समानुपातिक विकास बिना पछौटेपनमा बाँच्न बाध्य मधेशी समाजको महिला बढी पीडित भएका छन् । शिक्षाको अभाव, गरिबी, बेरोजगारीका कारण सबभन्दा बढी महिला प्रताडित भएका छन् । पर्दा प्रथाभन्दा बाहिर आउन नसकेका कारण पनि मधेशी महिलाको अवस्था दयनीय हुन पुगेको छ । राज्यविहिनताको अवस्थामा अवसर र सम्भावनाबाट बंचित मधेशी समाजको अवस्था नै दयनीय भएपछि मधेशी महिलाको अवस्था कस्तो होला ? शदियौदेखि राज्यद्वारा प्रदत्त पछौटेपनलाई आफ्नो नियति मान्ने मधेशी समाजमा महिला पारिवारिक, सामाजिक हिंसाका शिकार हुँदै आएको छ । पुरूषको दाँजोमा महिलामा सहनशक्ति बढी रहेकोले पनि ९० प्रतिशत हिंसाका घटनाहरू सतहमा आउँदैन । विभिन्न किसिमका यातना र प्रताडनालाई आफ्नो भाग्य नै ठान्ने मधेशी महिलाको अवस्था सामान्य भन्दा निकै तल रहेको छ ।
केन्द्रिय तथ्याँक विभाग अनुसार १ करोड ९२ लाख ५० हजार व्यक्ति निरक्षर रहेकोमा त्यस मध्ये ४२ लाख २० हजार ९९६ अर्थात् ३४.३५ प्रतिशत निरक्षर महिला छन् । राष्ट्रिय महिला आयोगले गरेको अनुसन्धानमा ८३.२६ प्रतिशत मधेशी महिला निरक्षर पाईएको छ । यो तथ्याँक मधेशी महिलाको जीवनको व्यथा कथा दर्शाउन पर्याप्त छ । मधेशी महिलाको विवाह नहुँदा सम्म आफ्ना पिताको सहारामा, विवाह पछि पतिको सहारामा र पतिको शेषपछि छोराको सहारामा बाँच्नु पर्ने पौराणिक रीतिथिती अहिले पनि कायम छ । मधेशी महिलाको स्वतन्त्र अस्तित्व बन्न सकेको छैन । यसका प्रमुख कारण समाजको पछौटेपना नै हो । शिक्षाको विकासले पछौटेपनलाई हटाउछ र समाजलाई समानतातिर डोर्याउँदछ, सह अस्तित्वको बोध गराउँदछ, सबैको महत्वलाई चिनाउँदछ र असल समाज निर्माणमा सहभागी गराउँदछ । आर्थिक उन्नति र समाजको समुन्नति ल्याउँछ । तर निरक्षरताको यो तथ्याँकले मधेशी महिलाका लागि केही कुरा हुन दिंदैन । शिक्षाको अवसरबाट बंचित रहेर असल जीवनको कामना गर्नु निरर्थक नै हुनेछ । आफुलाई आफैसंग साक्षातकार गराउने शिक्षा नै माध्यम भएकोले शिक्षाको अपरिहार्यता सबैले बुझ्नु पर्दछ ।
एक्काइसौं शताब्दीमा हामी प्रवेश गरेर जब यान्त्रिक मानव बनाएर आफू चाहे बमोजिम काम लिई रहेका छौं । जहाँ चमत्कारी अनुसन्धान गरेर धेरै कुरालाई झूठो साबित गरी सकेका छौं, त्यहाँ भूतप्रेत, बोक्सी, झाँक्रीको कुरामा विश्वास गरेर समाजमा यस्ता आरोप लगाएर मानिसलाई मानव मलमूत्र खुवाउने जस्ता अपराध गर्नु पछौटेपनाको घीन लाग्दो उदाहरण हो । विकासको ठूल्ठूला योजना देखाएर आत्म प्रशंसक बन्ने राज्यको मुखमा थप्पड पनि हो ।
मधेशी समाजमा पनि सम्मानजनक स्थान बनाउन नसकेको मधेशी महिला राष्ट्रिय मूलधारमा समावेशी पहुँच हुनु धेरै कठीन देखिएको छ । पछौटेपनमा बाँची रहेको समाजका महिला र पुरूषले परिवर्तनको निरन्तर रूपान्तरणसंग तालमेल गर्न नसकेर पनि होला जडता अद्यावधि कायम छ । सरकारले शिक्षामा गरेको प्रयास मधेशको जनजीवनसंगको तालमेल बसाउन नसकेर पनि शिक्षा प्रसारको अपेक्षित सफलता प्राप्त हुन नसकेको हो । नारी शिक्षामा त शिक्षाले प्रवेश नै नपाएको तथ्याँक विभागले देखाएको हो । मधेशी महिलाको दैनिकीलाई बुझेर शिक्षाका कार्यक्रम बनाईदैन, कार्यक्रम तर्जुमा गर्ने राजधानीका अति विकसित परिवारका अनुभवी महिला पुरूष भएकोले मधेशका धरातलीय यथार्थ बुझेको हुँदैन र अति महत्वाकांक्षी शैक्षिक कार्यक्रम पनि सफल हुन सक्दैन ।
राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाले यस क्षेत्रमा निकै काम गरि रहँदा पनि नारि शिक्षाको ग्राफ उठाउन सकेको छैन । या त धरातलीय यथार्थलाई बुझ्ने प्रयासै गर्दैन या त्यसमा नारि निरक्षरता न्यून गर्ने दृढ इच्छाशक्तिको कमी छ । शिक्षालाई यथास्थितिकै माध्यमबाट लै जान चाहन्छ । नारि शिक्षाको मर्मलाई मधेशी महिलाको दैनिकीको अध्ययन नगरि शिक्षा क्षेत्रमा मधेशी महिलाको सहभागिता बढाउन धेरै जटिल छ । सामान्य किसिमको शिक्षा प्रसार गर्ने कार्यक्रमले मधेशी महिलालाई सहभागी गराउन कठीन छ ।
मधेशको निम्नवर्गीय परिवारमा शिक्षाको कुनै महत्व नसम्झिनेको संख्या शतप्रतिशत छ । उनको दैनिकीमा कामको प्रधानता छ । काम नगरे बिहान बेलुका माम खान मुश्किल छ । शिक्षाले परिवारको कतिपय सदस्यलाई काम गर्न दिदैन । आमदानी नभई उसको परिवार अस्त व्यस्त हुन्छ । शिक्षालाई उनीहरू घाटाको व्यापार बुझ्दछन् । मानौं दशवर्ष सम्म बाधा व्यवधानलाई झेल्दै एस. एल. सी. पास गराए पनि जागिर हुदैन र ऊ परिवारिक काम गर्ने लायक हुँदैन, उल्टै उसलाई पाल्ने अवस्था आउँदछ, यस्ता तर्क उसंग हुन्छ । यस्ता तर्क धेरै हदसम्म सही पनि छ । यो मधेश जनजीवनको रेखाचित्र हो । यस्तो चुनौतीको सामना गर्न धरातलीय यथार्थतासंग तालमेल मिलाएर जनमुखी शिक्षाको नीति सरकारले तर्जुमा गर्न सक्दछ ? मधेशमा शिक्षाको अपेक्षित सफलता प्राप्त गर्न एकमात्र बाटो यही हो ।
२०६७ फागुन २० गते मधेशवाणीमा प्रकाशित
