प्राग इतिहासमा विदेह अर्थात मिथिला – ५

(“मधेशवाणीसाप्ताहिकमा प्रकाशित)

          मिथिलाको इतिहास

२०६८ भाद्र ९ गते

जनक राजवंशको अन्त पश्चात स्थिर राजवंश तथा स्थिर शासन प्रणालीको सर्वथा अभाव देखिन्छ । जनकवंशको राजतन्त्रात्मक प्रणालीको अन्त पछि बज्जि गणतन्त्र को उदय भयो । बज्जि गणतन्त्रमा समावेश भएपछि विदेहमा गणतन्त्रको स्थापना भयो । पपंचसुदिनी (अ. २ पृ. १९)बज्जिसंघमा मल्ल, विदेह, उग्र, भोग, इक्ष्वाकु, ज्ञात्रिक, लिच्छवी र बज्जि थियो । बज्जिसंघ गणतन्त्रात्मक प्रणालीमा आधारित थियो । मगध साम्रज्यको उत्थान हुन लाग्दा आफनो पिताको हत्या गरि सिंहासनारुढ अजातशत्रु विदेहको राजा जनक महानको प्रसिद्धिसंग इर्ष्या राख्थ्यो । आफनो साम्राज्य कायम गर्ने अभिलाषामा अजातशत्रु विदेह, काशी, कोशल, वैशाली, बज्जि, दक्षिणमा अवन्तीमाथि बक्रदृष्टि राखेको थियो । महापरिनिब्बान सुत्तन्त अनुसार अजातशत्रुले भन्यो– “बज्जि जतिसुकै ताकतवर भएपनि म बज्जिहरुलाई उन्मूलन गरि दिन्छु । म यसलाई उखाडेर नेस्तनाबूद गरि छाडछु ।” निरयावली सूत्र अनुसार अजातशत्रुले वैशालीको चेटकमाथि आक्रमणको पूरा तयारी गरेपछि चेटकले लिच्छवी, मल्ल, काशी कोशल लगायत १८ गणराज्यहरुलाई आह्वान गरि भन्यो– “तपाईंहरु या त अजातशत्रुको अभिलाषा पूर्ण गर्नोस होइन भने अजातशत्रुको विरुद्ध संयुक्त रुपमा युद्धको तयारी गर्नोस ।” यस प्रकार साम्रज्य कायम गर्न युद्धोन्मादमा रहेको अजातशत्रु कालान्तरमा सबैलाई परास्त गरि मगध साम्राज्य कायम गर्‍यो ।

नन्दवंश (३४५ ई० पू०) पश्चात मिथिलाको स्थिति अन्धकारयुक्त देखिन्छ । सम्भवतः या त मिथिला अरु राज्यको अधीनमा थियो वा फिरन्ते अल्पकालीन शासकको अधिन थियो, जसको बारेमा इतिहास मौन देखिन्छ । नन्दवंश पश्चात ९८६ वर्षको अन्तरालमा ६४१ ई० मा मिथिलामा हर्षवर्द्धनको शासन कायम रहेको प्रमाण इतिहासमा पाइन्छ । मैले यस अघि उल्लेख गरि सकेको छु कि मिथिलामा पछिका दिनमा कुनै वंशको स्थायी सत्ताको प्रमाण भने पाइदैन । हर्षवर्द्धनको मृत्यु पश्चात उनका राज्यपाल अरुणाश्व (अर्जुन) मिथिलाको शासक बन्यो । चिनीयात्री वाँग मिथिला आउँदा अरुणाश्वले अनादरपूर्वक धपाएको प्रतिशोध लिन वाँगले तिब्बत, कामरुपका भास्करवर्मन तथा नेपालका लिच्छिवी शासकको सहयोगमा तिरहूतमाथि आक्रमण गरि अरुणाश्व सपरिवारलाई बन्दी बनाई चीन लग्यो । चीनमै उसको मृत्यु भयो । यो घटना ६४८ ई० मा भएको थियो र नेपालमा लिच्छिवीहरुको शासन कायम थियो । अरुणाश्वको अन्त पछि मिथिलामाथि तिब्बतको अधिपत्य कायम भयो । ६४८ देखि ७०३ ई० सम्म अर्थात ५५ वर्षको तिब्बती शासनलाई पश्चिमबाट आएका उत्तरगुप्तवंशका जीवगुप्तले आक्रमण गरि पूर्वी भारतलाई आफनो अधीनमा पार्‍यो र यसरी मिथिलामाथिको तिब्बती प्रभावलाई समाप्त पारयो ।

