मधेशका विभीषणहरुको भीषण आन्दोलन

अन्तरिम संविधानको विपरित साजिशपूर्ण ढंगले मधेश विरोधी संविधान जारि गर्न लाग्दा मधेश आन्दोलन शुरु भएको थियो । मधेशमा विरोधका कार्यक्रमबाट उठेको मधेश आन्दोलन “एसेण्डीङ प्रक्रिया”बाट आमसभा, विरोध जुलुस, धर्ना, बन्द हडतालदेखि नाकाबन्दीसम्म पुगेर आफनो उँचाई लिएको थियो । स्वाभाविक प्रक्रियाबाट उँचाई लिने क्रममा झण्डै ५८ जना मधेशी सपूतहरुले शहादत दिएका छन् । सरकारले अमानवीय ढंगले आन्दोलनलाई दबाउन खोज्दा यसले झन झन तीव्र रुप लिंदै गयो र आन्दोलन निर्णायक बन्यो । ६ महिनादेखि बन्द हडतालका कारण दैनिक उपभोग्य बस्तुको अभावको पीडालाई झेल्दै मधेश संकल्पित उद्देश्यका साथ आन्दोलनलाई अगाडि बढाई रहँदा विगतका आन्दोलनमा जन्मिएका विभीषणहरु फेरि सिर उठाउन थाले । आन्दोलनको नेतृत्वपंक्ति संदिग्ध बन्यो र आन्दोलनलाई “डिसेण्डीङ प्रक्रिया”बाट धाराशायी बनाईयो ।
आन्दोलनको पछिल्लो कालमा वीरगंज नाकाबाहेक सबै नाका खुला भएपनि आन्दोलनको उँचाई घटेको थिएन । ६ महिनादेखि असहज आपूर्ति व्यवस्थाको पीडा भोगि रहेका मधेशी जनतामा आन्दोलनप्रतिको उत्साह कम भएको थिएन । झन् महागठबन्धनको अवधारणा आएपछि जनतामा उत्साह थपिएको थियो । आवश्यकता थियो शक्ति संचय गरि खुला नाकालाई कसरी बन्द गर्ने विषयको बहसको । मोर्चाले सो काम गर्नै सकेन ।

लालू यादबको गुरुकूलबाट फर्केर आएका यी दुई मित्र द्रोण र द्रुपद नेपाल पस्ने वित्तिकै लड्न थाले । पृष्ठभूमिमा लडाईका कारणहरु पनि थिएन । आन्दोलन फिर्ता लिने दुवैको समान विचार पारस्परिक विरोधी ढंगले सतहमा आयो । उपेन्द्र यादबले वीरगंज नाका खुल्ला गर्नु पर्छ भन्ने राजेन्द्र महतोको अभिव्यक्तिको कारण देखाई महतोमाथि कार्रवाही समेत गर्ने भनेर विज्ञप्तिमार्फत आन्दोलनका बन्द कार्यक्रम फिर्ता लियो । उता राजेन्द्र महतोले शक्ति संचय गर्न हामीले आन्दोलनको स्वरुप फेरिएका छौं, मोर्चामा कुनै विभाजन छैन भने । विभाजन पनि देखिएन । शरतसिंह भण्डारी, राजकिशोर यादब तथा अनिल झा तीन पार्टीलाई सामेल गरि सात पार्टीको मोर्चा पनि बन्यो । मोर्चा विस्तार गर्ने कार्य भई रहँदा मोर्चाले राजेन्द्र महतोलाई नसोधी एकतर्फा ढंगले विज्ञप्ति कसरी जारि भयो ? आन्दोलन फिर्ता लिने यी दुई विभीषणको निर्णय बिल्कुल संदिग्ध बनेको छ ।

अधिकारको बहाली नहुञ्जेल मधेशको आन्दोलन चलि रहन्छ, यो सत्य हो । यसैलाई आधार बनाएर मधेशका यी विभीषणहरु निर्लज्जतापूर्वक आन्दोलन फिर्ता लिएर फेरि आन्दोलन गर्ने हिम्मत देखाई रहेका छन् । मधेश आन्दोलनलाई उँचाईमा पु¥याउन उपेन्द्र, महतोले गरेको लगानी आन्दोलन फिर्ता लिने निर्णयसंगै धाराशायी भएको छ । अप्रत्याशित रुपमा आएको उपेन्द,्र महतोको समान विचारको निर्णय मधेशलाई सशंकित तुल्याई दिएको छ । कार्यकर्ता पंक्तिमा नैराश्यता छाएको छ । कार्यकर्ताहरु स्थानिय स्तरमा हीनताबोधबाट ग्रसित भएका छन् । विरोधीहरुको शिकार पनि बन्न थालेका छन् । सर्व साधारणमा ठूलो आक्रोश छ । ६ महिनादेखि आन्दोलनमा भएको धनजनको क्षतिको के अर्थ भयो ? नेताहरुको स्वार्थलाभमा आफनो क्षतिको स्थान कहाँ छ ? मधेशी जनता तथा कार्यकर्ताहरुमा व्याप्त रहेको असन्तुष्टताले मधेश आन्दोलन क्षीण बनेको होइन ?

