महाप्रलयको व्यवस्थापनको चुनौती

भूकम्पकै माध्यमबाट पानीबाट संसारको सर्वोच्च शिखर सगरमाथालाई बाहिर निकाल्ने, इण्डोनेशियाको समुद्रमा ज्वालामुखी फुटाएर दश लाख मानिसलाई आफनो गर्भमा लिने तथा चट्टानी सतहमा पनि भूकम्प ल्याई दिने प्रकृतिको अद्भूत ताकतलाई कसले आँकलन गर्न सक्दछ ? अग्नि, हवा, पानी जस्ता उर्जाको स्रोत प्रकृतिका अस्त्र हुन भने प्रकृतिले मानवलाई यसको उपयोगिताबाट लाभान्वित हुने अधिकार मात्र प्रदान गरेको छ । यही स्रोतबाट प्रकृतिले सन्तुलित राज्य संचालन गर्दछ । भनिन्छ प्रकृतिले आफनो सन्तुलन कायम राख्न नै दैवी प्रकोप संचालन गर्दछ । प्रकृतिका आन्तरिक क्रिया जो मानिसको जानकारीभन्दा टाढा रहेको हुन्छ, निरन्तर चलि रहन्छ । यही क्रिया प्रतिक्रिया सहज वा असहज परिस्थितिको सृजना गर्दछ । सहज परिस्थितिमा मानिस आफनो भाग्यको सराहना गर्दछ भने असहज परिस्थितिलाई आफनो दुर्भाग्य ठान्दछ । गत शनिवार भर्खर घटेको भूकम्पीय घटनालाई नेपालीहरु दुर्भाग्य भनेर सरापी रहेका छन् ।

शनिवार विदाका दिन । १२ बजे हनुमानथानमा केही मित्रसंग भेट्ने समय निर्धारित थियो । म ११.३० बजे आई पुग्दा मित्रहरु आई पुग्नु भएको थिएन । सबै पसल बन्द रहेकोले चिया खाएर प्रतीक्षा गर्ने अवसर पनि थिएन । चियाको पसल खोज्दै अनामनगरको पुल पारिको चिया पसलमा पुगें । ११.५० मा एउटा मित्र हनुमानथान पुग्नु भएको फोनबाट थाहा पाउँदा उहीं बसि रहन भनेर म चिया सिध्याएर हिंडी हालें । बिदाको दिन परेकोले पसलहरु बन्द थियो, गाडीहरु फाटफुट चलि रहेको थियो । पुलमा पूग्नेवित्तिकै जीउ हल्लिन थाल्यो ।

“बुढेसकालको शारीरिक असन्तुलनले होला, जीउ कामेको” बुझेर म आफनो जीउलाई सन्तुलनमा ल्याउन खोजी रहेको थिएँ । पुलमा म एक्लै हल्लिदै अवस्थामा रहेकोले लाज पनि लागि रहेको थियो । मानिसहरु के भन्लान् ? जीउलाई सम्हाल्दै अगाडि बढ्न असमर्थ भई रहँदा केही असहज परिस्थितिका कारण दुलोबाट हूलका हूल कमिला निस्के झैं चारैतिरबाट मानिस कराउँदै ज्यान जोगाउन गुहार माग्दै भागि रहेको देखेर मलाई पनि यो विनाशकारी भूकम्पको आभास भयो । पूल पूर्णरुपमा पीङ जस्तै हल्लि रहेको थियो । मानिसहरु आत्र्तनादका साथ सुरक्षित स्थान खोज्न यता उता दौडि रहेको थियो । मपनि नर्वस जस्तै भई रहेको थिएँ । मृत्युसंग प्रत्यक्ष भेंट हुँदा मानिसहरुको रुवावासीले वातावरण अति करुणामय बनेको थियो । गगनचुम्वी घरहरु बाँस जस्तै हल्लिरहेकोले मानिसहरु आतंकित हुनु स्वाभाविक थियो । मृत्युबाट ज्यान जोगाउनेको करुण क्रन्दन सुन्ने कोही थिएन ।

पूलको वारि र पारि घरहरु भएकोले मेरो विवेकले पूलमै बस्न बाध्य ग¥यो । हल्लिनबाट जोगिन म पूलको मध्यभागमा बसी हालें । बस्दा पनि कल्याण भएन । जीउ लडीबुडी खेल्न छाडेन । साढे तीन मिनेटसम्म यो महा भूकम्पले सारा देशलाई हल्लायो । मेरा वरिपरिका घरहरु खसेर कसैलाई क्षति त पु¥याएन तर मानिसलाई आतंकित भने बनायो । मपनि जोगिएँ । जीउ अझै कामी रहेको थियो । फोन गर्दा फोनको कनेक्शन ठप्प भएको थियो । कसैसंग सम्बन्ध स्थापित भई रहेको थिएन । बालबच्चालाई के भयो, भन्ने जिज्ञासाले झन् आतंकित बनायो । घर फर्कने बिचारले म पूल पारि गई प्रभू बैंक तथा सगरमाथा टी.वी.को भवन छेउबाट सरासर मुख्य सडकतिर लम्किदै थिएँ । सगरमाथा टी.वी. भवनको तलदेखि माथिसम्मका झ्यालका शीशाहरु फुटेको दृश्यलाई हेर्ने दर्शकले “दाई ९० सालको भूकम्प तपाई त हेर्नु भयो होला । त्योभन्दा यो बढी हो कि कम ?” भनेर प्रश्न गर्दा “होइन भाई, म त्यति बूढो होइन, मलाई ९० सालको भूकम्प थाहा छैन” भनेर बाटो लागें ।

