प्राग् इतिहासमा कपिलवस्तु – ५

गौतम बुद्धको महान त्याग, रीस रागमुक्त व्यक्तित्व, सरल स्वाभाव, समानताको विचार तथा सिद्धान्तप्रति दृढताको आधारले बौद्धमत लोकप्रियताको शिखर चढ्दै गयो । तत्कालीन समाजमा जटिल कर्मकाण्ड र हिंसाबाट आक्रान्त मानव जीवन सुख शान्तिको बाटो खोजि रहेको थियो । बुद्धले वैदिक धर्मग्रन्थकै आधारमा सुख शान्तिको नयाँ बाटो देखायो । सुख शान्ति खोज्ने राजादेखि सर्वसाधारण उल्लेख्य रुपमा बौद्धसंघमा दीक्षित हुन थाले । यसको प्रचार प्रसार तीब्र रुपमा देश विदेशमा हुन थाल्यो । बौद्धधर्मको बढ्दो प्रभावको बारेमा मैक्समूलरले यसरी आफ्नो भाव प्रकट गरेको छ – And even at present day Budhism counts in Asia a more numerous array of believers than any other faith not excluding Mohammadanism and Christianity.

     प्रमुख धर्मको रुपमा फैलि रहेको बुद्धधर्म नेपाल भारत मात्र होइन, विश्वको धेरै जसो देशमा आफ्नो महत्वपूर्ण स्थान बनाई रहेको थियो । गौतम बुद्धकै कालमा यो धर्मको प्रभाव देशान्तर सम्म फैलिएको थियो । बौद्धधर्मको विश्वमा बढ्दो प्रभावबारे डा० वी० स्मिथले लेखेको छ –Buddhism although almost extinctin the land of its birth is, at this day, one of the greatest spiritual forces in this world dominating as it does in various forms in Ceylon, Burma, Siam, Tibet, Mangolia, China and Japan.

     बौद्धधर्मको लोकप्रियताका कारणः– (१) सरल सिद्धान्तः– गौतम बुद्धले जीवन मार्गको जो व्यवस्था गर्‍यो, त्यसमा कुनै प्रकारको दार्शनिक जटिलता तथा दुर्बोधता छैन । बुद्धले सरल शब्दमा मानवको दुःखमय जीवनको प्रधान कारण मानिसमा अन्तर्निहित वासना विकार नै हो, जसको उन्मूलनले मानव सुख शान्ति प्राप्त गर्न सक्दछ । कर्मवाद सिद्धान्तको आधारमा बुद्धले मानिसलाई संयमित स्वावलम्बी बन्न उपदेश दियो । बुद्ध आफू सूक्ष्म विचारक थियो । उनले आफ्नो सिद्धान्तलाई सरल रुपमा प्रस्तुत गर्‍यो त्यसमा उनको प्रतिभाको महत्व स्पष्ट हुन्छ । चत्वारि आर्य सत्यानी र अष्टाँगिक मार्गको प्रतिपालन गर्न बुद्धले आचारवादितामाथि जोड दियो । बौद्धधर्ममा जति स्पष्टतः र जोडदार रुपले आचारको महत्व दिइएको छ, त्यति सम्भवतः अरु धर्ममा दिइएको छैन । सरल सिद्धान्त र आचारवादिताको महत्वका कारण मानिस बौद्धधर्मतिर आकर्षित हुँदै गयो । मानवीय विकार हटाउन आचारवादिताको कडा पालन नै बौद्धधर्मको उन्नतिको मार्ग बन्यो । बुद्ध पहिलो व्यक्ति थिएन, जसले कर्मकाण्डको विरोध गर्‍यो । उपनिषदहरुमा पनि कतिपय ठाउँमा वैदिक कर्मकाण्ड तथा यज्ञको आलोचना गरिएको छ । तर उपनिषद ज्ञानलाई सर्वप्रथम बुद्धले सुबोध शैली र लोकभाषाको माध्यमले जनताको अगाडि राख्ने प्रयास गर्‍यो । यज्ञ भाग निषेध सम्बन्धी उपदेशले जनतामाथि धेरै प्रभाव पार्‍यो । जनमानसको भाषामा आफ्नो कुरा सरल रुपमा राख्ने बुद्धको शैलीबारे मैक्समूलरले लेखेको छ – What was felt by Buddha had been felt more or less intensely by thousands and this was the secret of his success.”

