भारतीय इतिहासकारहरूले छैठौं शताब्दि ई०पू० वैशालीमा लिच्छिवीहरूको पराभवकाल भनेको छ । मगध साम्राज्यको उदय पछि लिच्छिवी गणतन्त्रको पतन भएको हो । नेपालको इतिहासले किराँतकालको अन्त पछि लिच्छिवीकालको उदय भएको भनेको छ । हर्कराज चोङवाङले आफ्नो शोधग्रन्थ “किरात वंशावली र सांस्कृतिक खोजीको संक्षिप्त विश्वकोष” मा किराँतको ३२ राजाको शासनकाल वि.सं. ८०० देखि (१९२६ वर्षसम्म) वि.सं. २७२६ सम्म उल्लेख गरिएको छ । हेमराज अधिकारीले “आजको नेपाल” पृष्ठ ५२ मा किराँतको शासनकाल नवौं शताब्दि ई०पू० देखि दोश्रो शताब्दि ई०पू० सम्म भनेको छ । प्रसिद्ध चीनिया यात्री युआनच्वाङ्गको वर्णनबाट उनी यतातिर आउनुभन्दा केही पहिले अंशुवर्माको मृत्यु भएको थियो भन्ने थाहा पाइन्छ । युआनच्वाङ्गले वि.सं. ६८६ मा भारतयात्रा आरम्भ गरेका र वि.सं. ७०२ मा चीन फर्केका थिए, (धनवज्र वज्राचार्य, लिच्छिवीकालका अभिलेख, पृष्ठ १७) । वि.सं.७०३ मा वांग ह्वेन सीको एउटा शिष्ट मण्डल भारत आएको थियो । हषृवर्द्धनको मृत्यु भइ सकेको थियो । उनका उत्तराधिकारी अरूणाश्वले त्यो शिष्टमण्डललाई अपमान गरि पठाएका थिए । यही अपमानको प्रतिशोधमा वि.सं. ७०३ मा चीनले उत्तर भारतमा आक्रमण गर्दा लिच्छिवी राजा नरेन्द्रदेवले सघाएको कुरा उल्लेख छ । वि.सं. १२०० मा लिच्छिवीको शासन अन्त भई मल्लवंश आएको हो, (उही, पृष्ठ ५३) । छैठौं शताब्दि ई०पू० लिच्छिवीको वैशालीमा समृद्धिकाल मानिएको छ । त्यसपछि लामो संघर्ष पछि यसको पतन भयो । केही राजपुरूषहरू मगधको अधिनस्थ स्वीकार नगरि पलायन भए । सम्भवतः यिनीहरू उत्तर दिशातिर भागेर नेपालमा प्रवेश गरे । यसरी काल गणनाबारे नेपाली इतिहासकारमा मतैक्य नदेखिए पनि हेमराज अधिकारी अनुसार दोश्रो शताब्दिी ई०पू० किराँत शासनको अन्त भई लिच्छिवी शासनको शुरूवात् भएको कुरा केही हदसम्म यथार्थसंग जोडदछ । लिच्छिवीहरूको पाचौं शताब्दिमा पलायन, चौथो र तेश्रो शक्ति संचयको अवधि, दोश्रो शताब्दि नेपालमा सत्तारूढ भएको कुरा केही सत्य जस्तो लाग्दछ । हेमराज अधिकारी जस्तै राधाकृष्ण चौधरीको आफ्नो पुस्तक “मिथिलाक इतिहास” मा लिच्छिवीको शासनकाल ७०० वर्ष रहेको उल्लेख छ । हेमराज अधिकारीको पुस्तक आजको नेपाल, पृष्ठ ५३ अनुसार लिच्छिवीको शासन वि.सं. १२०० मा अन्त भएको हो भने ७०० वर्ष पूर्व अर्थात् वि.सं. ४०० मा लिच्छिवीको शासनको शुरूवात भएको हुनु पर्दछ । यो मिति अनुसार वैशालीबाट आएका लिच्छिवीहरूको पराभव कायम हुन नेपालमा ८०० वर्षको फरक देखिन आउँछ । जेहोस् प्रमाणिक इतिहासको अभावमा काल गणना ऐतिहासिक घटनाक्रमकै भरमा गर्न सकिन्छ ।
हेमराज अधिकारी अनुसार नेपालमा लिच्छिवीहरूको पहिलो राजा ‘सुपुष्प’ थियो । राधाकृष्ण चौधरीले पनि लिच्छिवीको राजा सुपुष्पको उल्लेख गरेको छ । लिच्छिवीको प्रमाणिक वंशावली त भेटिएको छैन । शिलालेख, स्तम्भलेखबाट यी राजाहरूको छिटफुट नाम संग्रहित भएको छ । धनवज्र वज्राचार्यको पुस्तक ‘लिच्छिवीकालका अभिलेख’ पृष्ठ १९ मा मानदेवको स्तम्भलेख र जयदेव द्वितीयको पशुपतिको अभिलेखमा वृषदेवको विशेष वर्णन गरिएको छ । प्रथम जयदेवदेखि १२ राजालाई छोडेर वृषदेवको उल्लेख गरिएको छ । लिच्छिवीकुलको गोरव बढाउने राजाको मात्र जयदेव द्वितीयले वर्णन गराएको छ ।
