संसारको हरेक परिवर्तनका लागि उठेका आन्दोलनहरु युवापुश्ताकै नेतृत्वमा परिणाममुखी भएकोले युवाहरुलाई परिवर्तनका संबाहक भनिएको हो । विजित क्षेत्रको नागरिक सरह, शदियौंदेखि राज्यविहीनताको अवस्थामा राज्यको शोषण, दोहन र भेदभावका शिकार पिडित मधेशी जनतालाई राज्यका विरुद्ध आवाज उठाउन मधेशका वीर सपूतहरुले नै प्रेरणा दिएका थिए । ०६३ को मधेश आन्दोलनलाई उत्कर्षमा लैजान आफनो ज्यानको बलिदान दिने मधेशका वीर शहीदहरु युवाहरु नै थिए । मधेशका वीर क्रान्तिकारी युवाहरु क्रमिक रुपले बलिदान दिएर मधेशको गाउँ, शहरदेखि कुना काप्चालाई ब्यूँझाएर सबैलाई शदियौंदेखि राज्यको दासताको विरुद्ध संघर्षमा उतारेका थिए । अधिकार पाउन उन्मादित युवाहरु टाउकोमा मधेश सरकार लेखेको ब्यानर बाँधेर छातीमा गोली थाप्दै अगाडि बढि रहेका थिए । एउटा ढल्दा अर्कोले नेतृत्व लिएर शहादत दिंदै युवाहरु समग्र मधेशीमा मुक्तिको जोश र उमंग भर्दै गए । प्रत्येक जिल्लाको एउटै प्रकारको दृश्य थियो, बालक–किशोर, जवान–बृद्ध, स्त्री–पुरुष, धनी–गरिब, हिन्दु–मुस्लिम, मुक्तिकामी मधेशी जनता बिना कुनै भेदभाव मानव–सागरको रुपमा दमनकारी सरकारको प्रतिकारमा सडकमा ओर्लेका थिए । शताब्दियौं देखिको थिचोमिचो, शोषण दोहन, भेदभावका विरुद्ध मधेशी जनता पहिलो पल्ट आफनो अधिकारका लागि विद्रोह गरेका थिए । र यो प्रलयकारी आन्दोलन मधेशी वीर सपूतहरुको कुर्वानी र सफलतम् नेतृत्वदायी भूमिकाबाट सफल भयो । मधेशको ऐतिहासिक जनविद्रोहको गन्तव्य “संघीय लोकतान्त्रिक गणतन्त्र”मा पुर्याउने र यसलाई परिणाममुखी बनाउने युवा पुश्ताको अहम् भूमिकालाई मधेशको इतिहास सधैं सम्झि रहनेछ । शहादत दिएका मधेशका वीर शहीदहरुलाई मधेश प्रेरणाको नक्षत्रको रुपमा सधैं नमन गर्नेछ ।
मधेश आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न संविधान सभाको स्थापना गराएर युवाहरुले प्रशंसनीय अभिभारा पूरा गरि मधेशको नेतृत्व नेताहरुको हातमा सुम्पि दियो । मधेशको स्वाभिमान, पहिचान तथा राजधानीमा गैर मधेशी समुदायमा शिर ठाडो गरेर हिंड्न सक्ने अवस्थाको देन मधेश आन्दोलन कै हो । राज्यलाई मधेशको बारेमा गम्भीरतापूर्वक हेर्न र चिन्तन गर्न बाध्य पार्ने मधेश आन्दोलन नै हो । संविधान सभाको स्थापना भएदेखि मधेश आन्दोलनको यात्रा दिग्भ्रमित भई अगाडि बढ्न थाल्यो । सही दिशामा हिंड्ने प्रतिबद्धता जाहेर गर्ने मधेशका नेतृत्व वर्ग सत्तासुखको बिलासितामा मधेश आन्दोलनको मर्म र उद्देश्यबाट च्यूत हुन थाले । पद र पैसाका लागि पार्टी विभाजन गरि नयाँ नयाँ नेतृत्वको जन्म हुन थाल्यो । मधेशको अखण्ड एकता पार्टी विभाजनसंगै टुक्रा टुक्रा हुन थालियो । जातिको आधारमा पार्टी संगठित गर्ने होड नै चल्यो । मधेशको आशा र विश्वासलाई छिन्न भिन्न पारि मधेशलाई कित्ता कित्तामा बाँडिने काम नजानेर होइन, साजिशपूर्ण तवरले गरियो । मधेशका शहीदहरुलाई पनि कित्ताकाट गरि आफ्नो आफ्नो अधिकार