जीवनसंग कसको मोह नहोला । जीवन पाएर नै सुन्दर संसारलाई हेर्न र केही गर्न अवसर पाएको हो । मानव जीवनले नै यो संसारलाई विकसित पारेर सुन्दर बनाएको हो । जीवनको सार्थकता सिद्ध गर्ने अवसर पाएर मानव अरुको लागि प्रेरणा स्रोत बनेको छ । यही प्रेरणा स्रोतले समाजलाई अग्रगमनतिर डो¥याउँदै अझ विकसित ज्ञानवान, बुद्धिमान, वैज्ञानिक, समाजशास्त्रीलाई जन्म दिन्छ र यही प्रक्रिया अन्तर्गत समाज विकासको सिद्धान्त प्रतिपादित हुन्छ ।
जन्म र मृत्यु प्रकृतिको नियमबद्ध सहज प्रक्रिया हो । तर प्रकृतिको अरु कार्य पूरा गर्दा जीवको जन्म र मृत्यु असहज हुने गर्दछ । प्रकृतिको सहज प्रक्रियालाई सबैले आत्मसात गरेको हुन्छ भने असहज प्रक्रियालाई मानवले दैवी प्रकोपको संज्ञा दिएको छ । दैवी प्रकोप कसैको वशमा हुँदैन । यही दैवी प्रकोपको शिकार भएको छ नेपाल । २०७२ बैशाख १२ गते गोर्खाको वार्पाकलाई केन्द्र बनाएर ११.५६ बजे मध्याह्न ७.८ रेक्टरको भूकम्प गएको छ । यसले पहाडी भागमा भएका मानव वस्तीलाई तहस नहस पारेको छ । गोरखालाई केन्द्र बनाएर उत्तरी रेन्जमा पर्ने नुवाकोट, धादिङ, रसुवा, काठमाण्डौ उपत्यका, सिन्धुपाल्चोक, काभ्रे, दोलखा र रामेछाप जिल्लाहरुलाई भूकम्पले बढी क्षति पु¥याएको छ ।
यद्यपि यो विनाशकारी भूकम्पको प्रभाव देशभरि नै देखिएको छ । विश्व सम्पदामा सुचीकृत नेपालका ऐतिहासिक धरोहर सुन्धाराको धरहरा, बसन्तपुर दरबारका भवनहरु, भक्तपुर दरवार, पाटन दरवार लगायत देशभरिका मठ मन्दिर ध्वस्त भएको छ । मुख्य मुख्य रुपमा ध्वस्त भएको संरचनाको जानकारी भएपनि तथ्यगत लगत आई नसकेकोले पनि अहिले यकीनका साथ क्षति विवरण दिन कठीन भएको छ । घर भत्केकाहरु त बाहिर त्रिपालमा बस्न बाध्य छन् नै, दिनहुँ आई रहने भूकम्पका झट्काका कारण चर्किएका घर भत्किने डरले घर भएकाहरुले पनि घर फर्कि रहेका छैनन् । काठमाण्डौंमा रहेका ठुल्ठूला ईमारतहरु चर्किएको अवस्थामा रहेकोले विशेषज्ञले आवासका लागि निषेध गरेको छ ।
संसारका कतिपय देशमा दैवी प्रकोपका घटनाहरु समाचारमा देख्थ्यौं, पढ्थ्यौं । दैवी प्रकोपको घटनाचक्रमा यसपाली नेपाल नै परेको छ । त्रासदीपूर्ण अवस्थालाई यसपाली नेपाली भोग्न बाध्य भएको छ । नेपालीले प्रत्यक्ष रुपमा सामूहिक मृत्यु वरण गरे तथा बाँच्नेहरुले मृत्युको जिह्वाले कसरी हजारौं मानिसलाई निल्दै गयो, भयभीत भएर प्रत्यक्ष रुपमा हेरे । मृत्युको ताण्डव लीला हेरेका मानव भय र आतंकका कारण चेतना शुन्य भएको छ । यसबाट मुक्त हुन पनि निकै समय लाग्ने अवस्था छ । भूकम्पका लागि हिमाली क्षेत्र बढी सुरक्षित हुने वैज्ञानिक अनुमानलाई प्रकृतिले मिथ्या साबित गरि दिएको छ । हिमाली क्षेत्रमा पृथ्वीको मोटो तथा कठोर तहलाई भूकम्पले धक्का मात्र दिन सक्दछ, केन्द्र विन्दु बनाउन सक्दैन भन्ने भविष्यवाणी मिथ्या सावित भएको छ ।
