नेपाली भूमीमा आफनै किसीमको भेषभूषा, भाषा, संस्कृति, पहिचान लिएर बसेका मधेशबासी सदियौंदखि राज्यद्वारा औपनिवेशिक शोषण्का शिकार भएका छन । नेपाली नागरिक भएपनि विदेशी सरहको व्यवहार, भेदभाव, राज्यविहीन, पहिचान नभएका अपमानित जीवन, अधिकारविहीन राज्यको निगाहामा बाँच्नु पर्ने गुलाम, दासको अवस्थाबाट मुक्ति पाउन २०६३ को ऐतिहासिक मधेश विद्रोह भएको हो । विभेदको विरुद्ध सम्पूर्ण मधेश उठेर राज्यलाई घुँडा टेकाएर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गराएको हो । मधेशको यो ऐतिहासिक उपलब्धि हो । मधेशमा राज्यले मधेशीलाई मानसिक रुपले परिवर्तन गरी यथास्थितिमा राख्न शोषणका अनेक अवयवहरु फैलाएको थियो । नेपाली राष्टियताबाट पृथक बुझने, नेपाली नागरिकता दिएर पनि विदेशी सरह व्यवहार गर्ने राज्यको सामन्ती मानसिकताका शिकार भएर मधेश सदियौं देखि यथास्थितिमा बस्न बाध्य थियो । आफनै देशमा विदेशी सरह, शरणार्थी सरह, पहिचानविहीन, भेदभावको पीडादायक अवस्थामा सदियौंदेखि बाँच्नु पर्दा ‘कि अधिकार लिने, कि शहादत दिने’ भन्ने आक्रोशका साथ मधेश विद्रोह भएको थियो । मधेशको भीषण आन्दोलनबाट भयभीत शासकवर्ग एक कदम पछाडि हटेर आन्दोलनलाई सम्झौतामा टुंग्यायो ।
देशका कुना काप्चाबाट परिवर्तनको पक्षमा उठेका आन्दोलनका आँधी बेहरीले राजतन्त्रको अन्त, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि अन्तरीम संविधानमा समावेश गराए पनि यहाँबाट यथास्थितिवादीको प्रपंच खेल शुरु भयो । नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने नारा दिने तर अधिकार नदिने राज्यको परम्परागत चिन्तनको परिणाम स्वरुप २ वर्षको पर्याप्त अवधिमा संविधान निर्माण हुन सकेन । ६० वर्ष देखि प्रतिक्षारत नेपाली जनता संविधान सभाबाट अधिकार सम्पन्न हुने आशबाट बंचित भए ।
मधेश आन्दोलन पश्चात मधेशलाई नियंत्रित गर्न, यथास्थितिमा राख्न राज्यले षडयन्त्रका अनेक तानाबाना बुन्न लागि परेको स्थिति विद्यमान छ । मधेशी एकतालाई छिन्न भिन्न गर्ने उद्देश्यले समुदाय समुदायबीच लडाउने, धार्मिक सहिष्णुतालाई खल्बलाउने गरी धार्मिक समुदायबीच लडाउने, जाति जातिबीच तिक्तता पैदा गरी भिडन्तको स्थिति सृजना गर्ने जस्ता कुत्सित मानसिकताले प्रेरित घोर दक्षिणपन्थी यथास्थितिवादी शक्ति मधेशमा केन्द्रित भएको सहजै अनुमान गर्न सकिन्छ । मधेशलाई उग्र परिवर्तनको चाहना राख्ने शक्ति पनि मधेश एकताको अनुकूल छैन । यी दुई प्रतिकूल शक्तिको बीचबाट मधेश आन्दोलनलाई जोगाएर अगाडी बढाउन जरुरी छ । यी षडयन्त्रका स्वरुप हेर्दा, सुन्दा आफनै अनुकूल लाग्ने भएकोले फँस्ने सम्भावना धेरै छ । फेरि मधेश आन्दोलनले सदियौं थिचोमिचोमा परेको कारणले मधेशमा महत्वाकाँक्षा तीव्रतर बढाएको छ, जो स्वाभाविक पनि हो । उच्च महत्वाकाँक्षा आन्दोलनको धार विपरीत भडकावको दिशामा अग्रसर गराउँदछ र यस्तो भयो पनि । आन्दोलनप्रति समर्पित उच्च महत्वाकाँक्षा जनमुक्तिको माध्यम हो भने गन्तव्यको प्राप्ति पनि । तर यसो भएन, महत्वाकाँक्षा आन्दोलनतिर भन्दा स्वार्थतिर बढी मुखरित भएर अगाडी बढयो । यही कमजोरीको फाईदा यथास्थितिवादी कट्टर दक्षिणपन्थी शक्तिहरुले लिएर मधेशको शक्तिलाई तहस नहस गर्न मधेशमा प्रवेश गर्यो । अहिले हामी त्यसैको शिकार भएर गन्तव्य बिर्सेर अलमलमा लागेका छौं । समग्र रुपमा मधेशमा देखिएको नैराश्यता, विश्वासको संकट यसैको परिणाम हो ।
मधेशमा प्रवेश गरेका यी छदमभेषी शक्तिहरु बडो चालाकीपूर्वक माथि नेतृत्ववर्गलाई फँसाएर कमजोर पार्यो भने नेताहरुको क्रियाकलापले निराश भएका मधेशी जनतालाई पनि मित्रतापूर्वक आफनो प्रभावमा लिएर आफनो स्वार्थ अनुकूलको गतिविधीमा तल्लीन छन । यी शक्तिहरु अनेक छदमभेषमा सक्रिय छन । मधेश केन्द्रिय सत्तालाई सबभन्दा बढी प्रभाव पार्ने भएकोले देशका सम्पूर्ण शक्ति एकजुट भएर मधेशलाई नियंत्रणमा लिन खोज्नु स्वाभाविक पनि हो । यस बिषयमा मधेशप्रेमी जनताले आफनो एकतालाई अक्षुण्ण राखी चनाखो भएर शक्रुशत्तिलाई पहिचान गरी कसरी विस्थापित गर्ने भन्ने बिषय धेरै महत्वपूर्ण भएको छ ।
मधेशवादी दलहरु पनि विभिन्न शक्ति केन्द्रको प्रभावमा परेका छन । सबै एक अर्काको दोषारोपणमा आफनो मौलिकतालाई बिर्सेर गन्तव्यहीन भएका छन । मधेशवादी शक्तिहरुको ध्रुवीकरणले नै मधेशमा नयाँ उर्जा दिएर पुनश्च उच्च मनोबलका साथ अग्रगामी दिशामा अगाडी बढाउन सक्छ । मधेशले पनि नैराश्यताको अवस्था हटाएर शत्रु र मिक्रशत्तिको पहिचान गरेर एकजूट भई अगाडी बढने बेला आई सकेको छ । संविधान नचाहने शक्तिहरु आफनो योजनामा सफल भएका छन । कथं कदाचित संविधान सभाको म्याद थपिए पनि मधेशले चाहेको जस्तो संविधान किमार्थ दिन नसक्ने यी शक्तिहरुको मानसिकता विगत २ वर्षको संविधान सभाको अभ्यासमा छर्लंग भई सकेको छ । फलस्वरुप, मधेशलाई अधिकार सम्पन्न गर्न पनि आन्दोलनको कुनै विकल्प नरहेको कुरा पनि उत्तिकै स्पष्ट छ ।
(२०६७ ज्येष्ठ ७ गते मधेशवाणीमा प्रकाशित)
