प्राचीन इतिहासमा विदेह साम्राज्यको व्याप्त लोकप्रियता जस्तै मधेशको दोश्रो अन्तर्राष्ट्रिय ख्याती प्राप्त स्थान कपिलवस्तु हो । शाँतिदूत गौतम बुद्ध यहीं जन्मेका थिए । समस्त मानव जातिलाई दुःख, क्लेशबाट मुक्ति दिलाउन र अमरत्व प्राप्त गर्न ज्ञानको ज्योति सर्वत्र संसारमा फैलाउने काम महात्मा बुद्धले गरेका थिए । कर्मकाण्डमा आधारित हिन्दु धर्म र त्यसबाट पीडित मानवजातिलाई छुट्कारा दिलाउने उद्देश्यले गौतम बुद्ध, महावीर जैनले धार्मिक आन्दोलन चलाएका थिए । गौतम बुद्धको प्रभाव बढेर भारत लगायत संसार भरि फैलियो । महात्मा बुद्धले मानवजातिलाई अस्पृश्यताबाट छुट्कारा दिलाई सबैलाई समान रुपले आफ्नो अनुयायी बनाए । महात्मा बुद्धले जलाएको ज्ञानको दियोले आज पनि संसार आभामय बनेको छ ।
डा. हेमचन्द्र राय चौधरीका अनुसार शाक्य राज्यको उत्तरी सीमामा हिमालका पर्वत श्रेणी, पूर्वी सीमामा रोहिणी (राप्तीको एक सहायक नदी) तथा दक्षिणी र पश्चिमी सीमामा राप्ती नदी थियो । शाक्य राज्यको राजधानी कपिलवस्तु सुप्रसिद्ध लुम्बिनीवन (बुद्धको जन्मस्थान) भन्दा ८ माइलको दूरीमा रोहिणीको किनारमा अवस्थित थियो । कपिलवस्तुको तिलौराकोटमा शाक्यवंशी राजा शुद्धोदन (गौतम बुद्धका पिता) को राजदरवार थियो जो अहिले पनि भग्नावशेषको रुपमा विद्यमान छ ।
भगवान बुद्ध कपिलवस्तुको बारेमा बुद्धवंशपालि, पृष्ठ ३८० मा यसरी उल्लेख गर्नु भएको छ–
नगरं कपिलवत्थु मे, राजा शुद्धोदन पिता । महं जनेत्तिका माता, मायादेवी ति वुच्चति ।।
डा. वाडेल अनुसार कपिलवस्तु नगर, गोरखपुरको उस्का स्टेशनभन्दा ३८ माइल उत्तर पश्चिमतिर नेपालको तराईमा निग्लिहवा भन्ने ठाउँ लक्षित गरेको थियो र बुद्धको जन्मस्थान लुम्बिनीको पदेरिया, जो भगवानपुरबाट २ माइल टाढा पत्ता लगाएका थिए ।
पी.सी.मुखर्जीले कपिलवस्तु नगर हालको तिलौराकोट हो भनी प्रमाणीत गरेका छन् जो तौलिहवाबाट २ माइल उत्तर र निग्लिहवाबाट ३.५ माइल दक्षिणमा स्थित छ । रामघाट, सन्दवा र तिलौराकोट भन्ने प्रदेश नै कपिलवस्तु हो । पी.सी.मुखर्जीले लोरिकुण्डको दक्षिणपट्टिको ठूलो थूरलाई न्यग्रोधाराम (विहार) हो भनी उल्लेख गरेका छन् जो गोटिहवाबाट १.५ माइल पश्चिममा पर्छ । कपिलवस्तु नगरमा न्यग्रोधाराम जस्तै कालखेम, काराम, र घटाय विहारहरु शाक्यहरुले निर्माण गरेका थिए । कोशल नरेश प्रसेनजीतका छोरा राजा विडुडभले हजारौं शाक्यहरुलाई सामुहिक हत्या गरेको ठाउँलाई सगर्वा भन्ने निर्धारण गरेको छ जो तिलौराकोटबाट २ माइल उत्तरमा पर्छ ।
