मधेशको मुद्दा, राजनीति र दलीय स्वाभाव

नेपालको निर्विकल्प शासकको रुपमा रहेको नेपाली काँग्रेस, एमाले र माओवादी यसपालीको चुनावमा क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थान ग्रहण गरेका छन् । तेश्रो स्थानमा रहेको माओवादी देश हाँक्न कसलाई दिने भन्ने निर्णायक भूमिकामा रहेका छन् । एमालेलाई समर्थन ग¥यो भने एमालेको सरकार अथवा नेपाली काँग्रेसलाई समर्थन ग¥यो भने नेपाली काँग्रेसको सरकार बन्ने निर्णायक भूमिका माओवादीको छ । अहिले नेपाली काँग्रेससहित १० दलीय गठबन्धनको समर्थन पाएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन् । सहयोगी दलहरुलाई मन्त्रालय बाँडफाँड गरि मन्त्रीमण्डल विस्तार गर्ने कुरा भने बाँकी नै छ ।

मधेश आन्दोलन पश्चात् मधेशको मुद्दा (समान हक, राज्यको हरेक अंग र तहमा समानुपातिक प्रतिनिधित्वको सवाल, सेनामा समूहगत प्रवेश गराई मधेशी रेजीमेन्टको स्थापना, मधेशको दोहन, शोषणको अन्त, प्रादेशिक अधिकारको ग्यारेन्टी आदि) लिएर मधेशको राजनीतिक अभ्यासमा रहेका दर्जनौं पार्टी तथा नेताहरुको विगत १६ वर्षको गतिविधी आफ्नो स्वार्थपूर्तिबाहेक केही देखिएन । नीतिगत रुपमा अधिकार दिलाउन किञ्चित पनि अगाडि नबढेको देखिएकोले मधेश निराश हुनु स्वाभाविक थियो । उपरोक्त मधेशको अधिकार दिलाउन उपेन्द्र यादबलाई मधेश आन्दोलनले जनादेश दिएको थियो । तर सो बमोजिमको कार्य नगरि निजी स्वार्थ तथा जातीय राजनीतिमा लिप्त भएका कारण मधेशमा निजको विरुद्ध असन्तुष्टता व्याप्त भयो । जनताको मत लिएर आफ्नो छोराछारी, नाता, कुटुम्बलाई साँसद बनाएर धन आर्जन गर्ने प्रवृतिबाट कत्ति पनि लाज नमान्ने यी मधेशका नाम चलेका नेताहरु यसपालीको चुनावमा धाराशायी भएका छन् ।

सप्तरी क्षेत्र नं. २ उपेन्द्र यादबले धेरै काम गरेको क्षेत्र भएकोले उपेन्द्र यादबलाई पराजयको लेशमात्र पनि आशंका थिएन । चुनावको बेला टी.वी. पत्रकारले उपेन्द्र यादब समर्थकलाई सीके राउत र उपेन्द्र यादबको तुलनात्मक विश्लेषण गर्न सोधेको जवाफमा उपेन्द्र अतुलनीय हो भनेर भन्थे । सीके राउतसंग उनको तुलना हुन सक्दैन भन्थे तर नतिजा भने उल्टो देखियो । त्यहाँ सीके राउत अतुलनीय ठह¥यो ।

मधेशमा उपेन्द्र यादबको घट्दो प्रभावको उपज हो सीके राउत । २ नं. क्षेत्रमा उपेन्द्र यादबले धेरै भौतिक संरचना बनाई दिएका छन् । आफ्नो जातको संख्या पनि १७ हजार छ । जसपाको बलियो संगठन छ । सीके राउतको जातीय मतको आधार थिएन । नवोदित पार्टीको हैसियतमा साँगठनिक आधार पनि थिएन र पनि उपेन्द्र यादबको १६ हजारको तुलनामा सीके राउतले दोब्बर मत ल्याएर उपेन्द्र यादबलाई पछारेका हुन् । चुनावमा एमालेसंग बनाएको गठबन्धनबाट पनि मधेश रुष्ट भएको स्पष्ट देखिन्छ । मधेशमा उपेन्द्र यादबको प्रभाव सकिनै लागेको भान हुन्छ ।

जुवाघर छिर्नका लागि साँसद बन्न आवश्यक छ । नत्र भने राजनीतिको द ईण्ड हुन्छ । त्यसकारण रामसहायलाई उपराष्ट्रपति बनाएर उनको क्षेत्रबाट विजयी भएर द्युतगृहमा प्रवेश गरि पुनश्च आफ्नो महत्व स्थापित गर्ने प्रयासमा उपेन्द्र यादब लागेका छन् । सफलता मिलोस् शुभकामना छ । राजनीति योगी बन्नका लागि गरिंदैन नि ।

