प्राज्ञ इतिहासमा विदेह अर्थात मिथिला – २ 

(“मधेशवाणीसाप्ताहिकमा प्रकाशित)

 मिथिलाको इतिहास

२०६८ श्रावण १३ गते

कुरू राज्यमा परीक्षितवंशको शासन थियो । भनिन्छ, कुरूका राजाहरू ब्रह्महत्या तथा भ्रूणहत्याको पापको भागीदार सिद्ध भएको थियो, जसको निवारण हेतु अश्वमेघ यज्ञ गरिएको थियो । शतपथ ब्राह्मणमा लेखिएको छः–पारिक्षिता यजमाना अश्वमेधैः परौऽवरम, अजहुः कर्म पापकम पुण्याःपुण्येन कर्मराा । अर्थात “सत्यनिष्ठ परीक्षित वंशीय राजाहरूले अश्वमेध यज्ञ गर्दै आफनो पुण्य कार्यद्वारा आफनो पापकर्मबाट मुक्ति प्राप्त गरयो ।”पुराण अनुसार जनमेजयको उत्तराधिकारी शतानिक थियो तथा उसको पुत्र अश्वमेधदत्त थियो । वायु तथा मत्स्य पुराणको प्रसिद्ध अधिसीमाकृष्ण यसै अश्वमेधदत्तको सन्तान थियो । अधिसीमाकृष्णका पुत्र निचक्षु थियो । वैदिक साहित्यले निचक्षुलाई विदेहका राजा जनकको समकालीन मानेको छ । भनिन्छ निचक्षुको कालमा गंगाको बाढीले हस्तिनापुरलाई बगायो । तत्पश्चात राजाले कौशाम्बीलाई (इलाहाबाद नजिक) आफनो राजधानी बनाएको थियो । कुरू राज्यमा उपयुक्त व्यक्तिहरूद्वारा कर्मकाण्डको समुचित निर्वाहमा उत्तिकै रूचि देखाइन्थ्यो जति विदेहको दरबारमा दार्शनिक परिचर्चा हुन्थ्यो । कुरू राजाहरूलाई प्रायः दैवी प्रकोपको सामना गर्नु पर्दथ्यो र जनतालाई यसको दुष्परिणामको कष्ट झेल्नु पर्दथ्यो । छन्दोग्य उपनिषद अनुसार कुरू राज्यमा असीना र टिडिडी (यिअगकत) को भीषण आक्रमणबाट बाली नष्ट भयो र उषस्ति चक्रायण सपरिवार राजा विदेहको शरणागत भयो । राजा जनकले पनि उषस्ति चक्रायणलाई ससम्मान स्वीकार गरयो । जैमिनीय ब्राह्मण अनुसार कुरूहरूमाथि अनेक प्रकृतिका विपत्ति आयो र राज्य तीव्र गतिले विघटन भयो । ब्राह्मण तथा राजाहरू सहित अनेक प्रजाहरू विवश भएर देश छोडनु परयो र उनीहरू पूर्वी भारतमा गएर बसे ।

कुरू राज्यको विघटनकालमा विदेह शक्तिशाली राज्यको रूपमा थियो । कुरू र विदेहको अति निकटतम सम्बन्धकै कारण विदेहको दरबारमा विद्वानहरूबीच परीक्षित वंशको चर्चा चलि रहन्थ्यो । भूज्यु लह्यायनीले याज्ञवल्क्यलाई क्व पारिक्षिता अभवन अर्थात परीक्षितवंश कहाँ गए, सोध्नुको तात्पर्य पनि कुरू जस्तो शक्तिशाली र ऐतिहासिक राज्यको विघटन कति दुर्भाग्यपूर्ण भयो, जान्नु नै हो । विदेहका प्रजामा पनि परीक्षित वंशका राजाहरूको जयगाथा र उनका रहस्यमय भाग्यको स्मृति कायम थियो । कुरू राज्यमा परीक्षित वंशसंग विदेहको सुमधुर अन्तर्सम्बन्ध र भावनात्मक एकरूपता पुराणमा वर्णित घटनाक्रमले स्पष्ट रूपमा उजागर गरेको छ । कुरू राज्यको शक्ति क्षीण भएको घटना विदेहको दरबारमा विषादको विषय बनेको थियो र प्रजाको स्मृतिमा परीक्षित वंशका तेजस्वी राजाहरूको पराक्रम अमरत्व प्राप्त गरेको कुरा उनको दैनिकी चर्चा तथा स्तुति गानबाट स्पष्ट हुन्छ । विदेहको कुरूसंग कति निकट सम्बन्ध थियो यी परिदृष्यबाट थाहा हुन्छ ।