स्मिथको अनुसार कपिलवस्तु वस्ती जिल्लाको ‘पिपरावा’ देखि १० माइल उत्तर पश्चिमतिर ‘तिलौराकोट’ तथा तराईको यसको आसपासको ठाउँलाई भनिएको छ ।
प्रो. कालीशंकर भटनागरले आफ्नो पुस्तक ‘भारतीय संस्कृतिका इतिहास’ मा कपिलवस्तु गणराज्य आधुनिक उत्तर प्रदेशमा राप्ती र गण्डक नदीको बीच बस्ती जिल्लाभन्दा उत्तरमा नेपालको तराईमा स्थित थियो भनेर लेखेको छ । कपिलवस्तु नगर नेपाल अधिराज्यको लुम्बिनी अञ्चलको तौलिहवाभन्दा उत्तर तिलौराकोट नै हो ।
शाक्यवंशको उत्पत्तिकोबारेमा भिक्षु अमृतानन्द आफ्नो पुस्तक ‘बुद्धकालीन राजपरिवार’ पृष्ठ १२९ मा यसरी उल्लेख गरेका छन– शाक्यवंशका पूर्वज पुरुष ओक्काक नामका राजा थिए । यो राजा कुरा गर्दा मुखबाट प्रकाश (उक्का) निस्किने भएकोले ओक्काक नाम रह्न गयो । यही ओक्काकवंशी तेश्रो अन्तिम राजाको भत्ता, चित्ता, जन्तू, जालिनी र विशाखा गरि पाँच महिषी थियो । जेठी महारानीको ओक्काकमुख, करण्डु, हत्थीनिक र कासिनीपुर नामका चार छोराहरु र प्रिया, सुप्रिया, आनन्दा, विजिता र विजितासेन गरि पाँच छोरीहरु थियो । पछि ओक्काक राजाले अर्की एक तरुनी सुन्दरीसंग विवाह गर्यो । त्यसबाट जन्तू नामको पुत्र जन्मे पछि राजा असाध्यै खुशी भयो । राजाले कान्छी रानीलाई केही माँग्न भन्यो । कान्छी रानीले पछि लिनेछु भनी । जन्तू ठूलो भएपछि कान्छी रानीले राजा बनाउन दबाव दिएपछि राजा अति दुःखी भएर जेठी महारानीका ९वटा सन्तानलाई बोलाएर म मरे पछि राज्य लिन आउनु भनेर देश बाहिर पठाए । नौवटै दाजूभाई र दिदीबहिनीहरु भ्रमण गर्दै हिमखण्डतिर लागे ।
कपिल नाम गरेका ब्राह्मण पुत्र गृहत्याग गरि ऋषिभेष लिई हिमखण्डको आसपासमा एक सुरम्य पोखरीको किनारमा शाकखण्ड पर्णशाला बनाई बसेका थिए । त्यो ठाउँ दक्षिणदेखि पूर्वसम्म घना जंगलले ढाकिएको थियो । ओक्काकवंशी ती राजकुमार र राजकुमारीहरु भ्रमण गर्दै त्यही कपिल ब्राह्मणको आश्रममा आई पुगे । आफ्नो परिचय खुलाएर राजकुमारहरुले कपिल मुनीलाई आफ्नो बासको लागि एउटा बस्ती बसाल्ने इच्छा जाहेर गरे । मलाई एक कुनामा राखि यहीं बस्ती बसाल्नु, यहाँ बस्दा मानिसहरु धनधान्यपूर्ण हुन्छ भनेर कपिलमुनीले सुझाव दिए । राजकुमारहरुले रुखहरु काटी बस्ती बसाले । त्यही कपिलमुनिको नामले त्यो बस्तीको नाम कपिलवस्तु भयो ।
