मानदेवपछि लिच्छिवीवंशका राजाहरुको क्रमबद्ध इतिहासको अभाव देखिन्छ । मानदेव जस्तै प्रभावशाली राजा नरेन्द्रदेवभन्दा पहिले तथा मानदेवपछिका राजाहरुको नाम यदाकदा नाम आएको छ । सम्भवतः राजा कमजोर अवस्थामा रहेको कारणले होला, भारदारहरुको चर्चा बढी मात्रामा देखिन्छ । संवत् ४७९ (वि.सं. ५८६) फर्पिङको गणदेवको अभिलेखबाट गद्दीमा राजा गणदेवको नाम आएपनि शासनको सारा बागडोर भौमगुप्तको हातमा रहेको कुरा स्पष्ट हुन्छ । विभिन्न अभिलेखमा भौमगुप्तको उल्लेख भएको कारणले पनि यो पुष्टि हुन्छ । लिच्छिवीकालमा ‘श्री’को धेरै महत्व थियो । राजा वा राजा सरहको व्यक्तिलाई श्रीको उपाधिले सम्मानित गरिन्थ्यो । राजा बसन्तदेवको पालामा महाप्रतिहार सर्वदण्डनायक जस्तो महत्वपूर्ण पद ओगटेका रविगुप्त शक्तिशाली हुँदै सहायक शासक बन्न पुगेका थिए तर श्री शब्दको उपाधि लिन सकेका थिएन । गणदेवको समयमा भौमगुप्त रविगुप्तभन्दा शक्तिशाली देखिएका छन् । उनले आफनो नाउँमा श्री जोडेको देखिन्छ । यसबाट के थाहा हुन्छ भने राजा क्रमिक रुपले कमजोर तथा भारदार बलियो हुँदै गयो (उही, पृष्ठ १८४) ।
लिच्छिवीकालमा किराँतसंगै बृज्जि, मल्ल, शाक्य, कोलिय, र आभीर गुप्त जातिको उल्लेख पाइन्छ । आभीर गुप्तहरु शासनमा क्रमिक रुपले बलिया हुँदै गएपछि सह शासक बन्न पुगेका थिए । कमजोर राजाको रुपमा रहेको गणदेवको पालामा भौमगुप्त बलियो राजाको रुपमा देखिन्छ । भौमगुप्तको आमाको नाम आभीरी गोमिनी थियो जसको चर्चा पशुपतिको आभीरी गोमिनीको अभिलेखमा भएको छ । आभीरी गुप्त शासकका केही नाम उल्लेख पाईएको छ — मानगुप्त, अनुपरम, रविगुप्त, भौमगुप्त, जिष्णुगुप्त, विष्णुगुप्त, श्रीधरगुप्त आदि ।
भौमगुप्तको ३३ वर्षे शासनकालमा गणदेव, गंगादेव, शिवदेव आदि राजाहरु फेरिए । संवत् ४८७ (वि.सं. ५९४) सम्म गणदेव राजा थिए । संवत् ४८९ (वि.सं. ५९६) मा चपलीगाउँको गंगादेवको अभिलेखबाट गणदेवको छोरा गंगादेव राजा भएको प्रष्ट हुन्छ । संवत् ५१२ (वि.सं. ६१९) विष्णुपादुकाको फेदीको शिवदेवको अभिलेखबाट गद्दीमा शिवदेव रहेको कुरा स्पष्ट हुन्छ । शिवदेवकै पालामा अति महत्वाकाँक्षी रुपमा देखिएको भौमगुप्तको पतन शुरु भएको देखिन्छ । भनिन्छ राजा शिवदेवले भानिज पर्ने अंशुवर्मालाई भौमगुप्तलाई हटाउन योजना बनाउन लगाएका थिए । चाँगुको शिवदेव+अंशुवर्माको अभिलेखबाट यो कुराको पुष्टि हुन्छ । यसमा संवत् उल्लेख छैन । संवत् ५१६ पाटन भीमसेनस्थानको अभिलेखमा अंशुवर्मा ‘श्रीसामन्त’ मात्र छन् । त्यसकारण चाँगुको यो अभिलेख संवत् ५१५ तिरको हो भनेर इतिहासकारहरुले अनुमान गरेका छन् ।