केकय जाति पश्चिमी पंजाबमा गन्धार तथा व्यास नदिको मध्यवर्त्ती भागमा बसेको थियो । रामायण अनुसार केकय राज्य विपाशा अथवा व्यास नदि भन्दा अगाडि गन्धर्व अथात गन्धारको सीमा सम्म फैलिएको थियो । इतिहासकार एरियनको अनुसार केकय जाति रावीको एक सहायक नदि सारंगको तटवर्त्ती भूभागमा बसेको थियो । रामायणका अनुसार केकय राज्यको राजधानी राजगृह अथवा गिरिब्रज थियोः– उभौ भरत–शत्रुघ्नौ केकयेषु परन्तपौ, पुरे राजगृहे रम्ये मातामह–निवेशने । अर्थात शत्रुहरूको दमनकर्त्ता भरत र शत्रुघ्न केकयको सुन्दर राजधानी राजगृहमा निवास गर्दछ ।अयोध्यादेखि केकय राज्यको राजधानी ६५० मील टाढा थियो र त्यहाँ जानकालागि सात दिन लाग्दथ्यो । अयोध्यादेखि विदेहको यात्रा गर्दा ४ दिन लाग्थ्यो जबकि अयोध्यादेखि विदेहको दूरी २०० मील थियो । पार्जिटरका अनुसार राम्रो सडक नभएकोले धेरै दिन यात्रा गर्नु पर्दथ्यो । इतिहासकार कनिंघम झेलम नदिको तटमा आधुनिक गिर्जक अथवा जलालपुरलाई केकय राज्यको राजधानी मान्दछ ।

केकय नरेश अश्वपति वैदिक जनकको समकालीन थियो । केकय नरेश अश्वपति भरतको हजुरबा तथा मामा पनि थियो । यस्तो प्रतीत हुन्छ कि जनक उपाधि जस्तै अश्वपति पनि उपाधि थियो । शतपथ बांह्मण तथा छन्दोग्य उपनिषद अनुसार केकय नरेश जनक जस्तै विद्वान तथा दुर्दर्शी राजा थिए । उनले अनेकौं ब्राह्मणहरूलाई शिक्षा दिएका थिए– अरूण औपवेशी गौतम, सत्ययज्ञ पौलुषी, महासाल जाबाल, बडिल, अश्वतराश्वि, इन्द्रद्युम्न भाल्लवेय, जन शार्कराक्ष्य, प्राचीनशाल औपमन्यव तथा उद्दालक आरूणि । अश्वपति विदेहको महान दार्शनिक सम्राट राजा जनकको समकालीन भएर पनि आयुले अग्रज थिए । विदेह, अयोध्या र केकयका राजाहरूमा बैवाहिक सम्बन्धको कारण पनि यिनीहरूको पारस्परिक सुमधुर सम्बन्ध रहेको मान्न सकिन्छ ।

मद्र जाति अनेक भागमा विभाजित थियो– उत्तरी, दक्षिणी, पूर्वी, पश्चिमी तथा मुख्य मद्र । ऐतरेय ब्राह्मणमा भनिएको छ, उत्तर मद्र जाति हिमवत श्रेणीको पारिपट्टि उत्तर कुरूको नजिक बसेको थियो । जिमर तथा मैक्डोनेलको मतानुसार यो स्थान काश्मीर राज्यमा थियो । पाणिनीका अनुसार पूर्वी मद्र जाति सम्भवतः स्यालकोट जिल्ला भन्दा पूर्व कुनै यस्तो स्थानमा बसेको थियो जो त्रिगर्त वा काँगडा भन्दा अधिक टाढा थिएन । महाभारत अनुसार दक्षिणी मद्र जाति इरावती अथवा रावी नदिको पश्चिमी भूभाग, अर्थात मध्य पंजाबमा बसेको थियो । कालान्तरमा यस राज्यको पूर्वी सीमाको विस्तार भयो र गुरू गोविन्द सिंहकालको अमृतसर मद्रदेशमा सम्मिलित थियो । मद्रदेशको प्राचीन राजधानी शाकल वा सागल नगर (आधुनिक स्यालकोट) थियो । महाभारतमा ततः शाकलमभ्येेत्व मद्राराां पुटभेदनम । उल्लेख भए अनुसार राजा जनकको दरबारमा शाकल्य नामक वैदिक विद्वान सम्भवतः यसै स्थानको बासी थियो र यसै नगरको नामबाट उपाधि दिइएको थियो । यो नगर आपगा नदिको तटमा थियो । किंनंघमले आपगा नदिको वारेमा भनेको छ कि यो अयक नदि जम्मू पहाडबाट निस्केर चिनावमा मिल्छ । दुई नदिको मध्यमा यो नगर रहेको कारणले कदाचित यसको नाम शाकल्य द्वीप भनिन्छ । आजकाल यो प्रदेश रेचना दोभानको एक भाग हो ।

उत्तर वैदिककालको प्रारम्भिक साहित्य अनुसार मुख्य मद्रदेशमा राजतन्त्रात्मक शासन प्रणाली थियो । राजा जनकको समयमा मद्रदेशको शासक को थिए, यो भने अज्ञात छ । मद्रदेश विद्वान तथा गुरूहरूको गढ मानिन्थ्यो । यहाँका प्रसिद्ध विद्वान काप्यपंतचल उद्दालक आरूणिको गुरूहरू मध्येको एक थियो ।

