नेपालमा लिच्छिवीहरुको प्रवेश तथा यसका उद्गम स्थल—७

अंशुवर्मा लिच्छिवीवंशका नभै चन्द्रवंशी राजघरानाका थिए । गोपालवंशावलीमा अंशुवर्मा राजा शिवदेवका भानिज थिए भन्ने उल्लेख पाइन्छ । अंशुवर्माले आफनो संयुक्त शासनकालमा उदयदेवलाई ‘युवराज’ घोषणा गरेका हुन । लिच्छिवी राजवंशप्रति असीम श्रद्धा रहेको कारणले लिच्छिवी राजकुमार उदयदेवलाई युवराज घोषणा गरेका हुन् । उदयदेव नरेन्द्रदेवका बाबु हुन भन्ने कुरा जयदेवको पशुपतिको अभिलेखाबाट थाहा पाइन्छ । अर्थात् उदयदेव राजा शिवदेवका छोरा थिए भन्ने ठहर्छ । नरेन्द्रदेव गर्वसाथ आफूलाई लिच्छिवीवंशका भनी लेखेका छन् । लिच्छिवी ‘सूर्यवंशी’ थिए भन्ने माथि उल्लेख गरि सकिएको छ । अंशुवर्मा आफनो वंशवारे कहीं कतै केही उल्लेख पाइएको छैन । पछि आफनो नामबाट सबै विशेषण हटाएर ‘श्र्यंशुवर्मा’ मात्र अंकित उनका घेरै जसो टकमा सिंहको माथि ‘चन्द्र’ चिन्ह अंकित गरि आफू ‘चन्द्रवंशी’ रहेको आभास दिलाएको बुझिन्छ ।

फर्पिङको अभिलेखमा अंशुवर्माको वर्णनमा ‘क्षितितलशशिन’ भनी लेखिएको छ । यसबाट पनि उनी चन्द्रवंशी थिए भन्ने संकेत पाइन्छ । अंशुवर्मा शैवधर्मानुयायी रहेपनि सबै धर्ममा उनको समान आस्था थियो । राष्ट्रलाई समृद्धितिर लैजान उनले धेरै प्रशंसनीय कामहरु गरे । कृषि, पशुपालन र बाणिज्य आय आर्जनका मुख्य स्रोत बनाएका थिए । उनको शासनकालमा राष्ट्रमा शान्ति सुरक्षा कायम रह्यो, शासनमा स्थिरता रह्यो, आर्थिक उन्नति भयो, विद्याको प्रसार बढयो, कलाको क्षेत्रमा नयाँ प्रयोग भयो, विदेशमा नेपालको प्रतिष्ठा फैलियो ।

मानदेवको मृत्यु संवत् ४२७ पश्चात् एउटा संवत् प्रचलनमा आयो । यो कुन संवत् हो भन्ने इतिहासकारहरुमा मतैक्य छैन । त्यसपछिका अभिलेखहरुमा यही संवत् प्रचलित रह्यो । पाठकको सुविधाका लागि यो संवत्का साथै मैले वि.सं. लाई पनि संगसंगै प्रयोग गरेको छु । यो संवत् भन्दा वि.सं. ६३३ वर्षको अन्तर रहेको देखिन्छ ।  चित्लाङको उदयदेवको अभिलेख संवत् ४५ को हो । यसमा अंशुवर्माको अवसान भएको हो । वि.सं. ६७८ मा अंशुवर्माको अवसान भएको कुरा स्पष्ट हुन्छ । चीनियाँ यात्री युआनच्वाङले वि.सं. ६८६ मा भारतयात्रा आरम्भ गरेका थिए र वि.सं. ७०३ मा चीन फर्केका थिए । उनले यात्रा वृतान्तमा नेपालमा भूतपूर्व अंशुवर्मा भनी लेखेको छ । चीनियाँ यात्री युआनच्वाङको तिथि वि.सं. ६८६ र यसको आठवर्ष पहिला अंशुवर्माको देहावसान भएको कुरा सत्य ठहरिन्छ । उनको भूतपूर्व राजाको रुपमा चीनियाँ यात्रीको वर्णन पनि सही हो भन्ने स्पष्ट हुन्छ ।

