लिच्छिवीवंशका धेरै लोकप्रिय राजाको रुपमा रहेको मानदेवले स्थापना गरेको स्तम्भ अभिलेखले लिच्छिवीवंश परम्पराको सामाजिक, आर्थिक, लोकव्यवहार, धर्म संस्कृति, राजनीति आदिका बारेमा स्पष्ट प्रकाश पार्छ । मानदेवको पालादेखि लिच्छिवीबारेको प्रमाणिक इतिहास स्पष्ट हुन्छ ।
आमाको पुण्य बढोस् भनेर वामन मूर्त्तिको स्थापना तथा अन्य दान धर्मकर्म गराएर मातृभक्तिको उत्कृष्ट उदाहरण दिएर मानदेवले एउटा आदर्श स्थापित गरेका थिए । लाजिम्पाट तथा तिलगंगाको मानदेवको अभिलेखमा तथा अन्य अभिलेखमा पनि मानदेवको मातृभक्ति स्पष्ट झल्किन्छ । संवत् ३८६ (वि.सं. ५२१) मा मानदेवले चाँगुनारायणको स्तम्भलेखमा आमा राज्यवतीलाई दान धर्म गर्न लगाएको कुरा उल्लेख छ । चाँगुनारायणको अभिलेख पछि राज्यवतीको उल्लेख अरु कहीं नभेटिएकोले उनको मृत्यु भई सकेको बुझिन्छ ।
संवत् ३९० (वि.सं.५२५) मा मानदेवकी धर्मपरायण रानी क्षेमसुन्दरीले शिवलिङ्ग स्थापना गरि लाजिम्पाटको क्षेमसुन्दरीको अभिलेख कुँदन लगाएकी हुन् । यसमा सर्वगुण सम्पन्न मानदेवको यशकीर्त्तिबारे उल्लेख छ । संवत् ४१९ (वि.सं.५३४) मा मानदेवकी अर्की रानी गुणवतीले लाजिम्पाटमा शिवलिङ्ग स्थापना गरि पति मानदेवको ऐश्वर्य बढेको, परलोक गएको बाबु किन्नरवर्माको अक्षम्य (कहिले नाश नहुने) भई रहोस् भनेर अभिलेख कुँदन लगाएकी थिइन ।
‘श्रीभोगिनी’ ‘देवीभोगिनी’ को उल्लेख धेरै ठाउँमा रहेकोले इतिहासकारहरुमा एउटा संशय थियो– भोगिनीको हुन ? मानदेवको मुद्रा मानांकमा पनि एकातिर श्रीभोगिनी उल्लेख पाइएको छ । पशुपतिको सूर्यघाटको अभिलेखले यो संशयको निराकरण गरि दिएको छ । संवत् ४२७ (वि.सं.५३४) उल्लेख भएको यो अभिलेख मानदेवकी जेठी राजकुमारी विजयवतीले राख्न लगाएकी थिइन । आफनी आमा भोगिनीबारे यो अभिलेखको तृतीय पद्यमा विस्तृत वर्णन गरिएको छ– “तस्यानवद्यगुणरत्ननिधानभूता भूतानुकम्पचतुरा विनय प्रवीणा वीणानिनादमधुरस्वरवल्गुवाक्या श्रीभोगिनीति कथितास्य बभूव देवी” चतुर्थ पद हेरौं–“तस्यां स लिच्छिवीकलाम्बरपूर्ण्णचन्द्रः चन्द्रः प्रभामिव शरन्निशि निर्म्मलायाम् स्फीतेजसं दुहितरं जनयाम्भुव आत्मानुरुपविविधामलसदगुणाढ्याम्” पंचम पदमा “नाम्ना सा विजयवतीति राजपुत्त्री प्रख्याता विविधकलाविचक्षणत्वात् या पत्यैहरइव वार्त्तदेवलाभे भक्तत्वात्तदनुनयैकपेशलाभूत यो अभिलेखले मानदेवको यशोगान गर्दै भोगिनीको कोखबाट जन्मेकी विजयवतीको पति वार्त्तदेवलाभ रहेको कुरा स्पष्ट हुन्छ । भोगिनी शब्दमा श्री र देवी शब्द प्रयुक्त भएकोले भोगिनी बडामहारानी रहेको प्रमाणबाट स्पष्ट हुन्छ । त्यक्तिवेला राजपरिवारमा श्रीको धेरै महत्व रहेकोले भोगिनीलाई श्री र देवीको उपाधिले बिभूषित गरेको देखिन्छ ।
