प्राग इतिहासमा विदेह अर्थात मिथिला – ३ 

(“मधेशवाणीसाप्ताहिकमा प्रकाशित)

          मिथिलाको इतिहास

 

२०६८ श्रावण २० गते

पाँचाल राज्य हालको बरेली, बदायूँ, फर्रुखाबाद, रुहेलखण्डको निकटवर्त्ती जिल्लाहरु तथा उत्तर प्रदेशको मध्यवर्त्ती क्षेत्र सामेल थियो । यस्तो प्रतीत हुन्छ कि पाँचालको पूर्वी सीमा गोमती नदी तथा दक्षिणी सीमा चम्बल नदी थियो । पश्चिममा मथुराको शूरसेन थियो । एक तिरबाट सघन वन सहित गंगा तथा अर्को तिर उत्तर पश्चिमबाट कुरु राज्यले घेरेको थियो । महाभारत अनुसार उत्तरमा गंगोत्रीको समीपवर्त्ती जंगल सम्म पाँचाल राज्यको सीमा थियो । पाँचालको प्राचीन राजधानी काम्पिल्य सम्भवतः बदायूँ र फर्रुखाबादको मध्यमा कम्पिल नामक स्थान थियो । वीरगाथाहरुमा पाँचालको राजवंशलाई भरतवंशको शाखा भनिएको छ । ऋग्वेदमा उल्लेखित दिवोदास, सुदास यसै वंशको राजा थियो । पाँचालको भरतवंशी राजा द्रुपदको कन्या द्रोपदीलाई कुरुवंशी अर्जुनले विवाह गरि लगेका थिए ।

कुरुवंशीसंग पाँचालहरुको वैवाहिक सम्बन्धले धेरै नजिक पारेको थियो भने शत्रुता पनि समानुपातिक रुपमा रहेको महाभारतले उल्लेख गरेको छ । पाँचालको राजा दालभ्य कुरुवंशको राजा उच्चैःश्रवाको भान्जा थियो । महभारतमा यी प्रसिद्ध दुई वंशको पारस्परिक मेल र शत्रुताको चित्रण पाइन्छ । कुरुवंशी राजाहरुले उत्तर पाँचालको क्षेत्रलाई जितेर गुरुलाई सुम्पेको थियो । सम्भवतः यो द्रोण र द्रुपदको कथासंग सम्वन्धित हुन सक्छ ।

बृहदारण्यक उपनिषद अनुसार पाँचालको प्रसिद्ध विद्वान राजा प्रवहण जैबालि विदेहको राजा जनकको समकालीन थिए । प्रवहण जैबालि आफै पनि दर्शनप्रति रुचि राख्ने शौकिन भएकोले विदेहका दार्शनिक राजा जनक महानलाई धेरै आदर गर्दथ्यो । शास्त्रार्थका लागि सधैं जनकको दरवारबाट महापंडितहरु उद्दालक आरुणि, श्वेतकेतु, शिलक शालावत्य तथा चैकितायन दालभ्यलाई आमंत्रित गर्दथ्यो । शिक्षाको आदान प्रदान हुन्थ्यो । राजा जनकको सुयश, कीर्ति उनै विद्वानबाट सुनेर मधुर सम्बन्ध विस्तार भएको थियो ।

धजविहेठ जातक (नं. ३९१) अनुसार काशी राज्य ३०० लीग अथवा १४४० कि.मी. क्षेत्रमा फैलिएको थियो । यसको राजधानी वाराणसी थियो । तण्डुलनालि जातक (नं. ५) अनुसार नगरको चारैतिर ३६ मील लामो दीवार थियो । वाराणसीलाई केतुमती, सुरुन्धन, सुदल्सन, ब्रह्मवद्धन, पुफ्फावती, रम्य तथा मोलिनी पनि भनिन्थ्यो । काशीको, विदेह र कोशलसंग घनिष्ठतम सम्बन्ध पुराणहरुमा पाइन्छ । यो सम्बन्ध राजाहरुमा मात्र सीमित थिएन, यी तिनै राज्यको जनताको पारस्परिक सम्बन्ध प्रगाढ थियो । शाँखायन श्रौत–सूत्रका अनुसार   (१६.२९.५) जनकको समकालीन श्वेतकेतुलाई आफनै जीवनकालमा काशी, विदेह तथा कोशलको पुरोहित बन्ने सौभाग्य प्राप्त भएको थियो । पुराणमा काशीको राजवंशलाई भरतवंशको परम्परागत पूर्वज पुरुरवावंशको एउटा शाखा भनिएको छ । जातकहरुबाट के थाहा पाइन्छ कि काशीका राजाको उत्तराधिकारीको जन्म हुन नसकेका कारण राजवंशमा परिवर्तन भएको पाइन्छ । यहाँका राजा एउटा राजवंशको नभएर केही मगधका केही विदेहका थिए । सत्तुभस्त जातक (नं. ४०२) को अनुसार काशी नरेश एउटा जनकको नाम उल्लेख भएको पाइन्छ । सम्भवतः उत्तराधिकारीको अभावमा विदेहबाट उत्तराधिकारीको रुपमा राजा भएको हुनु पर्दछ । यी राजाहरु मध्ये अनेक राजा ब्रह्मदत्त थियो । ब्रह्मदत्त, जनककै भाँति शासकको नाम नभई उपाधि थियो । मत्स्य पुराण (२७३ः७१) तथा वायु पुराण (९९ः४५४) मा सयौं राजाहरुलाई ब्रह्मदत्त को उपाधि दिइएको उल्लेख छः– शतम वय ब्रह्मदत्तानाम वीराणां कुरुवः शतम ।