 अंशुवर्माको अवसान पछि उत्तराधिकारीको रुपमा युवराज घोषित उदयदेव गद्दीनसीन भए । अंशुवर्मा अन्तिम समयमा ‘महाराजाधिराज’को उपाधिबाट बिभूषित भएका थिए । त्यसपछि उदयदेव पनि ‘महाराजाधिराज’ उपाधिबाट बिभूषित भए । लिच्छिवी राजाहरुमा महाराजाधिराजको उपाधि पाउने उदयदेव पहिला राजा भए । अंशुवर्माको अन्तिम समयमा आभीर गुप्तहरु फेरि टाउको उठाउन थालेको थियो । उदयदेव योग्य शासक साबित भएनन् । आभीरहरुबाट आत्मरक्षाका लागि उदयदेवलाई भोटमा शरण लिनु परेको थियो । चित्लाङको उदयदेवको अभिलेख संवत् ४५ (वि.सं. ६७८) बाट यी कुराहरु स्पष्ट हुन्छ       (धनवज्र बज्राचार्य, लिच्छिवीकालका अभिलेख, पृष्ठ ४००) ।

संवत् ४८ (वि.सं. ६८१) को छिन्नमस्ताको ध्रुवदेव + जिष्णुगुप्तको अभिलेखमा उदयदेवपछि राजाको रुपमा ध्रुवदेव देखिन्छ, त्यो पनि नामको राजाको रुपमा । सर्वाधिकार जिष्णुगुप्तमा केन्द्रित देखिन्छ । आफना पितामह भौमगुप्त जस्तै जिष्णुगुप्त पनि धेरै महत्वाकाँक्षी थिए । जनताको विद्रोह नहोस् भनेर उनले पनि हजुरबुवा जस्तै लिच्छिवी राजा ध्रुवदेवलाई राजगद्दीमा राखी अरु सबै अधिकार लिई संयुक्त शासन चलाएका थिए । जिष्णुगुप्तले राजा ध्रुवदेवलाई मानगृहमा राखी आफू अंशुवर्मा जस्तै कैलाशकूट भवनबाट शासन चलाउन थाले । जिष्णुगुप्तले अंशुवर्मा जस्तो महाराजाधिराज त लेखाएन तर ‘देव’ भने लेखाउन पछि परेन । थानकोटको अभिलेखबाट यो कुरा थाहा पाइन्छ ।

संवत् ५५ (वि.सं. ६८८) बलम्बूको भीमार्जुनदेव + जिष्णुगुप्तको अभिलेखबाट राजगद्दीमा भीमार्जुन देखा पर्दछ । ध्रुवदेव पछि भीमार्जुन राजा देखा परेपनि यी दुईमा के नाता थियो भन्ने कुरा अज्ञात छ । जिष्णुगुप्त पहिले जस्तै संयुक्त राजाको रुपमा शासन गरि रहेको देखिन्छ । जिष्णुगुप्त राजकुमार विष्णुगुप्तलाई ‘युवराज’ घोषित गरेका छन् । अंशुवर्मा शिव उपासक भए जस्तै जिष्णुगुप्त पनि शैव धर्मावलम्बी थिए । लिच्छिवी राजाहरु आफूलाई ‘सूर्यवंशी’ लेखाएका छन् भने अंशुवर्मा लगायत जिष्णुगुप्तले आफू ‘चन्द्रवंशी’ भनेका छन् । यसरी शासक—खलकलाई सूर्यवंशी र चन्द्रवंशी दुई शाखामा विभक्त गर्ने परिपाटी लिच्छिवी कालमै देखा परिसकेको थियो ।

