लिच्छिवी शासनमा भारतीय दर्शनको प्रभाव स्पष्ट रुपमा देखिन्छ । कतिपय राजाहरुको वैवाहिक सम्बन्ध वैशाली, मगधसंग रहेको अभिलेखबाट थाहा हुन्छ । वैशालीमा गणतन्त्रात्मक शासनमा रहेको लिच्छिवीवंश नेपालमा राजतन्त्रात्मक व्यवस्था अंगाले पनि गणतन्त्रात्मक स्वायत्तताको प्रभाव शासन व्यवस्थामा देखिन्छ । द्रङ्ग, पाञ्चालीमा स्वायत्त शासनको प्रभाव रहेको अनेक अभिलेखबाट स्पष्ट हुन्छ ।
संवत् १०३ (वि. सं. ७३६) वज्रघरको नरेन्द्रदेवको अभिलेखलको ३६सौं श्लोकले दूतक भट्टारक श्रीशिवदेवको उल्लेख गरेको छ । पशुपतिको जयदेवको अभिलेखबाट शिवदेव नरेन्द्रदेवका छोरा हुन भन्ने स्पष्ट हुन्छ । नरेन्द्रदेवले आफनो लागि ‘परमभट्टारक’ तथा उत्तराधिकारीलाई ‘भट्टारक’ पद दिएका थिए ।
संवत् ११९ (वि.सं. ७५२) लगनटोलको शिवदेवको अभिलेखमा दूतक राजपुत्र जयदेव उल्लेख भएको छ । पशुपतिको अभिलेखले जयदेव शिवदेवको छोरा हो भनी प्रमाणित गरेको छ । नरेन्द्रदेवको पालामा उत्तराधिकारीलाई भट्टारक भन्ने चलन भएपनि यो अभिलेखमा राजपुत्र मात्र उल्लेख भएको पाइन्छ । तर पछिको अभिलेखमा जयदेवलाई ‘भट्टारक’ भनिएको छ । यो द्वितीय जयदेव हुन् । मानदेवभन्दा १६ पुश्ता पूर्व अर्थात् ४०० वर्ष पूर्व जयदेव प्रथमले लिच्छिवीवंशको जगलाई नेपालमा मजबूत बनाएका थिए भन्ने उल्लेख पाइन्छ । जयदेव प्रथमको ख्यातिको आधार के थियो भन्ने कुरामा इतिहास मौन देखिन्छ ।
संवत् १३७ (वि. सं. ७७०) को च्यासलटोलको जयदेव द्वितीयको अभिलेखबाट जयदेव गद्दीमा बसेको थाहा हुन्छ । यसमा दूतक भट्टारक श्रीविजयदेव स्पष्ट रुपमा उल्लेख भएको छ । यस कारण भट्टारक विजयदेव जयदेव द्वितीयका छोरा हुन् भन्ने स्पष्ट हुन्छ ।
संवत् १५७ (वि.सं.७९०) पशुपतिको जयदेव द्वितीयको अभिलेखले लिच्छिवी राजाको वंशावलीको उल्लेख गरेको छ । लिच्छिवीवंशलाई अयोध्याको राजा दशरथवंशसंग जोडेर देखाइएको छ । यही सूर्यवंशी कूलमा लिच्छिवी भएका थिए र नेपालमा यही लिच्छिवी राजा आएर लिच्छिवीवंशका जग बसालेका थिए भन्ने उल्लेख गरिएको छ । लिच्छिवीहरुको मूलथलो वैशालीको उल्लेख गरिएको छैन । यही लिच्छिवी राजाको बारहौं पुश्ता पछि सुपुष्प राजाको उल्लेख भएको पाइन्छ । लिच्छिवीवंशकै पाटलीपुत्रमा सुपुष्प राजाको पनि उल्लेख भएको पाइन्छ । गोपाल वंशावली, १९, २० पत्रमा गोपालवंशावलीकारले “सुपुष्पदेवले नेपालमा वर्णव्यवस्था लागू गरे, पशुपतिको मन्दिर बनाए” लेखेका छन्— राजा सुपुष्पदेव वर्ष ७६।। तेन हि नेपालभूमिश्चातुर्वर्ण्ण कृता । श्रीपशुपतिभट्टारकस्य देवालय कृतम् सङ्खलासंछादनम् ।। तत सुन्दरणिर्म्मितनगरम् सकलराज्यमर्ज्जादा कृत्यः न्यायेन प्रजाः समस्त प्रतिपालितानिः स्वस्वकीयेन भुमि..