महिलाका समान अधिकारका लागि ८ मार्चको दिन पारेर मनाइने नारिदिवस विश्वभरका महिलासंगै नेपाली महिलाले पनि पोहोर शताब्दीयौं दिवस मनाउँदा इन्सेकको सर्वे अनुसार ५८६ महिला हिंसाका शिकार भएका थिए । यी बाहिर आएका अमानवीय घटनाहरू हुन । सार्वजनिक हुन नसकेका यस्ता असंख्य महिला घरेलू तथा सामाजिक हिंसाका पीडा भोग्दै आएका छन । यसपाली पनि भव्यताका साथ १०१ नारिदिवस मनाइएको छ । नारिदिवसको सन्देश पहुँचभन्दा बाहिर रहेका असंख्य ग्रामीण महिलालाई कत्तिको प्रभावित गर्न सकेको छ । यो मूल विषय हो ।
रूढिवादी चिन्तन बोकेको पौराणिक पितृसत्तात्मक सामाजिक संरचनामा शदियौं देखि महिला शोषणको शिकार हुँदै आएकको सर्वमान्य कुरा हो । तर एकातिर समान अधिकारको खोजीमा शताब्दीयौं पूर्व संघर्ष गर्दै पश्चिमा मुलुकमा महिला समानताको अधिकारलाई स्थापित गराउन सफल पनि भएका छन । तर नेपालमा महिलामा जागरण पनि आउन सकेको छैन । सार्वजनिक हुँदै आएका महिला हिंसाका घटनाहरूको जघन्य प्रकृति आदिम बर्बर युगको याद दिलाउँछ । के हामी जंगली अवस्थामा छौं ? अथवा यस्ता घटनाहरू हम्रो सभ्यतामाथिको कलंक होइन ? यस विषयमा यावत प्रश्न उपस्थित छन । सबै क्षेत्रमा ३३ प्रतिशत महिला अधिकार प्रदान गर्ने सरकारी कानून बने पनि पहुँचविहिन ग्रामीण महिलाहरू कति लाभान्वित भएका छन । अधिकार बोध भएका सभ्रान्त शहरी महिला मात्र यस्ता अधिकारबाट लाभान्वित हुन्छन । यो स्वाभाविक पनि हो । तर पिछडिएको, निरक्षर, गरिब, निरीह ग्रामीण महिलामा आमूल परिवर्तनको खाँचोलाई एकदिने महिला दिवसको क्रान्तिकारी भाषणले पूर्ति गर्न सक्दैन ।
राष्ट्रिय महिला आयोगको तथ्याँक अनुसार कूल निरक्षर महिलाको संख्याको ८३.२६ प्रतिशत मधेशी महिला निरक्षर छन । निरक्षरता, गरिबीले मधेशी महिलाको अवस्था अति दयनीय रहेकोले यस्तो कठीन चुनौतीले पनि सरकारको ध्यानाकर्षण गराउन सकेको छैन । महिला अधिकारका बारेमा गाईवस्तु, बालबच्चा, घरका ठूलाबडालाई स्याहार्ने, भात पकाउने तथा खेतमा काम गर्ने उनीहरूलाई यतिमात्र थाहा हुन्छ । गरिब र अशिक्षित परिवारमा सालसालै प्रजनन पीडा, पौष्टिक भोजनको अभाव, रोगहरूको असामयिक आक्रमण, बलबूता कम भएर काम गर्न नसक्नु, पारिवारिक दिनचर्यामा व्यवधान आउनुले महत्व कम हुँदै जाँदा अल्पायुमा मृत्युलाई बरण गर्नु मधेशी अशिक्षित महिलाको बाध्यता बनेको छ । एक सर्वे अनुसार गरिब परिवारमा प्रजनन दर ८० प्रतिशत पाइएको छ ।
बढी प्रजनन, कामको बोझले महिलामा पाठेघर खस्ने समस्या पनि उत्तिकै छ । मधेशी समाजमा पर्दाप्रथा रहेकोले पनि मधेशी महिला जीवन पर्यन्त यस्तो रोगलाई सार्वजनिक गदैन, बरू पतिलाई अर्को विवाह गर्न बाध्य गर्छिन । सन्तानलाई पढाउन असक्षम गरिब परिवारले जतिसुकै सन्तान जन्मेपनि आफनो भाग्यले आएको भन्ने ठान्ने र सबैले काम गरेपछि परिवारको उन्नति हुने विश्वास प्रचलित छ । चर्पीको अभावमा मधेशी महिलालाई दिशा गर्न वस्तीभन्दा टाढा चौरमा जानु पर्ने बाध्यता छ ।
बिहान उज्यालो हुनुभन्दा पहिले यो काम सकि हाल्नु पर्दछ । उठन ढिलो भयो भने लोकलाजका कारण दिशै नगरि आफनो नियमित काम सिध्याएर रात परेपछि मात्र दिशा गर्न जान्छन । यस्तो पीडादायी अवस्थालाई आफनो नियति मान्ने मधेशी महिलाको स्वास्थ्य पनि गिर्दो अवस्थाको छ । विभिन्न किसिमका रोगहरूको शिकार भई असामयिक मृत्यु बरण गर्नु नियति बनेको छ । कामको बोझको अगाडी स्वास्थ्यलाई विलकुलै ध्यान नदिने, रोग लागेर थला परे पछि उपचार गर्न खर्चको अभावका कारण मृत्युलाई पर्खेर बस्नु मधेशी महिलाको भाग्य हो ।
देशमा जतिसुकै राजनीति परिवर्तन आएपनि यी वर्गका महिलालाई कुनै प्रभाव परेको देखिदैन । आफनो दिनचर्यामा लीन रहेको यो वर्गलाई न हर्ष न विस्मयको अनुभूति हुन्छ । यस्तो वर्गको महिलालाई विकासको मूल प्रवाहमा समेटिन कति चुनौतीपूर्ण छ । अति पिछडिएको अवस्थामा रहेका यी महिलाको जीवन स्तर उठाउन सरकार लगायत सरोकारवाला सबैको दायित्व रहेकोले एक्शन प्लान लिएर जानु पर्दछ । एउटै देशमा विकासको शिखरमा पुगेका सभ्य मानवलाई पिछडिएको त्यो वर्गलाई उठाउने दायित्वबोध हुनु पर्दछ । होइन भने सभ्यताको सुकिलो वस्त्रमा महिलामाथि भई रहने अमानवीय घटनाको कालो धब्बा सधैं लागि नै रहनेछ ।
देशको आधी जनसंख्या महिलाको रहेकोमा त्यसको दुई तिहाई महिला अशिक्षा, गरिबी, अन्धविश्वास, पराजित मानसिकतामा बाँची रहेकोले यातनाको जोखिममा उनै असंख्य महिला पीडा भोग्न बाध्य छन । हरेक किसिमले कमजोर बनाइएका यी महिलामाथि अमानवीय तवरले विभिन्न आशयको घटना घटाएर पुरूषत्व कमाउने समाजको रूढिवादी चिन्तनलाई परिवर्तन गराउन आवश्यक छ । ती असंख्य निरक्षर कमजोर महिलालाई लक्षित गरि चेतना तथा शिक्षाको प्रसारका लागि त्यस क्षेत्रमा काम गर्ने संघ संस्था तथा सरकारले महत्वपूर्ण कार्यक्रम दिन जरूरी देखिन्छ । आवश्यक तथा ठोस गुरूयोजनाको माध्यमले मात्र ती असंख्य महिलाको जीवन स्तर सुधार्न सकिन्छ ।
२०६७ फागुन २७ गते मधेशवाणीमा प्रकाशित
