मधेश आन्दोलन शाब्दिक प्रहारमा रुपान्तरित

मधेश आन्दोलनको शर्मनाक अवतरण पश्चात् मधेशमा एकपल्ट फेरि राजनीतिक अगुवाहरुप्रति असन्तुष्टता बढेको छ । आन्दोलनलाई उत्कर्षमा लैजाने युवाशक्ति छटपटिन थालेको छ । जसको उदाहरण भर्खरै ओलीको भारत भ्रमणमा हरेक ठाउँमा मधेशी विद्यार्थीद्वारा कालो झण्डाका साथ विरोध प्रदर्शन हो । अगुवाहरु जेजति कारणले आन्दोलन फिर्ता लिएपनि युवाहरुमा आन्दोलनको राप र ताप कम भएको छैन । मधेशका जिल्लाहरुमा अहिले पनि आक्रामक लाठी जुलुस निस्केर अगुवाहरुलाई चेतावनी दिई रहेको छ । युवाहरुको त्यही जोशीला प्रदर्शनलाई हेरि आफनो अकर्मण्यता लुकाउन अगुवाहरु “अब भीषण आन्दोलन हुने” शाब्दिक प्रहारमा सिमित भएको छ ।

मधेशी मोर्चाले निर्माण गरेको आन्दोलनको आधार भत्काएपछि मधेशप्रति किञ्चित पनि गम्भीर नरहेको सरकारको अनुदार प्रवृति अहिले झन् आक्रामक देखिएको छ । सरकारले धरपकड गर्न बन्द नगरे फेरि भीषण आन्दोलनबाट जबाव दिने अगुवाहरुको “बाँदरको घुर्की”ले सरकार कति डरायो उनीहरुलाई नै थाहा होला, तर मधेशलाई त शिथिल नै पा¥यो । ६ महिनाको बन्दको लामो अवधिमा सरकारले सास्ती खेपेपनि मधेशप्रति गम्भीर नदेखिनु उसको कट्टर सामन्ती चरित्रलाई नै उजागर गर्दछ । यो सरकार रहुञ्जेल मधेशको माँग सम्बेधान हुन नसक्ने कुराबारे धेरै पहिलादेखि यो पंक्तिकार लेख्दै आई रहेको थियो । अगुवाहरुलाई पनि सरकारको चरित्रबारे थाहा थियो ।

एमाओवादी एक्लैले यो राज्यसत्तालाई लड्ने गरि हल्लाई दिएको थियो । उसले आफनो संघर्षलाई सशक्तता प्रदान गर्न १० वर्षको अथक परिश्रमबाट आफनै सेना तयार पारेको थियो । समानान्तर सेना खडा गरेर एक हिसावले सरकारलाई परास्त गरेको एमाओवादी सरकार समक्ष समान ताकतमा उभिएको थियो । शक्ति संचय गर्न १० वर्ष लागेको अवस्थामा मधेश आन्दोलनले ३ महिनामै सशक्तता प्राप्त गरेको थियो । मधेश आन्दोलनले प्राप्त गर्ने बलको आधार (१) राज्यसत्ताको विभेदकारी नीति हो । मधेशप्रति रहेको वितृष्णा हो । यसैले मधेशको एकतालाई जोड्छ र आन्दोलनको स्वरुप तयार हुन्छ । (२) मधेशमा रहेको यो देशको पूर्व पश्चिमको सीमा नाका हो । (३) मधेशको बढ्दो जनसंख्याले मधेशलाई झन् सबल बनाएको छ । यी प्रमुख तीन आधारले मधेशलाई जतिबेला पनि जोड दिन्छ र मधेश आन्दोलन शुरु हुन्छ ।

मधेशलाई फुटाएर शासन गर्ने राज्यसत्ताको पौराणिक चलन अद्यावधि कायम छ । मधेश फुट्छ, जुट्छ पनि । जति पल्ट फुटेपनि राज्यसत्ता विरुद्धको आन्दोलन उठ्छ नै । मधेशको अधिकार सम्बोधन नहुञ्जेल यो प्रक्रिया चलि रहन्छ । सरकारको अनुदार व्यवहारले पटक पटक मधेशलाई आन्दोलन गर्नु पर्ने बाध्यता छ । तर पनि सरकार मधेशको आवाजलाई सुन्न तयार छैन । अहिले ६ महिनाको बन्दको कार्यक्रमबाट पनि सरकार प्रभावित हुन सकेन र आन्दोलनलाई समाप्त पा¥यो । तर कतिञ्जेल ? मधेश आन्दोलन त अधिकार नलिएसम्म चलि रहन्छ । आन्दोलन दलगत नभएर मधेशी जनताको हो । त्यसैले त आन्दोलन फिर्ता भएपनि छिटफुट आन्दोलन चलि रहेको छ ।

