यतिबेला वैदिक परम्परामा प्रस्फुटित बाह्यम्बरलाई सुधारोन्मुख बनाउन धर्म संस्थानको परिधिभित्रको एउटा सफलतम् प्रयासको रुपमा ‘बौद्धधर्म’ उदाएको हो । यसलाई कालान्तरमा वैदेशिक विद्वानको अनिभिज्ञता तथा केही ऐतिहासिक कारणले बौद्धधर्म एउटा नवीन धर्मको रुपमा प्रचलित भयो । वैदिक धर्मको “कर्म” र “आवागमन”को सिद्धान्त अनुरुप बौद्धधर्मको सिद्धान्त समरुपमा विद्यमान छ । वैदिक धर्म संस्कारमा जस्तै बौद्धधर्मले पनि कर्मलाई वर्ण व्यवस्थाको आधार मानेको छ न कि जन्मलाई । वैदिक धर्म संस्कति तथा अन्य सामाजिक रीतिथीतिलाई बौद्धधर्मले विरोध नगरि अनावश्यक प्रयोगलाई हटाएर नवीन परिधान ग्रहण गराउने प्रयास गरेको हो ।
बुद्धले आफ्नो पहिलो उपदेश “धर्मचक्र प्रवर्तन” को माध्यमले विछोडमा परेका पाँच साधुहरुलाई दियो । उनको चत्वारि आर्य सत्यानिले मात्र मानिसको दुःख निवारण गर्न सक्छ भनेका छन् । ती चार आर्य सत्य हुन् – (क) दुःख, (ख) दुःख समुदय, (ग) दुःख निरोध र (घ) दुःख निरोधगामी मार्ग ।
बुद्धले दुःखका कारणलाई स्पष्ट गर्दै भनेका छन्, – (१) जीवन मरण, शोक, रुदन, अप्रियको संयोग, प्रियको वियोग सबै दुःखका कारण हुन् । महासत्तिपट्ठान सुत्त (दीघनिकाय २/९) अनुसार पाँच उपादान स्कन्ध–रुप, वेदना, संज्ञा, संस्कार तथा विज्ञान मूल रुपमा वेदनाका कारण हुन् । (२) दुःख समुदय– दुःखका कारण तृष्णा हो । कामको तृष्णाले दुःख कसरी उत्पन्न हुन्छ । मज्झिम निकाय वाशआमा बुद्धले यसरी स्पष्ट गरेका छन्, ‘कामको लागि राजा राजासँग, क्षत्रिय क्षत्रियसँग, ब्राह्मण ब्राह्मणसँग, गृहपति गृहपतिसँग, माता पुत्रसँग, पुत्र मातासँग, पिता पुत्रसँग, पुत्र पितासँग, भाई भाईसँग, बहिनी भाईसँग, भाई बहिनीसँग, मित्र मित्रसँग लड्छन् । परस्पर विवादमा उनी हात, दण्ड, शस्त्रको प्रयोग गर्छन् र मृत्यु प्राप्त गर्छन् ।’ (३) दुःख निरोध – तृष्णाले उत्पन्न गरेको दुःखको मूल कारणको अन्त नै दुःख निरोध हो । तृष्णाको अन्त हुनु उपादानको निरोध हुनु हो । उपादानको निरोध हुँदा भवको निरोध हुन्छ र भवको निरोधले जन्मको निरोध गर्दछ । जन्मको निरोधले दुःखका उपकरणहरु – बुढापा, मरण, शोकको अन्त हुन्छ । (४) दुःख निरोधगामी मार्ग – दुःख निरोधगामी मार्गको प्रथम उपदेश पाँच साधुलाई बुद्धले दिएका थिए जो “धर्मचक्र प्रवर्तन”को नामले प्रख्यात छ ।
“धर्मचक्र प्रवर्तन”मा उल्लेखित आर्य अष्टांगिक मार्ग–सम्यक् दृष्टि (दर्शन) सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् प्रयत्न, सम्यक् स्मृति तथा सम्यक् समाधिमा प्रथम दुई ज्ञान, द्वितीय तीन शील तथा अन्तिम तीन समाधि अन्तर्गत आउँछ ।