     (२) कर्मकाण्डको दुष्प्रभावः– हिन्दू समाजमा ऋग्वेद कालदेखि यज्ञ गर्ने परम्परा थियो । त्यो बेला यज्ञ कुनै वर्गको लागि थिएन । यज्ञलाई सामूहिकता प्राप्त थियो । कालान्तरमा यो पुरोहितको अधिन भएर श्रेष्ठता प्राप्त गर्ने माध्यम बन्यो । समाजमा संगठन र वर्चस्व कायम गर्न पुरोहित वर्गले यसलाई यति जटिल र खर्चिला बनायो कि यो सर्वसाधारणको बशमा रहेन । हजारौं पशुबलीबाट सम्पन्न हुने यज्ञको विरोधमा बुद्धले “मोक्ष प्राप्त गर्नका लागि यज्ञको अनुष्ठान नितान्त व्यर्थ हो, संयम र स्वावलम्बनले मानिस मोक्ष प्राप्त गर्न सक्दछ” उपदेश दिएका थिए । यज्ञबाट पीडित सर्वसाधारण यस उपदेशबाट प्रभावित भयो र बौद्धधर्मका अनुयायी बन्न थाले । वास्तवमा कर्मकाण्डको विरुद्ध बुद्धधर्म एउटा धार्मिक आन्दोलन थियो जो प्रभावकारी सिद्ध भयो । बुद्ध लगायत त्यसबेला कर्मकाण्डको विरोधमा महावीर जैन, मक्खलि गोसाल, पुराण कस्सप, आदि धेरै धार्मिक अगुवाहरु समाजलाई मार्ग दर्शन गरेको पाइन्छ । कर्मकाण्डको तीब्रतर प्रभाव, ब्राह्मण पुरोहितको समाजमा बढी रहेको वर्चस्वबाट प्रताडित अवस्थाले बौद्धधर्मलाई स्थापित हुन अनुकूलता प्रदान गर्‍यो ।

  (३) समानताको गुणः– उत्तर वैदिकालीन सामाजिक रचनामा ब्राह्मण, क्षत्रिय कुलीनवर्ग तथा वैश्य, शूद्र हीनवर्गमा रहेकोले जातीय असमानता चरम सीमा थियो । ब्राह्मण, क्षत्रियमा पनि श्रेष्ठताको लागि वाद विवाद भई रहन्थ्यो । वैदिक धर्म जातिप्रथाको पक्षपोषण गर्दै ब्राह्मणको श्रेष्ठतालाई स्वीकार गर्दथ्यो । जाति श्रेष्ठतको विवादले समाजलाई नराम्रोसंग गाँजेको थियो । मानव, मनावबीच कृत्रिम विभेदलाई हटाएर नैसर्गिक सम्बन्ध अर्थात् समानताको सिद्धान्तमा आधारित बौद्धधर्म ज्ञानको ज्योति लिएर आयो । जातिप्रथाबाट प्रताडित सबैवर्गलाई बौद्धधर्म हितकर लाग्यो । कर्मकाण्डलाई अनावश्यक ठान्ने चिन्तनशील ब्राह्मणहरुलाई पनि बौद्धधर्मले आकर्षित गर्‍यो । यसरी जातिप्रथाको विरोध गर्ने बौद्धधर्म समाजमा रहेका हीनवर्गको लागि जीवनदायिनी सुधा तथा मार्गदर्शकको रुपमा प्रस्तुत भयो । जातिप्रथाको दुष्परिणामले बौद्धसंघमा असंख्य अनुयायी श्रद्धा भक्तिसाथ प्रवेश गरे तथा एउटा बौद्ध साम्राज्यको जन्म भयो ।