भौमगुप्तबाट असन्तुष्ट राजा शिवदेवले नाता पर्ने अंशुवर्माको सहायताले भौमगुप्तलाई पदच्यूत गरि सोभन्दा बढी सम्मान दिएर अंशुवर्मालाई पदासीन गरायो । अंशुवर्मा महत्वाकाँक्षी भए पनि ‘श्रीसामन्त’ ‘श्रीमहासामन्त’ आदि मात्र स्थानमा आफूलाई राखे । लिच्छिवी राजतन्त्रप्रतिको आस्थाका कारणले होला, उनी राजालाई कायमै राख्न चाहन्थ्यो । त्यसैले शिवदेवपछि उदयदेव नै राजा बनोस् भनेर उदयदेवलाई ‘युवराज’ घोषित गरेका थिए । भौमगुप्तचन्दा बढी अधिकार प्राप्त गर्न सफल अंशुवर्माले राजा शिवदेवबाट आफनो प्रशंसा गर्न लगाएर आफनो उच्चता स्थापित गरायो । त्यसबेलाका सामन्त राजाहरु उनलाई ढोग्न आएको कुरा लेखाएर त्यस समयका वास्तविक शासक अंशुवर्मा नै हुन् भनी देखाइएको छ । लिच्छिवी राजाहरुले पनि कहिले नलिएको ‘महाराजाधिराज’ पद उनले लिए पनि राजगद्दीमाथि उनको सधैं आदर नै रह्यो । भौमगुप्तको पालाभन्दा राजा शिवदेवको अधिकार सीमित भएपनि राजा मानदेवको उपस्थितिमा खुशी नै थिए । संयुक्त शासन रहेको कुरा चाँगुकाृ अभिलेखबाट पुष्टि हुन्छ । यसरी राजा र प्रजाका विश्वास जितेर माथिल्लो अवस्थामा पुगेका नेपालको इतिहासमा बेग्लै खालका शासक अंशुवर्मा हुन्ृ ।
अंशुवर्मा संवत् ५१५ (वि.सं. ६२२) मा ‘श्रीसामन्त’ को राजकीय पद धारण गरि विधिवत् शासन चलाउन थाल्यो । उनले प्रशासन सम्बन्धि धेरै सुधारहरु गरे । प्रशासन सम्बन्धि अधिकार केन्द्रमा मात्रै सीमित नगरि ग्राम (वस्ती), तल (वस्तीको बृहदरुप) तथा द्रङ्ग (वस्ती समूह)मा अधिकार बाँडेर स्थानीय स्वायत्त शासनलाई प्रोत्साहन गरेका थिए । यसरी केन्द्रमा धाउनु नपरोस् भनेर जनतालाई स्थानीय स्तरमा सुविधा दिलाउने प्रयास गरेका थिए । धेरै जसो अधिकार ग्राम पाञ्चाली (पञ्चायत)लाई दिइएको थियो । जनताको दुःख, असन्तुष्टताबाट शत्रुहरु फायदा नउठाओस् भनेर अंशुबर्माले स्वायत्त शासनमा बढी जोड दिएका थिए । कौटिल्यको विचारधाराबाट प्रभावित अंशुवर्मा आफनो शासन पद्धतिमा उनकै विधि विधानलाई मानेर कानून बनाउँथे । राजकोष भर्न कुथेर अधिकरणको जिम्मेवारी थियो । विभिन्न किसिमको राजस्व कर उठाउने यसको अधिकार थियो । चोरी गर्नु, हत्या गर्नु, राजद्रोह लगायत ठुल्ठूला पाँच अपराधलाई ‘पञ्चापराध’ भनिन्थ्यो । पञ्चापराध सम्बन्धि मुद्दामामिला शुल्ली अधिकरणले हेर्दथ्यो ।