मगधमा समुद्रगुप्तको बलियो साम्रज्य कायम भएपछि नेपाल सिमानाको राज्य भएकोले त्यसको प्रभाव नेपालमाथि पनि पर्यो । आत्मरक्षाका लागि लिच्छिवीहरूले करको रूपमा केही आर्थिक रकम समुद्रगुप्तलाई बुझाउनु परेको थियो, जसको संकेत समुद्रगुप्तको प्रयागको स्तम्भलेखबाट स्पष्ट रूपमा पाइन्छ– “समतट डवाक कामरूप नेपालकर्त्तृपुरादिप्रत्यन्तनृपतिभि… सर्व्वकरदाना ज्ञाकरणप्रणा माग मन परितोषित प्रचण्डशासनस्य” अर्थात् समतट, डवाक, कामरूप, नेपाल, कर्त्तृपुर, आदि सिमानाका राजाहरूले सबै किसिमको कर तिरेर, हुकूममा तामेल रहेर, सलामीमा हाजिर भएर जसको (समुद्रगुप्तको) कडा स्थितिबन्देजको पालना गर्दछ, (लिच्छिवी कालका अभिलेख, पृष्ठ २०) । समुद्रगुप्तको मृत्यु पश्चात् गुप्तवंशको प्रभाव कम भएको हुनाले क्षणिक रूपमा नेपालले तिर्ने ‘करद’ बाट नेपाल मुक्त भयो । यो कार्य वृषदेवको पालामा भएकोले मानदेव र जयदेव द्वितीयले एकै स्वरमा वृषदेवलाई ‘उत्तम राजा’ भनी वर्णन गरेको देखिन्छ, (उही, पृष्ठ २०) । वृषदेव बौद्धधर्मानुयायी भएको कारण शान्तिप्रिय, धर्माचरण गर्ने राजा थिए । स्वयम्भूको चैत्य लगायत धेरै चैत्य यिनका पालामा निर्माण भएको थियो ।
वृषदेवका धेरै छोराहरू मध्ये जेठा शंकरदेव नै पिताको शेषपछि राजा भयो । यसको कार्यकाल निकै प्रशंसनीय रह्यो । शंकरदेव पछि धर्मदेव राजा भयो । धर्मदेव धार्मिक प्रवृतिका तथा शस्त्रविद्यामा निपुण थिए । शस्त्रविद्या छोरा मानदेवलाई आफैले सिकाएका थिए । धर्मदेवको वर्णनमा ‘राजर्षिचरितद्वारा उनले प्रजाको मन खिंचे’ भनी लेखिएको छ । आचार्य कौटिल्यले ‘राजर्षिचरित’बारे यसरी वर्णन गरेको छ– “एउटा योग्य शासकले इन्द्रियलाई कब्जामा राख्नु, विद्वानहरूको संगतले बुद्धि तिखार्नु, जासूसद्वारा सबकुराको जानकारी राख्नु, उद्योग गरि रहनु, ठीक तरिकाले राजकाज चलाउनु, विनयमा रहनु, लोकको हित हुने र प्रिय हुने काम गर्नु, लोभलाल्चा परस्त्रीमा नफस्नु, धर्म अर्थ काम बिषयको सन्तुलन राख्नु, राजमर्यादामा रहनु आदि कुराको आचरण गर्नु पर्दछ ।” (उही, पृष्ठ २१)
धर्मदेव धार्मिक प्रवृतिका भएकोले उनले धेरै धार्मिक अनुष्ठान, यज्ञादि गराएका थिए । शस्त्रविद्यामा निपुणताले कुशल शासकको बोध गराउँछ । राजर्षिचरितले प्रजाको मन जिते भन्नाले उनी आदर्शवादी तथा जनप्रिय राजा थियो भन्ने बुझिन्छ । वृषदेव बौद्धधर्मानुयायी थिए भने धर्मदेव देवी देवतामा विश्वास गर्दथे । यसप्रकार सबै धर्मको समान आदर रहेको कुरा स्पष्ट हुन्छ ।
लिच्छिवीकालमा सतीप्रथाको प्रचलन थियो, तर स्वेच्छाले मात्र सती जाने विधान देखिन्छ । धर्मदेवकी रानी राज्यवती देवमन्दिरमा पूजामा व्यस्त रहेको बेला अकस्मात् राजा धर्मदेवको मृत्यु भएको खबर पाएर शोक विह्वल भई फर्किन । छोरा मानदेवलाई बाबुको मृत्यु भएको खबर सुनाएर उनी सती जाने ईच्छा व्यक्त गरिन् । मानदेवले आत्महत्याको धम्की दिएपछि आमा राज्यवती सती जाने इच्छा त्यागेर सतीव्रतमा बस्न तयार भईन । सतीव्रतको वर्णन स्तम्भमा यसरी गरिएको छ– “शीलत्यागदमोपवासनियमैरेकान्तशद्धाशया तस्थौ तद्धृदया सतीव्रतविधौ साक्षादिवारून्धती ।” विष्णुधर्मोत्तर, नारदस्मृति आदिमा ‘मृते भर्तरि ब्रह्मचर्य तदन्वारोहणं वा’ अर्थात् ‘पतिको मृत्युपछि कि सती जानु, कि सतीव्रतमा बस्नु’ भन्ने कथन अनुसार सतीप्रथाको खुकुलो रूप पाइन्छ । भौमगुप्तकी आमा आभीरी, जयदेवकी आमा वत्सदेवी आदि सती नगएको घटनाको उदाहरण अनुसार राज्यवती सती नगएको कुरा स्पष्ट हुन्छ (उही, पृष्ठ २२) ।
२०६९ श्रावण २६ गते मधेशवाणीमा प्रकाशित
