नेपालमा लिच्छिवीहरुको प्रवेश तथा यसका उद्गम स्थल–४

लिच्छिवीहरुको प्रमाणिक वंशावलीबारे इतिहास मौन छ । राष्ट्रहितका लागि उल्लेखनीय कार्य गर्ने राजाहरुको नाम इतिहासमा अंकित देखिन्छ । इतिहासकारहरुले लिच्छिवीहरुको शासन ७०० वर्षसम्म कायम रहेको कुरा स्पष्ट गर्दा राजवंशको सुची पनि लामो हुनु पर्दथ्यो । तर सिमित राजाहरुको नाम मात्र इतिहासले जोगाउन सक्यो । ती नामहरु पनि शिलालेखको माध्यमबाट सुरक्षित रहन सक्यो ।

मानदेव– आफ्नो पितासंग अश्त्र शस्त्र, राजकाज सम्बन्धि, नैतिक धर्माचरण विद्या हासिल गरि राजा बनेका मानदेवको पालादेखि प्रमाणिक तथ्यहरु देखिन थाल्दछ । भनिन्छ– मानदेव राजा भएपछि बरपरका सामन्त राजाहरु स्वतन्त्र हृुन खोजि रहेका थिए । आफ्नो पैतृक राज्य थाम्न मानदेवले उनीहरुलाई दबाउन आवश्यक ठाने र आफ्नो मामाको सहायताले पूर्वतिर लागे । किरातहरुलाई परास्त गरि लिच्छिवीहरुको शासन स्थापित हुँदा किरातहरु पूर्वतिर लागेको संकेत गोपाल वंशावलीको वर्णनबाट पाइन्छ (धनवज्र वज्राचार्य, लिच्छिवीकालका अभिलेख, पृष्ठ २३) । पूर्वतिरका सामन्तहरु मानदेवको अधिनस्थ स्वीकार गरेपछि सबैकुरा यथावत राखी मानदेव पश्चिमतिर लागे । गण्डकी पारिका मल्लपुरी सामन्तहरुले बोलाएको नटेरेको रीसमा मानदेवले पहिला मामाको फौजबाट मल्लपुरी घेर्न लगाए । पछि आफ्नो फौज लिएर गण्डकी पारि गई आक्रमण गरे । मल्लपुरीका सामन्तहरु मानदेवको आधिपत्य स्वीकार गर्‍यो । यसरी विजयी भएर मानदेव नेपाल फर्क्यो । विजय यात्रा भन्नाले मानदेवले नेपालको भूभागमा बढोत्तरी गरेको होइन, केन्द्रमा भएको गडबडीका कारण स्वतन्त्र हुन खोजेका सामन्त राजाहरुलाई यथास्थान राख्न आक्रमण गरेको मात्र हो ।

चाँगुनारायणको अभिलेखमा नेपाल ठूलो भएको कुरा स्पष्ट हुन्छ । लिच्छिवीकालमा नेपालको सिमाबारे समुद्रगुप्तको प्रयागको स्तम्भलेख अनुसार कुमाउँदेखि पूर्वपट्टि, आसाम देखि पश्चिमपट्टिको भूभाग नेपाल हो भनेर उल्लेख भएको पाइन्छ ।

चीनियाँ यात्री युआनच्वाँगको वर्णनबाट पनि नेपालको सिमाबारे प्रकाश पर्छ– “हिमालमा निपोलो (नेपाल) रहेको छ ; यसको घेरा ४००० ली जति छ, त्यो देश पर्वत बेंसीहरुको ताँतीले भरिएको छ, त्यसको राजधानीको घेरा २० लीको छ भनी वर्णन गरेको पाइन्छ   (वाटर्स, युआनच्वाँगको भारतयात्रा, पृष्ठ ८३, ८४) ।

१ लीको १/३ माइल हुन्छ, २५/११ माइलको एक कोश हुन्छ । ४००० लीको ५८६.६६ कोश हुन्छ । यसरी लम्बाई चौडाई २९३ कोश हुने भयो । नेपालको लम्बाई २०० कोश भन्दा बढी र चौडाई १०० कोश भन्दा कम देखिन आउँछ (धनवज्र वज्राचार्य, लिच्छिवीकालका अभिलेख, पृष्ठ २८) ।

सामाजिक अवस्थाः– लिच्छिवीकालमा वर्ण व्यवस्थामा आधारित सामाजिक अवस्था रहेको पाइन्छ । बलम्बूको अभिलेखमा शिवदेवले आफूलाई“सम्यग्विरचितसकलवर्णाश्रमव्यवस्थः” भनी लेखेका छन् । लिच्छिवीहरु वर्ण व्यवस्थामा विश्वास गर्दथे भन्ने कुरा प्रष्ट हुन्छ । समाजमा कृषकभन्दा व्यापार गर्नेको संख्या बढी थियो । चीनियाँ वृतान्तमा नेपालमा खेतीवालको अनुपातमा व्यापारीको संख्या बढी छ भन्ने उल्लेख भए बमोजिम वैश्यको उल्लेखनीय संख्यातिर इंगित गर्दछ । यसबाट के प्रमाणित हुन्छ भने लिच्छिवीकालमा नेपालमा आन्तरिक र बाह्य व्यापार उच्च स्तरमा थियो । टेबहालको अभिलेखमा “बणिजां सार्थवाहेन गुहमित्रेन” भनी उल्लेख भएको छ । यहाँ गुहमित्रले आफूलाई बणिक् (बनियाँ) भनेकाले उनी वैश्य थिए भन्ने देखिन्छ (धनवज्र वज्राचार्य, लिच्छिवीकालका अभिलेख, पृष्ठ २९) । आजकाल ‘चार वर्ण छत्तीस जात’ भने जस्तै लिच्छिवीकालमा ‘चार वर्ण अठारह जात’ भन्ने चलन देखिन्छ । थानकोटको बसन्तदेवको अभिलेखमा “एतस्मिन्ग्रामे ये प्रविष्टाः प्रविविक्षवश्च ब्राह्मणप्रधानाः साष्टादश प्रकृतयः” उल्लेख भएबाट स्पष्ट हुन्छ (उही पृष्ठ) । ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र चार वर्ण अठारह जातमा बाँडिएको तत्कालीन समाजमा ब्राह्मणको सम्मानित स्थान थियो । जात अनुसारको काम गर्नै पर्ने कानून अन्तर्गत रेखदेख गर्न विशेष अडडा नै खडा रहेको देखिन्छ ।

