यथार्थ सुन्न नचाहने नेतागण

राजनीतिमा विलासिताले ठाउँ लिएपछि जन अपेक्षा पूरा गर्ने राजनैतिक दायित्व जब व्यक्तिको सेवामा सिमित हुन्छ, त्यो राजनीतिको ध्येय नै समाप्त हुन्छ । त्यहाँ रहन्छ राजनीतिमा वर्चस्व जमाएर बसेका शक्तिशाली मानिसहरुको ताण्डव । शक्तिशाली मानिसहरुको पारस्परिक खेलबाट उछिट्टिएर जन मानसमा जाने कार्यलाई विकासका नाम दिएर शासकवर्ग राजनीति गरि रहेका हुन्छन् । निजी स्वार्थ अनुकूल राजनीतिलाई दावपेंचमा प्रयोग गरि लाभ लिने प्रायः जसो चलन नै बनाएको स्थितिमा देश कता जाँदैछ, कसैलाई मतलव हुँदैन ।

निजी स्वार्थ पूरा गर्ने दावपेंचले राजनीतिलाई भ्रष्टाचार उन्मुख बनायो र सभ्रान्त बन्ने चाहनाका साथ राजनीतिमा पकड बनाएर बस्ने मानसिकताबाट सबै जन प्रतिनिधी ग्रसित भए । जनादेशप्रतिको जिम्मेवारी बिर्सेर धनलाभको मानसिकताले सबै एउटै कुकर्मतिर लागे । सत्तापक्ष र प्रतिपक्षको धन जोड्ने मतैक्यको लामो अभ्यासले भ्रष्टाचार मौलायो । यसले संस्थागत रुप लिएर शक्तिशाली अवस्था प्राप्त गरे । यस संस्थाबाट ठूला ठूला धन कुबेरहरुको जन्म भयो र यसले सिङ्गै शासन प्रणालीलाई नै दास बनायो । दुई ठूला राजनीतिक शक्ति नेपाली काँग्रेस र नेकपा एमाले यस देशका शासन प्रणाली हुन् । पालै पालो सत्ता लिने, प्रतिपक्षमा बस्ने, तर शासनाधिकार अन्यत्र जान नदिने कुरामा एकमत छन् । बाँकी साना पार्टीहरु यी दुबै पार्टीका मित्र शक्तिहरु हुन् । काम लागेको बखत सहयोग गरेर केही लाभ लिने पालो पर्खाईमा बसेका हुन्छन् । मिलेर खाने साना दलको सानो इच्छालाई ठूला दलहरुले पूरा गर्ने आफ्नो कत्र्तव्य सम्झन्छन् । मधेशका दलहरु पनि यसैभित्र पर्छन ।

एशिया बाच, एडीवी वा ट्रान्सपेरेन्सी इन्टरनेशनलले नेपालमा भ्रष्टाचारको चरम अवस्था देखायो । प्रतिवर्ष यिनका प्रतिवेदनमा भ्रष्टाचारमा सरकारको संलग्नता औंल्याउँदै आएको भएपनि सरकार त्यसबारे गम्भीर बनेन । बरु टालटुले हिसाबले अख्तियारलाई सक्रिय बनाएर साना साना भ्रष्टाचारीलाई कार्रवाही गरेर देखाउने र सरकारी संयन्त्रको शुद्धिकरण गर्ने कार्यहरुबाहेक सरकारले भ्रष्टाचारलाई खुलेआम प्रोत्साहन दिएर चलाउने ठूला शक्तिहरुलाई कारवाहीको घेरामा ल्याउने आँट देखाउन सकेन । शासनको मुख्य अंग बनेर भ्रष्टाचार देशको आर्थिक क्षेत्रलाई, उत्पादन क्षेत्रलाई ध्वंश पारेकोप्रति शासकवर्गमा कहिल्यै चिन्ताको विषय बन्न सकेन । नेपालको दयनीयता नै विदेशी अनुदान वा ऋण लिने महत्वपूर्ण हथियार हो भन्ने सर्वमान्य मन्त्र सबैले जाप गरि रहँदा त्यसैले सम्भवतः कोही गम्भीरतापूर्वक देशको आर्थिक बहसमा भाग लिंंदैन ।

विश्व प्रसिद्ध नेपालको भ्रष्टाचारलाई लिएर नेपाल सरकारको जतिसुकै आलोचना गरिएपनि त्यसमा सुधारको प्रयास गर्नुभन्दा आलोचना गर्नेहरुको सातो लिईन्छन । अर्थात् गल्तीलाई औंल्याई दिंदा आलोचक नै सजायका भागि हुने कस्तो लोकतान्त्रिक पद्धति हो । कुनै पनि लोकतान्त्रिक सरकार देश र जनताप्रति उत्तरदायी हुन्छन् । देश र जनतालाई बिगार्ने भ्रष्टाचार पद्धति, के देशलाई धाराशायी नगर्ला त्यसको ग्यारेन्टी कसैले लिन सक्छ ? जतिसुकै ठूलो दल कहलाए पनि समस्याहरुलाई शक्तिकेन्द्रको जिम्मा लगाउने परनिर्भर मानसिकताबाट मुक्त छैन । शक्तिकेन्द्रका गुलाम राजनीतिक दलहरु स्वेच्छाले केही गर्न सक्दैन । गरेको पनि छैन । अर्काको आदेशमा हिंड्ने राजनीतिक दलहरु कति कमजोर छन्, सर्वविदित छ ।
गत वर्ष ट्रान्सपेरेन्सी इन्टरनेशनलले सरकार कै प्रोत्साहनमा यहाँ भ्रष्टाचार मौलाएको भन्ने रिपोर्ट सार्वजनिक गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले “तथ्यमा आधारित नभएर अतिरंजित रिपोर्ट सार्वजनिक गरेको” कडा प्रतिक्रिया दिएका थिए । सत्य र तथ्यगत आलोचना सुन्नै न चाह्ने सोचलाई उदारवादी सोच भन्न मिल्छ । सरकार कै क्षत्रछायामा मौलाएको भ्रष्टाचारले देशको विधी, पद्धतिलाई बिगारेर अराजक स्थिति निर्माण गरि दिएको सत्य सूर्य जस्तै जाज्वल्यमान रहेको कुरालाई नजरअन्दाज गर्नु निश्चय पनि सामन्ती सोच र व्यवहार हो ।