प्रशासनको दृष्टिले त्यसबेला बस्तीहरु ग्राम, तल, द्रङ्ग, पाञ्चालीमा विभक्त गरिएको थियो । सार्वजनिक कार्यको बन्दोवस्त मिलाउन अंशुवर्माले विभिन्न गोष्ठीहरुको सनद निकालेका थिए भन्ने कुरा लेलेको शिवदेव+अंशुवर्माको अभिलेखबाट स्पष्ट हुन्छ । कतिपय गोष्ठी धार्मिककार्यसंग सम्बन्धित थियो भने पानीयगोष्ठी, प्रणालीगोष्ठी, प्रवहणगोष्ठी, मल्लयुद्ध गोष्ठी, अर्चागोष्ठी आदि लौकिक जीवनसंग सम्बन्धित थियो । धार्मिक गोष्ठीहरुमा पनि भिन्नाभिन्नै गोष्ठीहरुको व्यवस्था थियो । बाजाकोलागि बादित्रगोष्ठी, ध्वजाकालागि ध्वजगोष्ठी, बत्तीका लागि प्रदीपगोष्ठी, धूप बन्दोवस्तका लागि धूपगोष्ठी, भगवतवासुदेव ब्राह्मणगोष्ठी, इन्द्रगोष्ठी आदि अनेक राजकीय मान्यता प्राप्त गोष्ठीहरुको उल्लेख पाइन्छ (उही, पृष्ठ २८६,२८७) । यही गोष्ठीहरु कालान्तरमा ‘गूठी’मा रुपान्तरित भएको देखिन्छ । त्यस्तै ग्रामभन्दा ठूलो वस्तीलाई तल भनिन्थ्यो । त्यसको मुख्यलाई तलस्वामी भनिन्थ्यो । तलस्वामीबाटै अहिले प्रचलित तलसिं भएको हो ।
यो गोष्ठी व्यवस्था अन्तर्गत आरोग्यशालाको बन्दोवस्त देखिन्छ । जनताको रोग निवारणका लागि सार्वजनिक औषधालय हुन्थे भन्ने स्पष्ट हुन्छ । चीनियाँ यात्री वाङयुन्चेको वर्णनमा नेपालीहरु औषधिको काममा सिपालु छन् भन्ने उल्लेख गरेका छन् । मिलेर काम गर्ने भावनाले गोष्ठीप्रथाको जन्म दिएको हो र यसको संरक्षण र सम्बर्द्धनमा राजकीय सहयोग निरन्तर भएकोले यो प्रथा धेरै दिनसम्म समाजमा रहि रह्यो ।
लेलेको अभिलेख संवत् ५२६ (वि.सं. ६६१) सम्म राजा शिवदेव र अंशुवर्माको संयुक्त शासन चलेको देखिन्छ । बुङमतीको अंशुवर्माको अभिलेख संवत् ५२९ मा शिवदेवको उल्लेख भएको छैन । राजकाजसंग शिवदेवको सम्बन्ध छुटेको देखिनु, श्रीशिवदेवविहारको उल्लेख तात्कालिक अभिलेखमा पाइनु, शिवदेवले भिक्षुचर्या लिए भन्ने अनुश्रुति चलेर आउनु इत्यादि कुरा विचार गर्दा शिवदेवले राज्यत्याग गरेको भन्ने देखिएको छ (उही, पृष्ठ २९२) ।
शिवदेवपछि पूर्ण शासकको रुपमा देखिएका अंशुवर्मा कहिले पनि मानगृहलाई प्रयोग गरेन, उनी आफनो लागि बनाएको अति प्रशंसनीय तथा दर्शनीय कैलाशकूट भवनमा नै आफनो आवास बनाई त्यहाँबाट सनद जारी गर्न थाले । कैलाशकूटको अति विशिष्ट वास्तुकलाबारे चीनिया राजदूत प्रभावित भएर आफनो वर्णनमा यसको कलात्मक सौन्दर्यको उल्लेख गरेको छ । विदेशमा स्मेत अति सुन्दर प्यागोडा शैलीको कैलाशकूट भवनको निकै चर्चा रहेको यो कहाँनिर अवस्थित थियो भन्ने कुरा प्रमाणको अभावमा यकीन गर्न सकिदैन । इतिहासकारले यो हाँडीगाउँमा रहेको अनुमान गरेका छन् ।
२०६९ भाद्र १५ गते मधेशवाणी साप्ताहिकमा प्रकाशित