राज्यविहीनताको अवस्थामा विपन्न मधेशबाट उत्पादित नेताहरुले हक प्राप्त गर्न जति आक्रोश देखाएपनि राज्य सुविधा भोग्न आन्दोलनभन्दा बढि आतुरता रहन्छ । जे गरेर भएपनि धन प्राप्त गर्ने इच्छा बढि रहन्छ । उत्कर्षको आन्दोलन नदेखाए ती कुराहरु प्राप्त हुँदैन । मधेशसंग त्यही भयो । मधेश मुद्दा बिसाएर राजनीतिक अगुवाहरु राज्यसत्ताको शीर्षासनमा पुगे । सबैको पहिचान पनि बन्यो । पुनश्च चुनाव जित्ने हैसियत पनि बनाए । संघर्षको सास्ती र राज्य सुविधाको सुखमा मधेशका नेताहरुले आकाश पातालको फरक पायो । मधेशको अधिकार दिलाउने उद्देश्यको यहीं अवसान भयो । यिनलाई स्थान दिनुबाहेक शासकहरुले मधेशको अधिकारलाई किञ्चित पनि मान्न तयार भएन । मधेशका नेताहरु पनि अधिकार आन्दोलनलाई अगाडि बढाउन चाहेन ।

सत्ता स्वार्थमा रुपान्तरित मधेशका नेताहरु यथास्थितिलाई कबोल गरि सकेका छन् । माओवादी पनि सत्ता अगाडि यथास्थितिलाई स्वीकार गरि सकेको उदाहरण देखाई मधेशका नेताहरु पनि आत्मग्लानिबाट मुक्त भएका छन् । सत्तामा भागबण्डा पाउन यदाकदा मधेशको मुद्दा उचालेर शासकवर्गलाई धम्काउने काम गर्दा किञ्चित पनि लाज मान्दैन । तर खस शासकवर्ग यिनलाई आज पनि सत्तामा स्वीकार गर्न आफ्नो भेषभूषा, भाषा, पहिरन, शासकीय संस्कार आदि अंगालेको अवस्थामा मात्र स्थान दिन्छन् । रामसहाय यादबले उपराष्ट्रपति पदको शपथ ग्रहण समारोहमा आफ्नो पहिचानको पहिरन पनि लगाउन सकेन । मधेशका नेताहरु यथास्थितिमा रुपान्तरित भएको यो ठूलो उदाहरण हो ।

देश विकासको कुनै एजेण्डा नभई सत्तामा आएर लुट्ने एकमात्र उद्देश्य राखेर शासन गर्ने शासकवर्ग जस्तै मधेशका नेताहरु पनि सोही उद्देश्यको अनुशरण गरेका छन् । मधेश प्रदेशको नाममा सानो भौगोलिक क्षेत्रमा शासन गर्ने मधेशी नेताहरुले भ्रष्टाचारबाहेक मधेशलाई चित्त बुझाउने कुनै उल्लेखनीय कार्य गरेको देखिदैन र मधेश रुष्ट भएर सबैलाई पराजित गरेको छ । केही दिन नसकेकोमा आत्मग्लानी छैन तर मधेशले किन हरायो त्यसको आक्रोश भने पर्याप्त छ ।

देशको भलो होस् कि नहोस्, हारेकाहरु यो उपनिर्वाचनमा जितेर द्युतगृहमा पस्न सबै आतुर देखिएका छन् । एउटै गठबन्धनमा रहेर पनि उपेन्द्र यादबको उम्मेदवारी विरुद्ध जनमत र लोसपाले पनि आफ्नो उम्मेदवार मैदानमा उतार्ने भएका छन् । अनैतिक आचरणबाहेक सुधारको फरक उद्देश्य राखेर आउने साँसदको कल्याण भने छैन । रवि लामिछानेलाई कस्तो सजिलो तरिकाले बाहिर फ्याँकिएको उदाहरण त छँदैछ । आजभोली संसदमा अनैतिक आचरण विरुद्ध आवाज उठाउने ज्ञानेन्द्र शाही पनि शासकको टारगेटमा आउन थालेको छ ।

मधेशी नेताहरुको चरित्र नै परिवर्तन भएपछि मधेश मुद्दा उठाउने जिम्मेवारी अब दोश्रो पुश्तामा सरेको छ । सत्तामोहमा तनिक पनि विचलित नहुने, मधेशको हक अधिकारप्रति समर्पित, क्रान्तिकारी चरित्र बोकेका, परिवर्तनका पक्षधर युवाशक्तिले नै यो कार्यभार पुरा गर्न सक्नेछ । त्याज्य, परित्यक्त चरित्रले न मधेशको मुद्दा सम्बोधन गराउन सक्छ न ठाउँ छोड्न सक्छ ।
२०७९ चैत १० गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!