चन्द्रवंश (७५० ई०)ः लामा तारनाथको विवरण अनुसार मिथिलामा चन्द्रवंशको शासन थियो जसको सम्बन्ध पश्चिमा राजा भोजसंग थियो । ७५०–१००० ई० सम्म चन्द्रवंशको शासन पश्चात मिथिलामा पालवंशको उदय भयो । चन्द्रवंशीय शासकहरुको अदुर्दर्शिता, सिमित व्यक्तिहरुको महत्व र जनताप्रतिको उदासीनताले राज्यमा अराजक स्थितिको सृजना भयो र चन्द्रवंशी शासकको अन्त भयो ।

गोपाल वा पालवंश (१००० ई०)ः राज्यमा शासक विहिनताले अराजकताको बृद्धि हुँदै जाँदा जनताले नै सर्वसम्मतीबाट एक जना गोपाल नाम गरेको व्यक्तिलाई राज्याभिषेक गर्‍यो र यहींबाट पालवंशको स्थापना भयो । खलीमपुरको अभिलेख तथा तारनाथको विवरणबाट तिरहूतमा पालवंशको शासन थियो भन्ने कुराको पुष्टि हुन्छ ।

गोपालको पुत्र धर्मपाल जसलाई इतिहासले पालवंशको संस्थापक पनि भनेको छ, ले उत्तर भारत खासगरि कन्नौजमाथि आधिपत्य जमाउन राष्ट्रकूट तथा दक्षिणमा प्रतिहार वंशसंग युद्ध गरेको थियो । राज्य विस्तारको क्रममा धर्मपालले पश्चिम कन्नौजदेखि पूर्व कामरुप, दक्षिणमा मुँगेर नजिक प्रतिहार शासक नागभट्ट द्वितीयलाई परास्त गरि उत्तरमा बागमती नजिक रहेको गोकर्ण (लिच्छिवी राजाको राजधानी) सम्म राज्यसीमा विस्तार गरेको थियो । कल्हणको राजतरंगिणी अनुसार धर्मपालले पश्चिममा पंजाब, पूर्वमा कामरुप, उत्तरमा हिमाल र दक्षिणमा मध्यभारत सम्म राज्य विस्तार गरेको थियो । धर्मपाल पछि देवपाल राजा भयो । यसले हिमालदेखि विन्ध्य पर्वत सम्म राज्य विस्तार गर्‍यो ।

देवपाल पछि महिपालले पश्चिम कन्नौजको यशोवर्द्धन र दक्षिणको चन्देल प्रतिहारको आक्रमणबाट जीर्ण भईरहेको पालवंशीय साम्रज्यलाई श्रृंखलाबद्ध गर्ने प्रयास गर्‍यो । गण्डकी सम्म आफनो प्रभाव विस्तार गर्दै आई रहेका कलचूरीसंग महिपालको संघर्ष भई रहन्थ्यो । आफनो पतनकालमा पालवंशीय राजाहरु तिरभुक्तिलाई राजधानी बनाई त्यहींबाट मिथिलामा शासन गर्दथ्यो । महिपाल पछिविग्रहपाल पनि कलचूरीसंग संघर्ष गरि नै रह्यो । अतीश दिपंकरले विग्रहपाल र कलचूरी बीच वैवाहिक सम्बन्ध कायम गराएर शत्रुता समाप्त पारेको थियो । यो सन्धिलाई कपाल सन्धि भनिएको छ । स्वयंभू पुराणले धर्मपाल नेपालको राजगद्दीमा बस्यो भनेको छ ।