देशको आर्थिक उन्नती, प्रगति सरकारी तथ्याँकले त्रैमासिक उजागर गरेपनि सरकार त्यसप्रति गम्भीर नदेखिनु सरकारसंग सुधारका कार्ययोजना नहुनु, नियन्त्रण क्षमता नहुनु, आफै राज्यसत्ताको दास हुनु हो । त्यसैकारण त दुईतिहाईको सरकारले केही गर्न सकेन । राज्य संयन्त्रलाई आफ्नो अनुकूल चलाउनु र राज्य संयन्त्र अनुकूल चल्नु पहिलो कुशल शासकको प्रतीक हो भने दोश्रो दास मनोवृति हो । आफ्नो मनोनुकूल देश र जनताको हितमा राज्य संयन्त्रलाई चलाउनु धेरै ठूलो साहसिक कार्य हो । यसमा शासकको व्यक्तित्व, कार्य कुशलता र लोकप्रियता उजागर हुन्छ । देश र जनता उन्नतशील हुन्छ । तर राज्य संयन्त्रसंग चल्नु भनेको कायरता हो । धनलाभ त हुन्छ तर जनतामा उसको बदनामी पनि प्रशस्त हुन्छ ।

मंसीर २४ गते नेपाली काँग्रेसको महाधिवेशन उद्घाटन समारोहमा आमन्त्रित राजनीतिक दलका शीर्षस्थ नेताहरुमा हालै राप्रपाका नवनियुक्त अध्यक्ष राजेन्द्र लिङदेङले सभालाई सम्बोधन गर्ने क्रममा नेताहरुका कारण देशको अवस्थाबारे प्रकाश पार्दा भनेका थिए–“अहिले गाउँघरमा नेताहरु आउँदा जनतामा कुनै आकर्षण छैन । नेता आएका कुरा भन्न जाँदा ‘कुन चोर आएको’ भन्छन् ।” राजेन्द्र लिङदेङको कुरालाई हजारौंले एकै आवाजले समर्थन गरे । त्यो राप्रपाको सभा थिएन । नेपाली काँग्रेस समर्थक कार्यकर्ताले राप्रपाको अध्यक्षको कुरालाई किन समर्थन गर्छ । तर राजेन्द्र लिङदेङको भावना नेपाली काँग्रेस र एमालेलाई विरोध गर्ने थिएन, उनको बोलीमा राजनीतिको सच्चाई थियो । राजनीतिबाट जनता कति उदासीन छन् त्यो सत्य छर्लङ भएको थियो । जन प्रतिनिधीप्रति जनताको कुनै आकर्षण बाँकी नरहेको सत्य उद्घाटनमा सभामा उपस्थित श्रोताहरुले एकमुष्ट समर्थन गरेका थिए । यो घटना मीडियाले कभर गरेपछि व्यापक रुपमा राजेन्द्र लिङदेङको सराहना भयो ।

नेतालाई चोरको संज्ञा सुनेपछि प्रचण्ड बोल्ने क्रममा सभालाई सम्बोधन गर्दै, “आजभोली नेता गाउँमा जाँदा चोर भन्छन्, के यो सही हो ?” श्रोता एकै स्वरमा सबैले भने–सही हो । प्रचण्डले पुनः सबैलाई सिकाए– होइन । त्यसपछि केपी शर्मा ओलीको पनि प्रचण्ड जस्तै प्रतिक्रिया थियो । उ पनि नेतालाई चोरको संज्ञा असह्य रहेको भने ।

लाज पचाएर बस्ने नेताहरुको लागि आफ्नो विरोध असह्य हुन्छ । राजनीतिमा सर्वाधिकार हासिल गर्ने यी दुई राजनीतिक दलहरुको विकल्प पनि नदेखिएका कारण यीनी सर्वशक्तिमान भएका हुन् । तर राजनीतिक धरातलमा फैलिएको असन्तुष्टता, आक्रोशले भोली विकल्प नखोज्ला भन्न सकिन्न । यी दलहरु बेलैमा सुध्रिए अस्त्वि रहन्छ, होइन भने यहाँ कोही शाश्वत छैन ।

(२०७८ पौष २ गते मधेशवाणीमा प्रकाशित)

 

Leave a Comment

error: Content is protected !!