६ महिनादेखि चलि रहेको आन्दोलनले सारा संसारलाई आफनो मुद्दाको बारेमा जानकारी गराउन सफल भएको थियो । संसारले पनि मधेशको मुद्दा सम्बोधन हुनु पर्छ भन्ने मधेशप्रति आफनो समर्थन राखेर सरकारमाथि दबाव बनाएका थिए । छिमेकी मुलुक भारत पनि मधेशका मुद्दालाई सम्बोधन गराउन चट्टान सरह उभिएको बेला उपेन्द्र यादब र राजेन्द्र महतोले बन्दका कार्यक्रम फिर्ता लिई घटाएका दुर्भाग्यपूर्ण घटनालाई बचावका लागि जतिसुकै शब्दजालबाट परिभाषा गरिउन् मधेशका लागि शर्मनाक घटना नै ठहरेको छ । सबै नाका खोलेपछि मात्र भारतको भ्रमण गर्ने प्रधानमन्त्री ओलीले आफनो अडान राखेको बेला उनको भारत भ्रमणलाई सहज बनाउन लिईएको निर्णय हो कि भन्ने अडकल काट्नु अतिशयोक्ति नहोला ।

विभेदमा रहेका उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न ल्याईएको संविधान सभा बडो चालाकीपूर्वक विवादित बनाई मनोमानी ढंगले संविधान घोषणा गरि अन्त गरियो । यी साजिशपूर्ण व्यवहारको विरुद्ध बडो मुश्किलले उठेको आन्दोलन क्रमिक रुपमा उँचाई लिंदै गएको अवस्थामा मधेशमाथि आफनै स्वामित्व रहेको भ्रम पाल्ने नेताद्वय उपेन्द्र यादब र राजेन्द्र महतोबीच तनाव रहेको अवस्थामा आन्दोलन फिर्ता लिने समान धारणा कसरी बन्यो यो विचारणीय कुरा हो । पार्टी विभाजन गराउन महारथ हासिल गरेका उपेन्द्र यादबले नाटकीय ढंगबाट आन्दोलन फिर्ता गराएर कसलाई फायदा पु¥याएका छन् र किन ? पहलमानीको दंगलमा उत्रेका ओली र महतो कसरी मित्र बने ? यस्ता यावत् प्रश्न यी दुई नेतृत्वमाथि तेर्सिएका छन् जसको बकम्फुसे कारण दिएर मधेश पत्याउनेवाला छैन । बिना निष्कर्ष संविधान सभा गयो । सशक्त रुपमा आएको मधेश आन्दोलनलाई धाराशायी बनाएर अन्त गर्ने दुस्साहसी यी दुई बदनाम अनुहारले चैत, बैशाखदेखि भीषण आन्दोलन गर्ने बकम्फुसे कुरा गरि हिंडी रहेका छन् ।

मधेश आन्दोलनलाई निष्प्रभावी बनाई राज्यबाट अकूत सम्पत्ति कमाउने यी दुई अनुहार विना आर्जन आन्दोलन फिर्ता लिएका होलान ?सरकार समक्ष आत्म समर्पण गर्ने यिनी पहिले पनि कलंकित थिए अहिले पनि सशंकित चरित्र देखाए । बीचमा रहेको महन्थ ठाकुरले पनि बचावको भूमिकामा नदेखिंदा उनको कुनै हैसियत नरहेको स्पष्ट देखिएको छ ।
मधेश आन्दोलन तुहिएको छ । व्यक्तिगत रुपमा राजेन्द्र महतो र उपेन्द्र यादब सरकारबाट सन्तुष्ट देखिएपनि मधेश असन्तुष्ट नै रह्यो । आन्दोलनलाई परिणाममुखी नबनाएर बीचैमा छाडेर आत्म समर्पण गर्ने कलंकित अनुहार फेरि पनि आन्दोलनको चर्चा गर्नु कति लज्जास्पद कुरा हो । जोडिदै गएको मधेशी एकताको बन्धन चुँडिएको छ । ६ महिनादेखि दैनिक उपभोग्य वस्तुको अभावमा जति पीडा भएको थिएन, आन्दोलन फिर्ता भएर मधेश असीम पीडाको अनुभव गरि रहेको छ । आन्दोलनको औचित्य नै समाप्त गरेपछि मोर्चाले अब कुन आन्दोलन चलाउने ? मोर्चाले आन्दोलन गर्ने नैतिक आधार गुमाई सकेको छ । संसदमा रहेकाहरुको गठबन्धन बनाएर मोर्चाले सरकारलाई घुर्कि लगाएर स्वार्थ सिद्धि गर्ने कार्यबाहेक अरु केही रहेन । मोर्चाले बहुमतबाट संविधान बनेको कुरा स्वीकार गरि आत्मसमर्पण गरेपछि मधेशको एकता पनि विभक्त भएको छ । अब फेरि मोर्चाले आन्दोलनको आह्वान ग¥यो भने त्यो मान्छे मार्ने काम मात्र हुन्छ । सबै कुरा सहज अवस्थामा आई सकेपछि आन्दोलनको आह्वान गर्नु मोर्चाको स्वार्थ सिद्धिको माध्यम बनाउने काम हुनेछ । मोर्चाले अब मधेशलाई उचाल्ने, थेचार्ने काम बन्द गर्नु पर्दछ ।