क्षेत्रभित्र पारे । मधेशका नेतृत्व वर्गले क्रमिक रुपले मधेश आन्दोलनलाई घायल पार्दै गए । मधेशका वीर शहीदको रगतको अवमूल्यन गदैं नेतृत्व मण्डल आफ्नो स्वार्थका लागि मधेश आन्दोलनलाई बेचेर अपार धनराशि आर्जन गरे । नेतृत्व मण्डलको लज्जाजनक कुकृत्य के रह्यो भने शहादत दिएका कतिपय वीर सपूतहरु शहीदको श्रेणीमा ल्याउन सकेन । मधेश आन्दोलनमा दर्जनौं हात खुट्टा काटिएका अपांग युवाहरु राहत नपाएर मधेश आन्दोलनमा आफनो योगदानको सट्टा दुर्भाग्य सम्झेर पछताई रहेका छन् । कतिपय घायल भएका युवाहरु अहिले पनि उपचारका क्रममा भौंतारि रहेका छन् । नेताहरुको दैलोमा गुहार्न पुग्दा नचिनेर माँग्ने व्यवसायी बुझेर दुतकारिन्छ । उसलाई नेतृत्व मण्डलमा कोही चिन्दैन । आन्दोलनकारी झूठो साबित भयो, झूठो नेता साँचो साबित भयो । मधेशी पार्टीहरुबाट मधेशी मन्त्रीहरुको उल्लेख्य उपस्थिति रहँदा पनि नेताहरुले मधेश आन्दोलन पीडितहरुलाई नराहत दिलाउन सक्यो न आफैले कमाएका धनबाट सहयोग गर्न सक्यो । मधेश यसरी प्रतिनिधी पार्टीको मधेश विरोधी गतिविधीबाट निराश भयो ।
मधेशका युवाहरु नेतृत्व मण्डलीको क्रियाकलापबाट दिशाहीन अवस्थामा भौंतारि रहेका छन् । उनका जोश, जाँगर, उत्साह, उमंग सबै शिथिल अवस्थामा पुगेको छ । सबै पार्टीमा विभाजित भएर बसेका युवाहरु मधेशका प्रतिनिधी पार्टीमाथि विश्वास गर्दैन । अलग अलग पार्टीमा बसे पनि युवाहरुको पेशागत दस्ता संगठित रुपमा कायम नै छ । यो मात्र मधेश आन्दोलनको सुखद पक्ष हो । नेताहरु जस्तो रिमोटबाट चल्ने चरित्रको विकास युवाहरुमा नभएको कारणले पनि उनी सबै एकै मञ्चबाट मधेशको चिन्ता व्यक्त गर्दा स्वाभाविक तथा विश्वसनीय लाग्छ । गोहीको आँसू बोकेका नेताहरुको मुखबाट मधेशप्रतिको चिन्ता व्यक्त गर्नुमा मधेश कथमपि विश्वास गर्दैन । नेतृत्वको अभावमा दिशाविहीन मधेशका लाखौं युवाहरुको एउटै पीडा छ–मधेश आन्दोलनलाई संगठित पारि कसरी अगाडि बढाउने । आफनै आफनै किसिमले भेला भई अन्तक्रियाबाट आफनो पीडा साटासाट गर्ने क्रमले पनि युवाहरुको छटपटाहट छर्लङ अनुभव गर्न सकिन्छ ।
मधेशका युवाहरुले मधेश आन्दोलनलाई संविधान सभासम्म सफलतापूर्वक ल्याई पुर्याउँदा मधेशको नेतृत्व हस्तान्तरण गरेको थियो । नेतृत्व मण्डलले यसलाई अगाडि बढाउन नसकेपनि यथास्थान राखेको भए आरोप लाग्ने अवस्था थिएन । तर मधेश आन्दोलनलाई नियतवश विसर्जनमा पुर्याउने जुन कुचेष्टा गरियो त्यो नै ठूलो अपराध हो । युवाहरुमा असन्तुष्टताका कारण पनि यही हो । यही असन्तुष्टताले युवाहरु दिशाविहीनताको अनुभव गर्छन् । विगतका घटनाक्रमले एकातिर नैराश्यता फैलाएको छ भने अर्कोतिर असफलताले हामीलाई अझ परिपक्व बनाउँदै अगाडि बढ्ने प्रेरणा पनि दिई रहेको हुन्छ । गतिमा आई सकेपछि वस्तु यथास्थितिमा वस्नै सक्दैन । गतिशीलताले नैराश्यतालाई हटाएर उर्जा संचारित गर्दै अग्रगमनको दिशातिर जान कुनै पनि वस्तुलाई बाध्य पारि रहन्छ । मधेश गतिशील छ, निराश पनि छ । यही सूत्रले मधेश पुनश्च गतिशील हुनेछ ।