गोरखा, काठमाण्डौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, रसुवा, दोलखा, रामेछाप यी जिल्लाहरुले बढी जोखिम व्योहोरे । यी जिल्लाहरुका पुराना भौतिक संरचनाहरु सबै ध्वस्त भए भने बाँकी बचेका कतिपय घरहरु चर्किएर क्षतिग्रस्त भएको छ । झण्डै १ करोड मानिस घरवारविहीन भएको छ । अहिलेसम्म सम्पूर्ण तथ्यगत विवरण नआएपनि मृतकको संख्या ७ हजारलाई नाँघी सकेको छ । यद्यपि कतिपय मानिसहरु अहिले पनि उद्धार गर्न नसकेर दबिएका छन् । १५ हजारभन्दा बढी घाईते अवस्थाका बिरामीहरु यथेष्ठ उपचारको अभावमा मृत्युलाई पर्खि रहेका छन् । अन्तर्राष्ट्रिय उपचार टोली सहयोगका लागि नेपाल आएपनि देशको विभिन्न भागमा घाईतेको बाहुल्यतामा सेवा पु¥याउन सकि रहेको छैन । राष्ट्रिय, अन्तर्राष्ट्रिय सहयोगका अरबौं रकम कोषमा दाखिला भएर पनि भूकम्प पीडितले राहत पाउन नसकेको अवस्था छ ।
प्रकृतिले ल्याएको ठूलो परिमाणको विपदामा सरकारले नेपाली जनतालाई राहतको मलहम लगाउन सकि रहेको छैन । पहाडका कतिपय अन्कन्टार ठाउँमा राहत टोली पुग्न नसकेर मानिसहरु भोक भोकै मर्ने अवस्थामा पुगेका छन् । भोक, शोक, आतंक र भयले कमजोर बन्दै गएका भूकम्प पीडितहरु भत्किएका भग्नावशेषलाई हटाएर आफू बस्ने लायक ठाउँ बनाउन सकेको छैन । खुला आकाशमुनि बस्नेहरुलाई ओत लाग्न आवश्यक पर्ने त्रिपाल, खानेकुरा, औषधी आदि पनि पुग्न नसकेर सास्ती भोगि रहेका नेपाली जनताको दुर्दशा टी.वी.ले देखाउँदा कसको मन रुँदैन ।
अन्तर्राष्ट्रिय स्तरबाट आएको राहत रकम सहयोग, राहत सामग्री सहयोग, उद्धार टोली सहयोग, उपचार टोली सहयोगको लागि उनीहरु प्रशंसाका पात्र हुन् । तर देशभरि विनाशकारी भूकम्पले पु¥याएको क्षतिलाई पूर्ति गर्न यो सहयोग पर्याप्त छैन । राहतकै लागि कम पर्ने यो अन्तर्राष्ट्रिय सहयोग अझ थप्ने आवश्यकता देखिन्छ ।