कर्मयक (हिंसा, चोरी, यौन दुर्व्यवहार), बाचिक (मिथ्या भाष्ण, कटु भाषण, चुगली निन्दां, मानसिक (लोभ, प्रतिहिंसा तथा नराम्रो धारणा), राम्रा नराम्रा कर्मको ठीक ठीक ज्ञानलाई सम्यक् दृष्टि भनिएको छ । राग प्रतिहिंसारहित संकल्पलाई सम्यक् संकल्प भनिएको छ । यी दुई ज्ञान अन्तर्गत पर्दछ । शील अन्तर्गत सम्यक् वचन, सम्यक् कर्म र सम्यक् जीविका पर्दछ । समयक् वचन र सम्यक् कर्म उपरोक्त कर्मचक्र बाचिक कर्म अन्तर्गत पर्दछ । सम्यक् जीविका भनेको प्राणीहिंसा सम्बन्धी जीविका हो । अंगुत्तर निकाय ६ अनुसार ‘हतियारको व्यापार, प्राणी व्यापार, माँस व्यापार, मद्य व्यापार, विष व्यापार आदि दुष्कर्म जीविका हो ।” दुष्कर्मरहित जीविकालाई बुद्धले सम्यक् जीविका भनेको छ । सम्यक् समाधि अन्तर्गत सम्यक् प्रयत्न, सम्यक् स्मृति तथा सम्यक् समाधि पर्दछ । इन्द्रियहरुमाथि संयमको प्रयत्न, नराम्रो भावनाको दमन तथा सुन्दर भावनाको उत्पादनको प्रयत्न, उत्पादित सुन्दर भावनाहरुको स्थायित्व दिनका लागि प्रयत्न नै सम्यक् प्रयत्न भनिएको छ । कायिक, वेदना, चित्त र मनको क्षणविध्वंशी आदिको सदैव मनन सम्यक् स्मृति हो । चित्तको एकाग्रतालाई सम्यक् समाधि भनिएको छ (रतिभान सिंह नाहर, प्राचीन भारत, पृष्ठ १८८, १८९) ।
अति–गुढ दार्शनिक विचारहरु निहित बुद्धको सिद्धान्त सरल, शिक्षाप्रद, नीतिमूलक, व्यवहार प्रधान र तर्कसंगत छ । बुद्धले जीवनको असंदिग्ध दुःखमयताप्रति मानवको ध्यानाकर्षण गराएर त्यसबाट बच्नका लागि मार्ग निर्देशित गरेको छ । यो माग सुगम जनसाधारणको लागि साध्य र स्वावलम्बनका प्रेरक हो र यसमा मानव जीवनलाई दैवत्य प्राप्त गराउने क्षमता छ । बुद्ध शिक्षाको मूल तत्व यो हो कि मानव पीर, पैगम्बर वा देवी देवताको सहाराबिना आफ्नै प्रयासले संसारको दुःखबाट निवृत्ति पाउन सक्छन् । मानवीय व्यक्तित्वको स्वावलम्बन र आशावादिताको यो भन्दा ठूलो अर्को उदाहरण के हुन सक्दछ ।
आत्मा, परमात्मा जगत आदिका समस्याहरु जो त्यसबेला सार्वजनिक वादविवादको विषय थियो, त्यसमा बौद्धदर्शन निरुत्तर बनेको छ । त्यसबारे भक्तहरुद्वारा सोध्दा पनि बुद्ध मौन नै रह्यो । गौतम बुद्ध, अनात्मवादी थियो । शरीर नष्ट भएपछि आत्मा नामको कुनै स्थायी वस्तुमा उनको विश्वास थिएन । उपनिषदमा आत्मवादको व्याख्यालाई बुद्धले निषेध गरेको छ । गौतम बुद्ध भौतिकवादी थिएन । गौतम बुद्धको विचारमा भौतिकवाद उनको ब्रह्मचर्य र समाधिको आत्मवाद जस्तै विरोधी तत्व हो । ईश्वरप्रति उनको विश्वास थिएन । संसारमा ईश्वरको प्रत्यक्ष प्रभावलाई संदिग्ध मानेको छ । ईश्वर नहुनुको कुनै प्रमाणिक आधार बौद्ध ग्रन्थमा छैन ।
२०६८ फाल्गुन १२ गते “मधेशवाणी” साप्ताहिकमा प्रकाशित