संवत् ५७ (वि. सं. ६९०) मा मालिगाउँको विष्णुगुप्तको अभिलेखबाट के थाहा हुन्छ भने गद्दीमा भीमार्जुन तथा सहायक शासकको रुपमा विष्णुगुप्त शासन चलाई रहेको बुझिन्छ । फाल्गुनको यो अभिलेखभन्दा चार महिना पूर्व जिष्णुगुप्तको मृत्यु भई सकेको बुझिन्छ । युवराजको रुपमा विष्णुगुप्तको छोरा श्रीधरगुप्तको नाम आएको छ ।

संवत् ६४ (वि.सं. ६९७) को यङगालहिटीको भीमार्जुनदेव + विष्णुगुप्तको अभिलेखबाट विष्णुगुप्तले बूढानीलकण्ठ नारायणको ख्याति प्राप्त मूर्त्ति बनाउन लगाएको कुरा स्पष्ट हुन्छ । जलशयन अवस्थाको विशाल मूर्त्ति बनाउन उत्तरी पर्वतबाट विशाल शिलाखण्ड ल्याउन लगाएर विष्णुगुप्तले बूढानीलकण्ठमा (त्यसताका नरसिंहस्थान) जलशयन विष्णुको मूर्त्ति स्थापना गरेका थिए । गोपालवंशावलीको २२ पत्रबाट पनि यसको पुष्टि हुन्छ—“राजा विष्णुगुप्त……तेन…….उत्रप्रवतात् मधे नरशिंहस्थाने महच्छिलामयविष्णुजलशयन, अतिसुन्दर आवाससहितम् कृतवान्” यस कुराबाट बूढानीलकण्ठ नारायणको मूर्त्ति विष्णुगुप्तले स्थापना गरेका हुन् भन्ने सिद्ध भएको छ (उही, पृष्ठ ४४५) ।

संवत् ६७ (वि. सं. ७००) को ललितपुर दरबारको भन्सारचोकको नरेन्द्रदेवको अभिलेखबाट के थाहा हुन्छ भने नरेन्द्रदेवको उदयपछि लिच्छिवी कालमा रहेको द्वैतशासनको अन्त भयो । लिच्छिवी राजा उदयदेव अंशुवर्माको अवसान पछि धेरै दिन टिक्न सकेनन् । आत्मरक्षाका लागि भोटमा शरण लिनु परेको थियो । यीनै उदयदेवका छोरा नरेन्द्रदेव हुन् । लिच्छिवीकालका कमजोर राज्यव्यवस्थालाई सुदृढ पार्न उनी साहसिक कदम उठाए । आफनो पुश्तैनी राज्य फिर्त्ता गराउन अभियानमा नेपाली जनताले साथ दिए । भोटले पनि नरेन्द्रदेवलाई सहयोग गरेको थियो । संवत् ६५ सम्म भीमार्जुन तथा विष्णुगुप्तको अभिलेख पाइन्छ । संवत् ६७ अर्थात् वि. सं. ७०० मा नरेन्द्रदेवको अभिलेख देखा पर्दछ । यही दुई वर्ष नरेन्द्रदेवको क्रान्तिको वर्ष रहेको थाहा हुन्छ । शक्तिशाली रुपमा रहेका आभीर गुप्तहरुलाई परास्त गरि नरेन्द्रदेवले लिच्छिवीहरुको एकलौटी शासन प्राप्त गरे । यस अभिलेखमा धेरै शत्रुहरु सखाप भए भन्ने उल्लेख रहेको छ । त्यसपछि आभीरहरु सिर उठाउने हिम्मत गर्न सकेन । मानदेव जस्तै नरेन्द्रदेवले पनि आफनो साहस, कुशलताको भरमा राम्रो प्रसिद्धि पाएका थिए ।

अंशुवर्माले जनहितका लागि बसालेका स्वायत्त शासनलाई नरेन्द्रदेवले यथावत् कायम राखी जनतालाई भलो हुने धेरै कामहरु गरे । जनता सन्तुष्ट रहे राज्य ऐश्वर्य शक्तिशाली हुने विश्वासका साथ संवत् १०३ सम्म उनले ३६ वर्ष शासन गरे ।

२०६९ भाद्र २२ गते मधेशवाणी साप्ताहिकमा प्रकाशित 

Leave a Comment

error: Content is protected !!