मधेश आन्दोलन र सरकारको व्यवहारको समीक्षा गर्दा सरकार नै सफल देखिएको छ अहिले । आफनै खुट्टामा बञ्चरो हान्न बाध्य भएका मधेशका राजनीतिक अगुवाहरुलाई सरकारले शिकार बनायो । चलि रहेको नाकाबन्दीलाई कमजोर भएको नाममा मधेशी मोर्चाले आन्दोलनलाई नै स्थगित गरेको छ । मधेश सवल रहेपनि यो दुर्भाग्य भने मधेशले सधैं भोग्नु पर्ने बाध्यता छ । मधेशले वैचारिक अपाङ्ग सन्तान जन्माएर होला, सधैं दुःख भोग्नु परि रहेको छ । भीषण आन्दोलनका बावजूदपनि पछाडि हट्नु पर्ने बाध्यता आफनै अपाङ्ग सन्तानका कारण हो । अहिले पनि त्यही भएको छ । लामो समयको नाकाबन्दीको कार्यक्रम स्थगित गरेर अगुवाहरु आन्दोलनको भारि विसाएका छन् र सरकारमाथि शब्दवाण चलाउने कार्यक्रम अगाडि सारेका छन् । मोर्चाका चारै घटक समान रुपमा तीव्र शब्दवाण चलाई रहेका छन् । शब्दवाण वर्षा गर्न अझै तीन पार्टीलाई सामेल गरि ताकतवर बन्ने प्रयास राम्रो हो, तर पारस्परिक स्वार्थका लागि भन हानिकारक हो । विगतकालमा यिनको शक्ति संचयको प्रयास स्वार्थ लिप्साका लागि बनेको सर्वविदित छ । खस्नु नराम्रो हो तर खसेर उठ्नु असल हो । यस कुरालाई मधेशका अगुवाहरुभन्दा बढि कसैले बुझदैन ।

शक्ति संचय गर्न नै आन्दोलनको स्थगन हो भने अब मधेश आन्दोलनको सशक्त नेतृत्वको विकास देखिनु प¥यो । नियतमा खोट छैन भने आन्दोलन अझ परिमार्जित अवस्थामा ल्याउनु प¥यो । आन्दोलनको जोश कम भएको छैन । भारत भ्रमणमा रहेको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेशका युवा विद्यार्थीहरुले अवसर पाएर हरेक ठाउँमा कालो झण्डा देखाएर सारा भारतको ध्यानाकर्षण गराएका छन् । युवाहरुको यस्तो अजेय शक्तिलाई निरुत्साहित गर्ने मधेशका दलपतिहरुलाई के भन्ने ? मधेशले अन्तर्राष्ट्रिय समर्थनसंगै मित्रशक्ति भारतको सशक्त समर्थन पाएको छ । मधेशीको पक्षमा बलियो समर्थन जुटाउन बिहारका आरजेडीका वरिष्ट नेता रघुवंश प्रसाद सिंहले नेपाल भारत मैत्री यात्राको अभियान लिएर पूर्व सिक्किमदेखि दिल्लीसम्म दर्जनौं सभाहरु गरेका छन् । ओलीलाई कालो झण्डा देखाउने मधेशी विद्यार्थीलाई धन्यवाद दिएर हौसला पनि बढाएका छन् । मधेशी युवाहरुका साथ भारतस्थित नेपाली राजदूतावासका अगाडि मधेशी मोर्चाको ११ बून्दे माँग लिएर धर्नामा बसेका छन् । उनको ऋषिमनको यो प्रयासलाई धन्यवाद दिनै पर्दछ । सीमापारिका मित्रहरुको यो अतुलनीय प्रयासले मधेशको अगुवाहरुमा हीनताबोध हुँदैन ? यस्तो अनुकूलतामा मधेश आन्दोलन स्थगित भएको हो ।

शासकवर्गको कट्टर सामन्ती चरित्र बोकेको ओली सरकार मधेशको माँगलाई सम्बोधन नगरि संविधान सभालाई अन्त गरेको छ । संविधान घोषणा गरेको छ । लामो समयको नाकाबन्दी कार्यक्रमलाई फिर्ता गराएको छ । यी सबै उनको साजिशका उदाहरण हुन ? साजिशमा सफलता पाएपछि ओलीले प्राप्त गरेको उन्माद लिएर भारत भ्रमणमा जाँदा जसले पनि मधेशको माँगलाई सम्बोधन गर्नु पर्ने आग्रह गर्दा सबैलाई आश्वासन दिएर आफनो सरकारको निरन्तरता र स्थानिय चुनाव गराउने भारतको समर्थन चाहेको छ । ओलीसंग अन्तर्निहित यही राजनीतिक एजेण्डा हुन सक्ने सम्भावना रहेकोले यसमा भारतको समर्थन खोजेको रणनीति निश्चय पनि होला । विकासका एजेण्डा त सार्वजनिक छँदै छ ।