संवत् ४२८ (वि.सं.५३५) थानकोटको बसन्तदेवको अभिलेख अनुसार मानदेव पछि बसन्तदेव राजा भएको कुरा छ । पशुपतिको जयदेव द्वितीयको अभिलेखमा– “श्रीमानदेवो नृपतिस्ततौभुत्ततो महीदेव इति प्रसिद्धः । आसीद्वसन्तदेवोस्मात…..।” भनी उल्लेख भएकोले मानदेव पछिका राजा महीदेव ठहर्छ । ४१ वर्ष शासन गरेर संवत् ४२७ अर्थात् (वि.सं. ५३४) मा मानदेवको शासनको अन्त भएको कुरा विभिन्न अभिलेखले प्रष्ट्याएको र संवत् ४२८ मा थानकोटको अभिलेखले बसन्तदेव राजा भएको कुरा अलि विवादित जस्तो देखिएकोछ । जैसीदेवलको अभिलेख र सीतापाइलाको अभिलेखले महीदेवलाई राजा भएको पुष्टि गर्दछ । यसबाट के निष्कर्ष आउँछ भने महीदेवको शासनकाल अति छोटो अवधिको सम्भवतः एकवर्षको थियो । मानदेव कुन दरवारबाट शासन गर्दथे भन्ने बिषयमा मानदेवको अभिलेख मौन छ । थानकोटको बसन्तदेवको अभिलेखमा ‘मानगृह’ दरवारको चर्चा आएको छ । यही दरबारबाट मानदेवका नाती बसन्तदेवले शासन गरेको कुराबाट मानदेव बस्ने दरबार मानगृह नै होला भन्ने अनुमान गर्न सकिन्छ । यो मानगृह कहाँ थियो यो कुरा अज्ञात छ ।
बसन्तदेव पछिका तथा नरेन्द्रदेव अघिका राजाहरुबारे इतिहास मौन छ । बूढानीलकण्ठनिरको मनुदेवपालाको अभिलेखले मनुदेव राजाको उल्लेख त भएको छ तर तिथि मितिको उल्लेख नभएको कारण यो मनुदेव कहिले राजा भएको थियो भन्ने कुरा थाहा पाइँदैन । विभिन्न वंशावली मध्ये भक्तपुरको जितामित्र मल्लले रचेको वंशावलीको एक अंश यहाँ उद्धृत गरिएको छ – ‘महीप बृषदेव शंकरदेव धर्मदेव मानदेव महीदेव । वसन्त उदय मनोदेव….।’ बसन्तदेव पछि संक्षिप्त रुपमा उदयदेव र मनोदेवको नाम उल्लेख भएको छ । मनुदेवको अभिलेखबाट यो सत्यापन हुन्छ कि यही मनुदेव मनोदेव हुन (धनवज्र वज्राचार्य, लिच्छिवीकालको अभिलेख, पृष्ठ १६६) ।
साँखु दुर्गाहिटीको वामनदेवको अभिलेखमा संवत् ४६० (विं सं. ५६७) मा लिच्छिवी राजा वामनदेव गद्दीनसिन थिए । यो अभिलेखबाहेक अरु कुनै ठाउँमा यो वामनदेवको उल्लेख नभएकोले यो कसका छोरा थिए भन्ने कुरा अज्ञात नै रहेको छ । कुनै वंशावलीहरुले पनि वामनदेवलाई पुष्टि गर्न सकेको छैन । तर तिथि मितिसहितको अभिलेखमा वामनदेव राजा भएको स्पष्ट लेखिएको हुँदा यो तथ्यलाई नकार्न सकिंदैन । संवत् ४६७ (वि.सं. ५७२)मा मृगस्थली जाने बाटोमा रामदेवको अभिलेखमा गद्दीनसिन राजा रामदेव साथै महासामन्त क्रमलीलको उल्लेख भएको छ । यसको पनि चर्चा कहिं देखिदैन ।
२०६९ भाद्र ८ गते मधेशवाणी साप्ताहिकमा प्रकाशित