धार्मिक अवस्थाः– लिच्छिवीकालीन समाजमा स्वतन्त्र धर्म देखिन्छ । मानिसले आस्था र विश्वासको आधारमा जुनसुकै धर्म अंगाल्न सक्दथे । धर्ममा कुनै किसिमको प्रतिबन्ध थिएन । त्योबेला समाजमा बौद्धधर्म, बैष्णव धर्म, शैवधर्म आदि समान रुपमा सम्मानित थिए । धार्मिक सहिष्णुता पनि प्रबल रुपमा थियो । लिच्छिवी राजाहरु पनि कोही बौद्ध थिए भने कोही वैष्णव र शैव थिए । बृषदेव (मानदेवका जिजू बाजे) बौद्ध धर्मानुयायी थिए भने त्यस पछिका राजाहरु बैष्णव धर्मानुसार सकल संस्कार गर्दथे । मानदेवले सबै धर्मलाई समान आदर गर्दथे । चाँगुनारायणको पूजा, गरुडध्वजको स्थापना, बामनमूर्त्तिको स्थापना गरेर उनले वैष्णव धर्ममा आस्था देखाएका छन् भने थंतुरीद्रंग लगायत अन्य अनेको ठाउँमा शिवलिंग स्थापना गरेर शैवभक्ति पनि उत्तिकै देखाएका छन् । आफ्नै नाउँमा ‘श्रीमानविहार’ बनाउन लगाएर बौद्धधर्मप्रति उत्तिकै आस्था व्यक्त गरेका छन् ।

बैद्धिक अवस्थाः– चाँगुनारायणको स्तम्भलेखका रचयिताको कहीं कतै उल्लेख पाइँदैन । तर स्तम्भलेखमा कुँदिएका संस्कृतका उत्कृष्ट श्लोकबाट यसका रचयिताको पाँडित्य स्पष्ट रुपमा झल्किन्छ । मानदेवका अरु अभिलेखमा पनि उच्चकोटिको श्लोकले के देखाउँदछ भने मानदेवले दरवारमा धेरै विद्वानहरुलाई ससम्मान राखेका थिए जसको सहयोग स्तम्भलेखमा श्लोक लेख्ने मात्र नभएर राजनीतिक, कूटनीतिक, बाह्य हस्तक्षेप, आन्तरिक गडबडी आदि सम्बन्धमा राजालाई आवश्यक सहयोग प्राप्त हुन्थ्यो । मानदेव आफू पनि कुशल शासकको रुपमा रहेको अनेकौं अभिलेखमा वर्णित छ । मानदेवको कीर्त्ति, यश फैलाउन र लोकप्रियता बढाउन विद्वानहरुको निकै योगदान रहेको बुझिन्छ । विद्याको महत्व निकै बढेको कुरा स्पष्ट हुन्छ ।

मानदेव कस्ता थिएः– मानदेव अश्त्र शस्त्रमा निपुण, लोक व्यवहारमा कुशल, धर्ममा समान आस्था राख्ने, व्यवहारमा नरम, विचारमा दृढ संकल्पित, उदार प्रकृतिका आदर्शवान राजा थिए । आफनै पिताबाट राजकाज चलाउने राजनीतिबारे तालिम पाएका मानदेवको तीक्ष्ण बुद्धिले एउटा कुशल शासकको रुपमा स्थापित भयो । उनले आक्रमण गरेर नेपालको भूभागलाई बढाएन, तर आफनो पैतृक राज्यलाई टुट्न पनि दिएन । मानदेवले युद्ध पनि गरे तर देशलाई टुट्नबाट बचाउनका लागि न्यायिक युद्ध गरे । अन्याय, अत्याचारबाट धर्म नाश हुन्छ भन्ने विश्वास राख्ने प्रकृतिका थिए मानदेव, स्तम्भलेखबाट यही कुरा देखाउँदछ ।

लजिमपाटको अभिलेखले नीतिबारे स्पष्ट गरेको छ– खाली शौर्यले अरुलाई कज्याउनु उत्तम राजाको लागि शोभा दिने कहलाएको छैन । खाली नीति (दाउपेच) मात्र खेल्नु पनि राम्रो कहलाएको छैन । यसकारण शौर्य र नीतिलाई ठीकसंग प्रयोग गर्नु पर्दछ भन्ने नीति मानदेवको पनि थियो ।

२०६९ भाद्र १ गते मधेशवाणी साप्ताहिकमा प्रकाशित 

Leave a Comment

error: Content is protected !!