मधेशले आन्तरिक औपनिवेशिक शोषणबाट मुक्ति पाउन गरेको विद्रोहको सात वर्ष पूरा हुँदैछ । राज्यले शताब्दियौंदेखि गर्दै आएको भेदभाव, थिचोमिचो, दोहन, शोषणको विरुद्धमा तयार भएको परिपक्व राजनीतिक चेतनाले अन्ततः विद्रोहको रुप लियो र मधेश भीषण बगावत गर्यो । मुक्तिकामी मधेशका वीर सपूतहरु शोषणका किल्ला उखेल्दै, स्वतन्त्रताको बिगुल फुक्दै, आततायी राज्यलाई परास्त गर्न छातीमा गोली थाप्दै मधेश आन्दोलनलाई अगाडी बढायो । एकपछि अर्को शहादत दिंदै आन्दोलनलाई उत्कर्षमा पुर्याउने मधेशी युवाको दासताबाट मुक्ति पाउने उन्मादले आखिरकार मधेश आन्दोलनलाई परिणाममुखी बनाएर छाड्यो । २०६३ साल माघ ५ गते लहानमा पहिलो वीर शहिद रमेश महतोले आफनो शहादत दिएर मधेशका वीर सपूतहरुलाई शहादतका लागि उत्साहित गर्यो । त्यसपछि मधेशका वीर सपूतहरुको बलिदानी यात्रा शुभारम्भ भयो । मधेशको बलिदानी आन्दोलनको भयावह रुपको अगाडी सरकारले घुँडा टेक्यो र मधेशको माँग “संघीय लोकतान्त्रिक गणतन्त्र”लाई सम्बोधन गर्न तयार भएपछि मधेश आन्दोलन थामियो । सोही दिनदेखि माघ ५ गतेलाई मधेशले शहिदहरुको सम्झनामा “बलिदानी दिवस” मनाउँदै आएको हो । यो दिन भेदभाव विरुद्ध मधेशी जनताले संगठित रुपमा आवाज उठाउने प्रेरणा दिवसको रुपमा लिएको छ । यो पंक्तिकार “बलिदानी दिवस” को सातौं समारोहको अवसरमा भेदभाव, उत्पीडनबाट मुक्ति दिलाउने प्रेरणाको स्रोत मधेशका तमाम वीर अमर शहीदहरुलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छ ।
मधेश आन्दोलन भेदभावको विरुद्ध राज्यलाई दिएको चुनौती थियो, सशक्त प्रतिकार थियो । यसले मधेशलाई अवसरवादको दलदलबाट निकालेर संघर्षमा होमि दिएको थियो । सम्पूर्ण मधेशलाई एक सूत्रमा जोडनु सहज थिएन, त्यो काम शहादत दिने मधेशका वीर सपूतहरुले गरेर देखाए । आज शहिदको त्यो प्रयास र शहादतलाई मधेशका नेताहरुले एकछिनको औपचारिकतामा सिमित गरि दिएको छ । शहिदको सालिकमा फुल चढाउने र हात जोड्नेबाहेक उनको लगानीबारे शिक्षा दिएर मधेशी युवाहरुलाई मधेशको अधिकार प्राप्तिको दिशामा अग्रसर गराउने कुनै कर्त्तव्य कसैले निर्वाह गरि रहेको छैन । आन्दोलन पश्चात् मधेशको नेतृत्व लिन पुगेका राजनीतिक दलहरु त मधेश आन्दोलनका क्रान्तिकारी धारलाईनै धाराशायी बनाएर मधेशमा व्याप्त रहेको घोर अवसरवादी धारलाई पुनश्च स्थापित गरि दिएको छ । क्रमिक रुपले मधेश आन्दोलनका उपलब्धि गुम्दै गई रहेको पीडा, आन्दोलनले उठाई दिएको स्वाभिमानमाथि निरन्तर भई रहेको प्रहारको वेदना र अवसरवादको कब्जामा रहेको चरित्रले यी सब सह्न बाध्य पारेको अवस्थामा छटपटाई रहेको मधेश यथास्थितिबाहेक अरु कुनै बाटोनै देखि रहेको छैन । राज्यले मधेशी दलहरुकै माध्यमबाट मधेशलाई फेरि अवसरवादको अभेद्य जालोमा समेटी सकेको छ । दोश्रो संविधान सभाको चुनावले यसको पुष्टि गरेको छ ।
