प्राग् इतिहासमा कपिलवस्तु – ३

 शाक्य, बज्जि, मल्ल, लिच्छिवीहरुको गणतान्त्रिक राज्य व्यवस्थाको विशिष्टताबारे धेरै इतिहासकारले वर्णन गरेको छ । ईशाको छैठौं शताब्दीमा पनि यी गणराज्यहरु आफ्नो विशिष्टताको सफल अभ्यास गरि रहेका थिए । काशी प्रसाद जयसवाल अनुसार महात्मा बुद्धले राजनीतिक संघकै आधारमा बौद्ध संघको तानाबाना बुनेको थियो । डा० भण्डारकरले पनि काशी प्रसाद जयसवालको समर्थन गरेको छ । गणतान्त्रिक राज्य व्यवस्था तथा बौद्धसंघको कार्यनीतिमा धेरै समानता थियो । केही शब्द दुबै संघमा समान रुपले प्रयोग हुन्थ्यो, जस्तै–ज्ञाप्ति, प्रतिज्ञा तथा कर्मवाचा । तर श्री रमेशचन्द्र मजूमदारले उपरोक्त मतको खण्डन गर्दै भनेको छ – “बौद्धसंघ बस्तुतः एउटा स्वतन्त्र रुपले विकसित भएको हो ।” बुद्धकालीन राजनीतिक इतिहासलाई अवलोकन पश्चात् उत्तरी भारतमा अनेक साना साना गणराज्य थियो, जसमा आधुनिक प्रजातन्त्रको अधिकाँश तत्व विद्यमान थियो । गणतन्त्रात्मक व्यवस्थाबारे अन्य ठाउँमा पनि उल्लेख भेटिन्छ । अवदान शतकमा उल्लेख छ – उत्तरका व्यापारीहरु दक्षिणतिर जाँदा दक्षिणवासीले उत्तरको राज्य व्यवस्थाबारे सोध्दा व्यापारीले कहीं राजतन्त्र छ, कहीं गणतन्त्र भने । रतिभान सिंह नाहरले पनि आफ्नो पुस्तक ‘प्राचीन भारत,पृ. १५८ मा यसरी लेखेको छ – निर्दिष्ट गणमा राजनीतिक रुपले सभन्दा प्रसिद्ध बज्जिगण थियो । बज्जि आठ सम्मिलित कबीलाहरुको एक शक्तिशाली संघ थियो । यो संघ गणतान्त्रिक व्यवस्थाको मुख्य केन्द्र थियो । बज्जिहरु कठोर बलिदानी प्रयासबाट स्थापित गरेको आफ्नो गणराज्यको राजनीतिक व्यवस्थाप्रति ठूलो गर्व राख्थे । डा० रमेशचन्द्र मजूमदारले शाक्यहरु स्वतन्त्र प्रकृतिका मानिस थिए, भनेका छन् । बौद्धग्रन्थ तथा ब्राह्मण ग्रन्थहरुको विवरण अनुसार यिनीहरुको गणतान्त्रिक व्यवस्थालाई प्रमाणित नै गरेको छ ।

     छैठौं शताब्दि ई०पू० हिन्दु धर्म परम्परामा धार्मिक क्रान्ति ल्याउने महापुरुष महात्मा बुद्धको ज्ञानोपदेश नेपालको भूमि कपिलवस्तुबाट शुरु भई सम्पूर्ण विश्वलाई प्रभावित पारेको थियो । समाजमा रहेको ब्राह्मणको वर्चस्व तथा राजतन्त्रको प्रभूत्वलाई चुनौतीको रुपमा उदय भएको बौद्ध दर्शनले हिन्दु समाजलाई आमूल परिवर्तन नगरे पनि परिवर्तनको दिशातिर बलपूर्वक धकेलेको कुरालाई स्वीकार गर्नु पर्दछ । सामाजिक व्यवस्था, साँसारिक बन्धन आदिले प्रताडित मानवको पीडालाई अनुभूत गरेर जुन आदर्श महात्मा बुद्धले समाजलाई दियो, यसलाई मानव समाजलाई अन्ध्यारोबाट उज्यालोतिर ल्याउने भागिरथ प्रयासको थालनी मान्नु पर्दछ । बौद्ध दर्शनको प्रभाव बढ्दै संघमा लाखौंको संख्यामा भिक्षु प्रवेश गर्दै गए । यो एउटा राजनीतिक व्यवस्थाको राज्य जस्तै संघ शक्तिशाली भएको थियो । त्यसको व्यवस्थापन विषयमा राजा प्रसेनजीतले आश्चर्य मान्दै बुद्धलाई सोधेका थिए – “तपाईंले हाम्रो राज्य जस्तै यत्तिका जनसंख्यालाई कसरी सहज ढंगले व्यवस्थापन गर्नु हुन्छ । म त सेनापति, भण्डारक तथा आफ्नै छोराबाट प्रताडित भएको छु ।” यसबाट बौद्धसंघको असल व्यवस्थापनको स्पष्ट चित्रण पाइन्छ । साँसारिक बन्धन, व्यक्तिगत स्वार्थ, अस्पृश्यता आदिबाट मुक्त भिक्षु निर्वाणको दिशामा बढेको कारण पनि त्यहाँ कुनै मदान्धताको प्रतिस्पर्धा थिएन र अन्य ठाउँ जस्तो पाशविकता पनि थिएन । सहज व्यवस्थापनको मूलमन्त्र थियो – आपसी सद्भाव, निस्वार्थ सेवा भाव, समानता र मानवता ।