मधेशले पनि अहिलेसम्मको आन्दोलनको समीक्षा गरि अधिकारवादी आन्दोलनलाई क्रान्तिकारी नेतत्व चयन गरि जिम्मा लगाउनु पर्दछ । अहिले संसदमा भएका मधेशी नेता भनाउँदाहरु सत्तामा गएर भ्रष्ट बनि सकेका छन् । सत्ताको बन्धनमा सशक्त रुपमा बाँधिएका छन् । क्रान्तिकारी छवि देखायो भने अख्तियारको भय देखाएर लम्पसार बनाउँछ । बनायो पनि । त्यसकारण यिनी सत्ताको जतिसुकै विरोध गरेपनि सत्ताको सामुन्ने लम्पसार नै रहन्छ । ०६३ सालको मधेश आन्दोलनलाई मन्त्री पदमा रहेका राजेन्द्र महतोले “प्रधानमन्त्री गिरिजाबाबूले मधेशलाई ९० प्रतिशत अधिकार दिई सक्नु भएको छ । अब भने उपेन्द्र यादब नेता बन्न आन्दोलन गरि रहेको छ” भन्ने अभिव्यक्ति दिएर आन्दोलनलाई अपमानित गरेका थिए । अहिले पनि गरेको कुनै आश्चर्य मान्नु हुँदैन । यो प्रसंगबाट मैले उपेन्द्र यादबलाई चोखो देखाउन खोजेको होईन । उपेन्द्र यादब पनि सोही पंक्तिमा गएको भन्न खोजेको हुँ ।

राज्यसत्ताले यिनी सबैलाई बिगारि सकेको छ । राज्यसत्तासंग अपार शक्ति छ । यसलाई मधेशले नै चुनौति दिन सक्छ । तर नयाँ छविको नेतृत्वमा आन्दोलन संगठित हुनु पर्दछ । कमजोरको विरोध केही हदसम्म मात्र हो । आन्दोलनलाई परिणाममुखी बनाउने काम सत्तासुख भोगि सकेकाहरुबाट हुनै सक्दैन । सत्तामा रहँदा यति धेरै अनैतिक काम गरेको हुन्छ कि सधैं सत्ताको चाबुकबाट डराएर बस्नु पर्ने हुन्छ । उपेन्द्र यादब निष्कलंक थिए र मधेश आन्दोलनलाई बढाएर ल्याए । सत्तामा गएपछि उनी पनि कलंकित नै भए । पैसामा अपार शक्ति छ । भगवान समेत प्रभावित हुने भएकोले मानिसको के कुरा । पैसाले उपेन्द्र यादबलाई पनि पथभ्रष्ट बनायो । यही कलंकित अनुहारहरुले मधेश आन्दोलनको नेतृत्व गरेको थियो । परिणाम सबैको सामुन्ने छ । सद्भावना पार्टीका सबै साँसदहरु सामूहिक राजीनामा गरि अरु मधेशी साँसदहरुलाई राजीनामा गर्न दबाव बनाएर मधेश आन्दोलनमा होमिएका थिए । तिनीहरु कहाँ छन् ? जनतालाई झुक्याउन यस्ता नाटकहरु चलि रहन्छ । संसदलाई कोही छोड्न सकेन । अहिले आन्दोलन छाडेर सबै संसदमा जम्मा भएका छन् । आन्दोलन गर्न शरदसिंह, राजकिशोर र अनिल झालाई मोर्चामा प्रवेश दिईएन तर अहिले यिनलाई मिलाएर संसदमा गएका छन् । सोध्दा सडक र सदन दुबैमा संघर्ष गर्नु प्रजातान्त्रिक प्रक्रिया हो भन्दिन्छन् ।

मोर्चाले मधेश आन्दोलनको औचित्यलाई समाप्त गरि सकेको छ । कारण जेहोस् । अधूरो रहेको संविधान कार्यान्वयनको अवस्थालाई सघाउन संसद पुगेका मधेशका पार्टी अध्यक्षहरु लामो समयको थकान मेट्न भारि बिसाई सुस्ताउन आएका छन् । थकाई मार्न दिउँ । सकारात्मक नकारात्मक कार्यमा राम्रो नाम कमाएका यिनी थकाई मारुन् । आन्दोलनको कुरा भने अरुलाई गर्न दिउँ ।
२०७२ फाल्गुन ७ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!