शहिदहरुले ज्यान बलिदान गरेर मधेशी नेताहरुलाई अवसर जुराई दिएबापत मधेश आन्दोलनका पीडितहरुको मुद्दालाई समेत उपेक्षा गरि ऋण नतिर्ने कृतघ्न नेताहरु सत्तालिप्सामा यसरी डुबे कि उनको शनैः शनैः विनाश भई रहेको पत्तै भएन । पहिलो संविधान सभामा चौथो शक्तिको रुपमा दम्भित नेताहरु दोश्रो संविधान सभामा मरञ्च्याँसे लुते कुकुर जस्तै सबैको पछाडि उभिन बाध्य भएको छ । वैचारिक दृढता नरहेको अवसरवादी चरित्रका नेताहरुको यही हविगत हुनु थियो भयो ।
मधेश आन्दोलनले के चाहेको थियो, त्यो मर्मको विपरित व्यक्तिगत स्वार्थमा रमाएका मधेशी नेताहरुको व्यवहारले मधेश पछाडि त पर्योनै, आफूहरु पनि पतनको बाटोमा गएको स्पष्ट हुन्छ । मधेश आन्दोलनको उपलब्धि गुमि रहेकोप्रति पाश्चाताप पनि नरहेको अनैतिक, असक्षम नेतृत्वलाई मधेशले थेग्नु परेको बाध्यता छ । मधेशको यही बाध्यताले उनलाई मसीहा बनाई दिएको छ । संविधान सभाको दोश्रो चुनावले मधेशी दलहरुको आकार छोट्याए पनि बढेको महत्वाकाँक्षा घटाउन सकेको छैन । जुआको खालमा “घ” श्रेणीकै लाइसेन्स सही, नेताहरुले प्रवेशाज्ञा पाएको खुशीमा रमाएका छन् ।
मधेश विद्रोह भएको सात वर्ष भयो । मधेशका ज्यूँदा शहीद आन्दोलन पीडितहरुलाई सम्झिने कुनै कार्यक्रम छैन । उनको शरीर र मनमा लागेको घाउलाई सुम्सुम्याएर सहानुभूतिका दुई वचन भन्ने कोही छैन । जसको योगदानमा दर्जनौं मधेशी नेताहरुले शुभलाभ हासिल गरे, उनको दयनीयताले कसैलाई प्रभावित गर्न सकेन । उपेक्षाको घोर अन्धकारमा विलीन भएर वाँची रहेका आन्दोलन पीडितहरुको वेदनायुक्त श्रापले होला मधेशी दलहरु कसैको राम्रो अवस्था छैन । आन्दोलनको सात वर्षमा सबै मधेशी नेताहरुको धनलाभ गर्ने एकसूत्रीय एजेण्डाले देखाएको अनैतिक गतिविधीको निर्ल्लज्जतापूर्ण प्रदर्शनमा मधेश विरक्तिएर कुन बेला यिनीहरुलाई छोड्यो, थाहा पनि छैन ।