कपिलवस्तु नगर निर्माण गरि सकेपछि वंशबृद्धिको लागि त्यहाँका मानिसको विश्वसनीयता नरहेकोले राजकुमारहरुलाई चिन्ता भयो । आफ्नै बहिनीसंग विवाह गर्ने निश्चय गरेर उनीहरुले जेठी राजकुमारी प्रियालाई मातृस्थानमा राखी अन्यसंग विवाह गरे । यो कुरा ओक्काक राजालाई थाहा भएपछि ‘सक्या वत् भो ! कुमाराति’ अर्थात ‘भो राजकुमारहरु हो ! अवश्य नै सक्छौ !’ भन्ने वचन प्रयोग गरेबाट सक्का–सक्या हुँदै शाक्य हुन गएको हो । यहींबाट शाक्यवंशको उत्पति भएको कुरा भिक्षु अमृतानन्दले उपरोक्त उल्लेखित पुस्तकमा लेखेका छन् ।
कोलियवंशको उत्पत्तिबारे भिक्षु अमृतानन्द ‘बुद्धकालीन राजपरिवार’ पृष्ठ १३० मा लेखेका छन्– ओक्काक राजकुमारी प्रियालाई पछि कुष्टरोग लागेर उनको शरीर कोलिय (कोबिदार) पुष्प जस्तै देखिन थाल्यो । राजकुमारहरुले रोग सर्ने भयले राजकुमारी प्रियालाई घुम्ने बहानामा जंगलतिर ल्याए । जंगलमा गुफा बनाएर भोजनादि सबैकुरा दिई राजकुमारीलाई गुफामा हालेर माटोले पुरी दिए । वाराणसीको राम नामको राजा पनि कुष्टरोगले पीडित भई राजपाट छाडेर त्यही जंगलमा आएका थिए । एउटा रुखमा ठूलो प्वाल हेरि ढोकाको व्यवस्था गरि त्यसैमा आफ्नो वास गरि बसेका थिए । जंगलको पाकेको कन्दमूल सेवन गर्दै उनी रोगमुक्त भएका थिए । एकदिन बाघ मानिसको गन्ध पाएर गुफाको माटो खोतल्न लाग्दा राजकुमारी प्रिया बाघको डरले जोरले चिच्याइन । स्त्री आवाज सुनेर राम नामको राजा गुफामा गएर आवाज दिएपछि उनले आफ्नो परिचय दिइन र आफू रोगको कारणले बाहिर आउन नसक्ने असमर्थता प्रगट गरिन । राजा मानेन र ओक्काक राजकुमारी प्रियालाई बाहिर निकालि आफूसंगै राखेर जंगलको कन्दमूल, औषधि गरि कुष्टरोग निवारण गर्यो । कुष्टरोग निको भएपछि राजाले राजकुमारी प्रियासंग विवाह गरि त्यहीं घरजम गरे । उता बाराणसीमा छोराहरुले पिताको रोग निको भएको कुरा थाहा पाई पितालाई लिन त्यही जंगलमा आए । पितालाई बाराणसी फर्कन आग्रह गरेपछि पिताले यहीं ठीक छु, बरु यहाँ एउटा नगर बसाई देऊ भने । पिताको आदेशमा त्यहाँ छोराहरुले नगर बसाए । त्यो नगरको नाम कोल नगर, व्याघ्रपथ–व्याघपज्ज–व्याघ्रपद्य दुईवटा नामले प्रसिद्ध भयो । पछि राजकुमारी प्रियाले १६ पल्ट जुम्ल्याहा सन्तान अर्थात ३२ वटा सन्तान जन्माइन् । यहींबाट कोलियवंशको उत्पत्ति भएको हो । राम नामको राजाले छोराहरुको राम्रो शिक्षा दिलाएर निपूण बनाए पछि एकदिन राजकुमारी प्रियाले छोराहरुलाई शाक्यवंशी तिमीहरुको मामा हो भनिन् । त्यसपछि कोलिय र शाक्यवंशीमा विहावारीको चलन शुरु भयो ।
कपिलवस्तु र कोलिय राज्यलाई रोहिणी नदीले छुट्याएको थियो । रोहिणी नदीको पानीको विवादको कारणले शाक्य र कोलियबीच युद्ध हुन लाग्दा बुद्धले विवाद मिलाई युद्ध रोकेको थियो ।
२०६८ माघ २० गते “मधेशवाणी” साप्ताहिकमा प्रकाशित