राष्ट्रिय विपदासंग लड्न राहत सहयोग, राहत वितरण, उद्धार र उपचारको क्षेत्रमा भूकम्प पीडितबीच अग्रणी भूमिकामा रहेको नेपाली सेना प्रशंसाका पात्र हुन् । विपदामा रहेका आफनै आमाबाबु, दाजूभाई, दिदीबहिनी, ईष्टमित्रको आँसु पुछ्न स्वाभाविक रुपले नेपाली सेनाको सक्रियताले उसको गौरवलाई अझ बढाई दिएको छ । अन्कन्टारदेखि सुविधायुक्त ठाउँमा तीव्रताका साथ राहत सामग्री, उद्धार टोली तथा उपचार टोली पठाएर तत्काल सहयोग पु¥याउने नेपाली सेनालाई धन्यवाद दिनै पर्दछ । यद्यपि विपद व्यवस्थापनमा यी सहयोग अपर्याप्त रहेकोले यसलाई अझ बढाउने आवश्यकता छ ।
१ लाख ६० हजार भौतिक संरचना ध्वस्त भएको प्रारम्भिक तथ्याँक रहेपनि यकिन विवरण भने आई नै रहेको छ । यो भग्नावशेष तथा यसमा अझै दबिएका मानिस र चौपायाहरुका लाश निकाल्न नसकेर वातावरण नै दुर्गन्धयुक्त बनेको छ । यसै दुर्गन्धयुक्त वातावरणमा भूकम्प पीडितहरुको वसोवास रहेकोले महामारी जस्तो अर्को विपदा भोग्नु पर्ने अर्को सम्भावना छ । फोहोरहरुको व्यवस्थापन, राहत सहयोग, उद्धारकार्य, भूकम्प पीडितहरुको पुनस्र्थापन, भौतिक संरचनाको पुनर्निर्माण आदि कार्यहरु चुनौतीका रुपमा सरकार सामु उपस्थित भएको छ । विगतमा देखिएको लापरवाही त्यागेर सबै दलहरुले बडो धैर्यका साथ यो राष्ट्रिय विपदासंग लड्न एकजूट हुनु पर्दछ ।
यद्यपि मानव विकासको इतिहासमा यस्ता प्राकृतिक प्रकोप आई रहने नियम नै हो । सृष्टि भएको अवस्थालाई समूल नष्ट गर्ने पृथ्वीमा पचास पचास हजार वर्षको अन्तरालमा चारवटा हिमपातले मानव विकासको क्रमलाई २ लाख वर्ष पछाडि धकेले पनि आज पृथ्वीका आधुनिक मानव अति विकसित अवस्थामा आफूलाई उभ्याएको छ । मानवले हिजो एक्लैले ग¥यो भने आज सारा संसार परिवारको रुपमा एक अर्काको आँसु पुछ्न र पुनर्निर्माणमा साथ छन् ।
नेपालकै सन्दर्भमा हेर्ने हो भने भूकम्पको पुरानो इतिहास छ । हिमाली श्रृँखलाहरुको अस्तित्व पनि भूकम्पकै कारण आएको हो । संसारमा अरु ठाउँमा नदेखिने सृष्टिको साक्षीको रुपमा उभिएका नेपालका हिम श्रृँखलाहरु पनि भूकम्पको उथल पुथलबाट निस्किएको पौराणिक इतिहास हामीसंग छ । जलमग्न अवस्थामा यही भूकम्पका कारण पृथ्वीको उत्तरी ध्रुव पानीबाट बाहिर आई सृष्टि भएको हो । पछि पृथ्वीको अरु भाग बाहिर आएको हो ।
पृथ्वीको आन्तरिक क्रिया प्रतिक्रियाको फलस्वरुप पृथ्वीमा कम्पन्न हुने अवस्थालाई हामी भूकम्प भन्दछौं । यो क्रम पृथ्वी अस्तित्वमा आएदेखि निरन्तर चल्दै आएको छ । भूकम्पीय घटना यदाकदा लिच्छवीकालीन इतिहासमा देखिएपनि मल्लकालीन अवस्थादेखि भूकम्पका घटनाहरुको जानकारी पाईन्छ । वि.सं. १२१८ आषाढ महिनामा भूकम्प हुँदा राजा अभय मल्लको निधन भएको थियो । त्यतिबेला धेरै घरहरु तथा मानव क्षति भएको थियो । मानव तथा भौतिक संरचनाको क्षति विवरणनै भूकम्प मापनको मुख्य आधार थियो । धेरै मठ, मन्दिरहरु पृथ्वीको गर्भमा गएको थियो ।