कर्णाटवंश (१०९७ ई०)ः

कर्णाटवंशीयहरुको सम्बन्ध कर्णाटकसंग रहेको इतिहासकारहरुले स्वीकारेका छन । फिरन्ते राजाहरु उत्तरभारतका राजाहरुको कमी कमजोरीको फाइदा उठाउँदै दक्षिण र पश्चिमतिरबाट आफनो प्रभाव बढाउँदै आए । दक्षिणबाट राजेन्द्र चोलसंगै उनका सैनिकहरु कुनैबेला गंगाको मैदानतिर आक्रमण गर्न आएका थिए । यिनीहरु कर्णाट थिए । धेरै जसो सैनिक तथा अन्य कर्णाहरु यस क्षेत्रमा बसोबास गरे । कालान्तरमा यही कर्णाटवंशीहरु सैन्य तयारी गरि मिथिलामा विग्रहपालवंशको पतनावस्थाबाट फायदा उठाएर मिथिलामा आफनो वर्चस्व कायम गरयो । कर्णाटवंशका संस्थापक नान्यदेव थिए ।

इतिहासकार हेमचन्द्र राय चौधरीका अनुसार मुँगेरको देवपालको ताम्रपत्रमा नान्यदेव लाई कर्णाट क्षत्रिय कुलभूषण तथा बँगालको सेनवंशलाई कर्णाट क्षत्रिय कुल शिरोमणी भनिएको छ । कर्णाटवंशको एउटा शाखा बँगालमा शासन गर्दथ्यो, यस्तो प्रतीत हुन्छ । मिथिला र बँगालको रीतिथिति, धर्म, रहनसहन, लिपी, भाषा, संस्कृतिमा धेरै समानता हुनुको कारण पनि कर्णाटवंशी राजाहरुको आपसी मित्रतापूर्ण सम्बन्ध नै होला । यही कर्णाटवंशको अन्तिममा हरिसिंह देवको कालमा मिथिलाका कवि शिरोमणी विद्यापति भएका थिए, जसमाथि यदाकदा बँगालको दावा हुने गर्दथ्यो । यसबाट पनि बँगाल र मिथिलाको धेरै गहिरो सम्बन्ध स्पष्ट हुन्छ । मिथिला लिपी र बँगाली लिपीको अधिकाधिक समानता पनि ठोस प्रमाणको रुपमा उभिएको छ ।

नेपाली परम्परा तथा वंशावलीमा नान्यदेवलाई कर्णाटवंशी क्षत्रिय भनिएको छ । नान्यदेवले मिथिलाको राजधानी सिम्रौनगढ बनाएको थियो । नान्यदेवले भरत नाटयशास्त्रमा आफनो एउटा टीका लेखेका थिए, जसमा उनले आफूलाई नान्यपति, नान्य, महासामन्ताधिपति, धर्मावलोक, धर्माधार भूपति, मिथिलेश र कर्णाट कुलभूषण भनेका छन । सिम्रोनगढबाट प्राप्त एउटा श्लोक नन्देन्दु विन्दु विधु सम्मितशाकवर्षै, सच्छ्रविणे सितदले मुनिसिद्धितिथ्याम । स्वा(ती) तौ शनैश्चर दिन करिवैर लग्ने, श्री नान्यदेव नृपतिर्व्यदधीत वास्तुम । अनुसार स्वाती नक्षत्र, शनिवार (श्रावण सप्तमी) का दिन नान्यदेव मिथिलाका राजा भयो । भादगाँउका राजा जगज्योति मल्लद्वारा रचित मुदित कुवलयाश्व अनुसार ज्ञात हुन्छ कि १८ जुलाई १०९७ ई० मा मिथिला राज्यको स्थापना भयो । नान्यदेव कामरुपको धर्मपालको समकालीन थियो । धर्मपालको शासनकालमा कालिका पुराणको संकलन भएको थियो जसमा उल्लेख भरतभाष्यको लेखक नान्यदेव थियो । नान्यदेवले असमका शासकसंग साँस्कृतिक सम्बन्ध विस्तार गर्न चाहन्थे र त्यो सम्बन्ध मधुर बनेको थियो । बंगसंग पनि नान्यदेवले राम्रो सम्बन्ध विस्तार गरेको थियो ।

