पूर्व निर्धारित मंसीर ४ गतेको चुनावलाई अब मात्र ९ दिन बाँकी छ । विगतको चुनाव जस्तो यसपाली चुनाव प्रचार प्रसारमा ध्वनि प्रदुषण, अनुशासनहीनता, अराजक शैली, अमर्यादित व्यवहार, खुल्लमखुल्ला पैसा बाँड्ने तथा भोज भतेर गर्ने तथा धाक, धम्कीबाट मतदातामा डर त्रास फैलाउने जस्ता क्रियाकलाप रोकिएको छ । हालाँकि जित्नका लागि चुनाव लड्ने खेलाडीहरुको इज्जत प्रतिष्ठा दावमा लागेको कारण गोप्य रुपमा अनेक प्रपँच त गर्छन नै, तर अराजक रुपमा रहेको चुनावी शैलीमा केही सुधार त अवश्य भएको छ । निर्वाचन आयोगको आचारसंहिता कुनै काम लाग्दैन भन्ने यही पँक्तिकारले निराशा व्यक्त गरेको थियो । जेहोस् ब्रेक फेल भई अनियन्त्रित रहेको गाडीमा ब्रेक लाग्नु चमत्कारको कुरा हो ।
विगत ३२ वर्षमा राजा रहेको बेला, नरहेको बेला लोकतान्त्रिक प्रणालीको मनोबाँछित अभ्यास गर्दा देशको विकास र उन्नतीमा किञ्चित प्रभाव न परेका कारण सबै पार्टी र नेताहरु जनतामाझ अलोकप्रिय बनेका छन् । संयुक्त सरकार, बहुमतको सरकार तथा दुई तिहाईको सरकारले पनि देशमा गुणात्मक प्रभाव पार्न सकेन । एकल वा संयुक्त सरकारको अभ्यासमा यी पार्टीहरु असफल रहेकोले जन विश्वास पूर्णतया घटेको अवस्थामा यसपाली जन धरातलबाट नै परिवर्तनको आवाज उठ्न थालेको छ । जनतामात्र होइन, बुद्धिजीवि, पेशाकर्मीहरु सबैमा व्यक्ति बदल्ने चाहना राखेका छन् । जनता अब यथास्थितिमा बस्न चाहँदैन ।
राज्यसत्ताबिना जीवन चल्न नसक्ने अवस्थामा रहेका सबै दलका शीर्ष नेताहरु तीन दशकसम्म राज्य दोहन गर्दा देशप्रतिको जिम्मेवारीलाई स्मरण गर्न नसक्नुमा कुनै लाज मानेका छैनन् । ७७ वर्ष काटि सकेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पदमा आसीन रहि लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको कार्यक्रममा सुतेर ¥याल चुहाएको सारा जगतले हेरेकोप्रति लाज लागेन । स्मरण शक्ति कति कमजोर छ कि डडेलधुराको एउटा कार्यक्रममा मंसीर ६ गते चुनाव हुने कुरा भने छन् । आफ्नो परिवारमा पनि काम नलाग्ने बूढा शेरबहादुर देउवा देशको अभिभावक बन्न ललायित देखिन्छ । स्मरण रहोस् शेरबहादुर देउवा विगतकालमा राजा ज्ञानेन्द्र शाहबाट अक्षम प्रधानमन्त्रीको प्रशंसा पत्र पाई सकेका पात्र हुन् । लोकतान्त्रिक स्कूलमा पढेका शेरबहादुर देउवा आफ्नो पार्टी तोडेर राजाको सेवा गर्न गएका कलंक लागेका पात्र पुनश्च लोकतान्त्रिक पार्टीलाई हाँकी रहेका छन् । यो कार्य शर्म हुनेले गर्नै सक्दैन । आज उनको विरोधमा गुल्मीका २७ वर्षीय सागर ढकाल उम्मेदवार बनेर चुनौती दिएका छन् । तर पनि शेरबहादुर देउवा आफ्नो जीत हुनेमा विश्वस्त छन् ।
अर्का नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रहसन अभिनयका शिखर पात्र हुन् । वीरवल जस्तै तुरुन्त जवाफ फर्काउने क्षमता रहेको र त्यसलाई हास्यास्पद रुपमा प्रस्तुत गर्ने ठूलो कला केपी ओलीमा पाइन्छ । सभ्य र शिष्ट भाषाबाट मानिसको आन्द्रा भूँडी झिकी दिने गाली पनि आउँछ । माधव नेपालको नाम लिंदा मैले कुल्ला गर्नु पर्छ भन्ने ओलीको अभिव्यक्ति यसैका उदाहरण हुन् । उखान टुक्काबाट विरोधीलाई पनि हँसाएर आफ्नो समर्थक बनाउने ओलीको कला पनि अजीब छ । प्रहसन कलामा राष्ट्रिय छवि बनाएका केपी शर्माको “ओलीवाणी” ग्रन्थ नेपाली जनतामाझ अमर कीर्तिको रुपमा रहनेमा कुनै शंका छैन ।