  (४) जनबोलीको प्रयोगः– गौतम बुद्ध आफ्नो कुरा जनजनसम्म पुर्‍याउनका लागि नै लोकभाषालाई उपदेशको माध्यम बनाएका थिए । ललितविस्तर अनुसार ज्ञात हुन्छ कि गौतम बुद्धलाई धेरै भाषामाथि अधिकार प्राप्त थियो । संस्कृत भाषाको ज्ञाता भएर पनि उनले माध्यम बनाएन । उनलाई थाहा थियो, संस्कृत भाषा केही पढे लेखेको वर्गमा मात्र सिमित रहने भएकोले बौद्धदर्शनको ज्ञानज्योतिलाई जनजनमा पुर्‍याउन सक्दैन । बुद्ध तत्वज्ञानी मात्र थिएन, व्यवहार कुशल पनि थिए । पालीग्रन्थमा बुद्धद्वारा प्रयुक्त अनेक दृष्टान्तले सिद्ध गरेको छ कि बुद्ध मानव मनोविज्ञानको प्रकाण्ड विद्वान थियो र जीवनसंग निकटतम अनुभव थियो । जनभाषामा आफ्नो शिक्षाको प्रचार नभएको भए आफ्नै जीवनकालमा यत्रो सफलता पाउन कठीन थियो । लोकभाषाले नै बौद्धदर्शनलाई सर्व साधारणमाझ लोकप्रिय बनायो ।

  (५) राज्य प्रश्रयः– राज्य सहयोगले बौद्धधर्मको प्रसिद्धिमा ठूलो योगदान दिएको छ । बौद्धसंघको हितमा अनेक मठ, चैत्य, स्तूप र विश्वविद्यालयहरु राज्य सहयोगमा निर्माण हुन थाल्दा भिक्षुहरुलाई धर्म प्रचार प्रसार गर्न धेरै सुविधा प्राप्त भयो । धेरै राजाहरु बौद्धमतका अनुयायी बनेका ऐतिहासिक तथ्य छ । सम्राट अशोक (२७४–२२४ ई. पू.),  सम्राट कनिष्क (७८–१०३ ई.), सम्राट हर्षवर्धन (६०६–६४७ ई.), बंगालका पालवंशीय शासक (६५०–११५० ई.) तथा अन्य कतिपय राजाहरु बौद्धधर्मका भक्त र संरक्षक भए । राजाहरु परिस्थितिवश मत परिवर्तन तथा यो ध्येयले पनि कि बौद्धधर्ममा जाति बन्धनमुक्त असंख्य मानिस एक ठाउँमा भएको कारण मत प्राप्त हुन सक्दछ, बौद्धधर्मका अनुयायी बने । धार्मिक रुचि र प्रशासनीक लाभका कारण राजाहरुको कृपादृष्टि बौद्धधर्मलाई प्राप्त भयो । बुद्धको प्रभावशाली व्यक्तित्वका कारण मगधका राजा बिम्बिसार र कोशलका प्रसेनजित बौद्धधर्मका अनुयायी बने । समाजका धनाढ्य व्यक्तिहरु पनि बौद्धसंघमा समाविष्ट भए जसको दान दातव्यले नियमित संघको व्यवस्थापन हुन्थ्यो ।

     उपरोक्त अनुकूल वाताबरणमा बौद्धदर्शनले आफ्नो लोकप्रियताको ठूलो कीर्त्तिमान कायम गर्‍यो जो अहिले पनि चीन, जापान, लंका, बर्मा आदि देशहरुमा कायम छ ।

२०६८ चैत्र १० गते   “मधेशवाणीसाप्ताहिकमा  प्रकाशित

Leave a Comment

error: Content is protected !!