१६४८ ई० प्रतापमल्लको शिलालेखमा नान्यदेवको वंशक्रम यसरी उल्लेख गरिएको छः– “आसीत श्री सूर्यवंशे रघुकूल नपजो रामचन्द्रो नृपेशः तद्वंशोनान्यदेवोऽवनि पतिरभवत सुतः गंगदेवः । तत्पुत्रोऽभून्नृसिंहो नरपतिरतुलस्तत्सुतो रामसिंहः तज्जः श्री शक्तिसिंहो धरणि पतिरभात भूप भूपालसिंह तस्मात्कर्णाट चूडामणी विहरियुत्सिंह देवौस्यवंशे ।”

नन्दवंशदेखि नान्यदेवको कालसम्म झण्डै १४५० वर्ष सम्म मिथिलाको अन्धकार युग नै प्रतीत हुन्छ । यस अवधिमा दक्षिण र पश्चिमका फिरन्ते राजाहरुको आक्रमणबाट मिथिला सधैं पीडित रह्यो । लुटेरा शासकहरुको सैन्य दमनको प्रधानताले मिथिला आक्रान्त थियो । जनकवंश पछि मिथिला एउटा साँगठनिक र स्वतन्त्र राज्य होला भन्ने कल्पना गर्न छोडेको थियो मिथिलावासीले । यस अन्धकार युगमा धेरै शासकले मिथिला कब्जा गरे पनि स्थायित्व भने पाउन सकेन । कर्णाटवंशी संस्थापक राजा नान्यदेवको युग मिथिला इतिहासमा स्वर्णयुगको नामले चिनिन्छ । नान्यदेव कालमा बँगालमा सेन, मुँगेर क्षेत्रमा पाल र कन्नौजमा गढवालको पारस्परिक वैमनष्यताको फायदा उठाएर नान्यदेवले नेपालमाथि विजय पाप्त गरि आफनो मिथिला राज्यको विस्तार गर्‍यो । नान्यदेवले गण्डकीदेखि कौशिकी सम्म र हिमालदेखि गंगासम्म मिथिला राज्यको विस्तार गर्‍यो । जनक महानकालको मिथिलाको क्षेत्र जस्तै नान्यदेवले मिथिला साम्राज्य कायम गर्न सफल भयो । स्वतन्त्र, संगठित र स्थायित्व प्रदान गर्न नान्यदेवको ठूलो योगदान साबित भयो । अस्त व्यस्त सामाजिक अवस्थालाई व्यवस्थित गर्न, आफनो चारैतिरका सीमानाको सुरक्षाका लागि दक्ष सैन्यबलको व्यवस्था, सामाजिक विकास, व्यक्तित्व विकास आदि उदाहरणहरु प्रशस्त पाइन्छ । नान्यदेव राजनीतिज्ञ तथा कुशल योद्धाको रुपमा चिनिन्छ । बाह्य हस्तक्षेपलाई निष्क्रिय तुल्याउन नान्यदेवले चम्पारणमा राजधानी बनाएर चारैतिरका सीमा सुरक्षित राख्न सफल भए । नेपालमा त्यसबेला धेरै राजाहरुको शासन थियो । पाटन, काठमाण्डौ र भादगाउँलाई आफनो अधिनस्थ गरेर फेरि उही राजाहरुलाई शासन सुम्पेर नान्यदेवले ५० वर्षसम्म मिथिलामा राज्य गर्‍यो । जनक जस्तो मिथिलालाई साँस्कृतिक प्रधान केन्द्र बनाउन नान्यदेवले अथक प्रयास गरे र प्रसिद्धि पनि पाए । नान्यदेव कुशल विजेता, योद्धा, राजनीतिज्ञ मात्र थिएन, विद्वान शासक पनि थिए । मिथिला इतिहासमा जनक पछिका प्रसिद्धि कमाएका राजा नान्यदेव नै थिए ।

Leave a Comment

error: Content is protected !!