“युवा नै परिवर्तनका संवाहक हुन” यो ध्रुवसत्यलाई नकार्न मिल्दैन । आन्दोलन अहिले नेताहरुको आदेशमा आउने पनि होइन । काल परिस्थिति, शसक्त संगठन, वैचारिक दृढता र जन समर्थन आदि सबैको एकै समयको समायोजन आन्दोलनका कारक तत्व हुन । यो परिस्थिति बने पछि मात्र आन्दोलनले रुप धारण गर्दछ । जन समर्थन बिनाको आन्दोलनको औचित्य पुष्टि हुन सक्दैन । त्यतिखेर सम्म आन्दोलनको कुरा गर्नु बचकाना तर्क मात्र साबित हुन सक्दछ ।
विभिन्न पार्टीभित्रका युवा संगठनहरुको ऐक्यबद्धता विभाजनका सीमारेखालाई मेट्ने प्रयास आन्दोलन उठानको राम्रो पक्ष हो । आन्दोलनका लागि विभाजित मानसिकता खतरनाक संकेत हो । निर्विकल्प मधेश आन्दोलनको बारेमा युवाहरुमाझ केही बून्दागत कुराहरुको छलफल हुन आवश्यक देखिन्छ–(१) आफन्ै ढंगले एकताबद्ध रुपमा बढि रहेका विभिन्न युवा संगठनहरु मधेश आन्दोलनलाई जगाई रहेको शुभ संकेत मान्न सकिन्छ । यो प्रयास विकसित हुँदै अगाडि बढ्नु पर्दछ । (२) मधेशको एकतालाई खण्डित गर्ने घुसाइएका अनेकन दुष्प्रबृतिलाई निरुत्साहित गर्न युवाहरुले रणनीतिक रुपमा अगाडि बढ्नु पर्दछ । मधेश एकताका विरुद्ध जन्माईएका विभाजन रेखालाई मेटिनु पर्दछ । (३) पार्टीहरुको गतिविधीप्रति मधेश असन्तुष्ट छ भने अधिकार नपाएर आक्रोशित पनि छ । गैर मधेशी राजनीतिक पार्टीहरुको मधेशप्रतिको आक्रामक भूमिकाले पनि मधेश आन्दोलनलाई जगाउने सहायक बनेका छन् । असन्तुष्टतालाई पन्छाएर मधेशलाई आन्दोलनको लागि कसरी तयार गर्ने युवाहरुको छलफलको बिषय हुनु पर्दछ । (४) क्षमता अभिवृद्धि गरि नेतृत्वको विकास गर्न अध्ययनशील, अनुशासित र प्रशिक्षित हुनु पर्दछ । (५) समग्र मधेश एक प्रदेशको भावनाबाट प्रेरित हुनु पर्दछ ।
देशमा विद्यमान राजनीतिक गतिरोध पनि संघीयताकै विरुद्ध ल्याइएको हो । गैर मधेशी पार्टीहरु संघीयताको झंझटबाट मुक्ति पाउनका लागि नै गतिरोधलाई अगाडि ल्याएको हो । मधेशलाई चारवर्ष सम्म संघीयता बिषयको अभ्यास गराएर समेटेर लगि सकेको अवस्थाप्रति आक्रोश पनि मधेशमा व्याप्त छ । यही मधेश आन्दोलनको अनुकूलता हो । यही आक्रोश मधेशको नैराश्यतालाई बढारेर लानेछ र आन्दोलनको धार प्रखर रुपमा देखिने छ । यहींबाट आन्दोलनलाई संगठित पारि दुष्प्रवृतिबाट बचाउँदै गन्तव्यको दिशामा अग्रसर गराउने अभिभारा फेरि एकपल्ट युवाहरुकै काँधमा आएको छ । मधेश आन्दोलनले विगतको असफलतालाई गम्भीरतापूर्वक नियालेको छ । प्रतिनिधी पार्टीहरुले आफनो ध्यान आन्दोलनतिर होइन, निर्वाचनतिर ध्यान केन्द्रित गरेको छ । आफनो अस्तित्व बचाउने रणनीतिमा केन्द्रित पार्टीहरु मधेशको अधिकारको कुरालाई स्वार्थ पूर्तिको स्रोत मात्र बनाएको छ । अधिकार आन्दोलन बेसहारा अवस्थामा रहेकोले पनि यसप्रति युवाहरुको भूमिका महत्वपूर्ण बनेको छ र मधेश आन्दोलनले नयाँ नेतृत्व खोजेको छ ।
२०६९ फाल्गुन ४ गते मधेशवाणीमा प्रकाशित
