प्राग् इतिहासमा कपिलवस्तु – २

 कपिलवस्तुको तिलौरकोटमा अहिले भग्नावशेषको रुपमा रहेको राजा शुद्धोदनको राजदरवार थियो । देवदहको कोलियवंशकी राजकुमारी मायादेवी राजा शुद्धोदनकी रानी थिइन । माइती जान लाग्दा लुम्बिनीवनमा मायादेवीलाई प्रसब बेदनाले च्यापेपछि एउटा बालकको जन्म भयो । यही बालक गौतम बुद्ध भए । बालक जन्मेको खबर पाउँदा अति हर्षित राजा शुद्धोदन उनको न्वारणमा सयौं ब्राह्मण विद्वानलाई निम्त्याएका थिए । त्यस मध्ये आठवटा विशिष्ट विद्वानलाई बालकको नामाकरण गर्न छनौट गरियो । पपं. सू.२, पृ. १५५ अनुसार ती आठवटा ब्राह्मण थिए– “रामो धजो लक्खणा चापि मत्ति, कोण्डञ्ञो च भोजो सुयामो सुदत्तो ।” बुद्धवंश पालि अ.क. पृ. २२९ अनुसार अरु ब्राह्मणहरुले यो बालक राजभोग गर्‍यो भने सर्बश्रेष्ठ सम्राट हुन्छ भने । कौण्डिन्यले एउटा औंला ठड्याएर यस्ता लक्षण भएका महापुरुष कहिले पनि घरमा बस्ने छैनन् । गृह त्यागेर अवश्य नै बुद्ध हुने छन् भनेका थिए । सबै लोकार्थ सिद्धकर हुन सक्ने भएकाले बालकको नाम ‘सिद्धार्थ’ राखियो । बालकको जन्म भएको सात दिन पछि आमा मायादेवीको मृत्यु भयो । सिद्धार्थको पालन पोषण मायादेवीकी बहिनी,  प्रजापति गौतमीको हातबाट भयो ।

     शाक्यमुनि गौतम बुद्धको जन्म ५६५ ई०पू० भएको थियो र ८० वर्षको आयुमा ४८६ ई०पू० निर्वाण प्राप्त गरेको थियो । तिथी बिषयमा इतिहासकारहरुबीच ५ देखि १५ वर्षको मत भिन्नता भए पनि डा० हेमचन्द्र राय चौधरीले आफ्नो पुस्तक ‘प्राचीन भारतका राजनैतिक इतिहास, पृ. १६९ मा उल्लेख तिथी बढी प्रमाणीत ठहरिन्छ ।

     रीज डेविड्सको मत अनुसार कपिलवस्तु शाक्य गणराज्यको राजधानी थियो र त्यस बखत यसको जनसंख्या ५ लाख (८० हजार कुटुम्ब) थियो । रतिभान सिंह नाहरको पुस्तक ‘प्राचीन भारत पृ. १५५’ मा उल्लेख भए अनुसार शाक्यहरुको गणराज्य नेपालमा हिमालको तराईमा थियो । कपिलवस्तुमा शाक्यहरुको शासन प्रबन्ध अत्यन्त उन्नत र सुन्दर थियो । शाक्य गणराज्यमा वंशको आधारमा होइन, बहुमतको आधारमा निर्वाचन प्रक्रियाद्वारा राजा चयन गर्ने चलन थियो । यही प्रक्रियाबाट गौतम बुद्धका पिता शुद्धोदन राजा भएका थिए । मगध, कोशल वरिपरि राजतन्त्रात्मक पद्धति भएपनि लिच्छिवी, बज्जि र शाक्य गणतन्त्रात्मक प्रणाली अपनाएका थिए । राजकीय समस्याको निराकरणका लागि मन्त्रणा सभा ‘संथागार’  बनाएका थिए । संथागारमा ५०० सदस्य अटाउने ठाउँ थियो । यसको प्रधान राजा हुन्थ्यो । सर्वमान्य सिद्धान्त अनुसार अनिर्णित बिषयहरुमा यहींबाट ‘शलाका’ (वोटिङ)द्वारा बहुमत लिने चलन थियो । आक्रमणकारी विरुद्धकको लागि कपिलवस्तुको द्वार खोल्ने नखोल्ने संथागारको बहुमतद्वारा निर्णय लिइन्थ्यो । बुद्धिस्ट इण्डिया, पृ. १९ मा उल्लेख भए अनुसार शाक्य गणराज्यमा पदाधिकारीको रुपमा एउटा मुखिया निर्वाचित हुन्थ्यो । यो चुनाव कति दिनको लागि र कसरी हुन्थ्यो, यो ज्ञात छैन । मुखिया सबै अधिवेशनको सभापति हुन्थ्यो र उनैमाथि राज्य संचालनको कार्यभार हुन्थ्यो । ‘हिन्दुराज्य शास्त्र, पृ.१२६ मा सुरेश चन्द्र पन्तले लेखेका छन्– मतदानको निम्नलिखित रुप थियो, क. गुह्यक, ख. सकर्णजपक तथा ग. विवतक । विवादित बिषयको सम्बन्धमा निर्णय गर्न एउटा उपसमिति हुन्थ्यो, जसलाई उद्वाहिक भनिन्थ्यो । पन्त अगाडि लेख्छन्, बैठकमा गणपूरकको नियमलाई उनीहरु दृढतापूर्वक पालन गर्थे । बैठकका एकजना सदस्यलाई गणपूरक संख्यालाई उपस्थित गराउन कार्यभार दिइन्थ्यो । गणपूरक संख्या २० हुन्थ्यो । बैठक पूर्ण अनुशासित भई संचालन हुन्थ्यो र बैठकको कुरालाई लिपिबद्ध गर्न लेखकहरु हुन्थे ।