     अश्वमेघ यज्ञ जस्तो पीडादायी धार्मिक अनुष्ठानद्वारा ईश्वरलाई प्रभावित गर्ने विश्वास समाजमा व्याप्त थियो । हजारौं पशुवलीबाट आरम्भ हुने यो यज्ञ यति खर्चीला थियो कि राजा महाराजा बाहेक यो कसैको सामर्थ्य अन्तर्गत थिएन । राजा रन्तिदेवको यज्ञमा कति गाईको बलि दिईयो कि रगतको प्रवाहले एउटा नदी बन्यो, जसको नाम रन्ति नदी रह्यो । कर्मकाण्डमा आधारित सामाजिक धर्म व्यवस्थाबाट प्रताडित मानिसहरुलाई सहज बाटो देखाउन बौद्ध दर्शनले हिन्दु समाजमा एउटा धार्मिक आन्दोलन नै ल्यायो ।

 बुद्धको प्रभावशाली व्यक्तित्वको बारेमा मोनियर विलियम्सले यसरी लेखेको छ – “The influence of personal character combined with the extraordinary persuasiveness of his teaching was irresistible. Very soon the Buddhistic doctrine leavened the religions of the whole Indian peninsula from Afghanistan to Ceylon. They found way in every home. They became domesticated in the cottage or peasants and Palaces of kings.”

  जन्मदेखि लोक कल्याणकारी प्रतिभा लिएको बुद्धलाई राजसी वैभवले पनि तान्न सकेन । बाल्यकालदेखि युवावस्था सम्म सिद्धार्थ (जन्मको नाम) लाई अनेक किसिमका विलासिताका सामग्री उपलब्ध गराए पनि उनले सबै कुरा त्याग गरि सन्यासी भएर लोक कल्याणका लागि निस्के । त्यागको यस्तो उदाहरण दिने बुद्धको व्यक्तित्वमा मानवीय गुण पनि प्रचूर थियो । गाली दिनेहरुप्रति रीस राग उठ्दैन्थ्यो । आफ्नो प्रशंसा सुनेर प्रसन्न नहुने बुद्धको हृदयमा दया, स्नेह र करुणाको अक्षय स्रोत थियो, जसमा घृणा र द्वेष जस्तो आसुरी प्रबृतिको लेशमात्र स्थान थिएन । पापीहरुको लागि उनको हृदयमा अक्षय क्षमाशीलता थियो । आम्रपाली जस्तो गणिकाको घरमा केही नसोची भोजन ग्रहण गरेको थियो । उनको दृष्टिमा मानिस मानिसमा भेद व्यर्थ हो । यी सब गुणहरुका कारण बुद्धको व्यक्तित्व प्रभावशाली भएको थियो । राजा अथवा रंक जो उनको प्रभावमा आयो, प्रभावित हुन बिना रहन सकेन । आफ्ना समकालीन राजाहरु पनि सिंहासन छोडेर बुद्धको सम्मुख नत मस्तक हुन्थे । पाशविकताका शिकार अंगुलीमाल जस्ता अपराधी बुद्धसंग प्रभावित भएर भिक्षु बनेर उनको संघमा प्रवेश गरे । करुणा, दया र मैत्री आदि मानवीय भावनाले उनको उपदेश सप्राण हुन्थ्यो । यही कारण ब्राह्मण, राजा तथा प्रजा सबै उनको उपदेशबाट सन्तुष्ट हुन्थे ।

     राजमहलको सुविधा सम्पन्न वातावरणमा हुर्कि रहेको सिद्धार्थ एकदिन घुम्न बाहिर निस्किदा बाटोमा एउटा रोगी, एउटा बृद्ध, एउटा शव र एउटा संन्यासी देखेर उनको मन धेरै दुःखी भयो । उनको मनमा दुःखका कारण र यसको निदानबारे ठूलो जिज्ञासा उठ्यो । मानवजातिको यस्तो दुर्दशा उनको लागि असह्य भयो । दुःखबाट मानवजातिलाई मुक्त गर्न मार्ग खोज्ने अठोट लिएर सिद्धार्थ घर फर्कियो । त्यसपछि सिद्धार्थको चित्त चिन्तामग्न भयो । आफ्नो बुवाले राजकाजमा चाख लिन नानाविधि प्रयास गरे पनि ती कुनै बन्धनले सिद्धार्थलाई प्रसन्नता दिन सकेन । केही दिन पश्चात् यशोधराले पुत्ररत्न प्राप्त गरिन । त्यो खबर सुनेर सिद्धार्थको मुखबाट निस्कियो – राहुल ‘(एउटा अर्को बन्धन) !’ आफ्नो मनमा खेली रहेको ठूलो अभीष्ट प्राप्त गर्न यी बन्धनहरु अवरोध पैदा गर्ने भएबाट सिद्धार्थ मुक्त हुन चाहन्थे । मनको तर्कवितर्कले आखिरमा सिद्धार्थलाई एउटा निश्चयात्मक बाटो अवलम्बन गर्न बाध्य गर्‍यो र २९ वर्षको अवस्थामा उनले गृहत्याग गरे ।

