प्राग इतिहासमा विदेह अर्थात मिथिला – ४ 

(“मधेशवाणीसाप्ताहिकमा प्रकाशित)

          मिथिलाको इतिहास

२०६८ श्रावण २७ गते

विदेहका राजा जनक महानको दरवारमा विद्वानहरु बीचको शास्त्रार्थ उपनिषदहरुमा उल्लेख गरिएको पाइन्छ । (बृहदा।रण्यक २ अ. ६ ब्राह्मण) अनुसार राजा जनकले एउटा विशाल यज्ञ गरयो । त्यस यज्ञमा टाढा टाढा सम्मका ब्राह्मणलाई बोलाइयो । ब्रह्मज्ञानी ब्राह्मणको परख गर्नका लागि उनले दानमा दिइने गायहरुको सिंघमा दश दश सुवर्ण मुद्रा बाँधेर भने– “तपाईंहरु मध्ये जो सर्वोत्तम ब्रह्मज्ञानी छ, यी गाईहरु आफूसंग लै जानुस ।” सबै ब्राह्मण चुपचाप लागे । याज्ञवल्क्यले आफनो एउटा ब्रह्मचारीलाई आदेश दिंदै भन्यो – “सौम्य सामश्रवा ! दानमा पाएको यो गाई लिएर हिड ।” ब्राह्मणहरु क्रुद्ध भएर भन्यो– “को आफूलाई हामी भन्दा अतिशय ब्रह्मवित भन्छ ?” विदेहको त्यो राजा अश्वल थियो । उनले याज्ञवल्क्यलाई सोध्यो – “के तिमी निश्चय ब्रह्मज्ञानी हौ ?” याज्ञवल्क्यले स्वीकारोक्ति दियो । राजा अश्वलले नमस्कार गर्दै आफना प्रश्न सोधि रह्यो र याज्ञवल्क्यले क्रमिक रुपमा उत्तर दिंदै गयो । तब राजा सन्तुष्ट भयो । जारत्कारव आर्त्तभागले प्रश्न गरयो – “जब प्रकृतिको सबै तत्वमा शरीर मिल्छ, तब पुरुष कसरी जन्म लिन्छ ?” याज्ञवल्क्यले भन्यो – “यसको उत्तर तिमी जनसमूहमा बुझन सक्दैनौ, एकान्तमा आऊ, म भन्छु ।” याज्ञवल्क्यको उत्तर पाएर ऊ पनि सन्तुष्ट भयो । त्सपछि भुज्यु लह्यायनिले सोध्यो – “एकपल्ट म मद्रप्रान्त विचरण गर्दै पतंचलको घरमा पुगें । पत्रचलकी कन्या गंधर्व गृहीता थिई । मैले गंधर्वलाई सोधें– तिमी को हो ? उसले आफूलाई आंगिरस गोत्रको सुधन्वा हूँ भन्यो । मैले उसलाई सोधेको थिएँ– भन्नुस, परिक्षित कहाँ गए होलान ? त्यही प्रश्न म तिमीसंग सोध्छु – हे याज्ञवल्क्य ! परिक्षित कहाँ गए ?” याज्ञवल्क्यले भन्यो – “ उनी त्यहाँ गए, जहाँ अश्वमेध याजी जान्छन ।” भुज्यू लह्यायनिले सोध्यो– “अश्वमेध याजी कहाँ गए ?” उत्तर विस्तार गर्दै याज्ञवल्क्यले भन्यो–“ सूर्यको चक्र देवरथ हो । एक अहोरात्रको नाम देवरथाह्नय हो । यो लोक बत्तीस देवरथाह्नय हो । उसको चारैतिर दुई गुणा पृथ्वी र दुई गुणा समुद्र छ । फेरि पृथ्वी र समुद्रको बीचमा उस्तुराको धार भन्दा पनि पातलो आकाश छ । इन्द्रले सुपर्ण भएर उनलाई वायुप्रति समर्पित गरि दियो । वायु उनलाई धारण गरेर त्यहाँ लग्यो, जहाँ अश्वमेध याजी बस्छन ।” भुज्यु लह्यायनि सन्तुष्ट भयो । त्यसपछि उषस्ति चक्रायण तथा कुषितकि पुत्र कहोलले आफनो प्रश्नको उत्तर पाएर चुप लागे । तदनंतर वाचक्नवी गार्गीले सोध्यो– “सबै पार्थिव जलमा ओतप्रोत छ, जल केमा ओतप्रोत छ ?” याज्ञवल्क्यले भन्यो – “त्यो वायुमा ।” वाचक्नवी गार्गीले त्यो केमा, त्यो केमा सोध्दै गई र याज्ञवल्क्यले क्रमिक रुपले अन्तरिक्ष लोकमा, गंधर्व लोकमा, आदित्य लोकमा, चन्द्र लोकमा, नक्षत्र लोकमा, देव लोकमा, इन्द्र लोकमा, प्रजापति लोकमा, ब्रह्मलोकमा, भन्दै जाँदा पनि गार्गीको त्यो केमाको पुनरावृति हुँदै रहँदा याज्ञवल्क्यले भन्यो – “गार्गी, तिमी अति न सोध, धेरै सोध्दा तिम्रो सिर तल खस्छ । तिम्रो बुद्धि भ्रममा पर्न सक्छ । निश्चय पनि तिमी अनति जानने देवताको बारेमा सोधि रहेकी छयौ । अति नसोध ।” तब वाचक्नवी चुप लागि ।