विदेहको राजा जनकको समकालीन काशी नरेश अजातशत्रु थियो । यद्यपि अजातशत्रुको वंश परम्परा अज्ञात छ, तर उपनिषदबाट के थाहा हुन्छ भने ऊ उद्दालक आरुणिको समकालीन थियो । दरीमुख जातकका मनोनित राजा मगधको राजकुमार थियो । मातिपोसक जातक    (नं. ४५५) अनुसार विदेह राजवंशको राजकुमारलाई काशी नरेश भनिएको छः– मुत्तोऽम्हि काशीराजेन वैदेहेन यसस्सिनाति । सम्बुल जातक (नं. ५१९) अनुसार काशी नरेश ब्रह्मदत्तको पुत्र सोत्थिसेनलाई विदेह पुत्र भनिएको छः–यो पुत्त कासिराजस्स सोत्थिसेनो ति तम बिदू तस्साहम सम्बुला भरिया एवं जानाहि दानव, वेदेहपुत्तो भद्दन ते बने वसति आतुरो । राजा जनकको समकालीन अजातशत्रु पनि ब्रह्मदत्त रहेको पुष्टि हुन्छ ।

उपनिषदहरुमा अजातशत्रु तथा राजा जनक दरबारका पंडित गार्ग्य बालाकिसंग शास्त्रार्थको उल्लेख पाइन्छ । दार्शनिक राजा जनक महानको ख्याति तथा कीर्तिबाट काशी नरेश अजातशत्रु इर्ष्या गर्दथ्यो । राजा जनकसंगको शत्रुताको अरु कुनै प्रमाण पुराणमा भेटिदैन । बृहदारण्यक उपनिषद (३ः८ः२) अनुसार यथा कास्यो वा वैदेहो वा उग्रपुत्र उज्ज्यम धनुर–अधिज्यं कृत्वा धी वाण्वन्तौ सपत्नातिव्याधिनौ हस्ते कृत्वोपतिष्ठेद । यस कथनबाट काशी र विदेहको योद्धाहरुमा यदाकदा भएको संघर्षको संकेत मिल्दछ । महाभारत (१२, ९९, १ः२) अनुसार एउटा प्राचीन कथामा तथा रामायणको (अ.७, ४८ः१५) अनुसार काशी नरेश प्रतर्दन तथा विदेहको राजा जनकमा संघर्ष चलेको थियो ।

कोशल राज्यसंग विदेहको आन्तरिक सम्बन्धको चर्चा उपनिषदहरुमा पाइन्छ । कोशल राज्य गोमती नदीको पूर्व, सर्पिका वा स्यन्दिका अर्थात सई नदी भन्दा उत्तर, विदेह र कोशललाई छुटयाउने सदानीराभन्दा पश्चिम तथा नेपालको पहाडि भागभन्दा दक्षिणमा अवस्थित थियो । राजा जनकको कालमा कोशलको राजधानी अयोध्या थियो । यो नगर सरयू नदीको किनारमा बसेको थियो । यो क्षेत्र १२ योजनमा फैलिएको वर्णन पाइन्छ । ऋग्वेदमा पनि सरयू नदीको उल्लेख भएको छ, जहाँ आर्य नगरी बसेको थियो । राजा जनकको कालमा इक्ष्वाकु वंशको दशरथ अयोध्याको राजा थियो, जसको ज्येष्ठ सुपुत्र रामले जनक नन्दिनी सीतालाई विवाह गरेर अयोध्या लगेको थियो । कोशल सम्भवतः जनकको पुरोहित अश्वलको जन्मभूमी थियो ।

कोशलको राजाहरुको पूर्वज इक्ष्वाकु थियो । इक्ष्वाकुको वंशज कुशीनारा, मिथिला तथा वैशालीमा राज्य गर्दथ्यो । कुश जातक (नं. ५३१) अनुसार आभूषि राजा इक्ष्वाकु बाराणस्याम महाबलो ।अर्थात इक्ष्वाकु काशीको राजधानी बाराणसीको महा पराक्रमी राजा थियो । कोशलको प्राचीन राजा हिरण्यनाभ, जसलाई बौद्ध परम्परामा महाकोशल भनिएको छ, लाई वैदिक साहित्यमा विदेह र कोशल दुबै भनिन्थ्यो । यस विवरण अनुसार हिरण्यनाभ नै महाकोशलको रुपमा ठहर्छ, किनभने बौद्ध साहित्यमा महाकोशलकी पुत्री तथा अजातशत्रुको मातालाई कोशल देवी र वैदेही भनिएको छ ।

राजा जनकको कालमा कोशलसंगको भावनात्मक निकटताको सम्बन्ध माधुर्यपूर्ण थियो । यो सम्बन्ध जनक पुत्री सीताले कायम गरेकी थिई । दुबै राज्यको निकटतम सम्बन्धको संस्कृतिको आदर्श यस्तो चिरस्थाई भयो, जो आज सम्म अयोध्या र जनकपुरबीच कायम रहेको छ । जनकपुरको ऐतिहासिक जानकी विवाह पंचमीमा अयोध्याबाट आउने जन्तीका साथ भव्य रुपले मनाइने तथा हर्षोल्लासका साथ सम्पन्न गरिने वैवाहिक संस्कारले इतिहासमा कायम गरिएको सम्बन्धलाई याद गराउँदछ । सीताले अयोध्यामा मात्र होइन, नेपाल, भारत तथा श्रीलंकामा समेत पातिव्रत्य धर्म, कर्त्तव्य परायणता, सतीत्व र नारी स्वाभिमानको जुन आदर्श कायम गरयो, त्यसैको स्मरणमा कायम यो सम्बन्ध आज सम्म चलि रहेको तथ्य हो ।

Leave a Comment

error: Content is protected !!