविष्यमा यिनको भूमिका कस्तो हुन्छ ?
(२०७९ मंसीर ९ गते मधेशवाणीमा प्रकाशित)