     शाक्यहरु विद्या एवम् कलाप्रति विशेष अनुराग राखेका कारण कपिलवस्तु शिक्षा तथा संस्कृतिको उन्नत केन्द्र थियो । गौतम बुद्धले यहींबाट विभिन्न कलाको सफलतापूर्वक अध्ययन गरि ५०० शाक्य युवालाई प्रतियोगितामा परास्त गरि यशोधरासंग विवाह गरेको थियो । महावस्तु २ । ७ । ३ ।। ललितविस्तर अनुसार गोपा (यशोधरा)को विवाहको प्रस्तावमा उसको पिताले भनेका थिए – “यस्तो कुनै राजकुमारलाई म आफ्नो पुत्री सुम्पन चाहन्न, जो शिल्प तथा युद्धकलामा प्रवीण छैन ।” गौतम बुद्ध सबै कलामा निपूण रहेको कुरा स्पष्ट हुन्छ । शाक्यहरुलाई आफ्नो कला र संस्कृतिमाथि धेरै गर्व थियो । यसको स्पष्ट प्रभाव बौद्धकलामा पनि देख्न सकिन्छ । मिस्टर क्रिस्टमस हम्फ्री अनुसार “ईशाको छैठौं शताब्दि सम्म भारतको सभन्दा उत्तम कला बौद्ध कला हो र जबदेखि चीन तथा जापानमा बौद्धधर्मको प्रवेश भयो त्यहाँदेखि यस देशको कुनै युगको सर्वश्रेष्ठ कला बौद्धकला हो । लंका, बर्मा तथा स्यामको महत्वपूर्ण कला बौद्धकला हो । बोरबोदूरको स्तूपदेखि लिएर तिब्बत र नेपालको धार्मिक कला पनि बौद्धकला हो ।”

     रक्त समिश्रणप्रति सजग शाक्यहरु इतर वर्गवाला क्षत्रियहरुसंग पनि वैवाहिक सम्बन्ध बनाउन चाहदैनथे । त्यसैले त कोशल नरेशले शाक्य कन्याको माँग गर्दा कुलीन कन्या नदिएर दासी कन्या पठाएको थियो । रक्तगर्वका आत्माभिमान नै शाक्य गणराज्यको पतनको कारण बन्यो । राकहिलले शाक्य गणराज्यको नियमबारे लेख्छन्–‘प्रत्येक शाक्य नागरिक एउटा मात्र विवाह गर्ने चलन थियो ।’

     शाक्य गणराज्य सानो राज्यको रुपमा रहेपनि उन्नतशील थियो । मगध, कोशलको प्रभाव यस राज्यमा रहेकोले पनि होला, शाक्यहरु युद्धकलामा निपूण हुन्थे । शाक्यहरुको मुख्य बृति कृषि थियो । संथागारमा कृषि बिषयमा पनि समय अनुकूल वाली लगाउने मन्त्रणा हुन्थ्यो । सहकारी कृषिको चलन उनीहरुको समाजमा देख्न पाइन्छ । त्यसकारण यो गणराज्य उन्नतशील र धनवान थियो ।