उद्दालक आरुणिले पनि आफनो जिज्ञासा राख्यो – “एकपल्ट हामी विद्यार्थीहरु मद्रप्रान्त पतंचल काप्यको घरमा पुगें । पतंचल काप्यकी भार्या गंधर्व गृहीता थिई । उसले काप्यसंग, मसंग सोधिन, जसबाट लोक परलोक सर्वभूत संग्रथित छ, त्यो सूत्र के हो ? हामीले त्यो भार्याको प्रश्नको जवाफ दिन सकेनौ । त्यही प्रश्न तिमीलाई सोध्छु ।” याज्ञवल्क्यले भन्यो – “त्यो वायु हो ।” उद्दालक आरुणिले सविस्तार वर्णन गर्न भन्यो । आरुण्किो जिज्ञासालाई याज्ञवल्क्यले सविस्तार वर्णन गरेपछि उः चुप लाग्यो । वाचक्नवी गार्गीले भनिन– “पूज्य ब्राह्मणहरु ! अब म याज्ञवल्क्यलाई दुइटा प्रश्न सोध्छु । यदि यसले उत्तर दियो भने तिमीहरु भन्दा बढि ब्रह्मज्ञानी ठहरिन्छ र स्वर्ण जडित गाईहरुमाथि यसैको अधिकार हुन्छ । ” याज्ञवल्क्यले गार्गीलाई प्रश्न सोध्न भन्यो । वाचक्नवी गार्गीले सोधिन – “द्युलोक भन्दा माथि, पृथ्वी भन्दा तल, द्युलोक पृथ्वीको मध्य भूत, वर्तमान र भविष्यत जो छ, त्यो केमा ओतप्रोत छ ?” याज्ञवल्क्यले भन्यो – “आकाशमा ।” गार्गी प्रसन्न हुँदै अर्को प्रश्न गरिन– “आकाश केमा छ ?” याज्ञवल्क्यले भन्यो– “त्यो अक्षरमा, अस्थूल, अनणु, अह्रस्व, अदीर्घ, नरातो, नमुलायम, छायारहित, अंधकारहीन, अवायु, आकाशरहित, असंग, रसहीन, गन्ध, नेत्र, श्रोत, वाणी, मन, अग्निभाव, प्राण, मुख, परिमाणरहित, अन्तररहित, बाह्यरहित छ । त्यो केही खाँदैन । उसैको आज्ञामा सबैकुरा नियमित छ । जो उसलाई नजानेर मर्छ, ऊ दीन हो । जो उरलाई जानेर, अराधना गरेर मर्छ, mए ब्राह्मण हो ।” आफनो प्रश्नको उत्तर सुनेर सन्तुष्ट हुँदै गार्गीले भनिन– “हे ब्राह्मणहरु ! तिमीहरुमा कोई पनि यो ब्रह्मवेत्तालाई जित्न सक्दैन ।”