मधेश आन्दोलनले मधेशलाई सम्मानपूर्ण रुपमा बाँच्न देखाएको संघर्षको बाटोबाट विमुख गरि मधेशलाई परम्परागत रुपमा चलनमा रहेको चाकडी, चापलुसीमा रह्न बाध्य गरेको कारणले पनि मधेशी नेताहरुको जनाधार समाप्त भएको स्पष्ट हुन्छ । मधेशले मधेशी नेताहरुप्रति पालेको घृणा यस चुनावबाट स्पष्ट गरेको छ । मधेशका राजनीतिक पार्टीहरुले राज्यलाई सहयोग गरि मधेशमा गैर मधेशी पार्टीहरुलाई स्थापित गरेको अपराधलाई मधेश कहिल्यै बिर्सिने छैन । उत्कर्षमा रहेको मधेशको राजनीतिक प्रतिष्ठालाई धुल धुरसित बनाएको अपराध क्षम्य त निश्चय पनि हुन सक्दैन । ढिलो, चाँडो यसको दण्ड मधेशका नेतृत्वले भोग्नै पर्ने अवस्था आउँछ । मधेश आन्दोलनले खडा गरेको राजनीतिक पार्टीहरु मधेश मुक्तिको उद्देश्य बोकेर मधेशलाई नेतृत्व गरेको थियो । पार्टी अध्यक्षहरुले यसलाई नाफा कमाउने व्यापारी प्रतिष्ठान बनाएर अकूत सम्पत्ति कमाउने माध्यम बनाए । राजनीति असक्षमताको यो भन्दा अर्को नमूना के हुन सक्दछ ।
असक्षमताका अरु पनि उदाहरण छन्
चुनावभन्दा पूर्व मधेशका विभाजित पार्टीहरुलाई एकठाउँमा देख्न चाहने मधेशको भावनालाई लत्याएर दोश्रो संविधान सभाको चुनावमा कठोर पराजयको सामना गर्नु परेको मधेशी दलहरु आफनो स्वार्थ विपरित अहिले के प्रयोजनका लागि एकीकरणका असफल अभियान थालेका छन्, चर्चाको विषय बनेको छ । विभाजनमा विश्वास राख्ने मधेशी दलहरुको चारित्रिक विशेषताको विपरित तीनवटा दलहरु (तराई मधेश लोकतान्त्रिक पार्टी, मधेशी जन अधिकार फोरम, नेपाल र सद्भावना पार्टी) घनीभूत रुपमा वार्तामा जुटेका छन् । के कुन परिस्थितिले यिनलाई “बिन बादल बरसात” गराउन अभिप्रेरित गर्यो, सबैमा जिज्ञासाको बिषय बनेको छ ।
विगत संविधान सभामा कमोवेश राज्यको दलाली गर्न सफल अभ्यास गरेका सबै दलहरुको पारस्परिक तिक्तता रहे पनि चरित्र भने समान रुपमा विकसित भएको छ । सबै दलहरुको चारित्रिक समानता भने सामूहिक रुपमा प्रयोग नभई व्यक्तिगत स्वार्थमा प्रयोग भएको देखिन्छ । नितान्त व्यक्तिवादी चरित्र लिएर हिंडेका मधेशका दलहरुमध्ये तीनवटा दलहरु “बेमौसमका राग” अलाप्न लाग्दा सबैमा कौतुहल जाग्नु स्वाभाविक हो । मधेशी जनतालाई “यो विपरित चरित्रका नेताहरु कसरी मिल्न सक्छन्” भन्ने जिज्ञासा छ भने “लौ विभाजनका सबै प्रयासहरु बर्बाद हुने भयो” भन्ने आशंका गैर मधेशी पार्टीहरुमा छ । “बाघ आयो, बाघ आयो” भनेर झुट्टै कराएर सबैको ध्यानाकर्षण गराउने भेंडा चराउने गोठालो जस्तै यो तीन दल पनि एकीकरणको मिथ्या प्रयासमा सबैको ध्यान भने आकर्षित गरेका छन् ।