तर ओलीको यो प्रतिभा राजनीतिक क्षेत्रमा जग हँसाईको कारण बनेको छ । राजनीतिक क्षेत्रमा यो चरित्रको कुनै काम छैन । मधेशी पार्टीले गरेको नाकाबन्दीलाई भारतले गरेको भन्दै राष्ट्रवादको ठूलो संगठन खडा गर्न सफल केपी शर्मा ओलीले ०७४ को चुनावमा पाएको सफलता यसैको प्रतिफल थियो । आफ्नो अपार सफलता तथा नेपाली काँग्रेसको संकुचनबाट ओलीमा चारित्रिक अहंकार बढेर गयो । माओवादीसंग एकीकरण गरि दुई तिहाई नजिक पुगेका केपी शर्मा ओलीले देशमा कुनै गुणात्मक परिवर्तन गर्न सकेन । सामन्ती चरित्रले अहंकार पाउँदा उनले देश बनाउन त परै जाओस् एमाले पार्टीलाई नै ध्वस्त बनाउन थाले । यिनकै कारण माओवादी फुटेर गयो । माधव नेपाल फुटेर अलग पार्टी बनायो । अहिले मन नमिल्ने एमालेका शीर्ष सहकर्मीहरुलाई टिकट नदिएर सबैलाई बिचल्लीमा पारेका छन् ।
भारतमाथि नाकाबन्दीको आरोप लगाएर चीनसंग गहिरो सम्बन्ध जोड्न सफल केपी शर्मा ओली चीनसंग आर्थिक सहयोग पाएर ०७४ को चुनावमा अपार सफलता प्राप्त गरे । पछि भारतको रअ चीफ सामन्त प्रसाद गोयलसंग गठजोड भएपछि चीनको सम्बन्ध के कारणले तोड्यो, कसैले बुझ्न सकेन । भारतको कित्तामा आई सकेपछि केपी शर्मा ओलीको सरकारलाई शक्तिकेन्द्रले अपदस्थ गरि लोकतान्त्रिक सरकार बनायो । केपी शर्मा ओली न घरको न घाटको अवस्थामा पुग्यो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्तामा आएदेखि शक्तिकेन्द्रका शिकार बनेका छन् । साँचो जस्तै भूmठ बोल्न र तर्कपूर्ण रुपले ढाँट्ने तथा आफ्नो परिवारबाहेक कसैकोबारेमा नसोच्ने चरित्रका कारण यिनी कसैसंग राम्रो सम्बन्ध बनाउन नसकेकोले तेश्रो स्थानमा सीमित भए । आपूm सरकार बनाउन असफल रहेपनि काँग्रेस वा एमालेसंग मिलेर सत्तासंग टाँसिई रहने यिनको बानी छ । आफ्नो लागि खास निर्वाचन क्षेत्र बनाउन नसकेकोले देशभरि डुलेर उम्मेदवार बन्ने अवस्था छ । यसपाली गोरखामा लखेटिएका छन् ।
राज्यसत्तामा अहम् भूमिकामा रहने यी तीनै पार्टीको क्रियाकलापबाट देश र जनताको भलो नहुने देखेर असन्तुष्ट बनेका जन धरातल अहिले “नो, नोट एगेन” को नारा अघि सारेका छन् । यी काम नलाग्ने बूढा नेताहरुको विकल्पमा नयाँ छविलाई मत दिने जनतामा चेतना आएको छ भने चुनावी दंगलमा पढे लेखेका योग्य व्यक्तित्वहरु स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । पार्टीहकरुले नयाँ नवीनको चाहना नराखेकोले जन धरातलबाट नै परिवर्तन गर्ने, मतबाट नै व्यक्ति बदल्ने व्यापक प्रचार भई राखेको छ । कतिपय ठाउँमा पुराना उम्मेदवार लखेटिएका छन् ।
साँगठनिक रुपबाट मजबूत तथा राज्यसत्ता कब्जा गरेर बसेका यी तीनै दल भने आफ्नो जीतका लागि ढुक्क भई बसेका छन् । आफ्नो संगठनलाई नियम कानूनले मजबूतीसाथ बेरिएर राखेको आशमा उनी निश्चिन्त भएका छन् । स्वतन्त्रले जतिसुकै कराएपनि शक्ति आफ्नो हातमा रहुञ्जेल जीत हाम्रै कित्तामा रहने निश्चित छ । सत्य पनि हो, जीतका लागि जेपनि गर्ने यिनका दाव शक्तिशाली हुन्छ । कथंकदाचित जनताको नारा “नो, नोट एगेन” फेल भयाृे भने त्यसपछि ती तीनै पार्टीले जनतालाई “नो, नोट एगेन” को चेतावनी दिन पछि पर्दैन । शासकहरु परिवर्तनको यो विस्फोटलाई रोक्यो भने भविष्यमा आन्दोलनको आँधी बेहरी आउने कुरा निश्चित छ । हेरौं नेपाली जनता कति सचेत भएका छन् ।
(२०७९ कार्तिक २५ गते मधेशवाणीमा प्रकाशित)