शाकल्य विदग्धले पनि प्रश्न गरयो– “हे याज्ञवल्क्य ! देव कति छन ?” याज्ञवल्क्यले उत्तर दियो– “तीन, तीन सय र तीन सहस्त्र ।” शाकल्य विदग्धले देव कति छन भन्ने प्रश्नको पुनरावृति गर्दै गयो । याज्ञवल्क्य क्रमिक रुपले जवाफ दियो– “तीन र तीस, छ, तीन, दुई, अध्मर्द्ध, एक ।” शाकल्यले फेरि सोध्यो– “तीन, तीन सय र तीन हजार देव को हुन ?” याज्ञवल्क्यले विस्तारपूर्वक सम्झायो । शाकल्य विदग्ध खुशी भयो । उसले अर्को जिज्ञासा राख्यो– “इन्द्र र प्रजापति को हुन ?” याज्ञवल्क्यले भन्यो– “ गर्जने बादल इन्द्र हो, यज्ञ प्रजापति हो ।” शाक०– “को गर्जन्छ ?” याज्ञ०– विजुली । शाक०– यज्ञ को हुन ? याज्ञ०– यज्ञ पशु हो । शाक०– एकदेव को हुन ? याज्ञ०– ब्रह्म हो । शाक०– जलको देवता को हुन ? याज्ञ०– वरुण हो । शाक०– रेतस घर हो, उत्पत्ति हो, हृदय हो, हृलयलोक हो, मन ज्योति हो, त्यो के हो ? याज्ञ०– सन्तान हो । शाक०– दक्षिणमा कुन देवता हो ? याज्ञ०– यम । शाक०– त्यो केमा प्रतिष्ठित छ ? याज्ञ०– यज्ञमा । शाक०– यज्ञ केमा ? याज्ञ०– दक्षिणामा । शाक०– त्यो केमा ? याज्ञ०– श्रद्धामा । शाक०– त्यो केमा ? याज्ञ०– हृदयमा । अन्तमा शाकल्य विदग्ध हार मानेर चुप लाग्यो ।

बृहदारण्यकोपनिषद ३ अ. १–९ बांह्मण अनुसार एकपल्ट राजा जनक दरबारमा बसेको बेला याज्ञवल्क्य आई पुग्यो । राजाले सोध्यो– याज्ञवल्क्य ! पशु चाहिन्छ वा सूक्ष्म सिद्धान्त ? याज्ञवल्क्यले जवाफ दियो– दुबै सम्राट । जनक– मलाई जित्वा शैलिनिले भन्यो, बाणी ब्रह्म हो । याज्ञ०– उनको स्थान र प्रतिष्ठा पनि भन्यो । जनक– भनेन, त्यो तिमी भन । याज्ञ०– शक्ति र आकाश । जनक– म तिमीलाई हाथी, वृषभ सहस्त्र गाई दिन्छु । याज्ञ०– मेरो पिताजीले भन्नु भएको छ, अधुरो उपदेश दिएर दक्षिणा नलिन । जनक– मलाई शौल्वायन उदङ्कले भन्यो, प्राण नै ब्रह्म हो । याज्ञ०– स्थान र प्रतिष्ठा भनेन ? जनक– त्यो तिमी भन । याज्ञ०– पवन र आकाश । जनक– म तिमीलाई हाथी, बैल र गाई दिन्छु । याज्ञ०– अहिले होइन । जनक– मलाई वार्ष्ण बर्कुले भन्यो, आँखा नै ब्रह्म हो । याज्ञ०– स्थान र प्रतिष्ठा ? जनक– होइन, तिमी भन । याज्ञ०– दृष्टि र आकाश । जनक– मलाई भारद्वाज गर्दभीपीतले भन्यो, श्रोत्र नै ब्रह्म हो । याज्ञ०– श्रोत्र स्थान हो, आकाश प्रतिष्ठा । जनक– सत्यकाम जाबालले भन्यो, मन नै ब्रह्म हो । याज्ञ०– मन स्थान हो, आकाश प्रतिष्ठा । जनक– शाकल्य विदग्धले भन्यो, हृदय नै ब्रह्म हो । याज्ञ०– हृदय स्थान हो आकाश प्रतिष्ठा । यसरी जनक र याज्ञवल्क्यबीच ब्रह्मज्ञान बारेको शास्त्रार्थ उपनिषदहरुमा सुरक्षित छ । याज्ञवल्क्य त्यसबेलाका प्रबुद्ध मेधा थियो । याज्ञवल्कयको मैत्रेयी ब्रह्मवादिनी र कात्यायनी स्त्रीप्रज्ञा, दुईवटी स्त्री थिई (बृहदा।ण्यक ४. ५. १–२.) ।

