लामो समयदेखि मधेश विभिन्न दर्शनको राजनीतिक अभ्यास गर्दै ०३६ सालदेखि आफनो आवाजलाई तीब्रतर रुपमा उठाउँदै आउँदा मधेश आन्दोलनसम्म आई पुग्दा मधेशी जनतामा राजनीतिक चेतनाको जति विकास भयो सोही अनुपातमा सक्षम नेतृत्वको विकास हुन सकेन । पार्टीका अध्यक्षहरु धेरै भए तर मधेशको नेताको चरित्रको विकास हुन पाएन । क्रान्तिकारी विचार लिएर पार्टी गठन गर्दा प्रारम्भिक कालमा प्रगतिशील रणनीति देखिए पनि कालान्तरमा आत्मसमर्पणवादी भएको इतिहास छ । क्रान्तिकारी विचार भनेको मेरो आशय बन्दुक लिएर सशस्त्र संघर्षमा उत्रने होइन, वैधानिक संघर्षको माध्यमबाट आफनो उद्देश्य प्राप्तिका लागि सतत् प्रयत्नशील रह्ने नै क्रान्तिकारी विचार हो । २७ वर्ष देखि अधिकार प्राप्तिको दिशामा नेतृत्वको दृढता नदेखिएको अवस्थामा द्रूतगतिले राजनीतिक चेतना विकसित हुँदै गएको मधेशी जनताले यथास्थितिमा बस्न रुचाएन र ०६३ सालमा अधिकार प्राप्तिको रणनीतिलाई तिख्खर पार्दै नयाँ नेतृत्वको जन्म दियो । आन्दोलनलेनै नेतृत्वको जन्म दिन्छ भन्ने स्वाभाविक प्रक्रिया बमोजिम मधेशले आफनो क्रान्तिकारी विचार नयाँ नेतृत्वलाई सुम्पि दियो । जिम्मेवारीले दायित्वको क्षमता अभिवृद्धि गर्दै मानिसलाई व्यक्तिबाट सार्वजनिक भूमिकाको क्षेत्रमा पुर्याउँदछ र बहुजन हितायको भावनाबाट अलंकृत गरि विशिष्ट चरित्रको निर्माण गर्दछ । यही चरित्रको दायरा फराकिलो पार्दै मानिस समुदाय, क्षेत्र, देश र विदेशको भूमिकामा पुग्दछ ।
पहिलाको नेतृत्वबाट मधेशलाई असन्तुष्ट हुन २७ वर्ष लागेको थियो भने ०६३ सालमा मधेशले खडा गरेको नेतृत्वले त ४ वर्षमै यस्तो प्रकारले असन्तुष्ट बनायो जो पहिलाको असन्तुष्टताभन्दा सय गुणा बढी थियो । नेपाल सद्भावना पार्टीबाट असन्तुष्ट भएका मधेशीहरु आफनै नेतृत्व गजेन्द्रनारायण सिंहलाई हराएको थियो । मधेशमा साँगठनिक अभ्यासको २५ वर्षमा पनि नेपाल सद्भावना पार्टीले ५ भन्दा बढी सीट नल्याएको अवस्थामा क्रान्तिकारी धार तेज गरि मधेश आन्दोलनले आफनो अधिकार सुनिश्चित गर्न ८३ सीट जिताएर प्रतिनिधीलाई संविधान सभामा पठाएको थियो । मधेशको अधिकार सुनिश्चित गर्नु त परै जावोस् सुकेको हाडका लागि लहुलुहान हुने कुकुरहरु जस्तो तीनवटा पार्टीलाई १३वटा पार्टी बनाए । मधेशी अधिकारको आवाज उठाउने नेपाल सद्भावना पार्टीले पनि यस्तो राजनीतिक अपराध गरेको थिएन । विगतको संविधान सभाको ४ वर्षे अवधिमा प्रतिनिधीहरुले पाएका जनादेशमा सामेल अधिकार प्राप्त गर्न मधेशको तीब्रतर चाहना, आन्तरिक विभेद हटाएर दिएको अखण्ड मधेशको एकताको विश्वास, उच्च मनोवलका साथ दृढतापूर्वक अगाडी बढ्ने दिएको साहस, चोट खाएको दुश्मनको प्रतिशोधात्मक अवस्थाको पहिचान गर्ने क्षमता, पारस्परिक मेलमिलाप आदि मूलभूत कुरातिर सोच्दै नसोची जनादेश पाएर आफूलाई विधाताको रुपमा देख्ने प्रतिनिधीहरुले यति तल्लो स्तरको तथा अति शर्मनाक घटनाहरु घटाए, मधेशलाई लज्जाबोधका कारण सिर निहुँराउनु पर्यो । “चोक्टा खान गएकी बुढी, झोलमै डुबेर मरी” उखान चरितार्थ गर्दै आफनै प्रतिनिधीको कारणले मधेशले पाएको यो चरम असन्तुष्टताले मधेशको एकतालाई तार तार बनाइए दिएको छ । यो चुनावमा मधेशको असन्तुष्ताले निकै गम्भीर असर पारेको छ ।