उशीनर जाती मध्यदेश अर्थात मध्यभारतमा बसेको थियो । ऐतरेय ब्राह्मणमा उल्लेख अस्यां ध्रुवायां मध्यमावाँ प्रतिष्ठायां विशि उक्तिबाट के बोध हुन्छ भने दृढतापूर्वक स्थापित मध्यभागमा अर्थात मध्यभारतमा कुरू, पाञ्चाल, वाश तथा उशीनर राज्य थियो ।कौषीतकि उपनिषदमा पनि उशीनरलाई मत्स्य, वाश तथा कुरू पांचालसंग सम्बन्धित देखाइएको छ । गोपथ ब्राह्मणमा पनि उशीनर तथा वाशलाई उदीच्य (उत्तरवासी) को पूर्व स्थान दिइएको छः– कुरू पंचलेषु अंग मगधेषु वाशी कौशल्येषु शाल्व मत्स्येषु स वश उशीनरेषु उदीच्येषु । कथासरित्सागर अनुसार जहाँ कनखल (उत्तरप्रदेशको सहारनपुर जिल्लामा हरिद्वार नजिक कनखल अवस्थित छ) नजिक पर्वतबाट निस्केर गंगा मैदानी भागमा आउँछ उहीं उशीनर पर्वत थियो । वर्तमानमा त्यो स्थान तीर्थस्थलको रूपमा परिणत भएको छ । पाणिनिले आफनो कतिपय सूत्रहरूमा उशीनर देशको चर्चा गरेको छ । यसको राजधानी भोज नगर थियो । महभारत अनुक्रमणी र अनेक अन्य जातकमा राजा उशीनर तथा उनको पुत्र शिविको चर्चा गरिएको छ । राजा जनकको समकालीन उशीनर नरेश अज्ञात छ । तर कौषीतकि उपनिषदबाट थाहा हुन्छ कि काशी नरेश अजातशत्रु तथा विदेहको राजा जनकको समकालीन गर्ग्यबालाकि केही समय उशीनर देशमा बसेको थियो । ज्ञानको आदान प्रदानले उशीनर नरेश र विदेह नरेश जनक महानको निकटतम सम्बन्ध स्थापित गर्न प्रसिद्ध विद्वान गर्ग्यबालाकिको ठूलो योगदान रहेको प्रतीत हुन्छ ।

महाभारतको राजा विराटको राज्य मत्स्यको विस्तार प्रायः अलवर, जयपुर तथा भरतपुर सम्म मानिन्छ । नेपालको विराटनगरलाई महाभारतको राजा विराटको राजधानी मान्ने केही नेपाली इतिहासकारहरूका लागि यो ऐतिहासिक प्रमाण यथेष्ट हुन्छ । वास्तवमा राजा विराटको मत्स्यदेश वर्तमानको राजस्थानमा पर्दथ्यो र राजा विराटको नामबाट राजधानीको नाम विराटनगर पनि त्यहीं थियो । मत्स्य राज्य दिल्लीको कुरू राज्यभन्दा दक्षिण तथा मथुराको शूरसेन राज्य भन्दा पश्चिममा थियो । सम्भवतः दक्षिणमा यसको विस्तार चम्बल नदि सम्म रहेको थियो तर पश्चिममा यो सरस्वती नदिको तट सम्म फैलिएको थियो । महाभारतमा अपर मत्स्य जातिको उल्लेख पाइन्छ जो इतिहासकार पार्जिटरका अनुसार चम्बलको उत्तरी तटको पहाडीमा बसेको थियो । रामायणमा पनि सरस्वती र गंगाको प्रसंगमा वीर मत्स्य जातिको उल्लेख भएको पाइन्छ । कनिंघम अनुसार जयपुर राज्यको वैराट नगरी प्राचीन मत्स्य राज्यको राजधानी थियो ।

मत्स्य जातिको सर्वप्रथम ऋग्वेदको एक अनुच्छेदमा पाइन्छ । यस जातिलाई ऋग्वेद कालको महान विजेता जाति सुदाको शत्रुको साथ देखाइएको छ । शतपथ ब्राह्मणमा ध्वसन द्वैतवन नामको एउटा मत्स्य राजाको नाम आउँछ । उसले सरस्वती नदिको तटमा अश्वमेध यज्ञ गरेको थियो । शतपथ ब्राह्मणमा लेखिएको छ– चतुर्दश द्वैतवनो राजा संग्रामजिद्दहयान, इन्द्राय वृत्रघ्नेऽबधनात्तस्माद द्वैतवनम सर (इति) । अथात युद्धमा विजयश्री पाएर राजा द्वैतवनले इन्द्र वृत्रहनकालागि १४ घोडा तयार गरेको थियो । यसैबाट द्वैतवन झीललाई यो नाम प्राप्त भएको थियो । जनकको समकालीन मत्स्य नरेशको नाम ज्ञात छैन, तर कौषीतकि उपनिषदबाट यति स्पष्ट हुन्छ कि विदेहको महान दार्शनिक राजाको समयमा पनि मत्स्य देश एउटा महत्वपूर्ण राज्य थियो ।

Leave a Comment

error: Content is protected !!