विदेहका राजवंशावली

(क) जनकवंश

विदेहका राजा जनक (शिरध्वज)को शासनकालको तिथि स्पष्ट उल्लेख छैन । मगध नरेश अजातशत्रु राजा जनकको समकालीन रहेकोले डा० हेमचन्द्र रायचौधरीले आफनो पुस्तक प्राचीन भारतका राजनैतिक इतिहास, पृष्ठ १६९मा अजातशत्रुको राज्याभिषेक ४९३ ई० पू० भएको स्पष्ट गर्नु भएको छ । सोही पुस्तकको पृष्ठ १६०मा भनिएको छ–“अजातशत्रु को शासनकालमा बौद्ध धर्मको प्रवर्तक महात्मा बुद्ध तथा जैन धर्मको प्रवर्तक महावीरको निर्वाण प्राप्त भएको थियो ।” महावीर जैनको निर्वाणकाल ५२७ ई० पू० र महात्मा बुद्धको निर्वाण ४८६ ई० पू० भएको थियो (सोही पृष्ठ १६९) । दुबैको निर्वाण तिथिमा ४१ वर्षको फरक भएपनि मिथ्या भने लाग्दैन । भनिन्छ, मगधका राजा बिम्बिसारको शासनकालमा राज्याभिषेक भन्दापूर्व त्यहाँको शासनमा अजातशत्रुको राम्रो दखल भै सकेको थियो । कोशल राजकुमार विडूडभ जस्तै अजातशत्रुले आफनो पिता बिम्बिसारको हत्या गरेर राजगद्दी कब्जा गरेको थियो । त्यसैले अजातशत्रुले बुद्ध र महावीरको निर्वाणको साक्षी रहेको कुरा विश्वसनीय नै ठहर्छ ।

राजा शिरध्वज जनकको तिथि ५०० ई० पू० राख्दा अनुचित नहोला । जनकवंशको संस्थापकको तिथि निश्चय पनि यो समय भन्दा पूर्व हुनु पर्दछ । पुराण अनुसार विदेहमा जनकवंशको २८ राजाले शासन गर्‍यो । तर जातकमा जनकवंशको १५ राजाको उल्लेख छ । १५ राजालाई मानेर प्रत्येक राजाको कार्यकाल २५ वर्षको हिसाबले ३७५ वर्ष हुन्छ । अर्थात जनकवंशको संस्थापक निमि वा विदेघ माथवले ८०० ई० पू० स्थापना गरेको थियो । जनकवंशका अन्तिम राजा कराल (महाभारतका कलार) थियो जसको साथै जनकवंशको अन्त भई विदेहमा गणतन्त्रको स्थापना भयो । तर रामायणले जनकवंशको अन्तिम राजा कृतिलाई मानेको छ । रामायणले मिथिलामा जनकवंशको स्थापना राजा निमिले गरेको स्वीकार्दछ । निमिको पुत्र मिथि थियो र मिथिको पुत्रलाई जनक प्रथम भनिएको छ । रामायणको जनक शिरध्वज, सीताको पितालाई जनक द्वितीय भनिएको छ । मज्झिम निकाय (२, ७४–८३)तथा निमि जातक अनुसार मखादेव मिथिला राजवंशको पूर्व पुरुष भनेको छ । जनकवंशको अन्तिम राजा कलार पछि पनि चम्पारणका एक शाखाले विदेहमा धेरै दिन सम्म राज्य गरेको प्रमाण इतिहासमा पाइन्छ । यसबाट के प्रमाणित हुन्छ भने कराल पछि पनि विदेहमा राजतन्त्र धेरै दिन सम्म यथावत रह्यो । कलार र कृतिलाई अन्तिम राजाको रुपमा देखाईएको छ, सम्भवतः कराल नै कृति हो, कृति नै कराल ।