मधेशको असन्तुष्टताले एकातिर मतदातालाई वैचारिक अराजकताको खाडलतिर धकेलेको छ भने अर्कोतिर मधेश विरोधी अभियान संस्थागत रुपको जातिवादी राजनीतिको जन्म दिएको छ । मधेश आन्दोलनले राज्यसत्ता विरुद्ध उतारेको मधेशको एकीकृत स्वरुपलाई आफनै प्रतिनिधीहरुले तहसनहस पारेको अवस्थामा मधेशमा अविश्वास जन्मनु स्वाभाविक हो । त्यो अविश्वासले मधेशी मतदातालाई वोट दिन वैचारिक धरातलबाट तल झारि दिएको छ । त्यसमा पनि मधेशका विभिन्न संघ संस्थाहरुले “मधेशको वोट मधेशीलाई” भनेर गैर मधेशी पार्टीको मधेशी उम्मेदवारहरुलाई वोट दिन उत्प्रेरित गरेको छ । मधेशी मतदाताको वितृष्णाले सबै बन्धन तोडेर बिल्कुल अराजक स्थितिको सृजना गरि दिएको छ । हुनत, संविधान सभाको चुनाव सकि सकेको छ र पूर्ण रुपको चुनावी परिणाम आएको छैन । तर परिणामको संकेत भने आई रहेको छ । मधेशवादी अन्धभक्त विश्लेषकहरु जसले मधेशले अन्ततोगत्वा मधेशी दललाईनै वोट दिन्छन् भन्ने भ्रम पालेका थिए, प्रतिक्रियात्मक रुपका मतदाताले गैर मधेशी दलहरुलाई व्यापक मात्रामा वोट दिएर विश्लेषकको भ्रमलाई तोडि दिएको छ ।
मैले अघिका अंकमा मधेशबाट गैर मधेशी दलहरु व्यापक उपलब्धि हासिल गर्ने अनुमान गरेको थिएँ, अहिले त्यो परिणाम देखिन आएको छ । मधेशी दलहरुको भ्रमलाई तोड्दै मधेशले आफनो राजनीतिक अराजकताको राम्रो चित्र मधेशी दलहरुलाई देखाई दिएको छ । मधेशी दलहरुको संकुंचन, छोटिएको आकार र क्षीणशक्तिका कारण उनलाई यथास्थितिको अवस्थामा बस्ने बाध्यता छ । भित्र भित्रै ज्वालामुखी जस्तै उम्लि रहेको नेपाली मतदाताले यसपालीे चुनावको माध्यमले देशलाई ०४७ सालतिर फर्काई दिएको जस्तो भान हुन्छ । राज्यसत्ताको पुनर्संरचना गर्न आएका प्रगतिशील भनाउँदा शक्तिहरु यो चुनावमा धुल धुरसित भएको कारणले परिवर्तनका आकाँक्षाहरु यसरी नै दमन हुने सम्भावना बढेको छ । ग् टर्नमा नेपाली राजनीतिलाई फर्काई दिएको नेपाली मतदाताको यो प्रतिक्रियाले जन आकाँक्षालाई सम्बोधन गरि शाँति स्थापना गर्न नसक्ने निश्चित छ । परिवर्तनकारीको यस्तो पराजयले जन अपेक्षाका सवालहरु स्थापित हुन कठीन भएको अवस्थामा द्वन्द्वको बीजारोपण हुन्छ ।
विगतको संविधान सभामा विजयोन्मादमा आत्मरति गरि रहेका परिवर्तनकारी शक्तिले जनादेश विपरित व्यक्तिवादी क्रियाकलाप प्रदर्शन गरि रहँदा जनताको विश्वास छिया छिया भई रहेको अनुभव पनि गर्न सकेन । विजय मदमा आफूलाई विधाताको रुपमा स्थापित गर्न खर्चिएको शक्ति संघीयतासहितको संविधान बनाउनमा लगाएको भए देशले निकाश पनि पाउँथ्यो र आफनो हैसियत पनि सलामत रहन्थ्यो । अहिलेको संविधान सभाको चुनावमा हैसियत गुमाएर बामपुड्के आकारमा परिणत पार्टीहरुले ०६२/०६३ को उपलब्धिलाई संस्थागत गर्न भूमिका निर्वाह गर्न सक्दछ ? बिल्कुल पनि होइन ।
विगतकालमै परिवर्तनकारी शक्तिको पारस्परिक द्वन्द्वले क्षीणता प्राप्त गरेको थियो । त्यसमा यथास्थितिवादी शक्तिको थप प्रहार झेल्दै कमजोर भएको अवस्थामा संविधान सभाको चुनाव भयो । यो पंक्तिकारले परिवर्तनकारी शक्ति कमजोर अवस्थामा रहेका कारण संविधान सभामा यिनको उपस्थिति न्यून रहने भएकोले जनाधिकारका कुरा अनुत्तरित रहने सम्भावनाले संविधान सभा अर्थहीन हुने भनेको थियो । आज चुनाव परिणामको अवस्थालाई अवलोकन गर्दा नेपाली काँग्रेस र एमाले पूर्ण रुपले संविधान सभालाई कब्जा गर्ने स्थिति देखिन आई रहेको छ । २३९ सीटवाला एमाओवादी अहिलेको चुनावमा तेश्रो स्थानमा धेरै सानो आकारमा खुम्चिन पुगेको छ ।