     कोशल नरेश प्रसेनजितको शेषपछि अनको छोरा विडुडभ राजा भएपछि अनकी आमा वासभखत्तिया दासी पुत्री रहेको थाहा पाई शाक्यहरुसंग प्रतिशोध लिन उनले युद्धको तयारी गरि शाक्य गणराज्यमाथि आक्रमण गरे । अचिरवती नदीको किनारमा शाक्य र विडुडभको युद्ध भएको थियो । कपिलवस्तुको चारैतिर सात प्राचीर थियो । यहींनिर हजारौं शाक्यवंशी युवकहरुको हत्या गरि राजा विडुडभले कपिलवस्तुलाई आफ्नो अधिनमा पार्‍यो । राँगेय राघवको पुस्तक प्रा०भा०प०इ०, पृ० ४२५ अनुसार यस युद्धमा शाक्यको ५०० कन्यालाई समातेर आफ्नो अन्तःपुरमा ल्यायो । कन्याहरु आत्म समर्पण गर्न अस्वीकार गरेपछि विडुडभले सबैलाई मार्ने आदेश दियो । उसको अफसरले सबैको हात खुट्टा काटी एउटा खाल्डोमा फ्याँकि दियो । उनी बुद्धलाई स्मरण गरे । बुद्धले उपदेश दिन भिक्षु पठाए । उपदेश सुनेपछि उनको मृत्यु भयो । सानो तथा सम्पन्न शाक्य गणराज्यलाई कोशलको प्रभूत्वलाई स्वीकार्नु पर्‍यो । कोशलको अधिनता स्वीकारे पनि शाक्य गणराज्यको मौलिकता कायम नै रह्यो । ३२५ ई०पू० सिकन्दरको आक्रमणमा उनलाई यी गणराज्यसंग पनि मुठभेड भएको थियो । मगध र कोशलको तीब्रतर विस्तारको क्रममा यस क्षेत्रका गणराज्यहरु कोलिय, शाक्य, बज्जि, लिच्छिवि र मल्लको स्वतन्त्र अस्तित्व रह्न सकेन । तर गणीय मौलिकता भने कायम रह्यो ।

     गाँउको आर्थिक व्यवस्थाको सम्बन्धमा रीज डेविड्सको कथन थियो–“गाउँको आर्थिक व्यवस्था सरल थियो । कुनै पनि घर आधुनिक शब्दमा धनी थिएन । आवश्यकता पूर्त्तिको साधन उपलब्ध थियो । सुरक्षा र स्वतन्त्रता थियो । न कोई जमीन्दार थियो, न भिखारी ।” कृषी उपजका छैठौं वा बारहौं भाग कृषिकरको रुपमा राज्य असुल गरेर जमीन किसानलाई जोत्न उपलब्ध गराउने चलन थियो । कर असुल गर्ने पदाधिकारीलाई ‘ग्राम भोजक’ भनिन्थ्यो । ग्राम भोजकलाई कृषकमाथि कुनै किसिमको अनुचित दबाव दिने अधिकार थिएन । राज्यको पदाधिकारी सम्मुख आफ्नो कुरा स्वतन्त्रतापूर्वक राख्न सबै नागरिकलाई अधिकार प्राप्त थियो । कृषिमा सहकार्यको भावना प्रबल रुपमा विकसित भएको थियो । जमीन जोत्ने, बीउ राख्ने, बाली लगाउने, सिंचाई गर्ने तथा बाली काट्ने सबै एउटै समयमा गर्थे । यसको निगरानी गर्ने ग्राम प्रमुख हुन्थ्यो । चरनमा गएको गाईवस्तु सबैको हेरचाहको बिषय हुन्थ्यो । न्याय क्षेत्रमा पनि आरोपितलाई चेतावनी दिई सफाई दिने, सजाय कम दिने आदि अत्यधिक लचिलो न्याय व्यवस्था थियो ।

२०६८ माघ २७ गते मधेशवाणीसाप्ताहिकमा प्रकाशित

Leave a Comment

error: Content is protected !!