एकछिन विश्वासमा लिएर बध गर्ने निकृष्ट राजनीतिको खेलमा चुर्लुम्म डुबेका मधेशका नेताहरु यसै खेलका सफल खेलाडी बनेका छन् । यही खेलको पात्र बनाएर अरुलाई समाप्त पारि आफू पनि समाप्त हुने व्यक्तिवादी, नैतिकहीन खेल खेलेर मधेशलाई मुक्ति दिलाउने प्रहसन प्रदर्शन पनि अब उराठ लाग्दो भई सकेको छ । मधेश आन्दोलन पश्चात् थन्किएका मधेशी नेताहरु पुनर्जीवन प्राप्त गरि मधेशलाई अधिकार सम्पन्न गराउने प्रतिबद्धता जाहेर गरे । मधेशले विश्वास गरि ठूलो संख्यामा जनादेश लिएर संविधान सभामा पसेका मधेशी सभासद्हरुलाई राज्यले मधेश विरुद्धनै प्रयोग गरि सिध्याएको छ । आफू जतिसुकै अनैतिक क्रियाकलापमा संलग्न भएपनि मधेश आफू पछाडि हिंड्नै पर्ने विश्वासका साथ बढेका मधेशका दलहरु संविधान सभाको दोश्रो चुनावमा नराम्ररी पराजय भोगे पनि आफूलाई सच्याउने आत्मग्लानीको बोध हुन सकेको छैन ।
आफनै क्रियाकलापबाट मधेशको यस्तो दुरवस्था भएको, विगतमा भएका गल्तीहरुलाई सच्याउँदै मधेशको अधिकार आन्दोलनको दिशामा अग्रसर हुनुको सट्टा उही घृणित खेलको पुनरावृति गर्नु निश्चय पनि यिनीहरुको नेतृत्व क्षमतामा प्रश्न उठाउँदछ । मधेशको अधिकार आन्दोलनको राजनीतिलाई व्यापार बनाएका मधेशका विद्यमान नेतृत्व निश्चय पनि मधेशलाई अधिकार लिने दिशामा अगाडि बढ्न दिंदैन भन्ने कुरा स्पष्ट भई सकेको छ ।
अरु दलहरुलाई छोडेर तीन दलमात्र एकीकरणको वार्तामा आउनु पछाडिका कारणहरु के हुन सक्दछ, यसको बिषयमा पनि मधेशी बुद्धिजीविहरुको विश्लेषण सराहनीय देखिन्छः– (क) यो चुनावमा मधेशी दलहरु छोट्टिएको कारणले राजनीतिक महत्व घटेको अवस्थामा एकीकरणको हल्ला मात्र चलाएर मनोनीत हुने २६ वटा सीटमा बढीसे बढी सीट प्राप्त गरि बेचेर कोटिलाभ हासिल गर्ने नियत (ख) सबै मधेशी दलहरुलाई समान रुपले सीट वितरण गर्न दबाव सृजना गर्ने रणनीति (ग) सहमतीको सरकार बनाउँदा मालदार मन्त्रालय हासिल गर्ने चाहना (घ) एकीकरणको हल्ला उठाएर मधेशका अरु दलहरुलाई नतमस्तक पार्ने अभिप्राय ।
यिनीहरुलाई मसीहा भन्न रोग लागेका केही मधेशी बुद्धिजीविहरुको तर्क भने फरक छ । भारतले यिनीहरुलाई जोड्ने निर्देशन दिए बमोजिम यिनी एक हुन लागेका हुन् भन्ने एकथरिको तर्क छ भने अर्को थरिले भारतसंग उपेन्द्र यादबको सम्बन्ध बन्न नसकेको, उपेन्द्र अलग थलग पर्न गएकोले महन्थ ठाकुर र राजेन्द्र महतोको साथ लिएर भारतसंग सम्बन्ध सुधार्न चाहेको हो भन्छन् । तर दुबै थरिको तर्कलाई उपेन्द्र यादबको “पराश्रित राजनीतिले नेपाली राष्ट्रियतालाई कमजोर बनाएको” भर्खरै आएको अभिव्यक्तिले झूठा साबित गरि दिएको छ । पराश्रित राजनीतिमा विश्वास नगर्ने उपेन्द्र यादबको यो वैचारिक दृढता प्रशंसनीय छ भने राजनीतिलाई अरु जस्तै व्यापार बनाएर धनलाभ गर्ने लिप्साको पराकाष्ठाले निजलाई आलोचनाको पात्र पनि बनाएको छ ।