शनिवार भएकोले गाडी धेरै कम चलि रहेको थियो । म यथाशीघ्र घर पुग्न चाहन्थें । मनमा अनेक आशंकाहरु घर बनाई रहेको थियो । भक्तपुर जाने एउटा बस आयो । म बसमा चढें । सबै मानिस आतंकित अवस्थामा थियो । ड्राईवर झन् भयभीत थियो । “म बसलाई चलाउँछु एकातिर, भूकम्पले लान्छ अर्कैतिर । बस चलाउनै गा¥हो भयो । चारैतिर घरहरु भत्क्यो रे भन्छन मानिसहरु । सबै ठाउँका मानिसहरु गुहार गुहार भन्दै भागि रहेको देखें ।” ड्राईवरको भय यसैपनि परिलक्षित भई रहेको थियो । लोकन्थलीमा रोड भास्सियो भनेर सूचना पाउँदा बस कोटेश्वरमा रोकियो ।

कोटेश्वरबाट हिंडेर लोकन्थली, कौशलटारतिर जाँदा फोन लाग्यो । घरको सबै समाचार ठीक रहेकोले अब म दायाँ बायाँ हेर्न थालें । मेरो बाटोमा पर्ने लोकन्थली र कौशलटारमा चीनियाँ कम्पनीले मिहिनेतका साथ बनाएको हाईवे १.५ फीट चौडो, १५ फीट लामो र ३ फीट गहिरो सडक भास्सिएकोले यातायात ठप्प भएको थियो । ठूल्ठुला घरहरु भास्सिएको, पुराना संरचना भत्किएर दबिएका मानिसहरु तथा बाहिर मानिसहरुको आत्र्तनादको हृदय बिदारक दृश्यले मलाई किंकत्र्तव्यविमुढ बनाएको थियो । पृथ्वी हल्लिन छोडेको थिएन । मानिसहरु बाहिर चौर खोजेर आतंकित उभिएका थिए । बस्नका लागि बनाएको घर आफनै लागि काल सरह भएको थियो । हजारौं भत्किएको संरचनाभित्र दबिएका मानिसहरु जीवनका लागि कराए पनि सहयोगी हातको अभाव थियो । मृत्युको ताण्डवमा सबै ज्यान जोगाउन व्यस्त थिए । दबिएको आवाज कसले सुन्ने ?

पहिलो दिन सबै आकाशमुनि खेतमा बस्न करै लाग्यो । आधी आधी घण्टामा आउने प्रलयकारी कम्पन्नले घरहरुलाई हल्लाउने, खसाउने क्रम जारी नै रहेकोले घर छाडेर बाहिर बसेका थिए । दोश्रो दिन पनि ६.९ रेक्टरको झट्काले त झनै विनाश ल्यायो । देशभरिमा पहिलो दिन चर्किएका घरहरु दोश्रो दिनको भूकम्पको झट्काले भत्किएर धेरै जन धनको क्षति भएको छ । अहिलेसम्म पाँच हजारको मृत्यु भएको जानकारी भएपनि यो पाँच गुणाले बढ्न सक्ने सम्भावना रहेको छ ।

अन्तर्राष्ट्रिय स्तरको दर्जनौं उद्धार टोली आएपनि देशभरि भएको क्षतिमा राहत पु¥याउन नगन्य रहेकोले यो काम १०% पनि सम्भव नरहेको समाचार माध्यमले स्पष्ट देखाई रहेको छ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोगबाट अरबौं रकम जम्मा भएपनि साधन स्रोतको कमीले राहत दिने काम पनि सम्भव भई रहेको छैन । देशभरि ठूलो मात्रामा भौतिक संरचना ध्वस्त भएको कारणले सो भित्र दबिएर रहेको मानिस तथा गाईवस्तु सप्ताह बिती सक्दा पनि झिकी नसकेको अवस्थामा लाश सडेर दुर्गन्ध फैलिन थालेकोले अर्को बिनाशकारी महामारी फैलिने सम्भावना बढेर गएको छ ।

विश्व सम्पदामा सुचीकृत नेपालका ऐतिहासिक धरोहर सुन्धाराको धरहरा, बसन्तपुर दरबारका भवनहरु, भक्तपुर दरवार, पाटन दरवार लगायत देशभरिका मठ मन्दिर ध्वस्त भएको छ । मुख्य मुख्य रुपमा ध्वस्त भएको संरचनाको जानकारी भएपनि तथ्यगत लगत आई नसकेकोले पनि अहिले यकीनका साथ क्षति विवरण दिन कठीन भएको छ । घर भत्केकाहरु त बाहिर त्रिपालमा बस्न बाध्य छन् नै, दिनहुँ आई रहने भूकम्पका झट्काका कारण चर्किएका घर भत्किने डरले घर भएकाहरुले पनि घर फर्कि रहेका छैनन् । मौसमले पनि बाहिर बस्ने मानिसको पीडालाई द्विगुणा बढाई दिएको छ । महा विनाशकारी भूकम्पले नेपाली जनतालाई लामो समयका लागि पीडा दिएको छ । महा प्रलयकारी बिनाश लीलाको प्रत्यक्ष दर्शन गरि बाँचेकाहरुलाई सधैं पीडा दिई रहने मुटुमा घाउ लागेको छ । यो घाउमा समयले मात्र मलहम लगाउन सक्दछ । ईश्वरले पीडितलाई धैर्य धारण गर्ने क्षमता प्रदान गरोस् ।
२०७२ बैशाख १८ गते मधेशवाणीमा प्रकाशित

 

Leave a Comment

error: Content is protected !!