(ख) नन्दवंश (३४५ ई०)

पुराण अनुसार विदेहमा नन्दवंशले शासन गरेको कुरा उल्लेख छ । मगधमा ३४५ ई० पू० शिशुनागवंशलाई गद्दीबाट पदच्यूत गरेर नन्दवंश सिंहासनमा बस्यो । पुराणमा महापदम नन्दवंशको पहिलो राजा हो । महापदमले सबै क्षत्रियलाई समाप्त गरेर एकछत्र राज्य स्थापित गरेको थियो । महापदमलाई सर्वक्षत्रान्तक भनिएको छ । आफनो राज्य विस्तारको क्रममा महापदमले समकालीन राज्यहरु कोशल, पंचाल, काशी हैहय, कलिंग, अश्मक , कुरु, विदेह, शूरसेन तथा वीतिहोत्र आदिलाई परास्त गरि आफनो अधीनमा पार्‍यो । मिथिलालाई मगध राज्यको अधीनमा पारे पनि मिथिलाको साँस्कृतिक परम्परा भने यथावत नै रह्यो । ३२६ ई० पू० सिकन्दर र नवयुवक चन्द्रगुप्तको समकालीन मगधमा नन्दवंशको उग्रसेन नामक राजा थियो । नन्दवंशको शासनबारे वायु पुराणले २८ वर्ष भनेको छ भने सिंहली अभिलेख अनुसार २२ वर्ष मात्र रह्यो ।

उपरोक्त राज्यहरुलाई अधीनस्थ गरे पनि मिथिला जस्तै अरु राज्यहरुको आफनो मौलिक साँस्कृतिक परम्परामा नन्दवंशले खासै प्रभाव पार्न सकेन । नन्दवंशको प्रत्यक्ष शासनको प्रभावको अभावमा यहाँ आफनो उत्तराधिकारी छोडन सकेन । अप्रत्यक्ष शासन रहे पनि नन्दवंशको मिथिलामा कुनै उत्तराधिकारी पुराणमा पाइँदैन । तसर्थ नाममात्रको नन्दवंश मिथिलामा उपस्थित रहेको प्रतीत हुन्छ ।

जेनोफेन (३५५ ई० पू०) ले आफनो कृति साइरोपीडियामा “भारतीय राजा धेरै धनी हुन्छ” भनेको छ । नन्द राजालाई संस्कृत, तमिल, सिंघली तथा चीनी भाषाका पौराणिक ग्रन्थहरुमा अत्यधिक धनी भनिएको छ । कथा सरितसागरमा उल्लेख छ– उग्रसेनको कान्छा पुत्र धनानन्दलाई धन एकत्र गर्ने बानी थियो । उसंग ९९ करोड सुनको सील थियो (पृ.२१) । सिकन्दरकालमा नन्द राजासंग २ लाख पैदलसेना, २० हजार घोडसवार, ४ हजार हाथी तथा २ हजार रथसवार थियो । नन्दवंशले राज्य विस्तार गरि एउटा साम्राज्य स्थापित गरेको थियो । कलिंगमा सिंचाई योजना स्थापना गरेको नन्दवंश कै देन थियो । उनले आफनो प्रसिद्धिका लागि अनेक सुधारका कामहरु प्नि गरे । गोदावरीको किनारमा नौ–नन्द–देहरा नामको एउटा नगरको स्थापना गरेको थियो, यसबाट के प्रतीत हुन्छ भने दक्षिण भारतका धेरै जसोभाग नन्द राजाले आफनो अधिकारमा लिएको थियो ।

Leave a Comment

error: Content is protected !!