मधेश आन्दोलनबाट अवसर पाएर दर्जनौं धनाढ्य बन्न पुगेका मधेशका नेताहरुको राजनीतिक स्तर कस्तो छ भन्ने कुरा अब सर्वविदित भई सकेको छ । ५३ वटा शहिद मध्ये १३ वटा अहिले पनि शहिदको दर्जाबाट बञ्चित रह्नु पर्यो । हातखुट्टा काटिएर अपाङ्ग बनेका दर्जनौं युवाहरु मधेशका यी स्वार्थी नेताहरुको उपेक्षाले अन्धकारमा विलीन भएका छन् । सरकारमा बरिष्टता प्राप्त गरेका यी नेताहरु सयकडौं मधेशीमाथिको न मुद्दा हटाउन सक्यो न घाईते, अपाङ्गको राहतनै दिलाउन सक्यो । यी आन्दोलन पीडितकै कारण राजनीतिक प्रतिष्ठा प्राप्त गरेका स्वनामधन्य नेताहरु आज राजनीतिक प्रतिष्ठा गुमाउँदै सानो आकारमा परिणत भएका छन् तर मधेशका सच्चा नेता बन्न सकेका छैनन् । मधेशले विश्वास गरि दिएको प्रतिष्ठालाई कायम राख्न सकेनन् । अहिले सबै मधेशी नेताहरुको चरित्र उदाङ्गिएर आकारमा आएको संकुचन र विश्वासघातका कारण वैकल्पिक मार्ग रोज्न मधेशलाई बाध्य बनाई नेपाली काँग्रेस, एमाले र एमाओवादीलाई नेतृत्व गर्न जिम्मा लगाएपछि अब मधेशी नेताहरुको नेतृत्व गर्न नैतिक दायित्व नरहेको चुनावको माध्यमबाट आएको मधेशको निर्णय स्पष्ट भई सकेको छ । पैसाको बलमा आफूलाई नेतृत्वको भूमिकामा कायम राख्ने मधेशका नेताहरुलाई पनि यसपाली मधेशले ठूलो चेतावनी दिएको छ ।
मधेशलाई अधिकार सम्पन्न गर्न लिएको अख्तियार दुरुपयोग गरि अकूत सम्पत्ति कमाउने नेताहरुको निरंकूश व्यक्तिगत सोचले मधेशको अधिकार आन्दोलनलाई क्षत विक्षत पारि विसर्जनको अवस्थामा पुगेकोप्रति कसैलाई पाश्चाताप छैन । यसबारे गहन छलफल, बहस गरि त्रुटिहरुलाई सच्याउँदै एउटा ठोस रणनीति बनाएर अगाडि बढ्नेबारेको प्रयास थाल्नु आफनो प्रतिष्ठानै जाने सोच लिएका नेताहरुको चिन्तन स्तर कति तलको छ, स्पष्ट हुन्छ ।
मधेशको सातौं बलिदानी दिवसको अवसरमा शहिदहरुको प्रेरणाले विकृत चरित्र र कलंकित अनुहार लिएका नेताहरुमा निस्वार्थ भावले मधेशको चिन्तन आओस्, मेरो शुभकामना छ । यथास्थितिमानै बस्ने मधेशी नेताहरुको जिद्दीपना मूर्खतावश पलाएकोले आफनो अस्तित्व बचाउन यसको अविलम्ब परित्याग आवश्यक छ । होइन भने ओरालो लागेको मृगलाई ‘रामराम’ भने जस्तै मधेशले ‘बाईबाई’ गर्नुको कुनै विकल्प रहँदैन ।
२०७० माघ ३ गते मधेशवाणीमा प्रकाशित