संस्थ….व्यवहार प्रवर्त्तते ।। जयदेव प्रथमभन्दा सुपुष्पदेव २३ पुश्ता पहिला भएका थिए भन्ने कुरा यो अभिलेखमा उल्लेख छ । पाटलीपुत्रको सुपुष्प तथा नेपालको सुपुष्पदेवको नामको मिल्ने मात्र हुन वा एकै व्यक्ति हुन भन्ने खुल्न सकेको छैन । सुपुष्पदेव पछिका २३ पुश्ताको नामोल्लेख नभएको कारण के हुन सक्दछ ? यस वंशावलीको अभिलेखबाट पनि स्पष्ट हुन सकेको छैन । २३ पुश्तापछि एकैचोटि जयदेव प्रथमको धेरै सम्मानसाथ वर्णन गरिएको पाइन्छ । यो अभिलेखले राजाहरुको क्रमिक वंशावलीको उल्लेख गर्नुभन्दा पनि लिच्छिवीवंशको गौरव बढाउने राजाहरुको उल्लेख गर्ने मनसायले अभिलेख कुँदाएको जस्तो भान हुन्छ । लिच्छिवी राजाको बारह पुश्तापछि राजा सुपुष्प भएको वर्णन पाइन्छ, तर ती बारह राजाको कहीं कतै उल्लेख पाइँदैन । त्यस्तै जयदेव पछि र बृषदेव अघिका बारह पुश्ताको उल्लेख लिच्छिवी वंशावलीमा पाइँदैन । गोपाल वंशावली अनुसार ती बारह राजा मध्ये हरिदत्तले नेपाल उपत्यकाको चार नारायणको स्थापना गरेको वर्णन पाइन्छ । केवलपुरको अभिलेखमा उल्लेखित बसुराज यिनै हरिदत्तका छोरा हुन भने इतिहासकारले अनुमान गरेका छन् ।
ज्ञानेश्वरको अभिलेख तथा नक्साल नारायणचौरको अभिलेखबाट न्यायव्यवस्थामा जयदेव द्वितीय अग्रपंक्तिमा थिए भन्ने कुरा स्पष्ट हुन्छ । लिच्छिवीकालमा न्याय व्यवस्था तहगत रुपमा देखिन्छ । कुथेर, शोल्ल, माप्चोक, लिङग्वल, भट्टाधिकरण, पूर्वाधिकरण, पश्चिमाधिकरण आदि अधिकरणद्वारा मुद्दा मामिलाको छिनोफानो गरिन्थ्यो । ग्राम पाञ्चालीले गरेको फैसलामा अपराधीलाई चित्त नबुझे दौवारिकमार्फत राजदरवारको भित्री इजलास (अन्तरासन)मा उजूर गर्ने व्यवस्था गरिएको यो अभिलेखबाट थाहा हुन्छ । न्याय व्यवस्था छिटो छरितो र निष्पक्ष होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको थियो ।
जनतालाई न्याय, प्रशासनको सेवा सुलभ रुपमा उपलब्ध गराउन स्वायत्त शासनको व्यवस्था गरिएको थियो । पञ्चापराध जस्तो मुद्दा ग्राम पाञ्चालीले छिन्ने, दण्ड विधान गर्ने आदि सबै अधिकार सम्पन्न यी निकायहरु प्नि उचित न्याय गर्न चुके दरवारको अन्तरासनमा उजूर गर्न सक्ने व्यवस्थाले असल न्याय व्यवस्थाबारे हामी जानकारी पाउँदछौं ।
(सन्दर्भ स्रोत— धनवज्र वज्राचार्य, लिच्छवीकालको अभिलेख)
२०६९ भाद्र २९ गते मधेशवाणी साप्ताहिकमा प्रकाशित