मधेशका नेताहरु चुनावका महासागरमा बिना पतवारको नावमा सवार डुब्ने स्थितिमा पुगेको छ । मत गणना चालु रहेको अवस्थामा आएको परिणामले कसैको अवस्था राम्रो देखिएको छैन । सबैको अस्तित्व खतरामा गएको स्थिति देखिन्छ । परिवर्तनकारी शक्तिहरुलाई यसपालीको मतदाताले भित्तामा लगेर टाँसि दिने कल्पना कसैले गरेको थिएन । जनताको मतले ०६२/०६३ को उपलब्धिमाथि प्रश्न चिन्ह खडा गरि दिएको छ । ठूलो पार्टीको रुपमा जन्म लिएको एमाओवादीलाई अस्तित्वहीन बनाएर राखि दिने नेपाली जनताको यो निर्णयलाई के भन्ने ? हुनत मत गणना अनुसार एमाओवादी तेश्रो स्थानमा गई सके पछि, काठमाण्डौं १० मा प्रचण्ड हारि सके पछि यो चुनावलाई बहिष्कार गर्ने प्रचण्डको निर्णयलाई के भन्ने ? यो संविधान सभाको चुनावप्रति धेरै शक्तिहरुको विमती रहेको अवस्था प्रचण्डको के विश्लेषण गरेर यो चुनावलाई आफनो अस्तित्वसंग जोडेको थियो र अहिलेको उसको बहिष्कार के काम लाग्यो ।
अबको राजनीतिक अवस्था के रह्ला ?
बिना कुनै साजिशको स्वतःस्फूर्त्त रुपमा आई रहेको परिणामले विगतमा जनताले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको कुरालाई विस्थापित गर्ने सम्भावनालाई बढाई दिएको छ । यो संविधान सभा आफैमा संप्रभूता प्राप्त रहेकोले विगतको संविधान सभाका कुरालाई मान्न यो बाध्य छैन । राज्य पुनर्संरचना, शासकीय स्वरुपका अहम् मुद्दाहरुको बारेमा नेपाली काँग्रेस र एमालेको एकपक्षीय सोचले निराकरण गर्ने भएकोले तथा संविधान सभाका अन्य बिषयहरु प्नि बिना विवादको एकलौटी ढंगले बढ्ने भएकोले यहाँ द्वन्द्व सृजना हुनु स्वाभाविक हो । जेजति कारणले होस्, जनताको मतले परिवर्तनलाई निषेध बनाई दिएको यो नौलो घटना हो । यथास्थितिवादी शक्तिलाई यो चुनावले एकाधिकार प्रदान गरेकोबाट जनताले परिवर्तनै नचाहेको यो अनौठो घटनालाई के भन्ने ?
विगतमा निर्णयका लागि स्थापित जनताको अधिकारलाई यसरी निषेध गर्ने चुनावको परिणामले राजनीतिक सन्तुलन बिगारेर द्वन्द्व निम्त्याएको कुरा विश्लेषक वृतमा चर्चा बनेको छ । जनताको आवाज उठाउने शक्तिहरुको क्षीणताले राजनीति सहज रुपमा अगाडि नबढ्ने स्पष्ट भई रहेको छ । चुनावको परिणामलाई कानूनी रुपमा चुनौती दिने अवस्था पनि छैन । ७०% मतदान भएको निर्वाचन आयोगको दावा छ । मोहन वैद्यको बहिष्कारका परिणाम स्वरुप आएका व्यवधानका बावजूद पनि यति प्रतिशतले चुनाव हुनु यो पहिलो पल्ट हो ।
एमाओवादी तेश्रो स्थानमा पनि पहिलेको सीटको चौथाई भागमा सिमित हुने अवस्था अहिलेको परिणामले देखाउन लागेको हो । एमाओवादीले यो परिणामलाई नमान्ने आफनो विमति सार्वजनिक गरि सकेको छ । पूरा परिणाम आउँदासम्म राजनीतिले कुन मोड लिन्छ, अहिले भन्न कठीन छ । पहिले माओवादीलाई सहमतीमा ल्याउने चिन्ता थियो भने अहिले एमाओवादीको पराजित मानसिकताले नेपाली राजनीतिलाई कतातिर डोर्याउँदछ, हेर्न बाँकी छ । एउटा कुरा त मान्नै पर्ने हुन्छ, दैवी प्रकोपले ल्याएको विपदा जस्तै अहिलेको संविधान सभाको चुनावले राजनीतिक विपदा ल्याएर थुपारि दिएको छ । अगामी दिनले नेपालको राजनीतिलाई कुन दिशामा डोर्याउने, सहज, असहज कुन स्थिति आउने सोबारे जान्न एक हप्ता पनि छैन । आई पर्ने विपदालाई झेल्न प्रतीक्षा गरौं ।
२०७० मंसीर ७ गते मधेशवाणीमा प्रकाशित