     ललितविस्तर अनुसार दृढ निश्चयी सिद्धार्थ गृहत्याग गरेर शाक्य, कोलिय, मल्ल राज्य पार गरि अनुवेमेय नामको स्थानमा राजसी परिधान त्यागी छन्दकलाई दियो । सन्यासीको भेषमा ज्ञानको खोजी गर्न सर्वप्रथम गौतम गुरु आलार कलाम नजिक पुगे । यसकालमा अनेक परिब्राजक गुरुहरु अनेक सिद्धान्त तथा साधनाको प्रचार गर्दै यत्रतत्र डुली रहन्थे । आलार कालामको ३०० शिष्य थियो । यसै धर्मगुरुसंग गौतम शिक्षा लिन थाले । तर जुन ज्ञानको खोजिमा गौतम यहाँ आएका थिए, त्यही नपाएर उनी यो आश्रमलाई छोडे । त्यहाँबाट अगाडि बढ्दा अर्को उद्रक रामपुत्त नाम गरेको धर्माचार्यसंग भेट भयो । यसको ७०० शिष्य थियो । यो आश्रमले पनि गौतमलाई सन्तुष्ट गर्न सकेन । तत्पश्चात् गौतम मगध राज्यको उरुबेला ग्राममा लगातार ६ वर्षसम्म कठोर तपस्या गर्‍यो । अन्न त्याग गरेर शरीरलाई अनेक कष्ट दिएर पनि केही उपलब्धि हासिल नभएपछि उनले यस विधिबाट त तृणकाय शरीरले साथ छोड्नेछ र शरीर नभएपछि ज्ञानको खोजि कसरी गर्ने सोचेर उनले शरीरलाई कष्ट दिने यो विधि त्यागी अन्नजल ग्रहण गर्न थाले । गौतमको यो नवीन विधिलाई पथभ्रष्टको संज्ञा दिएर उनका साथमा भएका पाँच ब्राह्मण साधु उनको साथ छोडे । प्रो० कालीशंकर भटनागरको पुस्तक भारतीय संस्कृतिका इतिहास, पृ. ११५ अनुसार उरुबेला ग्रामभन्दा बाहिर नैरञ्जना नदीको किनारमा (हालको लीबाजन नदी, जो बोधगयाको आधुनिक मन्दिरभन्दा २०० गज सामुन्नेबाट बहन्छ) सुजाता नाम गरेकी एउटी गाम्रीण कन्याले गौतमलाई खीर ल्याएर दिई । गौतमले नदीमा स्नान गरि खीर ग्रहण गर्‍यो । बोधगयाको एउटा पीपलको रुखमुनी घासपातको आसन बनाई यस निश्चयका साथ तपस्यामा बस्यो कि चाहे मेरो शरीर नष्ट होस्, ‘बोधि’ प्राप्त नगरुञ्जेल म यो आसनबाट उठ्नेवाला छैन । सात रात र सात दिनको निरन्तर ध्यान र चिन्तन पश्चात् शाक्यमुनिलाई संसारको दुःखको कारण र त्यसबाट मुक्तिका उपायबारे ज्ञान प्राप्त भयो । बोधि (ज्ञान) प्राप्त भएको कारण नै गौतम महात्मा बुद्ध कहलाए ।

     समस्त मानवजातीलाई दुःखबाट निवृति दिलाउन कठीन तपस्या पश्चात् हासिल गरेको लोक कल्याणकारी ज्ञान सबैलाई दिन चाहन्थे । सभन्दा पहिला आफ्ना दुई गुरुलाई यो ज्ञानबाट अवगत गराउने निधो गरेपछि, थाहा भयो, त्यो दुईवटै गुरुको मृत्यु भएको रहेछ । त्यसपछि आफूलाई छोडेर गएका पाँच ब्राह्मण सन्यासीलाई दीक्षित गर्ने उद्देश्यले उनी खोज्दै वाराणसी पुगे । नगरकै समीप ऋषिपत्तनको मृगदाय उपवन       (हालको सारनाथ)मा उनले पाँच साथीलाई भेटे । आफ्नो पहिलो उपदेश बुद्धले यी पाँच साधुलाई दियो, जो बौद्ध साहित्यमा “धर्म चक्र प्रवर्तन सूत्र”को नामले जानिन्छ । यस उपदेशमा बुद्धशिक्षाको आधारभूत तत्व स्पष्ट रुपमा प्रतिपादित गरिएको छ । यसमा भनिएको छ, ‘चार आर्य सत्य’ लाई अंगीकार गरेर मानिस निर्वाणको बाटो पाउन सक्छ ।

  २०६८ फाल्गुन गते “मधेशवाणीसाप्ताहिकमा प्रकाशित

Leave a Comment

error: Content is protected !!