भारतका राजनीतिक विश्लेषकहरुले पनि नेपालको सरकारले मधेशलाई सम्बोधन गरेन भने फेरि संघर्ष चर्किने चेतावनी दिएका छन् । ओली सरकारको व्यवहारबाट देशमात्र अशान्त भएन चीन पाकिस्तानबाहेक कोही पनि ओलीसंग खुश नरहेको कुरा अनुभूत हुन्छ । आफनै सहकर्मी घटक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि ओलीको भारत भ्रमण असफल रहेको भनेका छन् । अहिलेका नेपालका प्रधानमन्त्री भारतमा औपचारिक राजकीय सम्मान पाएपनि त्यसमा अपनत्वको भाव किन पाएन ? किन भारतका राजनीतिक विश्लेषकहरुदेखि लिएर नेपालका मधेशी विद्यार्थीहरु सबैले ओलीको आलोचना नै गरेका छन् । आफनो देशमा अलोकप्रिय बन्दै गएको केपी शर्मा ओलीको सरकारमा सहभागी घटकहरु पनि असन्तुष्ट बनेका छन् ।

मधेशको कट्टर विरोधीको रुपमा छानिएर आएका सरकारमा सहभागी घटकहरुको नेतृत्व गर्ने केपी शर्मा ओलीको व्यवहारबाट नै मधेश आन्दोलन थालिएको हो । मधेशको माँगलाई वेवास्ता गर्दै अगाडि बढ्ने सरकार नेपाली राज्यसत्ता र मधेशबीचको अन्तद्र्वन्द्वलाई सधैं चर्काउने काम नै गरेको छ । फलतः दुबैबीच विभाजनका सीमारेखा नै कोरि दिएको छ । पारस्परिक कटुता तीव्रतर रुपमा बढ्दै जानु द्वन्द्वलाई निम्त्याउनु हो । पारस्परिक घृणाबोधका कारण आन्दोलनमा जहाँ सरकारले मानवाधिकारको मर्यादा समेतलाई उल्लंघन गरि मधेशमाथि दमन गरेको छ भने मधेशले पनि विभिन्न स्वरुपको आन्दोलनमा आफनो घृणालाई पोख्दै आएको छ । पारस्परिक घृणाका ग्राफलाई उच्चविन्दुमा पु¥याउने काम भने राष्ट्रहितका लागि मान्न सकिंदैन ।

आन्दोलनको मुख्य स्रोत युवावर्ग हो । परिवर्तनको संवाहक पनि युवा शक्ति नै हो । मधेशका राजनीतिक अगुवाहरुलाई राजनीतिक प्रतिष्ठा दिलाउने पनि यिनै हुन् । यिनले एकताबद्ध रुपमा अगाडि बढाएको मधेश आन्दोलनलाई बिना शर्त फिर्ता लिनु मधेशी युवाशक्तिको अपमान हो । शहादत दिने वीर सपूतहरुप्रतिको कृतघ्नता हो । आन्दोलन शौखका लागि हुँदैन । भेदभावको पीडा भोगि रहेको डेढ करोड मधेशीको मुक्तिको संघर्ष हो । यसलाई व्यक्तिगत स्वार्थ पूर्तिको माध्यम बनाउने कुतत्वहरुले परिणाममुखी हुन नदिने चेष्टा विगतका दिनमा गर्दै आएका छन् । विभिन्न कारण देखाई संघर्षलाई बीच बाटो मै रोकेर असीम फायदा लुट्नेहरु आन्दोलनको अग्रपंक्तिमा क्रान्तिकारी नारा लगाई रहेका देखिन्छन् । त्यस्ताहरु आन्दोलनलाई बेची खान्छन् । यस्ता कुतत्वको प्रहारबाट आन्दोलनलाई जोगाएर अगाडि बढ्नु पर्दछ ।

संसारभरि छरिएर रहेका मधेशी युवाशक्तिहरुको मधेश आन्दोलनप्रतिको ऐक्यबद्धताले यसपालीको आन्दोलनमा धेरै उर्जा थपेको थियो । मधेशको माँग पूरा हुने वातावरण बनेको छैन । यसकारण पनि मधेश आन्दोलनको औचित्य समाप्त भएको छैन । अन्तर्राष्ट्रिय समुदायको बलियो समर्थन र युवाशक्तिको उच्च मनोवलले आन्दोलनको आधारलाई मजबूत पारेको छ । मधेशका राजनीतिक दलहरुले पनि आन्दोलन फिर्ता गरेर सहनु परेको चर्को आलोचनाबाट फेरि अर्को गल्ती गर्ने हिम्मत राख्दैन होला । संघर्षमा लगानी पनि धेरै भई सकेको छ । मधेशी वीर सपूतहरुको शहादतको मोल पनि दलहरुलाई याद राखी आन्दोलनको पथमा आउनु पर्छ । कत्र्तव्यबोधका साथ फेरि मसाल बाल्नु पर्दछ ।
२०७२ फाल्गुन १४ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!