९८ वर्षपछि वि.सं. १३१६ मा अघिकै जस्तो विनाशकारी दोश्रो भूकम्प आयो । धेरै मानिसको मृत्यु भयो भने धेरै भौतिक संरचनाहरु ध्वस्त भए । जीवित रहेकाहरुले महामारी र अनिकाल जस्तो संकट भोग्नु प¥यो । १ सय ४९ वर्षको अन्तरालमा वि.सं. १४६५ मा तेश्रो महाप्रलयकारी भूकम्प काठमाण्डौलाई केन्द्र बनाएर गएको थियो । धेरै मन्दिर, धार्मिक महत्वका स्थलहरु, घर तथा सार्वजनिक भवनहरु ध्वस्त भयो । रातो मच्छिन्द्रनाथको मन्दिर पूर्णरुपले भत्कियो । झण्डै २७२ वर्ष पछि वि.सं. १७३७ मा काठमाण्डौलाई केन्द्र बनाएर पूर्व जस्तै चौथो विनाशकारी भूकम्प गयो । यसले दुई शताब्दिमा गुलजार भएका संरचनालाई ध्वस्त मात्र पारेन, हजारौं मानिसको मृत्यु भयो ।
८७ वर्षपछि वि.सं.१८२४ आषाढ १ गते पाँचौं यस्तै शक्तिशाली भूकम्प आयो । यसले पनि धेरै जनधनको क्षति ग¥यो । ४३ वर्षपछि छैठौं भूकम्प वि.सं. १८६७ ज्येष्ठ १० गते गयो । यो भूकम्पमा काठमाण्डौं ललितपुरभन्दा भक्तपुरमा धेरै क्षति भएको थियो । १३ वर्षपछि वि.सं. १८८० यमपञ्चकका दिन सातौं प्रलयकारी भूकम्प आयो । २४ घण्टामा १७ पल्ट कम्पन्न आएकोले बढी क्षति भयो । वि.सं.१८९० भदौमा आठौं भूकम्पले काठमाण्डौमा रहेको दुईवटा धरहरा क्षतिग्रस्त भयो । एउटा पूर्णरुपले ध्वस्त भयो भने अर्को आधी ढल्यो । १ महिनापछि वि.सं. १८९० असोज १० गते फेरि उस्तै नवौं भूकम्प आयो । यसले पनि धनजनको भारी क्षति पू¥यायो । वि.सं. १८९१ को दशौं भूकम्पले उन्नाईसौं शताब्दिको छैठौं पल्ट काठमाण्डौलाई हल्लाएर महाविनाशमा पारेर एक शताब्दिका लागि विराम लियो । वि.सं. १९९० साल माघ २ गतेमा नेपालको सबभन्दा विनाशकारी एघारहौं भूकम्प आएको थियो । ८.४ रेक्टरको यो भूकम्पमा २ लाख ७ हजार ४० संरचना ध्वस्त भएको थियो भने ८ हजार ५ सय १९ जनाको ज्यान गएको थियो । ७ लाख मानिस घरवारविहीन भएको थियो । २०३७ सालमा बझाङलाई केन्द्र बनाएर आएको बाह्रौं भूकम्पमा २५ सय घर तथा १ सय २५ जनाले ज्यान गुमाए । २०४५ भदौ ५ गते बिहान ४.४५ बजे उदयपुरको मुकुच्चीलाई केन्द्र बनाएर आएको तेह्रौं भूकम्प ६.७ रेक्टरको थियो । यसमा ६ हजार ५ सय घरहरु भत्किए, ५० जनाले ज्यान गुमाए । २०६८ असोज १ गते भारतको सिक्किमलाई केन्द्र बनाएर आएको चौदहौं भूकम्प ६.९ रेक्टरको भएपनि यसमा खासै क्षति भएन ।
२०७२ बैशाख २५ गते मधेशवाणीमा प्रकाशित
